सरकारले आजदेखि बालबालिकालाई लक्षित गरी कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दैछ । पहिलो चरणको खोप अभियान पुस १४ गतेसम्म जारी रहने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई खोप दिन लागेको हो । पहिलो चरणमा बालबालिकालाई अमेरिकी कम्पनीद्वारा निर्मित मोडेर्ना खोप लगाइने छ ।
१२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले यस पटक विद्यालयमै खोप केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिए ।
पहिलो चरणमा प्रदेश(१ का ११, प्रदेश(२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ–नौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो । खोप लगाउने जिल्लामा मोडेर्ना खोप पठाइसकिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर रहेका छन् ।
यस्तै, प्रदेश २ का सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा वाग्मतीमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा खोप दिने तयारी छ ।
यसैगरी गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत जिल्ला तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया जिल्ला तोकिएको छ ।
यस्तै कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्ला तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरमा बालबालिकालाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।
अरु जिल्लामा भने फाइजर खोप लगाइने र त्यसको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरेको छ । सम्बन्धित वडाले विद्यार्थीलाई पायक पर्ने गरी विद्यालयहरुमा खोप केन्द्र निर्धारण गर्ने खोप शाखाले जनाएको छ ।