सशस्त्र प्रहरी बल नेपालद्वारा काठमाडौंको कीर्तिपुरमा सञ्चालित विद्यालयको करोडौं रकम घोटाला निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ एक्लैले मात्र गरेकी होलिन् ? सशस्त्र नेतृत्व र छानबिन समितिका लागि यसबेला यो प्रश्न निकै पेचिलो बनेको छ । 

विद्यालयकी लेखापाल निरीक्षक गुरुङ  र उनको प्रेमी भनिएका लीलाबहादुर गुरुङ हिजो शनिबारदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार उनीहरुमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । विद्यालयका कमाण्डेण्ट प्रहरी उपरीक्षक (एसपी) रामजङ्ग पाण्डेसहितलाई गत हप्ता नै सशस्त्र प्रहरी मुख्यालय हलचोक तानिएको स्रोतको भनाइ छ । 

विद्यालयको करिब आठ करोड रकमको हिसाब गोलमाल फेलापरेपछि डिआइजी युवराज अर्यालको संयोजकत्व समिति गठन गरेर छानबिन थालिएको थियो । छानबिनका क्रममा घोटाला पुष्टि भएपछि निरीक्षक गुरुङ र उनका प्रेमी लाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरलाई आग्रह गरिएको थियो । आग्रह लगत्तै काठमाडौं प्रहरी परिसरले उनह्रिुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

‘सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार धेरै जसो चेकमा गुरुङभन्दा निकै माथिका कमाण्डरहरुकै हस्ताक्षर भेटिएको छ । स्रोत भन्छ, शंकास्पद कमाण्डरहरुमाथि समेत छानबिन भइरहेको छ । उनीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।’ सशस्त्रको कल्याणकारी कोष कीर्तिपुरमा सञ्चालित विद्यालयमा करिब नौ सय विद्यार्थी अध्ययनरत छन् । 

ओखलढुंगा जन्मथलो भएकी गुरुङ  ६ वर्षदेखि उक्त विद्यालयको लेखापाल तहमा कार्यरत थिइन। नायब निरीक्षक (सई) बाट निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएपछि उनकै लागि उक्त दरबन्दी कायम गरिएको थियो । तर तिनै गुरुङले विद्यालयको स्टेशनरी, शैक्षिक शुल्कलगायत बापत उठेको रकम आफ्नो खातामा राखेर ब्याज मात्र खाइनन्, लासिजम्पाटस्थित प्रेमीको रेष्टुराँमा समेत लगानी गरेको पाइएको छ ।  

जबकि बिगतमा हिताबकिताबको प्रत्येक वर्ष अडिट गराइन्थ्यो । पछिल्ला वर्षहरुमा भने गुरुङलाई फुक्काफाल छाडिएको थियो । जानकारहरुका अनुसार सशस्त्रको उक्त घोटाला काण्डमा डिआईजी, एआईजी नै तानिने संभावना छ ।

तस्विरः सामाजिक सञ्जाल