नेपाली सेनालाई नियाल्दा (सेना दिवस विशेष १)


मोहन थापा, सुबेदार, अ प्रा, नेपाली सेना ।
तत्कालीन गोरखा राज्यमा युद्धका समयमा जुटने परम्परागत थियो । गोरखालीहरुसँग सिपालु घरेलु सैनिक थिए । पृथ्वीनारायण शाह राजा भएपछि उनले तिनै सैनिकलाई नुवाकोट आक्रमण गर्न बिराज थापा मगरको नेतृत्वमा पठाए । तर गोरखा पराजित भयो ।

नुवाकोटमा पराजय भएपछि पृथ्वीनारायण शाहले तालिम प्राप्त सैनिक र आधुनिक हातहतियारको अभाव महसुस गरे । विश्वासी भारदार र सहयोगीहरुसहित भारतको बनारस हुँदै काशीको यात्रा गरेर फर्कदा केही आधुनिक बन्दुक किनेर ल्याए । गोरखाका युवाहरु जम्मा गरेर दरबारमा तालिम दिन थाले । तालिम पाएका युवाले आफ्नो गाउँमा गएर, आफु अन्तर्गतका अरु थप युवालाई तालिम दिए । यसरी सैनिक संगठनको व्यवस्था गरेर पृथ्वीनारायण शाहले बि.सं.१८०१ असोज १५ गते नुवाकोटमाथि आक्रमण गरे । गोरखाले नुवाकोटमा बिजय प्राप्त गर्यो ।

पाँच आधुनिक सैनिक कम्पनीको स्थापना– नेपाली सेनाको प्रारम्भ
पृथ्वीनारायण शाहले नुवाकोटपछि काठमान्डुका केही भुभाग बिजय गरे । उनले बि.सं.१८१९ मा उपत्यकाको दक्षिणतर्फ रहेको मकवानपुरको सेन राज्य विजय गर्नुअघिसम्म स्थायी सेना थिएनन्, अस्थायी किसिमका सैनिक थिए, जसलाई झारा सैनिक भन्ने गरिन्थ्यो । मकवानपुर विजय गरेपछि त्यहाँबाट केही सय नाल बन्दुक हात पर्यो । ती बन्दुकको आडमा उनले पाँच आधुनिक स्थायी सैनिक कम्पनी श्रीनाथ, बर्दवाणी, कालीबक्स, गोरख र सबुज स्थापना गरे ।

पृथ्वीनारायण शाहले दिव्योपदेशमा सय नाल बन्दुक सहितका स्थायी सैनिक कम्पनी स्थापना गरेको उल्लेख गरेका छन् । दिव्योपदेशमा सय नाल बन्दुक भएका कम्पनी खडा गर्नु पनि भनेका छन् । उक्त कम्पनीका मुख्य अफिसर (नेतृत्व) त्यसबेला सुबेदार हुने गर्दथे । सुबेदार भर्ना (नियुक्त) गर्दा कम्तीमा चार/पाँच लडाईमा जस पाई सकेका सैनिकलाई जाँची राजा आफैंले भर्ना गर्नु भनेका छन्
“…… पजनि गर्दामा पनि सये नालका कम्पनी जमाउनु र सये नालका सुबेदार चार पाँच लडायीमा जस पाई आयाका यस्ता आफुले जाँचि सुबेदार हालनु .. ”
सुबेदारले पनि आफूमुनीका सात पगरी भर्ना गर्दा (छान्दा) लडायीमा दुई चार वाढ (तरवार र खुकुरीको चोट) खाएका सातपगरी सैनिक लाई छान्नु भनी उल्लेख गरेको पाईन्छ ।
“……. सुबेदारले पनि सात पगरि दुई चार वाढ षायाका यस्ता सात पगरि हाल्नु …. ”

पृथ्वीनारायण शाहले सय नाल बन्दुक भएका पाँच कम्पनी सेना स्थापना गर्दा त्यो कम्पनीमा एक सुबेदार, दुई जमदार, एक कोत्या हवलदार, एक निशान, ६ हवल्दार, ८० सिपाही सहित करिब १०० सैनिक हुने गरेको उल्लेख छ ।

वर्तमानका करिब ९६ हजार संख्याका नेपाली सेनाको प्रारम्भिक जग पृथ्वीनारायण शाहले स्थापना गरेका तिनै पाँच सैनिक कम्पनी हुन् । नेपालको विस्तारसँगै थप सैनिक कम्पनीहरु स्थापना हुँदै गए । पृथ्वीनारायण शाहले जस्तै उनका उत्तराधिकारीहरुले पनि सैनिक पल्टनहरुको नाम वैदिक र पौराणिक ग्रन्थमा चर्चित देव–देवीको राखे र ती पल्टनको निशान तिनै देव–देवीलाइ चढाए ।

कतिपयले नेपाली सेनाका युनिटहरुलाइ हिन्दुमूल्य मान्यताप्रति समर्पित सैनिक कम्पनीहरु पनि भन्ने गर्दछन ।
स्थायी सैनिक कम्पनी स्थापनापछि गोरखाले नुवाकोट, किर्तिपुर, कान्तिपुर, ललितपुर, भक्तपुर मिकवानपुर सिन्धुलीलगायत बिजय गर्यो । गोरखासहित मकवानपुर र काठमान्डु उपत्यका समेत सबै भुभागको राजधानी काठमान्डु भयो ।सेनाको संख्या, हतियार र युद्ध क्षमतामा बृद्धि भयो । उपत्यकापछि नेपाली सेनाले पूर्वको बिजयपुर र चौदण्डी राज्य विजय गर्न सफल भयो ।यसबीच बि.सं १८३१ मा पृथ्वीनारायण शाहको मृत्यु भयो ।
शाहको मृत्युपछिका दिनमा उनका उत्तराधिकारीहरुले नेपालको विस्तार अभियान जारी राखे । खासगरी प्रतापसिंह शाहको मृत्युपछि नाबालक राजा रणबहादुर शाहको नायब सम्हालेका महारानी राजेन्द्रलक्ष्मी र राजकुमार बहादुर शाहले नेपालको पश्चिमतर्फको सीमाना बिस्तार गर्न सफल भए । महारानी राजेन्द्रलक्ष्मी, राजकुमार बहादुर शाह र मुख्तियार भीमसेन थापाले नेपाल पुनएकीकरण अभियानका सिलसिलामा नेपाली सेनामा करिब २०० थप सैनिक कम्पनी स्थापना गरेका थिए । भीमसेन थापाले नेपाली सेनाको विस्तार र आधुनिकीकरणमा महत्वपुर्ण योगदान गरेका छन् । बिसं १८७१–७३ मा भएको नेपाल–अंग्रेज युद्धपछि नेपालको एकीकरण अभियान समाप्त भयो । सुगौली सन्धिपछि नेपाली सेनाका धेरै कम्पनी खारेज गरिए ।

राजकीय शासन सत्ता संरक्षणमा नेपाली सेना
बिसं १९९४ मा भीमसेन थापाको पतनपछि नेपालमा अस्थिरता भयो । बिसं १९०३ मा जंगबहादुर कुँवर प्रधानमन्त्री भएपछि नेपाली सेना १०४ वर्ष पारिवारिक राणा शासनको रक्षामा सीमित भयो । सेना राजनीति वा सत्तामा प्रत्यक्ष सहभागी भएन । तर सत्तालाइ सेनाको संरक्षण निरन्तर अर्थात १०४ वर्षभरि प्राप्त भइरह्यो ।

राणाकालमा भएका प्रथम र द्धितिय विश्वयुद्धमा बेलायतको सहयोगका लागि नेपाली सेना खटिएको थियो ।
बिसं २००७ फागुन ७ मा नेपालमा राणा शासनको अन्त्य भयो । बि.सं २००८ फागुनमा छिमेकी भारतीय सेनाका मेजर जनरल वाइ एस परान्जपे नेतृत्वको टोली नेपाली सेनालाइ आधुनिक तालिम दिन नेपाल आयो । त्यसपछि नेपाली सेनाको संख्या घटाइयो । सेनालाई आधुनिक तालिम दिइयो । बिसं २०११ मा महेन्द्रबीरबिक्रम शाह नेपालको राजा भएपछि नेपाली सेनाको संख्या बृद्धि र सेनालाइ आधुनिक तालिम एवं हतियारबाट सुसज्जित बनाउने काम तीव्र गतिमा भयो ।

बिसं २०१७ मा राजा महेन्द्रले नेपाली सेनाको प्रयोग गरी जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाइ अपदस्थ गरि सत्ता हातमा लिए । त्यसपछिका दिनमा नेपाली सेनाले राजाको कदमलाइ साथ दियो ।महेन्द्रले घोषणा गरि लागु गरेको पञ्चायती शासन व्यवस्थाको आड भरोसा नेपाली सेना नै थियो ।
बिसं २०४६ मा नेपालमा नेपाली कांग्रेस र तत्कालनि संयुक्त वाममोर्चाको नेतृत्वमा भएको जनआन्दोलनपछि पञ्चायती शासन व्यवस्था खारेज भइ बहुदलीय शासन व्यवस्था पुनस्र्थापना भयो । ०४७ सालमा संविधान जारी गरियो । तर, नेपाली सेनाको परमाधिपति भने राजा नै रहने व्यवस्था गरियो । यसबीच बि.सं २०५२ फागुन १ देखि सुरुभएको सशस्त्र ‘जनयुद्ध’ नियन्त्रण गर्ने सरकार र संसदको निर्णय बमोजिम बिसं २०५८ मंसिर १ गतेदेखि संकलकाल घोषणा गरेर मुलुकभर नेपाली सेना परिचालन गरियो ।

सशस्त्र जनयुद्धको नेतृत्व गर्ने नेकपा माओवादीको लक्ष्य नेपालको सत्ता कव्जा गर्नु थियो । नेपाली सेना माओवादीको सत्ता कव्जा गर्ने सशस्त्र अभियान नियन्त्रण गर्न परिचालित भएको थियो । बिसं २०४६ पछि सरकार सञ्चालन गरिरहेका राजनीतिक दलहरु द्धिविधामा थिए । उनीहरु सरकारमा रहदा माओवादीको विरोध गर्दथे र सरकारबाहिर रहदा नेपाली सेनाको विरोध गर्दथे ।

नेपाली सेना सशस्त्र द्धन्दभर परिचालित भइरह्यो । सशस्त्र द्धन्दको नेतृत्व गरेको माओवादीलाइ सशस्त्र गतिविधि त्यागेर शान्तिपुर्ण राजनीतिमा आउन सेनाले दबाब जारी राख्यो । अन्तत नेपाली सेनाको अथक परिश्रमकै परिणामस्वरुप दलहरुबीच सहमति भएर राजाबाट शासकीय अधिकार दललाइ हस्तान्तरण गरेपछि बिसं २०६३ बैशाख ११ बाट सशस्त्र द्धन्द स्थगित भयो । त्यसयता नेपाली सेना आवधिक निर्वाचनबाट निर्वाचित लोकतान्त्रिक सरकारको सहयोगी बन्दै आएको छ ।

महाशिवरात्रीमा सेना दिवस
संसारका हरेक स्वतन्त्र देशमाराष्ट्रिय सेनाले देशको स्वतन्त्रता दिवस र सेना दिवस आफ्नै देश, काल, परिस्थिति अनुरुप राजकीय समारोह आयोजन गरेर धुमधामसँग मनाउने प्रचलन छ । सेना दिवसका दिन सेनाले आफुसँग भएका परम्परागत र नवीन शस्त्रअश्त्रको सजावटसहित प्रदर्शन गर्ने गरेका छन् । हाम्रा पुर्वजको दूरदृष्टि र वलिदानीका कारण नेपालले इतिहासमा कहिल्इे अन्य देशको पराधीन हुन परेन, तसर्थ नेपालको स्वतन्त्रता दिवस छैन,नेपाली सेनाले बि सं. २०४५ पछिमहाशिवरात्री पर्वको दिनमा सेना दिवस मनाउंदै आएको छ ।

सेनादिवसका दिन नेपाली सेनाले सैनिक मन्च टुँडिखेलमा प्रदर्शन गर्ने विविध सैनिक कला प्रदर्शनी अवलोकन गर्न नेपाली सेनाका परमाधिपतिरहनुभएका राष्ट्रपति र सरकारप्रमुख प्रमुखअतिथि रहने प्रचलन छ । यसदिन सैनिक मन्चमा नेपाली सेनाले देवाधिदेव श्रीमहादेवका चरणकमलमा बन्दुक र तोपमार्फत बढाइ टक्र्याउने गर्दछ ।

अन्त्यमा
बाह्य देशको आक्रमणबाट रक्षा गर्न र देशभित्र आन्तरिक शान्ति सुरक्षा कायम राख्न राष्ट्रद्धारा गठन गरिएको तालिमप्राप्त सशस्त्र फौज, समूह वा पल्टन नै सेना हो । माथिका दृष्टान्तबाट स्पष्ट हुन्छ,नेपालको सेना आधुनिक नेपाल निर्माणमा रगत/पसिना बगाएर संगठित हुदै आएको राष्ट्रिय बल हो । यो राष्ट्रिय बल अर्थात सेना दलीय स्वार्थभन्दा माथि उठेर देश र जनताको हित एवं सुरक्षाका खातिर सदैब परिचालित हुन तत्पर रहनुपर्छ । यसबेला देशवासीहरुले नेपाली सेनासँग अथाह आशा र अपेक्षा राखेका छन् । नेपाली सेनाको हरेक कृयाकलापमा सकल नेपाली जनताको गम्भीर चासो छ । राष्ट्रले सुम्पिएको सुरक्षा दायित्वलाई पन्छाएर सेना व्यापारमा बरालिएला कि ? नेता र नेतृत्वको नीजि स्वार्थमा सिमित हुने हो कि?भन्ने गहिरो चिन्ता छ ।यी चिन्तालाई मिथ्या प्रमाणित गर्ने दायित्व नेपाली सेनाको हो । बदलिदो विश्वपरिस्थितिमा नेपाल र नेपालीको बृहत्तर सुरक्षा चासोलाइ दायित्व मानेर निरन्तर समर्पित रहन सेना दिवसका दिन सेना आमदेशवासी, मित्र देशका सैनिक एवम् शुभेच्छुकबाट सहयोग र सदभाव मिलोस् । सेना परिवारलाइ कर्तव्यपथमा अघिबढ्न देशवासीहरुबाट प्रेरणा र हौसला मिलोस् भन्ने शुभेच्छा छ । सेना दिवसको शुभकामना सहित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *