Published
5 महिना agoon
By
Nepal Muharतत्कालीन प्रधान सेनापति छत्रमान सिंह गुरुङ्ग पछि प्रभुराम शर्माले नेपाली सेनाभित्र चर्को स्वजात मोह देखाएका छन् ।
माधव बस्नेत
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले नीति र पैसाको काम हुने महत्वपूर्ण महाशाखाहरुमा बाहुन थर हावी गराएका छन् । व्यवस्था, नीति तथा योजना महानिर्देशकको जिम्मेवारी उपरथी अशोक सिग्देललाई दिइएको छ । सिग्देल तिनै उपरथी हुन्, जसलाई शर्माले आफू पछिको प्रधान सेनापति बनाउन चाहेका छन् । व्यवस्था, नीति तथा योजना महाशाखाको निर्देशक कृष्णदेव भट्ट र पूर्णप्रसाद ढकाललाई बनाइएको छ । यस महाशाखालाई सेनाभित्र महत्वपूर्णरुपमा लिइन्छ ।
नगद कारोबार हुने अन्य स्थानमा पनि प्रधान सेनापति शर्माले बाहुन थरलाई नै प्राथमिकता दिएका छन् । जस्तो कि कल्याणकारी बजेट महानिर्देशकको जिम्मेवारी उपरथी आनन्द अधिकारीले पाएका छन् । नेपाली सेनाको कल्याणकारी कोषमा झण्डै ४० अर्ब रुपैयाँ छ । कल्याणकारी कोषले डिपार्टमेन्ट सञ्चालन, घर/जग्गा कारोबारदेखि स्वास्थ्य विज्ञान संस्थान, सैनिक महाविद्यालयलगायत सञ्चालन गरिरहेको छ ।
प्रधान सेनापति शर्माले शान्ति सेनाको बजेट सञ्चालन प्रमुखमा सहायक रथी सन्तोष बल्लब पौडेल, रासन ठेक्का प्रमुखमा सहायक रथी हरेन्द्र पाठक, बजेट निर्देशकमा महासेनानी राम अर्याल, प्रधान सेनापतिको सचिवालयमा सहायक रथी चोक ढकाल, महासेनानी विमलराज शर्मा, शैलेन्द्र कोइरालालगायतलाई नेतृत्व सुम्पिएका छन् । त्यस्तै सैनिक जनसम्पर्क निर्देशनालय प्रमुख एवं सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवालले पाएका छन् । २४ असार ०७८ को मन्त्रिपरिषद्बाट निर्णय भएर १ साउनबाट नेपाली सेनामा नयाँ संरचना कार्यान्वयनमा आएको थियो ।
उक्त संरचना अनुसार यसबेला सेनामा तीन जोड एक अर्थात संघीय राजधानीका तीन जिल्लामा भ्याली कमाण्ड र पूर्वी, मध्य र पश्चिम कमाण्ड छ । जसमध्ये पूर्वी कमाण्ड प्रमुख उपरथी सन्तोषकुमार ढकाल छन् । जो राजेन्द्र क्षत्री प्रधान सेनापति हुँदा सैनिक सहायक थिए । भ्याली कमाण्ड प्रमुख उपरथी योगराज शर्मा छन् । प्रधान सेनापति शर्माले मध्य कमाण्डको प्रमुख बाबुराम श्रेष्ठलाई बनाएका छन् । स्मरणीय छ, भर्ना छनोट काण्डमा ‘कोर्ट मार्शल’ भएका श्रेष्ठलाई आफू प्रधान सेनापति भए लगत्तै शर्माले उपरथीमा बढुवा गरेका थिए । पश्चिम कमाण्ड प्रमुख प्रेम शाही छन् । जो पूर्णचन्द्र थापा प्रधान सेनापति हुँदा सैनिक सहायक थिए । प्रधान सेनापति शर्मा र उनी निकटहरुले शाहीलाई दुःख दिने बाटो खोजीरहेका जानकारहरु बताउँछन् ।
२ पुस ०७६ मा आफ्नो वेबसाइट nepalarmy.mil.np मा उल्लेख गरे अनुसार नेपाली सेनामा दुई सय १६ जात/जातीको सहभागिता छ । जसमध्ये सबैभन्दा धेरै क्षत्री ४२.१११, बाहुन ८.७२०, मगर ८.३९४, नेवार ५.७०२, तामाङ ४.९६४ प्रतिशत छन् । नेपाली सेनाका एक जना सहायक रथी भन्छन्, ‘प्रधानसेनापति प्रभुराम शर्माले एकदमै धेरै स्वजात मोह देखाएका छन् । उनले बाहुनलाई मात्र अति विस्वास गर्दा अन्य जात/जातीहरुले हेपिएको महसुस गर्न थालीसकेका छन् ।
सेवा निवृत सहायक रथी प्रेमसिंह बस्न्यात (विद्यावारिधि) का भनाइमा प्रधान सनोपति शर्माले स्वजात मोह देखाएको प्रष्टै महसुस हुन थालेको छ । पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङले पनि आफ्नो कार्यकालमा अति जात मोह देखाएका थिए । गुरुङ्गले कतिसम्म जात मोह देखाएका थिए भने उनले सैनिक इतिहासलाई समेत संशोधन गरेर लेखाएका छन् । ०४९ सालमा तत्कालीन शाही नेपाली जंङ्गी अड्डाले पहिलो पटक नेपालको सैनिक इतिहास प्रकाशित गरेको थियो । जुन बेला तत्कालीन शाही नेपाली सेनाको प्रधान सेनापति गडुल शम्शेर ज.ब.रा. थिए । त्यसपछि ०६५ मा नेपालको सैनिक इतिहास (भाग–२) प्रकाशित गरियो । यसबेला प्रधान सेनापतिको कुर्सीमा रुकमाङ्गद कटवाल थिए । छत्रमान सिंह गुरुङ्ग प्रधान सेनापति भएपछि २०६९ मा जंङ्गी अड्डा भद्रकालीले नेपाली सेनाको इतिहास प्रकाशित गर्यो । यस पुस्तकको सम्पादन समूहका रहेका एक सदस्यका अनुसार गुरुङ्गले २२ पृष्ठ थपघट गरेर सैनिक इतिहास तोडमोड गराएका थिए ।
आफूले लेखाएको पुस्तकको भूमिकामा गुरुङ्गले संशोधन गरेको कुरा स्वीकार पनि गरेका छन् । उनले लेखेका छन्, ‘विगतमा पनि नेपाली सेनाले आफ्नो गौरवपूर्ण इतिहासलाई लिपिवद्ध गर्ने क्रममा वि.सं. २०४९ सालमा नेपालको सैनिक इतिहास’ र वि.सं. २०६५ सालमा ‘नेपालको सैनिक इतिहास भाग २ प्रस्तुत गरिसकेको छ । अनुसन्धानात्मक, वास्तविक, वैज्ञानिक तथ्यहरुमा आधारित रहनुका साथै कतिपय नसमेटिएका पक्षहरु र नयाँ घटनाहरु समेत अध्यावधि गरी समेटिएको नेपाली सेनाको इतिहास प्रकाशनमा ल्याउन अत्यावश्यक भएको महसुस गरी सम्बन्धित विज्ञहरुसँग समेत परामर्श लिई लेखन कार्य शुभाररम्भ गरिएको हो । यसबाट नेपाली सेनाको इतिहासको बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विस्वास लिएको छु ।’
गुरुङ्गले बहिनी ज्वाईँ दमन घलेलाई प्रधानसेनापति बनाउने प्रयास गरेका थिए । जसमा उनी सफल भएनन् । उनले प्रेमप्रकाश थापा मगर र अरुण घलेलाई प्रधानसेनापति बनाउने गरी रोलक्रम मिलाएका थिए । तर, गुरुङको योजनालाई उनीपछिका प्रधानसेनापति गौरव शम्शेर जबराले चकनाचुर बनाई दिए । जबराले प्रेमप्रकाश थापा मगरलाई भने व्यक्तिगत प्रतिशोध साँचेरै अन्याय गरेका थिए ।
गुरुङ्गपछि शर्माले अति जात मोह देखाएको सैनिक अध्येता निवृत सुबेदार मोहन थापा बताउँछन् । भन्छन्, ‘एउटा स्वतन्त्र नागरिकका रुपमा नियाल्ने हो भने पनि प्रधान सेनापति शर्माले छत्रमान सिंह गुरुङ्गपछि स्वजात मोह देखाउनु भएको देखिन्छ । जुन राम्रो सन्देश होइन ।’ सैनिक प्रवक्ता नारायण सिलवालले भने व्यस्तताका कारण बोल्न नभ्याउने बताए । उनको भनाइ थियो,’यी विषयमा बोल्न अहिले मसँग समय छैन ।’
शर्माले बाहुन समुदायबाट नेपाली सेनाको प्रधान सेनापति बन्ने पहिलो पात्र आफू नै भएको बताउने गरेका छन् । निवृत सहायक रथी बस्न्यात (विद्यावारिधि) का भनाइमा नेपालको सेनाको संरचना सुरु भएको गोर्खा राज्यको इतिहास केलाउने हो भने वि.सं. १६१६ मा बनेका काजी भगिरथ पन्त पहिलो प्रधानसेनापति हुन् । उनलाई द्रव्य शाहले प्रधान सेनापति नियुक्त गरेका थिए । त्यसैले शर्मा बाहुन समुदायका पहिलो प्रधान सेनापति भने होइनन् ।
राजा पृथ्वीनारायण शाहले वि.सं.१८०० सालमा विराज बखती थापा मगरलाई सेनापति बनाएर पहिलो पटक नुवाकोट कब्जा गर्न पठाएका थिए । यस लडाईमा गोर्खालीको हार भएपछि थापा मगरको काजी पद खोसेर महेश्वर पन्तलाई त्यो पद्वी दिएका थिए । भलै, इतिहासमा महेश्वर पन्तलाई सेना प्रमुख उल्लेख गरिएको छैन । पृथ्वीनारायण शाहले पन्तपछि वि.सं.१८०१ को भाद्रतिर कालु पाँडेलाई काजी बनाएका थिए ।
सैनिक अध्येता बस्न्यातका शब्दमा तत्कालीन राजदरवारले पनि सेनाभित्र दुईवटा जातलाई माया गर्न सकेको थिएन । नेपाली सेनाभित्र मगर, गुरुङ, राई, लिम्बुले एकदमै दुख गरेका छन् । नेपाल एकीकरणमा मगर र गुरुङ्गहरुको एकदमै ठूलो योगदान छ । तर, उनीहरु राणा, शाह र केही हदसम्म क्षत्रीहरुको समेत पेलाईमा परेका छन् । अर्को बाहुन जातीलाई पनि सेनाभित्र बहुतै हेला गरिएको थियो । उनीहरु पनि धेरै संघर्ष गरेर, चाकरी गरेर, पिल्सिएर आएका हुन् ।
‘त्यसैले जनजाति र बाहुन जातीले राजा, राणा, क्षत्री कसैलाई पनि माया गर्दैनन् । किनभने उनीहरुमा हामी घुन झैं पिसिएका छौं । हामी माथि अन्याय भएको छ भन्ने मनोविज्ञान छ’, बस्न्यात भन्छन्, ‘राजदरवारले पनि राणा, शाहलाई मात्र च्याप्यो । क्षत्रीहरु अलिअलि माथि पुग्न सके । जनजाति र बाहुनहरुले अहिले पनि सेनाभित्र भएका अन्य जातिप्रति प्रतिशोधको भावना लिएका छन् । तसर्थ जनजाती प्रधान सेनापति हुँदा जनजातिलाई नै च्याप्छन् । बाहुृन प्रधान सेनापति हुँदा बाहुनलाई नै च्याप्छन् । प्रधान सेनापति शर्माले त्यही गरिरहेका छन् ।’