होम पाठक ।
रेडक्रस विश्वभर नै विशिष्ट अस्तित्व बोकेको परोपकारी संस्था हो । नेपालमा पनि नेपाल रेडक्रस सोसाइटी मुलुकको जेठो सामाजिक संस्था हो । नेपालमा रेडक्रसको स्थापना वि सं. २०२० सालमा भएको थियो । ०४८ सालसम्म यस संस्थाको नेतृत्व तत्कालीन अधिराजकुमारी हेलेन शाह र प्रिन्सेप शाहबाट भयो । स्थापनाकालदेखि नै रेडक्रसले नेपालमा सामाजिक क्षेत्रमा फरक अस्तित्व कायम गरेको छ । फलत रेडक्रसको गरिमा निकै उचो थियो । मानविय संकटमा परोपकार गर्ने पहिचानकै कारण रेडक्रसको संगठन देशभर विस्तार भयो, भवन, जग्गाहरु जोडिए । व्यवस्थित सामाजिक संस्थाको रुपमा विकास हुँदै गयो ।
२०४८ सालको आम निर्वाचनपछि अधिराजकुमारी प्रिन्सेपबाट रमेश कुमार शर्माको हातमा नेतृत्व हस्तान्तरण गरियो । शर्माले ०४८ देखि ०६१ सम्म नेतृत्व सम्हाले । नेपाल रेडक्रसमा शर्माको योगदान कति रह्यो ?त्यसको लेखाजोखा आलोचनात्मक चेत भएका अगुवा रेडक्रसकर्मीले गरेका होलान । तर, यति भन्न सकिन्छ, उनले व्यक्तिगत फाईदाका लागि रेडक्रसबाट केही लिएर गएनन्, सकेजति योगदान दिएर गए । नेपाल रेडक्रसको साखलाई सकेसम्म वृद्धि नै गरे ।
तत्कालीन अधिकारकुमारी हेलेन र प्रिन्सेपले जस्तै शर्माले पनि नेपाल रेडक्रसलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा सवल र सफल संस्थाको रुपमा प्रमाणित गराउन निरन्तरता दिए । त्यो निरन्तरताका लागि तत्कालीन महामन्त्री देवरत्न धाख्वाको पनि उत्तिकै योगदान छ । नेपाल रेडक्रसका जिल्ला शाखा, उपशाखाहरुलाई एकाध सभ्रान्त परिवारहरुले नेतृत्व गरे पनि परोपकारका गतिविधिहरु राम्रै थिए । केही अपवाद जिल्लालाई छाडेर हेर्दा ०६२ सालसम्म शाखा, उपशाखाको नेतृत्वमा रहेकाहरुको कार्य उदाहरणिय नै रह्यो । उनीहरुले रेडक्रसलाई दिएर गए, विगारेर गएनन ।
०६१ सालमा नेपाल रेडक्रसको नेतृत्व उदयपुरका संजीव थापाका हातमा पुग्यो । कमजोर क्षमताका थापाले राजनीतिक दाउपेचबाट नेतृत्व हत्याएका थिए । त्यसमाथि ०६२/६३ को आन्दोलनको प्रभाव समेत रेडक्रसमा पर्यो । यही बेला अपवाद बाहेक रेडक्रसका प्राय सबै जिल्ला शाखाहरुमा नयाँ नेतृत्व छनौट भयो । तर, उनीहरुबाट रेडक्रसमा नयाँ रक्त सञ्चार हुनुको साटो राजनीतिक वेरोजगारहरुको भर्तीकेन्द्र बन्न पुग्यो । रेडक्रसभित्र सिण्डीकेट खडा गर्ने, संस्थालाई सकेसम्म दोहन गर्ने, भएको साख ध्वस्त पार्ने तर्फ मात्र मोडियो ।
रेडक्रसका तत्कालीन अध्यक्ष थापा विधानमा भएका व्यवस्थाहरुलाई परिवर्तन गरेर सिण्डीकेट हावी गर्न उन्मुख भए । चरम स्वार्थी गुट खडा गरी जिल्ला देखि केन्द्रसम्म रेडक्रसलाई पूर्णत कब्जा गरे । नेपाल रेडक्रस आजीवन उनीहरुकै नियन्त्रणमा रहने वातावरण तयार पारे । थापाको यो गलत अभ्यासले संस्थामा व्यथिति र अराजकता चाङ लाग्यो । केन्द्रदेखि जिल्ला–जिल्लामा ठूल्ठूला भ्रष्टाचारहरु हुन थाले । थापा आफैं भ्रष्टाचारमा चुर्लुम्म डुबे । भोटको राजनीतिको अनियमिततामा संलग्नहरुले उन्मुक्ति पाए । यही मेसोमा भ्रष्टाचार मात्र होइन, नातावाद, कृपावाद, फरियावाद, सिफारिसवाद मैलाउदै गयो । परोपकारी यस संस्थामा जागिर खान रेडक्रसका पदाघिकारीका छोरा, छोरी, ज्वाईं, बुहारी हुनै पर्ने अवस्था सृजना गरियो । अध्यक्ष थापाको नेतृत्वले भोट र आफ्नो आर्थिक अराजकताको ढाकछोप गर्न जागिरमा ‘सेटिङ‘ गर्न थाल्यो । त्यसैको परिणाम केन्दीय कार्यालयमा मात्र ७७ जिल्ला शाखा सभापती मध्ये ३८ जनाका छोरा, छोरी, ज्वाईँ र बुहारी जागिरे छन् । देशभरको आँकडा निकाल्दा ८० प्रतिशत हाराहारी नातागोताले रेडक्रसभित्र हालीमुहाली गरेका छन् ।
नेपाल रेडक्रसलाई यस्तो दयनीय र गएगुज्रेको अवस्थामा पु¥याउने अरु कोही नभएर राजनीतिक षडयन्त्रको आडमा उदाएका अध्यक्ष संजीव थापा त हुन् नै, थापाभन्दा अझ् बढी षड्यन्त्रकारी कार्यकारी निर्देशक उमेश ढकाल हुन् । जगजाहेरै कुरा हो, कमजोर क्षमताका व्यक्तिहरु राजनीतिक आड लिएर टिक्ने गर्दछन् । अध्यक्ष थापा र कार्यकारी निर्देशक ढकालले पनि ठ्याक्कै त्यही शैली अपनाएको देखिन्छ । रेडक्रसभन्न बित्तिकै अन्तराष्ट्रिय समुदायसँग जोडिन्छ । रेडक्रसका अन्तराष्ट्रिय प्रतिनिधिसँग संवाद गर्नु पर्दा अंग्रेजी भाषामा कमजोर थापाले तत्कालीन कार्यकारी निर्देशक ढकालको सहारा लिने गरेका थिए । अध्यक्ष थापाको यही कमजोरीमा खेलेर ढकालले नेपाल रेडक्रसभित्र एकपछि अर्को वितण्डा सुरु गरे । ढकालले थापालाई आफ्नो खेलौना बनाए । अर्थात थापाबाट जे चाहायो, त्यही लिन सफल भए ढकाल । परिणाम, ढकालले समेत रेडक्रसभित्र २०/२५ जना आफन्त, नातागोतालाई जागिर खुवाएका छन् ।
रेडक्रस दलदलमा धापिदै थियो । त्यही बेला बैशाख ०७२ मा ठूलो भूकम्प गयो । थापा र ढकालका लागि भूकम्प विध्वंस होइन, सुनको अण्डा पार्ने कुुखुरी बनेर आयो । तर, संस्थाको लागि त्यही भूकम्प अभिशाप भयो । भूकम्प लगत्तै संसारभरका रेडक्रसियनहरुले नेपाल रेडक्रसमार्फत उद्धार, राहत, पुनर्निमार्णलगायतका लागि ११ अर्ब रुपैयाँ दिन बाचा गरेका थिए । जसमध्ये आठ अर्ब रकम नेपाल रेडक्रसको खातामा आयो ।
मानवीय विपत्तिका बेला थाईल्याण्डमा रहेका ढकाल भूकम्प प्रतिकार्य कार्यक्रमका नाममा रेडक्रस भित्र छुट्टै परियोजना प्रमुख भएर फर्कन सफल भए । ढकालको यो फिर्तीसँगै रेडक्रसको साख शून्यमा झर्यो । थाईल्याण्ड गएका बेला ढकाल नेपाल रेडक्रसको कार्यकारी निर्देशकबाट विदा वसेका थिए । तर, भूकम्प प्रतिकार्य कार्यक्रमको प्रमुख बनेर फर्किए । जब कि उक्त परियोजना कार्यकारी निर्देशक मातहतको एउटा महाशाखा जस्तो मात्र थियो । यो परियोजनाको प्रमुखका रुपमा ढकालले ४० महिना मोज र भोज गरे । जसमध्ये पहिलो एक वर्ष मासिक १५ लाख र त्यसपछिको अवधीमा आठ लाख तलब बुझे । उक्त रकम पचाउनका लागि भूकम्प प्रतिकार्य समितिका सदस्यहरुलाई समेत मासिक तलब खान सिकाए । अध्यक्ष थापाले मासिक १ लाख २५ हजार र अन्य सदस्यहरुले मासिक ४० हजारका दरले ३६ महिना तलव खाए । सामाजिक संस्थामा स्वयंसेवकहरुको मर्मलाई सत्यनास गरिदिए ।
ढकाल नेतृत्वको भूकम्प प्रतिकार्य कार्यक्रमका लागि आएको आठ अर्बमध्ये अत्याधिक रकममा भ्रष्टाचार भयो । सरकारका विभिन्न निकायमा भ्रष्टाचारका उजुरीका चाङ लागे । सरकारका विभिन्न निकायले बनाएका छानविन समितिले आवश्यक कार्यवाही गर्न सिफारिस गरेका प्रतिवेदनहरु हाल थन्किरहेका छन् । सरकार स्वयं भ्रष्टाचारीहरुको संरक्षक मात्र भएको छ । रेडक्रसकै अन्तर्राष्ट्रिय महासंघले गरेको छानविन समितिको प्रतिवेदनहरुले समेत थापा र ढकाल नेतृत्वमा रहँदा स्वाभाविक रुपमा काम नभएको ठहर गरेका छन् । रेडक्रसभित्रको अनियमितता थुप्रै पत्रपत्रिका अनलाइनहरुले प्राथमिकताका साथ सार्वजनिक गरेका छन् । तर, जुनसुकै सरकार भ्रष्टाचारीहरुसामु मन्त्रमुग्ध भईरहेका छन् । दागीहरुमाथि कारवाही हुन सकेको छैन । यसको कारण नेपाली राजनीतिको चरम विकृत र भागवण्डामा रुपान्तरित हुनु हो ।
ढकाल भन्दा अगाडिका नेपाल रेडक्रसको कार्यकारी निर्देशक तिर्थराज वन्त र बद्री खनाल थिए । उनीहरुले संस्थालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा छुटै पहिचान र अस्तित्वमा पुर्याएका थिए । ०६२ सालमा चाकरी र चाप्लुसीको बैशाखी टेकेर ढकाल कार्यकारी निर्देशकमा नियुक्त भए । त्यस यता राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा संस्थाको साख निरन्तर ओरालो लागेर यसबेला त मरणासन्न अवस्थामा पुगेको छ । ढकाल कार्यकारी निर्देशक भएको १७ वर्ष भयो । उनले नेतृत्व सुरु गर्नु अघि संसारले प्रशंसा गरेको संस्था यसबेला बन्द हुने अवस्थामा पुगेको छ । तर, पनि कार्यकारी निर्देशक ढकाललाई कुनै लज्जाबोध छैन ।
०७७ पौष ९ गते ललितपुरको गोदावरीमा बसेको रेडक्रस केन्द्रीय कार्यसमिति बैठकले कर्मचारी सेवा नियमावली संशोधन गरेको थियो । जस अनुसार कार्यकारी निर्देशक कार्यकाल ३ वर्ष र निर्देशकको ५ वर्ष बनाएको थियो । संशोधित नियमावली बमोजिम १७ वर्षदेखिका कार्यकारी निर्देशक ढकाललाई ०७८ मंसिर २३ गतेबाट अनिवार्य अवकास पत्र थमाइयो ।
यसपछि उनले रेडक्रसभित्र अर्को झमेला सुरु गरे । संजीव थापा अध्यक्ष भएका बेला नियुक्त ९ जना निर्देशक र ढकालले आजीवन रेडक्रसमा कब्जा जमाउने प्रपन्च रच्न थाले । जब कि संशोधित नियमावली अनुसार उनीहरु सबै जिम्मेवारीबाट हटिसकेका छन् । तथापि उनीहरुले नयाँ नियुक्तिमा मात्र लागु हुने अत्तो थापिरहेका छन् । सरकारबाट विघटित संजीव थापा नेतृत्वका केही सदस्यहरु बाहिर बसेर ढकाललगायतलाई ‘फ्युज’ भरिरहेका छन् । वर्तमान सरकार गठन भएपछि पूर्व कार्य समितिका एकाध पदाधिकारी एवं सदस्यहरुले नयाँ तदर्थ समिति बनाउने षडयन्त्र गरेका थिए । उनीहरुको षडयन्त्रलाई सम्मानित अदालतले वैधता दिएको छैन ।
नक्कली प्रमाण पत्रका भरमा रेडक्रसभित्र वर्षौदेखि मनमौजी गरिहेका केही कर्मचारीहरुको सहारा लिएर पनि उनी आफ्नो दुनो सोझ्याउने प्रयत्न गरिरहेका छन् । रेडक्रसलाई लुछेर खाने सवालमा कथित स्वयंसेवक र कर्मचारीहरुको मत मिलिरहेको छ । ढकाललगायत कर्मचारीहरुलाई विघटित कार्यसमितिका केही पदाधिकारी र सदस्यहरुले बाहिरबाट संरक्षण गर्ने, नयाँ कार्य समिति गठनका लागि सरकारसँग ‘लविइङ’ गर्ने काम गरेका छन् । त्यही प्रभावमा परेर सरकारले कार्यसमिति गठनको प्रचार गरेको छ । तर, सम्मानित अदालतले नेत्र तिमल्सिना (विद्यावारिधि) नेतृत्वको कार्य समितिलाई नै निर्वाचन गरी निर्वाचित समितिलाई जिम्मेवारी हस्तान्तरण गर्न आदेश दिएको छ । अदालतको उक्त आदेशलाई समेत लत्याउने प्रयास भइरहेको छ ।
निर्वाचन गरेर जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरिरहेको तिम्सिना नेतृत्वको समितिलाई सरकारले विघटन गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरि सरकारको निर्णय खारेज गरिदियो । अदालतको आदेश आउनु अघि दुई दिन मात्र काम गरेको कार्यसमितिले ढकाललाई च्यापेर अवकाशको निर्णय खारेज गरि आन्दोलन गरेको गुन तिरेको छ । अवकाश पाईसकेका ढकाल लाज पचाएर कार्यकारी निर्देशक आफैं भएको स्वाङ पारिरहेका छन् । अचम्म के भने पछिल्ला दिनमा जसले ढकाललाई च्यापिरहेका छन्, केही दिन अघिसम्म उनीहरु नै यो संस्था हाम्रो कारणले नभई उमेश ढकालका कारण सकिएको हो भन्दै हिड्ने गर्दथे । केही निर्देशकहरुको त ढकालसँग बोलचाल समेत थिएन । रेडक्रसलाई दोहन गर्ने निजि स्वार्थ मिलेपछि भने उनीहरु रातारात एकै ठाउँमा उभिएका छन् । यस्तो अप्राकृतिक र अस्वभाविक नाटक धेरै दिन मञ्चन हुन नसक्ने निश्चित छ ।
ढकालको अन्तराष्ट्रिय छवि पनि राम्रो छैन । भूकम्प प्रतिकार्यमा काम गरेका २५ देशका प्रतिनिधिहरुले उनको नियत, सोंच, चरित्रलाई राम्रोसँग चिनेका छन् । अन्तर्राष्ट्रिय फेडेरेशनमा समेत ढकालको छवि राम्रो छैन जसले गर्दा उनले नेपाल रेडक्रसमा वाहेक अन्यन्त्र जागिर खान जाने अवस्था छैन् । त्यसैले उनी नेपाल रेडक्रसलाई नै बन्धक बनाई राख्न चाहन्छन् । भविष्यमा आफ्नो मुल्यांकन कस्तो होला भन्नेमा उनलाई रौं बराबर मतलब देखिदैन ।
१७ वर्षसम्म रेडक्रसमा हालीमुहाली गरेर संस्थाको साखलाई धुलिसात पारेर संशोधित कर्मचारी नियमावली अनुसार अनिवार्य अवकास पाउँदा समेत ढकालले गैरकानुनी काम गर्न छाडेका छैनन । सम्मानित अदालतले दिएको आदेश विपरित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई चुनौति दिँदै उनी हिडिरहेका छन् । अदालतको मानहानी गरेर उनले आफूलाई कसुरजन्य दोषी प्रमाणित गर्दैछन् ।

(लेखक पाठक नेपाल रेडक्रसका उपकोषाध्यक्ष हुन् ।)