नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले क्रिकेट संघ र खेलाडीहरुको विवादले चाँडै निकास पाउने आशा व्यक्त गरेका छन् ।
हाल अष्ट्रेलियामा रहेका सन्दिपले क्रिकेटको चर्चित वेवसाइट क्रिकइन्फो डटकमलाई अन्तरवार्ता दिँदै नेपाली टोलीले मैदान बाहिरको विवादलाई पन्छाएर मैदानभित्र राम्रो प्रदर्शन गर्ने दावी गरे ।
नेपाल क्रिकेट संघले गत साता ज्ञानेन्द्र मल्ललाई कप्तानबाट बर्खास्त गर्दै सन्दिपलाई नयाँ कप्तान नियुक्त गरेको छ । यसलाई लिएर क्रिकेट संघ र खेलाडीहरुबीच उत्पन्न भएको विवाद अझै समाधान भएको छैन । सन्दिपले अन्तरवार्तामा क्यान वा खेलाडी कसैको पक्ष नलिइकन बोलेका छन् ।
‘देशको नेतृत्व गर्नु मेरो लागि सम्मानको कुरा हो,’ सन्दीपले क्रिकइन्फोसँग भने, ‘खेलाडी र क्यानबीच धेरै कुरा चलिरहेको छ । यो कठिन समयमा हामीले एक–अर्कालाई ब्याकअप गर्नुपर्छ । नेपाल क्रिकेटलाई अर्को उचाइमा पुर्याउन सबै खेलाडी र क्यान एक ठाउँमा आउनैपर्छ ।’
टोलीलाई हरेक माध्यमबाट अगाडि लैजान आफू तत्पर रहेको सन्दिपले बताएका छन् ।
उनी थप्छन्, ‘अहिले यो सबै कुरा देख्दा धेरै नराम्रो लाग्छ । हामीलाई यो सबै पार गर्न मद्दत गर्ने कोही छैन । धेरै उतारचढाव आएका छन् । तर हाम्रो खेलाडीहरुसँग जुन प्रकारको प्रतिभा र ठूलो हृदय छ, म ढुक्क छु कि उनीहरुले नेपालको प्रतिनिधित्व गर्नेछन् र आफुलाई प्रमाणित गर्नेछन् ।’