Connect with us

राजनीति

महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?

Published

on

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै जाँदा आफ्ना समस्या कसले समाधान गरिदेलान भनेर मतदाताहरु पनि चनाखो हुन थालेका छन् । महोत्तरीका गाउँबस्ती र नगरहरुमा राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारहरुको आउजाउ निकै बढेको छ । महोत्तरीका जनता यसैबेला दल र उम्मेदवारहरुलाई आफ्ना कथा ब्यथा सम्झाउन थालेका छन् ।
चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा सुशासनको मुद्दा सबै क्षेत्रमा साझा जस्तै पाइएको छ । चारवटै क्षेत्रका मतदाताले सरकारी अड्डादेखि विकास निर्माणका कामसम्म पारदर्शिता र जवाफदेहीताको मुद्दा उठाएका छन् । यहाँका मतदाताले प्राकृतिक सम्पदा वन, पहाड र नदीको संरक्षणका विषय पनि मुख्य रूपमा उठाएका छन् । क्षेत्र नं. १ मा चुरे क्षेत्रमा रहेको जिल्लाकै मुख्य वन क्षेत्र पर्दछ ।

“हाम्रो क्षेत्रको प्राथमिकताको मुद्दा नै नदी, पहाडी थुम्का र वन क्षेत्रमा हुँदै आएको अनियन्त्रित उत्खनन र अतिक्रमण नियन्त्रणको विषय हो,” महोत्तरी–१ मा पर्ने बर्दिबास–१४ का रामु अधिकारी भन्छन्, “ दल र उम्मेदवारहरुसँग नदी नियन्त्रण, व्यवस्थापन र चुरे, वन र यहाँका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणका स्पष्ट खाका उठाएका छौँ ।” यी विषयमा स्पष्ट खाका देखाउने उम्मेदवार आफूहरूको रोजाइमा पर्नसक्ने उनको भनाइ छ ।

क्षेत्र नम्बर–२ का मतदाताले बर्खामा हुने कटान र डुबान तथा हिउँदमा पानीको हाहाकार जस्ता समस्या मुख्य रूपले उठाएका छन् । “वर्खामा बिग्ही, रातु, ओक्सी र कुटमेश्वरीसहितका नदीमा ताण्डव मच्चिन्छ, हामीले घरखेत भन्न पाउँदैनौँ, डुबान र कटानले पिरोलिएका छौँ,” महोत्तरी गाउँपालिका–६ का दिनेश महतो भन्छन्, “हिउँद लागेपछि सिँचाइको त कुरै छाडौँ, खानेपानीको पनि हाहाकार पर्छ ।” मुख्य पेशा खेतीका लागि बीउबिजन, मल, कृषि ऋण र सिँचाइ प्रबन्ध हुन नसकेको उनको भनाइ छ ।

जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासमेत रहेको क्षेत्र नम्बर–३ का मतदाताले पनि नदी कटान, डुबान तथा सिँचाइ अभाव जस्ता समस्या भोग्दै आएको बताएका छन् । जलेश्वर नगरका युवा मतदाता भने यसपालिको निर्वाचनको मुख्य मुद्दा सुशासन हुनुपर्ने बताउँछन् । “बेथितिकै कारण सबै कुरा बिग्रिएको हो,” ३० वर्षीय सुनिल साह भन्छन, “विधिमा चल्न थालेपछि क्रमशः बिग्रेका क्षेत्र ठीक हुँदै जान्छन् ।”

दक्षिणतिर भारत र पश्चिम सर्लाहीसँग जोडिने क्षेत्र नम्बर ४ का बासिन्दा हर्दी र मडहा नदीको कटान र डुवानबाट बर्षौंदेखि पीडित छन् । यस क्षेत्रमा भरपर्दो अस्पताल नहुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यता समेत छ । “हाम्रो क्षेत्र शिक्षा र स्वास्थ्यमा पहुँचका दृष्टिले निकै पछि छ,” रामगोपालपुर–२ का सामाजिक कार्यकर्ता महम्मद कादिर हुसैन बताउँछन्, “यसैगरी नदी कटान र डुबानसँगै सिँचाइको असुविधा हाम्रा टड्कारा समस्या हुन् ।” प्रतिनिधिसभा निर्वाचनको यो महायज्ञमा यी विषय जिम्मेवारीवोध गर्ने उम्मेदवार आफूहरूको पर्खाइमा रहेका उनी बताउँछन ।

अहिले निर्वाचन अभियानका क्रममा मत माग्दै बस्तीबस्ती पुगेका दलका कार्यकर्ता र उम्मेदवारसँग मतदाता यीनै विषय उठाउँदैछन् । यी विषयसँग आफूलाई जोडेर निदानको स्पष्ट खाका कोर्न सक्ने उम्मेदवार खोज्दैछन् । “हामी यसपालि निदानको सुनिश्चितता दिने उम्मेदवारलाई रोज्छौँ,” क्षेत्र नम्बर–१ मा पर्ने भङ्गाहा–४ रामनगरका ३० वर्षीय युवा मतदाता रामईश्वर ठाकुरले भने ।

मुख्य दलहरूले उम्मेदवारीको औचित्यबारे राजनीतिक तर्क दिए पनि आम जनताले त्यसको वास्ता गरेका छैनन् । खेतीकिसानी मुख्य पेसा भएका जिल्लाका बहुसङ्ख्यक मतदाता भने चुनावमा आफ्ना कुरा कसले कसरी उठाउँदैछन् भन्ने हेरिरहेको बताउँछन् । “राजनीतिक तर्कवितर्क हामीलाई सुन्नु छैन, हाम्रो खेतबारीमा कसरी पानी पुग्छ ? किसानले अब के सहुलियत पाउँछन् ? समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?” महोत्तरी–२ मा पर्ने भङ्गाहा–२ बखरीका किसान जीवछ सिंह थारू भन्छन, “उम्मेदवारहरूले यी कुराको योजनासहितको जवाफ लिएर हामीसँग कुरा गरून् ।”

चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा १५ स्थानीय तह छन् । जसमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । नगरपालिका भित्रका अधिकांश बस्ती पनि ग्रामीण परिवेशकै छन् । पूर्वाधार विकासबिनै नगरपालिका घोषणा गरिएका स्थानहरु सहुलियतविनाको कर बढाउने ठाउँ मात्र बनाइएको सर्वसाधारणको टिप्पणी सुनिन्छ ।

जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रका आम बासिन्दा अधिकांश कृषि पेसामा आबद्ध छन् । गाउँगाउँमा सिंहदरवारको नारा लगाइए पनि जिल्लाका अधिकांश स्थानीय तहमा व्यवस्थित कृषि शाखासम्म नरहेको मतदाताको गुनासो छ । कुनै तहका प्रतिनिधिले पनि कृषिमा चासोसम्मको नदेखाएको गौशाला नगरपालिका–१ रामनगरका ५५ वर्षीय गणेश महतो बताउँछन् । अब यसपालिको चुनावमा भने लोलोपोतोमा भोट नजाने मतदाता बताउँछन् ।

निर्वाचनमा होमिएका दल र उम्मेदवारहरूले सोच्न नभ्याएका कुरा मतदाताबाट आउन थालेपछि अब सो अनुसारका प्रतिज्ञापत्रको तयारीमा लागेका छन् । “हामीले समग्र विकासको मुद्दा त उठाउँदै आएका हौँ,” महोत्तरी–१ मा पर्ने भङ्गाहा–९ सखुवाटोलका बासिन्दा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश यादव भन्छन्, “स्थानीय मुद्दाबारे स्पष्ट पार्दै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारीमा छौँ ।” यसैगरी नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका जिल्ला नेतृत्वले पनि चारवटै क्षेत्रमा स्थानीय प्रतिबद्धतापत्र जनतामाझ पुर्‍याउने बताएका छन् ।

निर्वाचनमा जिल्लाका चारवटै क्षेत्रमा गरी १३९ जना उम्मेदवार मैदानमा छन् । जसमा क्षेत्र नम्बर १ मा १२ स्वतन्त्र र १३ राजनीतिक दलका समेत २५ जना उम्मेदवार छन् । यस्तै क्षेत्र नम्बर २ मा २२ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ३७ जना उम्मेदवार छन् । यसैगरी क्षेत्र नम्बर ३ मा २६ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ४१ एवं क्षेत्र नम्बर ४ मा २३ स्वतन्त्र र १३ राजनीतिक दलका गरी ३६ जना उम्मेदवार छन् । जिल्लभरिमा ११ स्वतन्त्र र आठ जना राजनीतिक दलका गरी १९ जना महिला उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।

जिल्लामा चार लाख ३१ हजार २८२ मतदाता छन् । जसमा पुरुष दुई लाख ३५ हजार १८३, महिला एक लाख ९६ हजार ९७ र दुई अन्य लिङ्गी रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यिनमा क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी एक लाख १० हजार ४३६ मतदाता छन् । यसैगरी क्षेत्र नम्बर ४ मा एक लाख सात हजार ६०६, क्षेत्र नम्बर २ मा एक लाख सात हजार ५९४ र क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार ६४६ रहेका निर्वाचन आयोगबाट सार्वजनिक मतदाता नामावली अभिलेखमा उल्लेख छ ।

यसपालिको निर्वाचनका लागि जिल्लामा जम्मा २५८ मतदानस्थलमा ५३६ मतदान केन्द्रको व्यवस्था छ । जसमा क्षेत्र नम्बर १ मा ५९ मतदानस्थलमा १३० मतदान केन्द्र व्यवस्था गरिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा ६२ मतदानस्थलमा १३३ मतदान केन्द्र, क्षेत्र नम्बर ३ मा ७७ मतदानस्थलमा १४२ मतदान केन्द्र र क्षेत्र नम्बर ४ मा ६० मतदानस्थलमा १३१ मतदान केन्द्र व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन ।

जिल्लाका यी मतदानस्थलहरूमध्ये भारतीय सीमासँग जोडिएका र यातायातको सहज पहुँच नभएका समेत १६३ मतदानस्थल अति सम्वेदनशील, ८९ सम्वेदनशील र छ मात्र सामान्य प्रकृतिका रहेका जिल्ला सुरक्षा समितिले वर्गाीकरण गरेको छ । यी मतदानस्थलको उच्च सुरक्षा प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ ।

रासस

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.