नेकपा एमालेले प्रतिनिधिसभा आजको बैठकमा पनि अवरोध गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका छन् ।
एमालेले माधव नेपालसहितका १४ जना सांसदलाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राखेर संसदमा निरन्तर विरोध जनाउँदै आएको छ।
एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् ।
आजको बैठकमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएपछिका सबै संसद बैठक नेकपा एमालेले अवरुद्ध गर्दै आएको छ । आजको बैठक पनि अवरुद्ध गर्ने एमालेले जनाएको छ ।
पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेले लगातार संसद वैठक अवरुद्ध गर्दै आएको हो ।