मनलाई थुप्रै गीतहरू एकैपटक
गाउन मन लागेको छ
तर मन चुपैचाप सोचमा पनि डुबेको छ
मनलाग्नु : रहर
सोच लाग्नु : कर
मनले थुप्रै रहरहरू अङ्गाल्दा– अङ्गाल्दै पनि
सम्झेको छ–
उसका भोकहरूको समाधान खोइ ?
मन भोकाएको छ
त्यसैले मनले गाएको छैन
मन रोगाएको छ
त्यसैले मन निदाएको छैन
मन शोकाएको छ
त्यसैले मन अघाएको छैन
जब कहिले सुखका गीतहरू मन सुन्छ
अनि मन आफ्नो वर्तमान सम्झेर रुन्छ
र अनि मन यो पनि गुन्छ–
कहिले हामी पनि अरू जस्तै
उन्मुक्त भएर हाँस्न पाउने
कहिले हामी पनि अरू जस्तै
निर्धक्क भएर बाँच्न पाउने
मनलाई एकैपटक थुप्रै मिठा गीतहरू
लेख्न पनि मन लागेको छ
तर मन चुपैचाप सोचमा डुबेको छ ।