नेपाल मुहार – २०८०-१२-०९
इलेक्ट्रिक चुरोट (भेप)मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी प्रहरीले गरेको छ ।
महरामा विभिन्न खालको रोग भएकाले महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
प्रहरीले गत सोमबार (चैत ५ गते) महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो। सरकारी वकिलमार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेपनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।
गत सोमबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गर्न हाजिर गएका बेला न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा ७-८ वटा रोग भएको बताएका थिए। त्यसपछि अदालतले नै उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो।
‘निज पक्राउ व्यक्ति स्वयंले आफू टिबी, युरिक एसिड, प्रोस्टेटको बिरामी रहेको भनी उल्लेख गरेकाले आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन समेत दिएको छ I
स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने भएकाले सरकारी वकिलको कार्यालयमार्फत उनलाई हाजिरी जमानतमा छाड्न लागिएको अधिकृतहरू बताउँछन् ।
महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो ।