सोलुखुम्बूको राजनीतिमा एमाले नेता मानवीर राईलाई अहिलेसम्मकै ठूलो राजकीय जिम्मेवारी
एमालेको इतिहासमा सोलुखुम्बूबाट पहिलो पटक निर्वाचित मानवीर राईलाई रक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निकै ठूलो न्याय गरेका छन् ।
१९ हजार तीन सय २४ । नेकपा (एमाले) का उम्मेदवार मानवीर राईले ४ मंसिर ०७९ मा भएको संघीय निर्वाचनमा पाएको जनमत हो यो । त्यस निर्वाचनमा नेपाली कांग्रेसका ‘हेवी वेट’ उम्मेदवार बलबहादुर केसीलाई दुई हजार सात सय ७९ मतान्तरले पराजित गरी राई प्रतिनिधि सभामा छिरेका थिए । केसीले १६ हजार पाँच सय ४५ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा नेकपा (एमाले) एक्लै मैदानमा होमिएको थियो भने केसीलाई नेकपा (माओवादी–केन्द्र) ले साथ दिएको थियो । कतिसम्म भने सोलुखुम्बूबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका हेमकुमार राई ‘सुरवीर’ ले पाइसकेको टिकट खोसेर कांग्रेस नेता केसी उम्मेदवार बनेका थिए ।
जसवापत सोलुखुम्बूको प्रदेश सभाका दुई र मोरङको प्रदेश सभाको एक गरी तीन सिट माओवादीले लिएको थियो । अनि मोरङको प्रदेश सभामा प्रचण्डले आफ्नो कान्छो ज्वाईँ जीवन आचार्यलाई टिकट थमाएका थिए । जो निर्वाचित भएर दुई पटक कोशी प्रदेशमा मन्त्री बन्न भ्याए ।
०७९ को प्रतिनिधि सभा निर्वाचनमा सोलुखम्बूमा कांग्रेस र माओवादी केन्द्रको मतभार एमालेको भन्दा झण्डै नौ हजार बढी थियो । तर, त्यति फराकिलो मतान्तरलाई पनि पल्टाएर एमालेका राईले बाजी मारिदिए । ०४८ सालपछिका सात वटा निर्वाचन ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मध्ये राईले सोलुखुम्बूमा नेकपा (एमाले) लाई पहिलो पटक निर्वाचित गराएका थिए ।
त्यसअघिका ६ वटा निर्वाचन मध्ये ०४८, ०५१, ०५६ र ०७० मा कांग्रेस नेता केसी निर्वाचित भएका थिए भने ०६४ र ०७४ मा माओवादी उम्मेदवार क्रमश गोपाल किराती र हेमकुमार राई विजयी भएका थिए । अहिलेसम्म सोलुखुम्बूबाट विजयी सांसदहरुमध्ये निकै महत्वपूर्ण रक्षा मन्त्रालयको जिम्मेवारी पाउने राई पहिलो मन्त्री हुन् । रक्षा मन्त्रालय बजेट, शक्ति (पावर), सामर्थ्य, पहुँच सबै हिसाबले महत्वपूर्ण मानिन्छ ।
०५१ मा एमालेले सरकारको नेतृत्व गर्दा रक्षा मन्त्रालयको नेतृत्व तत्कालीन उपप्रधान मन्त्री तथा पार्टी महासचिव माधवकुमार नेपाल स्वयंले गरेका थिए । त्यस यता एमालेका भागमा परेका बेला तत्कालीन उपाध्यक्षद्धय विद्या भण्डारी, भीम रावल, स्थायी समिति सदस्य विष्णु पौडेल र पछिल्लो पटक सर्लाहीबाट निर्वाचित सांसद हरि उप्रेतीले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
बहुदलपछि सोलुखुम्बूबाट निर्वाचित सांसद बलबहादुर केसी र गोपाल किराती पटक–पटक मन्त्री भए पनि रक्षा जस्तो महत्वपूर्ण र संवेदनशील मन्त्रालयको जिम्मेवारी पाएका थिएनन् । केसी युवा खेलकुद, श्रम तथा रोजगार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए भने किराती दोहोर्याएर संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएका थिए । रक्षा मन्त्रालयको तुलनामा यी मन्त्रालयलाई ठिकै मानिन्छ ।
एमालेको इतिहासमा सोलुखुम्बूबाट पहिलो पटक निर्वाचित मानवीर राईलाई रक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निकै ठूलो न्याय गरेका छन् । रक्षा मन्त्रालय जति जिम्मेवार हो, उत्तिकै संवेदनशील र विवादास्पद मन्त्रालय पनि हो । राईले रक्षा मन्त्रालयको जिम्मेवारी लिइरहदा किर्ते नागरिकता र शैक्षिक प्रमाणपत्र बोकेर अशोकराज सिग्देल प्रधान सेनापति बन्न सम्पूर्ण सामर्थ्य खर्चिरहेका छन् ।
दागी सिग्देललाई सेनापति बनाउन ‘खोटो नियत’ का सैन्य प्रमुख प्रभुराम शर्मा त जिउ, ज्यान छाडेर लाग्ने नै भए, अर्बपति केही ठेकेदार र एमालेकै केही नेताहरु समेत साम, दाम, दण्ड, भेद सबै औजार प्रयोग गरिरहेका छन् । यो समूहले सिग्देलको जाली नागरिकता, प्रमाणपत्रका बारेमा लेख्ने/बोल्नेलाई ‘सेना विरोधी गिरोह’ को उपमा दिइरहेको छ । तर, सैनिक संगठनको आचार, संस्कार, अनुशासनलाई धुलिसात् बनाउन लागि परेको गिरोह चाहिँ उनीहरु आफैं हुन् ।
किर्ते नागरिकता र प्रमाणपत्रधारी सिग्देललाई सेनापति बनाउन राई शक्ति केन्द्रका गोटी बन्छन् कि सत्य, न्यायका पक्षमा अडान लिन्छन् ? उनको पहिलो परीक्षण यहीँ हुनेछ । हुन त यो निश्चित हो कि एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जे निर्देशन दिनेछन्, राईले त्यसै गर्नेछन् ।
सोलुखुम्बूको बासाखालीस्थित दुर्गम ठूल्ढुङ्गामा सामान्य परिवारमा जन्मिएका राई जिल्लाको राजनीतिमा भलादमी, इमान र निष्ठाका धरोहर हुन् । जुँगाको रेखी नबस्दैदेखि उनी एमालेको राजनीतिमा होमिएका थिए । एमालेमा आवद्ध भएवापत उनले निकै दुःख, कष्ट झेलेका छन् । सरलपन अनि इमान र निष्ठा जोगाएकै कारण बलबहादुर केसी जस्ता हस्ती उम्मेदवारलाई पराजित गर्न सफल भएका थिए ।
जे जसरी हुन्छ, अवसर लिइहाल्नुपर्छ, अर्काको भाग खोसेर खाईहाल्नुपर्छ भन्ने मान्यता विरोधी समेत हुन् राई । ०७४ को निर्वाचनमै उनी सोलुखुम्बूबाट प्रतिनिधि सभाको दाबेदार थिए । एमाले र माओवादीबीच चुनावी तालमेल भएसँगै सोलुखुम्बू माओवादीका भागमा पर्यो । प्रतिनिधि सभाको टिकट नपाएपछि एमाले नेतृत्वले राईलाई सोलुखुम्बु प्रदेश क्षेत्र नंं. १ बाट प्रत्यक्षतर्फको टिकट उपलब्ध गराएको थियो । जीत सुनिश्चित पनि थियो । तर, उनले ‘त्यो मेरो भूगोल होईन, त्यहाँ त्यही भूगोलका साथीहरूलाई अवसर दिनुपर्छ । म उठदिन् भनेर पटक–पटक भनेँ ।’
अनि उनी बाम गठबन्धनको नेतृत्व गर्दै चुनाव परिचालनमा खटिए । प्रदेश क्षेत्र नंं. १ को टिकट राईले छाडिदिएपछि उत्तम बस्नेतले टिकट पाएर प्रदेश राज्य मन्त्री समेत भए । राईले गठबन्धनका सबै उम्मेदवारलाई जिताए ।
खासमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई समान व्यवहारले सहयोग गर्ने, तडकभडक नदेखाउने, मिलनसार स्वभाव र सरल आनीबानीका कारण राईले सोलुखुम्बूमा एमालेलाई जिताएका थिए । एमाले शीर्ष नेतृत्वले पनि उनलाई गहन जिम्मेवारी दिएको छ । प्राप्त जिम्मेवारीलाई राईले कसरी निर्वाह गर्छन ? आगामी दिनमा देखिने नै छ ।



घ्यूको ग्यालेनभित्र साढे ११ किलो चरेस तस्करी गर्दैगर्दा पर्सामा एक पक्राउ

रौतहटका सात पालिकामा ३५ सयको निःशुल्क आँखा जाँच

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

प्रधान सेनापति प्रभुराम शर्मा राजनीतिमा

उपरथी बाबुराम श्रेष्ठ भ्रष्टाचारमा संलग्न भएको प्रमाण भेटिएपछि छानबिन बोर्ड (कोर्ट अफ इन्क्यायरी) गठन, सफाई पाउन राजनीतिक ‘लविइङ’ गर्दै नेताहरुका घर–घर धाउँदै
