कोरोनाभाइरस संक्रमण महामारीले सबै क्षेत्रलाई प्रभावित पारेको छ। संक्रमणको जोखिमका कारण बन्द भएका क्षेत्र क्रमिक रुपमा खुल्दै गए पनि मनोरञ्जन क्षेत्रका सिनेमा हल, नाटकघर लगायत खुलेका छैनन्। भेला र भीडभाडलाई रोक लगाएको सरकारले प्रत्यक्ष रूपमा गरिने सांगीतिक कन्सर्टमा लगाएको निषेध पनि जारी नै छ। त्यसैले कतिपय आयोजकहरूले विकल्पको रुपमा इन्टरनेटको प्रयोग गरेर ‘भर्चुअल कन्सर्ट’ गरिरहेका छन्।
सामान्यतया कन्सर्ट भन्ने बित्तिकै दर्शकको अगाडि स्टेजमा वाद्यवादकहरूले प्रत्यक्ष दिएको संगीतमा गायकले गीत गाउने वा संगीत प्रस्तुत गर्ने कार्यक्रम हो। तर, अहिले त्यसरी कार्यक्रम गर्न सम्भव नभएकाले आईएफएक्समा कन्भर्ट गरिएको संगीतमा गायकले गीत गाइरहेका छन्। यसरी भर्चुअल कन्सर्ट दिनेमध्येका एक कलाकार हुन्, गायक शिव परियार।
परियारले अहिलेसम्म तीन वटा भर्चुअल कन्सर्टमा आफ्नो प्रस्तुति दिइसकेका छन्। उनी यो महामारी अघिको सामान्य अवस्थामा ती व्यस्त गायकमध्ये थिए, जो सांगीतिक कन्सर्टका लागि देशभित्रका मेला र महोत्सवदेखि विदेशसम्म पुग्थे। स्टेजमा दर्शकका हुटिङबीच गाउँदै नाच्थे र दर्शकलाई पनि नचाउँथे।
भर्चुअल कन्सर्टको प्रस्तुतिबाट भने खासै सन्तुष्टि मिल्दैन उनलाई।भर्चुअल कन्सर्टमा दर्शकसँग प्रत्यक्ष अन्तर्क्रिया नहुने भएकाले रमाइलो नहुने उनको अनुभव छ। भन्छन्, “भर्चुअल कन्सर्ट दशैंमा अमेरिका बसेका बुवाबाट टीका थाप्नु जस्तै हो। टीका त लगाइन्छ, तर अनुभूति गर्न नै सकिंदैन।”
दर्शकको अगाडि स्टेजमा गाउँदा बीच–बीचमा दर्शकसँगको अन्तर्क्रिया, दर्शकले दिने ताली र साथले रोमाञ्चकता थप्छ। तर, भर्चुअल कन्सर्टमा एउटा कोठामा बसेर एकोहोरो रुपमा गीत गाउनुपर्ने हुन्छ। विश्वका विभिन्न कुनामा भएका दर्शकले एकोहोरो सुन्छन्। यसले कन्सर्टको अर्थ नदिने उनको भनाइ छ।
यस्ता कार्यक्रममा आयोजकले अगाडि नै लक्षित दर्शकको चाहना अनुसार गीतको सूची तयार पारेर कलाकारलाई दिन्छन्। त्यही सूची अनुसार कलाकारले आफ्नो प्रस्तुति पस्किन्छन्। कलाकारहरूले स्टेजमा गाउँदा पूर्वतयारी भएको सूची बाहेकका गीत पनि दर्शकको माग र हुटिङ अनुसार सुनाउँछन्।
त्यसो त भर्चुअलमा पनि कतिपयले च्याट बक्समा निश्चित गीतको बोल लेखेर सुनाउन आग्रह गर्छन्। तर, व्यक्तिगत रूची अनुसार थरीथरीका गीतको ‘फर्माइस’ आउने भएकाले सुनाउने सम्भावना कम हुने गायक परियार बताउँछन्।
“भौतिक रूपमा दर्शकको अगाडि उभिएर दर्शकसँगै नाच्दै, रमाउँदै, भावुक हुँदै प्रस्तुति दिनुमा जस्तो रमाइलो भर्चुअल कन्सर्टमा कत्ति पनि हुँदैन”, परियार भन्छन् “भर्चुअल कन्सर्टमा श्रोतासँग अन्तर्क्रिया नहुने भएकाले लाइभको जस्तो मजा आउँदै आउँदैन।”
असहज अवस्थामा कन्सर्टको न्यास्रो मेट्न दर्शकलाई मनोरञ्जन दिन अहिले भइरहेको प्रयास भने सकारात्मक भएको उनको धारणा छन्। लाइभ प्रस्तुतिको तुलनामा भर्चुअल कन्सर्ट प्रभावकारी नभए पनि आफ्ना गीत सुन्न चाहने दर्शकको लागि प्रस्तुति दिइरहेको उनी बताउँछन्।