पृथ्वीनारायण शाह नभएको भए के हुन्थ्यो ?

२७ पुस । आधुनिक नेपालको इतिहासमा एक महत्वपूर्ण दिन । समर्थक र बिरोधी दुवैका लागि यस दिनको विशेष महत्व छ किनभने पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिन हो । जसले सन् १७४४ को मध्यमा नुवाकोट राज्यमाथि हमला गरी विजय प्राप्त गरेका थिए । अनि गोरखा राज्यको विस्तार गरी नेपाल एकीकरण प्रकृया अघि बढाएका थिए । त्यसैको परिणाम आज हामीले आफूलाई नेपाली भनेर गर्व गर्न पाएका छौं । तसर्थ पुस २७ मा पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण गर्ने दुवैथरी शक्तिहरु न्वारनदेखिको बलमा समर्थन एवं बिरोधमा उत्रदैछन् ।

विगतका तुलनामा यस पटकको पृथ्वी जयन्ती विशेष महत्वको छ । किनकी यस पटकको पुस २७ मा पृथ्वीनारायण शाह जन्मिएको ठिक ३ सय वर्ष भएको छ अर्थात उनको तीन सयौं जन्मजयन्ती मनाईँदै छ । खासगरी ०६२/०६३ को जनआन्दोलनपछि पृथ्वीनारायण शाह एकताका प्रतिक हुन् र होइनन् ? बहसको केन्द्रमा छ यो बिषय । ०६२÷६३ पछि शाह एकताका प्रतिक होइनन् भन्ने मतले ठाडो शिर उठाइरहेको छ ।

कस्ता थिए पृथ्वीनारायण शाह ?
पृथ्वीनारायण शाहप्रति चासो राख्ने सबैलाई जानकारी भएकै कुुरा हो, उनका पिता गोरखाका राजा नरभुपाल शाहका चारवटी पत्नीहरु थिए । जसमध्ये माइली पत्नी कौशल्यावतीका गर्भबाट बृहस्पतिवार २७ सेप्टेम्वर सन् १७२२ (वि.सं. १७७९ साल पुस २७ गते) मा पृथ्वीनारायण शाहको जन्म भएको थियो । (शर्मा बालचन्द्र, नेपालको ऐतिहासिक रुपरेखा, प्रकाशिका–कृष्णकुमारी देवी, २३/११९ दुधविनायक, बाराणसी–१, तृतिय संस्करण–०३३, पृष्ठ २१६)

पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुर राज्यका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १९९५ सालमा भयो । तर, विवाह सम्पन्न भए लगत्तै दुई पक्षबीच खटपट बढ्यो । राजा सेनले ‘राजकुमारी अहिले सानै छिन्, त्यसैले उनलाई अहिले नै गोरखामा पठाइहाल्न संभव भएन । एक–आध वर्षपछि शुभ साइत हेरी ‘गौना’ गर्न आउनुहोला‘ भनेर गोरखा राज्यबाट आएका जन्तीहरुका साथ ज्वाईँ पृथ्वीनारायण शाहलाई रित्तोहात फर्काइदिएका थिए । (आचार्य बाबुराम, नेपालको संक्षिप्त वृत्तान्त, सम्पादक तथा प्रकाशक, प्रा. श्रीकृष्ण आचार्य, प्रकाशन मिति २०७० भाद्र १ गते, मुद्रक– अन्तर्राष्ट्रिय मञ्च छापाखाना प्रा.लि. अनामनगर काठमाडौं, पृष्ठ, १०४)

पृथ्वीनारायण शाहको दोस्रो विवाह भारत गोरखपुरकी राजपुत कन्यासँग वि.सं. १७९७ सालमा भयो । दोस्रो विवाहको दुई वर्षपछि पिता नरभुपाल शाहको वि.सं. १७९९ चैत्र २५ गते देहवसान भएसँगै यसैदिनबाट युवराज पृथ्वीनारायण शाह गोरखा राज्यको राजा भए । राजा भए लगत्तै उनले नुवाकोट राज्यमाथि आक्रमण गरे । त्यसअघि उनका पिता नरभुपाल शाहले पनि नुवाकोटमाथि हमला गरेर असफल भएका थिए । पृथ्वीनारायण शाह पनि पराजित भए । यसपछि उनी बन्दुक, गोला, बारुदको जोहोका लागि भारत हान्निए ।

भारतको गोरखपुर, काशीमा आफ्ना ससुरासमेतको सहयोगमा पृथ्वीनारायण शाहले तत्कालीन समयका आधुनिक हतियारहरु संकलन गरे । यी हतियार प्राप्त गरेसँगै पृथ्वीनारायण शाहले नुवाकोटमाथि पुनः हमला गरी वि. संं. १८०१ असोज १५ गते त्यस राज्यलाई आफ्नो नियन्त्रणमा लिए । एवं रीतले आफ्नै ससुराली मकवानपुर राज्यमाथि समेत आक्रमण गरेर शाहले नियन्त्रणमा लिए । सन् १७६२ मा पृथ्वीनारायण शाहले मकवानपुर राज्यमाथि हमला गरेर नियन्त्रणमा लिएका थिए ।

यसपछि उनको चौबिसी राज्यसँग लडाईँ भयो । सन् १७६४ मा चौबिसी राज्यमाथि शाहले कब्जा जमाए । यससँगै उनले काठमाडौं उपत्यकाका राज्यलाई निसानामा पार्न थाले । १७६६ मा तेस्रो पटक किर्तिपुरलाई आत्मसमर्पण गर्न बाध्य तुल्याए र २५ सेप्टेम्बर १७६८ मा काठमाडौं, त्यसको १० दिनकै हाराहारीमा ललितपुर अनि १७६९ मा भादगाउँ (भक्तपुर) मा आधिपत्य जमाए । यसपछि उनको नजर पूर्वतिर बढ्यो । उनले सन् १७७३ मा अरुणसम्म सीमा बिस्तार गरे । त्यसको एक वर्षपछि १७७४ मा विजयपुर जिते । १७७४ मै अरुण तथा तमोर माझको इलामलाई आत्मसमर्पण गराए । (ज्ञवाली सूर्यबिक्रम, पृथ्वीनारायण शाह, पहिलो संस्करण: वि.सं. १९९२, दार्जीलिङ, पृष्ठ ३८१)

पृथ्वीनारायण शाहलाई घृणा गर्नेहरुका तर्क के के हुन् ?
पृथ्वीनारायण शाहको निधन वि.सं. १८३१ माघ १ गते बिहान ७ बजे भयो । यसबेला उनी ५२ वर्षका मात्र थिए । पृथ्वीनारायण शाहको निधनपछि उनका बिरोधीहरुले उनलाई हिंस्रक, अमानवीय, सामन्ती राजाको संज्ञा मात्रै दिइरहेका छैनन्, पछिल्ला दिनहरुमा त उनको राज्य विस्तार अभियानलाई एकीकरण नै नमान्ने जिरह पेस गरिरहेका छन् ।

किर्तिपुरको युद्धमा विजय प्राप्त गरिसकेपछि पृथ्वीनारायण शाहले त्यहाँ पराजितहरुको नाक काटेर १२ धार्नीको थाक लगाएको बिरोधीहरुको आरोप छ । भलै, यस आरोपलाई पुष्टि गर्ने आधारहरु भने बलिया छैनन् । दुई–दुई पटक हारेर तेस्रो पटकमा विजय प्राप्त गरेको, आफ्नो सबैभन्दा विस्वासिलो र सुरो कमाण्डर कालु पाँडे किर्तिपुरकै लडाईँमा मारिएको र आफू पनि संयोगले मात्र बाँच्न सकेकाले त्यहाँ पराजितहरुप्रति पृथ्वीनारायण शाहले एकहदसम्म निर्दयी व्यवहार अवश्य नै देखाएको अनुमान गर्न सकिन्छ । तर, नाक काटेर १२ धार्नी जम्मा गरेको प्रमाण भने बलियो छैन । १२ धार्नी नाक जम्मा गर्न कति मानिस मारिनु पर्ला ? त्यसबेला किर्तिपुरको जनसंख्या कति थियो होला ? जस्ता सामान्य प्रश्नमा घोत्लिने मात्र हो भने पनि पृथ्वीनारायण शाहमाथि गरिएको प्रचार मिथ्या साबित हुन्छ ।

पृथ्वीनारायण शाह एकहदसम्म सनकी र हठी थिए भन्ने उनका केही गतिविधिले देखाउँछन् । जस्तो कि गोरखाको राजगद्दीमा बसिसकेपछि मकवानपुरका राजा हेमकर्ण सेनले आफ्नी छोरी लिन निम्त्याएका थिए । निम्तो अनुसार उनी आफ्नी राजकुमारी लिन आएर दरबार नजिकै डेराडड्डा जमाएर बसेका थिए । यसैक्रममा आफूलाई ससुरा हेमकर्ण सेनका सिपाहीले जुत्ता नफुकाली सलाम गरेको देखेपछि उनीहरुको हत्या गर्न लगाएका थिए । यही विषयमा जेठु दिग्बन्धन सेन र मन्त्री कनकसिंह बानियाँसँग किचलो भएपछि पृथ्वीनारायण शाह श्रीमती नै नलिई आफ्नो राज्य गोेरखा फर्किए ।

त्यसैगरी काशी–गोरखपुरबाट आधुनिक हतियार लिएर फर्कनेक्रममा गोरखपुरको गोमतीनगरमा लखनउका तत्कालीन नवाब बलवन्तसिंहका सिपाहीहरुले पृथ्वीनारायण शाहसँग रहेका सबै सहयोगीहरुको भारी चेकजाँच गर्न खोजे । यो घटनाबाट क्रुद्ध बनेका शाहले उनीहरुलाई मार्न निर्देशन दिए । उनीहरु मारिए । बिरानो मुलुकमा सामान्य विवादमै अर्काका सिपाहीको हत्या गरिनु हठीपनकै उदाहरण हो । नुवाकोटमा विजय प्राप्त गरेपछि ज्युँदै पक्राउ परेका जयन्त रानालाई पृथ्वीनारायण शाहले छाला काडेर नून–चूक लगाएर क्रुरतापूर्वक हत्या गराएका थिए ।

यी केही प्रतिनिधि घटनाका कारण उनका विरोधीहरुले पृथ्वीनारायण शाहलाई क्रुर, हिंस्रक, सामन्तीको उपमा दिने गरेका छन् । तर, त्यसबेलाको लडाईँलाई त्यतिबेलैको चश्माले मुल्यांकन भने गरिएको छैन । मानवअधिकारका सिद्धान्तहरु प्रतिपादन भइसकेको, आधुनिक कानूनका सिद्धान्त र आचार संहिताहरु जारी भइसकेको वर्तमान समयमा त बिरोधीहरुलाई निर्ममता र कायरतापूर्वक दमन गरिने गरेको छ भने आजभन्दा झण्डै तीन सय वर्ष अगाडिको युद्ध तत्कालीन परिवेश अनुसार हिंस्रक हुनु स्वभाविकै हो ।

पृथ्वीनारायण शाहलाई राष्ट्रनिमार्ता मान्नु पर्ने कारण
उनको कालक्रमलाई नियाल्दा पृथ्वीनारायण शाह दुरदर्शी राजा थिए भन्न सकिन्छ । राजगद्दीमा नबस्दै उनले मकवानपुरका राजाकी छोरीसँग बिहे गरेर उनलाई आफ्नो काबुृभित्र राख्न खोजेको देखिन्छ । त्यसैगरी भक्तपुरका राजा रणजित मल्लसँग मितेरी साइनो गाँसेर ‘मित बुबा’ बनाएका थिए । यो चातुर्यताको अर्थ पनि मल्ललाई आफूप्रति नरम बनाउनु नै थियो । भलै, यी सम्बन्धहरुले फलदायी परिणाम दिन सकेनन् । पृथ्वीनारायण शाहले उनीहरुलाई युद्धद्धारा नै पराजित गर्नु पर्‍यो ।

पृथ्वीनारायण शाहले नुवाकोटमा आक्रमण गर्न आउनु अघि उनको सबैभन्दा बलियो शत्रु राज्य लमजुङ थियो । आफू नुवाकोट आक्रमण गर्न गएका बेला लमजुङले गोरखामाथि आक्रमण नगरोस् भनेर पृथ्वीनारायण शाहले कुटनीतिक पहलकदमी मार्फत लमजुङलाई आफ्नो वशमा पारेका थिए । उनले राज्य बिस्तार गर्दा सबै राज्यहरुलाई एकै पटक आक्रमण गर्ने भन्दा एकपछि अर्कोलाई आक्रमण गरेर नियन्त्रणमा दिने रणनीति अपनाएका थिए । तीन सय वर्ष अघिको आँखाले हेर्दा उक्त कार्यशैली निकै दुरदर्शी हो । पृथ्वीनारायण शाह दुरदर्शी त थिए नै, उनको साहस पनि उत्तिकै उम्दो पाइन्छ ।

पृथ्वीनारायण शाह नभएको भए के हुन्थ्यो ?
स्वभाविक प्रश्न उठ्छ– पृथ्वीनारायण शाह नभएको भए नेपाल के हुन्थ्यो ? अहिले जे जतिले आफूलाई सगर्व नेपाली भनेर चिनाइरहेका छन् वा चिनिइरहेका छन्, उनीहरु के हुन्थे ? पृथ्वीनारायण शाहले नेपाल राज्य बिस्तार नगरेका हुन्थे भने पनि एउटा नागरिकका रुपमा अवश्य नै हाम्रो जन्म हुने थियो होला ।

तर, हामीले आफूलाई गर्वका साथ नेपाली भनेर चिनाउन भने अवश्य नै पाउने थिएनौ । सुन्दर हिमाली उपमहाद्धीपका जनता हुन पाउने थिएनौं । हामी भुरे टाकुरे राज्यका जनता हुने थियौं वा ‘बिट्रिस’हरुले भारतीय उपनिवेशको राज्यमा यस धर्तीलाई गाभिसकेका हुने थिए । तसर्थ नेपाल राज्य बिस्तारको जस पृथ्वीनारायण शाहलाई दिनुको विकल्प छैन । उनीमाथि अनेकन लान्छना लगाउनु अग्रगामी चेत अवश्य नै होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *