सैनिक ऐन, न्यायको निष्पक्षताविरुद्ध प्रधान सेनापति प्रभुराम शर्मा नै परिचालित, सेनापतिको शासन हावी हुँदा विधिको शासन तहसनहस, प्रचण्ड सरकार परीक्षाको कसीमा
प्रधान सेनापति प्रभुराम शर्माले सैनिक ऐन, रोलक्रम, प्रतिस्पर्धा, निष्पक्षता र स्वच्छताका आधारमा बढुवा हुने सैन्य संगठनको संस्कार उल्लंघन गरी ‘सेटिङ’ र ‘चिटिङ’ गरेर उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न ‘मुढेबल’ प्रयोग गरिरहेका छन् । प्रधान सेनापति शर्माको ‘हुलहुज्जत’ लाई निगरानी एवं नियन्त्रण गर्नु पर्ने सरकार उनकै दुषित इच्छा पूर्ति गरिदिने ‘रबर स्ट्याम्प’ बन्ने वा नबन्ने धरमरमा छ ।
प्रधान सेनापति शर्माको गैरकानूनी र गैर व्यवसायिक इच्छालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पुरा गरिदिएमा त्यो नेपाली सेनाकै इतिहासमा कालो धब्बा हुने त निश्चित छ नै, सरकारको समेत ठूलो बदनामी इतिहासमा अंकित हुनेछ । विधि, पद्दति मारिएको प्रमाण पनि हुनेछ । अर्थात यो काण्ड शक्ति केन्द्र र सरकारको मिलेमतोमा जुनसुकै तहका अक्षम्य घटना हुन सक्छन् भन्ने प्रमाण बन्नेछ । तसर्थ सरकारले प्रधान सेनापति शर्माको स्वेच्छाचारिता विरुद्ध न्यायिक सभ्यता प्रयोग गर्छ वा ‘रबर स्ट्याम्प’ बन्छ ? पुष्टि हुन धेरै समय लाग्ने छैन ।
किनभने उस्तै प्रकृतिको तथ्य प्रमाण सार्वजनिक हुँदा सेनापति शर्माले उपरथी ताराध्वज पाण्डेलाई जंङ्गी अड्डाभित्र प्राड विवाकको कार्यकक्षमा पाँच घण्टा अनौपचारिक बन्दी बनाएर सैनिक ऐनका दफा, उपदफाहरु देखाउँदै धम्क्याएर, तर्साएर राति नौ बजे राजीनामा दिएर घर जान बाध्य बनाएका थिए । जंङ्गी अड्डा स्रोतका अनुसार शर्मा समूहले पाण्डेलाई कोर्ट मार्शल हुन्छ, जेल जान्छस्, पेन्सनलगायत सेवा सुविधा पाउँदैनस् भन्दै मानसिक यातना दिएर रात्ति नै राजीनामा दिन बाध्य पारेका थिए ।
तर, उपरथी अशोकराज सिग्देलको पाण्डेको भन्दा अझ् गम्भीर प्रकृतिको सबुत सार्वजनिक भइसक्दा पनि शर्माले जसरी पनि उनलाई रथी बढुवा गर्दै आफ्नो उत्तराधिकारी बनाउन हुलहुज्जत गरिरहेका छन् । कानुनविद्हरुका भनाइमा सिग्देलले दुई वर्ष उमेर घटाएको कैफियत पाण्डेको भन्दा अझ ठूलो किर्ते यस अर्थमा होकि पाण्डेले जहिले उमेर सच्चाएका हुन्, त्यही मिति राखेका थिए । तर, सिग्देलले पछि उमेर सच्चाएर पनि ०४३ सालकै मिति राखेका छन् । जुन कानून अनुसार पाण्डेको भन्दा ठूलो किर्ते हो ।
जंङ्गी अड्डाभित्र कानून, विधि, पद्धति मारेर सेनापति शर्माले जित्दा सैन्य संगठनको साख भने निरन्तर हारिरहेको छ । सेना आन्तरिक गुटवन्दी, कलह र असन्तुष्टिको उत्कर्षमा पुगेको छ । अर्थात सेनाभित्र शर्माले ‘रुल अफ ल होइन, रुल अफ म्यान’ लागू गर्दा दुई सय ६० वर्ष लामो वीरताको गाथा बोकेको सैनिक संगठन तहसनहस हुने अवस्थामा छ ।
सिग्देललाई रथी बढुवा गर्न दबाब दिन सेनापति शर्मा अस्ति २० मंसिर बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । तर, २१ मंसिर बिहान १० बजे बसेको मन्त्रिपरिषद्ले सिग्देललाई रथी बढुवा गरेन । लगत्तै शर्माले दिउँसो एक बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्न समय मागेका थिए । प्रचण्डले समय निकाल्न नभ्याएपछि पुनः साँझ बालुवाटार पुगेर दबाब दिएका स्रोतको भनाइ छ । रक्षा सचिव शर्मा र मुख्य सचिव अर्याल सेनापति शर्माको मोहरा बनिरहेका स्रोत बताउँछ ।
नेपाली सेना नेपालको जमिन (भूमि, सीमाना), जनता, जनावर तथा अन्तर्राष्ट्रिय छविको समेत रक्षा कबच हो । सिपाहीहरुका अनेकन कष्ट र बलिदानको जगमा सैन्य संगठनको गर्विलो इतिहास कोरिएको हो । अंग्रेज फौज विरुद्ध सिन्धुलीको लडाईंमा नेतृत्व गर्ने बङ्शु गुरुङ वा नालापानीको लडाईंमा नेतृत्व गर्ने बलभद्र कुँवर वा नेपाल विस्तारको लडाईंमा कीर्तिपुरमा बलिदान गर्ने कालु पाँडेलगायत युद्ध मैदानमा बहादुरीता देखाएका तमाम सैनिकको योगदान सम्झेर सैन्य संगठनको महत्व भुल्नु हुँदैन । नेपाली सेनालाई पारदर्शी, सबल बनाउने, संरक्षण र सम्बद्र्धन गर्ने, किर्ते धन्दा हुन नदिने वा किर्ते धन्दा भएको खुलासा भएपछि त्यस्ता कुडाकर्कटलाई बढार्ने दायित्व सरकार, बहालवाला तथा अवकाश प्राप्त सैनिक, सचेत नागरिक सबैको हो । सबल र पारदर्शी सैन्य संगठनप्रति चासो राख्नु आमनागरिकको कर्तव्य हो । किनभने नागरिकका आशाका प्रमुख केन्द्र सेना, न्यायालयजस्ता संस्था हुन् ।
यो पक्तिकारको चाहना विधिको शासन स्थापना होस्, मूल्यांकनको निष्पक्षता सबैप्रति समान रुपमा कायम रहोस्, न्याय नमरोस् भन्ने बाहेक अरु केही पनि छैन । कोही अमुक पात्रप्रति कुनै आग्रह वा पूर्वाग्रह छैन । यस प्रतिनिधिले व्यक्तिगत रुपमा न ताराध्वज पाण्डेलाई चिनेको छ, न त अशोकराज सिग्देललाई नै । सेनापति प्रभुराम शर्माप्रति पनि कुनै रिसरास, वैरभाव वा आग्रह, पूर्वाग्रह छैन, मात्रै उनको कार्यशैली र प्रवृतिलाई नियाल्ने बाहेक । तसर्थ यस प्रतिनिधिले जंङ्गी अड्डामाथि जे जत्ति कलम चलाएको छ, सैनिक संगठनभित्रको विकृति, वेथिति सुधार होस्, किर्ते धन्दा गरेर जागिर खानेहरु पाखा लागुन् । योग्यहरुले स्थान पाँउन् । अमुक व्यक्तिलाई च्याप्ने घातक प्रवृति अन्त्य होस् भन्ने बाहेक अर्को कुनै स्वार्थ छैन ।
महारथी प्रभुराम शर्माले सेनापतिको शासन हावी गराएर विधिको शासन तहसनहस बनाएकाले मात्र यस प्रतिनिधिले उनको कार्यशैलीगत प्रवृति विरुद्ध कलम चलाउनु परेको हो । जंङ्गी अड्डाभित्र महारथी शर्माले जे जस्ता जोरजबर्जस्ती गरिरहेका छन्, उनको यस शैलीले गम्भीर प्रश्न उठेको छ, प्रधान सेनापतिको जिम्मेवारीमा बसेर पनि शर्मा किन सेनाभित्र विद्रोह गराइरहेका छन् ? प्रधान सेनापति शर्मा स्वविवेकले नै चलेका छन् वा कहीँ कतैबाट परिचालित भइरहेका छन् ?