नेपाल मुहार – २०८०-११-११
पूर्णचन्द्र थापाको सदीक्षामा प्रधान सेनापति बनेका प्रभुराम शर्मा उनले अघि सारेका योजना उल्ट्याउन व्यग्र ।
माधव बस्नेत ।
दुई वर्ष अघि नेपाली सेनाका सहायक रथी बाबुराम श्रेष्ठ सिराहास्थित ब्यारेकका बाहिनीपति थिए । त्यहाँको सैन्य भर्ना छनौटमा आचार संहिताको ठाडैं उल्लंघन भएको उजुरी पर्यो, जंङ्गी अड्डा भद्रकालीमा । जुनबेला नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा थिए । श्रेष्ठमाथि ‘कोर्ट अफ इन्क्वायरी’ भयो । उनी दोषी ठहरिए । यसपछि उनीमाथि कोर्टमार्शल भयो, श्रेष्ठले एक वर्ष नसियत पाए । यस्तो नसियत पाएका व्यक्ति विशिष्ट श्रेणीमा पदोन्नती हुन लायक मानिदैनन् ।
०७८ भदौ २४ गते प्रभुराम शर्माले औपचारिक रुपमा प्रधान सेनापतिको जिम्मेवारी सम्हाले । प्रधान सेनापतिको कुर्सीमा विराजमान भए लगत्तै शर्माले पहिलो सिफारिस नै श्रेष्ठलाई उपरथी (विशिष्ट श्रेणी) मा बढुवा गरे । शर्माले भर्ना छनोटमा दोषी प्रमाणित भएर कारवाही भोगेका उनलाई बढुवा मात्र गरेनन्, नेपाली सेनाको मध्य कमाण्ड पोखरामा कार्यरत विनयविक्रम राणालाई त्यहाँबाट एक वर्ष नपुग्दै हटाएर श्रेष्ठलाई त्यसको तालाचावी सुम्पिए । सामान्यतया जिम्मेवारी सुम्पेको एक वर्ष नपुगी सरुवा नगर्ने सैनिक थितिलाई शर्माले मजैले लत्याएर राणालाई राष्ट्रिय सुरक्षा परिषद्मा लगेर थन्क्याए ।
सहायक रथी श्रेष्ठ जस्तै काण्डमा मुछिएका अर्का जर्नेल सुरेश बाँनियालाई भने वरिष्ठ हुँदाहुदै पनि पदोन्नती दिईएन । जो विगतमा पूर्णचन्द्र थापा निकट भनेर चिनिएका थिए ।
शर्मा प्रधान सेनापतिको कुर्सीमा आसिन हुँदा सिग्नल बाहिनी त्रिपुरेश्वरको कमाण्ड सहायक रथी टंक भट्टले सम्हालिरहेका थिए । भट्टले सिग्नल बाहिनीको जिम्मेवारी सम्हालेको सात महिना नपुग्दै महारथी शर्माले उनलाई पश्चिम कमाण्ड हेडक्वारटर सुर्खेत हुत्याए । कारण थियो, महासेनानी हुँदा भट्ट महारथी पूर्णचन्द्र थापाको सचिवालयमा कार्यरत थिए । यतिमा मात्र शर्माले चित्त बुझाएनन्, बाहिनी कमाण्डको नेतृत्वमा तेस्रो पटक सहायक रथी जोनसन खड्कालाई पठाए । खड्का तिनै पात्र हुन्, जो पूर्वमहारथी राजेन्द्र क्षत्रीको भित्रियाका रुपमा परिचित छन् ।
आफू प्रधान सेनापतिको जिम्मेवारीमा भएका बेला पूर्णचन्द्र थापाले व्यारेकको खानाको स्तर बढाउन र जनशक्ति घटाउन केन्द्रीय मेस प्रणाली लागू गरेका थिए । प्रधान सेनापति भएपछि शर्माले थापाले लागू गरेको उक्त नीतिलाई उल्ट्याई दिएका छन् । थापाले सिपाहीहरुको रासन सदुपयोग गर्न ठेकेदारबाट आउने भएभरका सामग्री लिने व्यवस्थामा आवश्यक मात्र लिने र बढी हुने रासनको गण/गुल्महरुले नगद नै लिने व्यवस्था कायम गरेका थिए । यसो गर्दा रासनबाट उब्रिएको रकम व्यारेकका सकल दर्जाको हितमा उपयोग हुन्थ्यो । तर, प्रधान सेनापति भएपछि शर्माले थापा कार्यकालको यो नीति पनि उल्ट्याई दिएका छन् ।
थापाले सैनिक ब्यारेकहरुलाई क्रमश क्यान्टोनमेन्टमा लैजाने नीति अघि सारेका थिए । शर्मा प्रधान सेनापति बनेपछि यो निर्णय पनि कार्यान्वयनमा आउन सकेको छैन । थापाले सैनिक नियमाबली अनुरुप प्रत्येक वर्षको फागुन/चैत्रमा अधिकृतहरुको पदोन्नती, पदावधिथप र मानार्थ बढुवा दिन बोर्ड बस्ने नियम सुरु गरेका थिए । शर्माले आवश्यकता अनुसार गर्ने भन्दै थापाले सुरु गरेको यो नियम पनि तोडे । अधिकृतहरुको सरुवा हुनुभन्दा २–३ महिना अघि जानकारी दिने प्रचलन सुरु गरिएको थियो । शर्माले यो थिति पनि भङ्ग गरिदिएका छन् ।
पूर्णचन्द्र थापाले अघि सारेको नेतृत्व होस् वा नीति– उनकै उत्तराधिकारी महारथी प्रभुराम शर्माले धमाधम उल्ट्याईरहेका केही दृष्टान्त हुन् यी । भनिरहनै परेन, पूर्णचन्द्र थापाको सहयोगले मात्र शर्मा प्रधान सेनापतिको जिम्मेवारीमा पुग्न सफल भएका हुन् । शर्माको उपरथीमा पदावधि थपका लागि थापाले मन्त्रिपरिषद् समक्ष सिफारिस नगरेका हुन्थे भने उनीअसोज ०७६ मा नै निवृत हुने थिए । रथी हुँदै महारथी बन्न पाउने थिएनन् । तर, थापाकै इच्छामा प्रधान सेनापति बनेका शर्माले उनले अघिसारेका थुप्रै नीति र थितिलाई उल्ट्याई रहेका छन् ।
प्रधान सेनापति शर्मा र उनको ‘कोर टीम’ थापा एवं थापा निकटहरुसँग कतिसम्म रुष्ट छन् भन्ने बुझ्न अर्को एउटा दृष्टान्त नियालौं । थापा प्रधान सेनापतिको कुर्सीमा रहुन्जेल उपरथी अनन्त कार्की उनको ‘कोर टीम’ भित्र थिए । शर्माले गत २४ भदौमा महारथीको पद बहाली गरे लगत्तै नियमित सरुवालाई पूर्णत वेवास्ता गर्दै २४ घण्टे लगाएर कार्कीलाई व्यवस्था, नीति तथा योजना महानिर्देशकबाट जंङ्गी अड्डा बाहिर राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार समितिमा लखेटे, जहाँ उपरथी दर्जाको दरबन्दी नै थिएन । गत २५ माघबाट त शर्माले कार्कीलाई निवृत नै गरि दिए । जब कि १५ चैत्र ०७७ मा आफ्नै अध्यक्षतामा बसेको बोर्डबाट यिनै शर्माले उपरथीमा कार्कीको पदावधि थप गर्ने सिफारिस गरेका थिए ।
जानकारका अनुसार थापाको कार्यकालमा महत्वपूर्ण विभागमा कार्यरत कार्की बाहेकका जर्नेलहरु प्रेम शाही, विनयविक्रम राणा, सुरेश बाँनिया, टंक भट्ट, रघु भण्डारी (अ.प्रा.) लगायत अरु धेरै अधिकृतहरुसँग शर्मा र उनी निकटहरु बदलाको भावना लिएर हिडिरहेका छन् । निहुँ पाए उनीहरुलाई जहाँको त्यहीँ कारवाही गर्ने शर्माको योजना रहेको एक जना महासेनानी नेपालमुहार डट कमलाई बताउँछन् । थापाको तीन वर्षे कार्यकालमध्ये आधा जसो समय शर्माले दोस्रो वरियतामा बसेर बिताए । फलत थापाले अघि सारेका योजना तर्जुमा गर्न शर्माको पनि हात थियो ।
तर, आफू प्रधान सेनापति भएपछि दुई महिना अघि १६ पुस ०७८ मा सहायक रथीहरुका लागि दिईने हायर कमाण्ड एण्ड म्यानेजमेन्ट (higher command and management) तालिमका शिक्षार्धीहरुलाई झण्डै २ घण्टा सम्बोधन गर्दा शर्माले थापाको खरो आलोचना गरेको एक महासेनानी बताउँछन् । भलै, शर्मा आफैंले भने अबको दिनको सेनाको बाटो के ? भन्ने विषयमा चाहिँ एक शब्द पनि नबोलेको उनको भनाइ छ ।
सेवा निवृत सहायक रथी प्रेमसिंह बस्न्यात (विद्यावारिधि) का भनाइमा सेनाभन्दा माथि कुनै पनि संस्था छैन । पहिला राजा थिए । दरवारको प्रमुख सैनिक सचिवालय थियो । राजदरवारको सैनिक सचिवालयले पनि बदमासी त गर्दथे । तर कमसेकम प्रधान सेनापतिले मनपरी गर्दा किन यसो गरिस्, एउटाले गरेको राम्रो कामको थितिलाई किन अर्काले निरन्तरता दिइनस् भनेर सोध्ने संस्था थियो । तर, अहिले न रक्षा मन्त्रालयले भन्छ, न प्रधानमन्त्रीले भन्छन्, न राष्ट्रपतिले नै खवरदारी गर्छन । सेनालाई रणनैतिक रुपमा भ्रष्टाचारमा डुबाएर कुनै अमूक नेताको स्वार्थमा निर्णय गराए भने आश्चर्य नमाने हुन्छ । त्यही रणनीतिक स्वार्थ अनुसार आफूले जे गरे पनि हुन्छ भनेर प्रधान सेनापतिलाई छाडा छोडिएको बस्न्यात बताउँछन् ।
‘राजनीतिक दलका नेताहरुले व्यक्तिगत रुपमा मलाई के भनेका छन् भने भूपु र बहालवाला सेनाका उच्च अधिकारीहरुले गरेका भ्रष्टाचारका फेहरिस्त हामीसँग प्रशस्तै छन् । त्यसलाई देखाएर हामी कुनै पनि बेला उनीहरुलाई पाता कस्न सक्छौ’, बस्न्यात भन्छन्, ‘सेना प्रमुखले जे–जे गर्छन गर्न दिने, जति खान्छन् खान दिने, जति बजेट माग्छन, माग्न दिने, युद्धकला भन्दा बाटो खन्न, सडक बनाउन लगाउने योजना दिने दलहरुको सोचाई छ । त्यही योजना अन्तरगत उनीहरुले प्रधान सेनापतिलाई कुनै नियन्त्रण गरेका छैनन् । कसैले नियन्त्रण नगरेकैले अघिल्लो प्रधान सेनापतिले बसालेको थिति उसकै उत्तराधिकारी पछिल्लो प्रधान सेनापतिले उल्ट्याईरहेका छन् । जुन नीति र नैतिकता दुवै हिसावले राम्रो होइन ।’
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी नारायण सिलवाल अघिल्लो प्रधान सेनापतिले ल्याएको नीति पछिल्लो प्रधान सेनापतिले उल्ट्याएको बारे केही बताउँन नसक्ने बताउँछन् । भन्छन्, ‘यस बारेमा लामो भेटघाटमा पछि कुरा गरौंला । अहिले म व्यस्त छु । माफ गर्नु होला ।’
नेपाली सेनाको आफ्नै विशिष्ट इतिहास छ । जो नेपाल राज्य निमार्णको इतिहाससँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा जोडिएको छ । नेपाली सेना विश्वकै पुरानो सेनाभित्र पर्छ । जसको आफ्नै परम्परा, कर्तव्य, संस्कृति छ । तर, इतिहास आफैमा भविष्य होईन । नेपाली सेनाको भविश्य उज्ज्वल र चिरस्थायी बनाउने वर्तमानका रथिवृन्द र प्रधान सेनापतिहरुले नै हो । तर, अघिल्लो प्रधान सेनापतिले बसालेको राम्रो थिति पछिल्लोले उल्ट्याउँदै जाने हो भने भविश्यलाई चिरस्थायी बनाउने कार्य असंभव छ । प्रधान सेनापतिले व्यक्तिगत स्वार्थको रोटी मात्र पोल्ने हो भने समग्र सेना व्यक्तिको दास भन्दा माथि हुन सक्तैन ।