आफ्नै इतिहासको रनभुल्ल्याइँमा नेपाली सेना (सेना दिवस विशेष २)


डा. प्रेमसिंह बस्न्यात ।
नेपालको इतिहास धेरै वर्ष पुरानो छ । तर गोर्खा राज्यको इतिहास भने इतिहासको मध्यकाल र आधुनिककाल भित्र रहेको छ । वि.सं.१६१६ मा स्थापित लिगलिगकोट राज्य वि.सं.१७९९ सम्म मध्यकाल र वि.सं.१८०० देखि पछि आधुनिक कालमा पर्दछ । यसर्थ तत्कालीन गोर्खा राज्य बिशाल नेपालभित्र टुक्रिएका थुपै राज्य मध्येको सबैभन्दा कान्छो थियो । वि.सं. १६१६ भाद्र २५ गते गोर्खा राज्यको स्थापना भएकै वर्ष हालको नेपाली सेनाको पनि स्थापना भएको थियो ।

इतिहासकारहरुले लेखेको आधारमा नेपाली सेनाले पनि आफ्नो स्थापना वर्ष बडामहाराजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको श्री गणेश र नुवाकोटको विजय युद्ध वि.सं. १८०१ साललाई मान्दै आएको छ । तर त्यसो होइन गोर्खा राज्यको स्थापनासँगै वर्तमान सेनाको क्रमिकता २०६९ सालमा ४ सय ५३ वर्ष पुगेको छ भने वि.सं. १६१६ सालमा (हाल गोर्खामा रहेको) लिगलिगकोटका राजा द्रव्य शाहले भगिरथ पन्तलाई पहिलो सेनापति बनाई खडा गरेको हो र त्यही सैनिक दलबाट नै संस्थागत रुपले नेपाली सेनाको सुरू भएको हो ।

लम्जुङको राजकुमार द्रव्य शाह वि.सं. १६१६ भाद्र वदी, अष्टमी तिथी, रोहीणी नक्षेत्र, बुधवारको दिन लिगलिगकोटको राजा भए । सोही मितिबाट राजा द्रव्य शाहले नारायण अज्र्याललाई राजगुरू, सर्वेश्वर खनाललाई राज पुरोहीत, गणेश पाण्डेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहोरालाई भूमि विभागको प्रमुख तथा गंगाराम रानामगरलाई प्रधानन्यायाधिश (न्याय विभाग प्रमुख) नियुक्त गरेका थिए । प्रशासन हेर्ने १, सेना हेर्ने १, भूमि सम्बन्धि हेर्ने १, तथा न्याय हेर्ने १ गरी जम्मा ४ जना काजी (मन्त्रि) को ब्यवस्था भएको थियो । यो प्रथा पछिसम्म पनि रह्यो । त्यहीँ मितिबाट सैनिक संगठन खडा भएकोले तीनै सेनाको विकासक्रम अहिलेको नेपाली सेना हो । यसर्थ नेपाली सेना वि.सं. १६१६ मा खडा भएको हो भने नेपाली सेनाको पहिलो सेनापति भगीरथ पन्त हुन् । उतिखेर सेनापतिलाई प्रधानसेनापतिको जिम्मेवारी दिइन्थ्यो । त्यसबेला लिगलिगकोट, उपल्लोकोट र तल्लोकोट गरी ३ वटा साना भुरे राज्य थिए । ती सबैलाई राजा द्रव्य शाहले एकीकरण गरेर एउटै राज्य बनाई, गोर्खा नामाकरण गरेर गोर्खा राज्य स्थापना गरिएको थियो । नेपाली सेनाले आप्mनो जन्म दिवस सोही तिथी मितिलाई मान्नु उचित हुन्छ ।

(क) १६१६ सालमा स्थापित लिगलिगकोट राज्यको विकासक्रम विशाल नेपाल हो । त्यसैगरी सो राज्य स्थापना गर्ने उनै द्रव्य शाहका सन्तानको निरन्तरता पूर्वराजा ज्ञानेन्द्रसम्म हुन् भने राजा द्रव्य शाहले नियुक्त गरेको पहिलो सेनापति भगीरथ पन्तको मातहतमा खडा भएको सेनाको क्रमिकता वर्तमान सेना हुन् । गोर्खा राज्यको इतिहास लिगलिगकोटबाट शुरु भई, गोर्खा, नुवाकोट, कान्तिपुर, टिष्टा नदीबाट कांगडा पुगेर बिशाल नेपाल बनेको हो । पृथ्वीनारायण शाहको राज्यकालबाट मात्र गोर्खाको इतिहास सुरुगर्नु ऐतिहासिक पक्षपात हुनेछ । राजाहरुको गणना गर्दा द्रव्यशाह देखि पूर्वराजा ज्ञानेन्द्र सम्मको इतिहास लेखिने अनि नेपाली सेनाको इतिहास चाही पृथ्वीनारायण शाहबाट मात्र शुरु हुनु न्यायोचित हुदैन ।

(ख) इतिहासमा नेपालको राजसंस्थाको वर्णन राजा द्रव्य शाहदेखि नरभुपाल शाहसम्म मध्यकालीन र बडामहाराजा पृथ्वीनारायण शाहदेखि हालसम्म आधुनिक नेपालको इतिहासको रूपमा वर्णन गरिएको छ । यसर्थ नेपाली सेनाको इतिहास पनि उक्त दुबै कालमा रहेकोले वि.सं. १६१६ देखिनै उल्लेख गर्नुपर्ने ऐतिहासिक तथ्य प्रष्ट छ ।

(ग) नेपाली सेनाको विकासक्रम वि.सं.१६१६ सालबाट भएको हो भनी पटक–पटक राष्ट्रिय दैनिक पत्रिकाहरूमा प्रकाशित भएको र त्यसमा इतिहासकारहरूको प्राज्ञिक समर्थन भइसकेको र कही कतैबाट पनि तथ्य सहित खण्डन भएको छैन । इतिहास भन्ने कुरो प्रमाणको आधारमा तयार हुने भएकोले नेपाली सेनाको इतिहास वि.सं.१६१६ बाट घटाएर १८०१ साल बनाई जंगी अड्डा आफैँले पनि १८५ वर्ष कान्छो बनाएकोमा इतिहासमा अन्याय हुने छ । कुनै पनि व्यक्तिले ऐतिहासिक तथ्यलाई नकेलाई यो होइन भनेमा प्राज्ञिक मर्यादा बाहिर हुनेछ । अहिले आएर (२०६७ साल) त सेनाको इतिहासलाई नेपाली सेना आफैले पनि २४० वर्ष पनि भन्न थालेको छ, यो कसरी भयो अचम्म छ ।

(घ) आधुनिक नेपाली सेनाको विकास अवश्य पनि पृृथ्वीनारायण शाहले गरेका हुन् । तर वि.सं.१६१६ देखि वि.सं.१८१९ सम्म सेनामा झारा प्रथा तथा घर धुरी मान्छे बोलाउने व्यवस्था थियो । कुनैपनि कम्पनी खडा भएका थिएनन् । वि.सं.१८१९ मा मकवानपुर गढीमा मीरकासिमको फौजसँग लडी ती बैरीवाट खोसिएका हातहतियारबाट श्री श्रीनाथ, वर्जवाणी, पुरानो गोरख, कालिबक्स र सवुज कम्पनी लगायत ५ वटा कम्पनी स्थापना भए र आधुनिक नेपालको सेनाको सुरूवात भयो । वर्जवाणी कम्पनीलाई हाल बर्दबहादुर भनेर नाम फेरिएको छ । त्यो सरासर गल्ती भएको छ । सेनाको कम्पनीहरुले नाम र निशान पाइसकेपछि कहिले पनि नाम फेरिदैन । आ–आफ्नो गण गुल्मलाई जेष्ठ बनाउने होडवाजीमा बर्जवाणी कम्पनीलाई बर्दबहादुर बनाइएको छ । अन्यथा सैनिक इतिहासमा अन्य कुनै पनि कम्पनीको नाम पछी गएर फेरिएको छैन । तसर्थ नेपाली सेनाको सुरूवात वि.सं.१६१६ लाई नमान्ने हो भने वि.सं.१८१९ लाई मात्र मान्नु पर्ने बाध्यता हुनेछ । वि.सं.१८०१ लाई चाहीं मान्ने आधार के त ? प्रमाणको आधारमा इतिहास लेखिनु पर्दछ ।

(ङ) तिलंगा, गोर्खाली सेना, नेपाली सेना, शाही सेना, शाही नेपाली सेना र पुनः नेपाली सेनाको नामबाट हुर्कदै गएको यस संस्थालाई पृथ्वीनारायण शाहको पालामा नेपाली सेना भनिएको थिएन । पछि राजा त्रिभुवनको समयमा र श्री ३ चन्द्र शमशेर को पालामा मात्र गोर्खा सरकारको सट्टा नेपाल सरकार, गोर्खाली सेनाको सट्टा नेपाली सेना, राजालाई हिज हाइनेसको सट्टा हिज मेजेष्टी र प्रधानमन्त्रीलाई हिज एक्सिलेन्सी भन्न शुरू गरिएको हो । कुनै–कुनै लेखमा श्री ३ जुद्ध शमशेरले गोर्खाली सेनाबाट नेपाली सेना नामाकरण गरेको भन्ने पनि पाइन्छ । तसर्थ हाल आएर कान्तिपुरलाई नेपाल भनिन्थ्यो र कान्तिपुर १८२५ सालमा कब्जा भएपछि गोर्खा राज्य नेपाल भएको थियो भन्ने ब्यक्तिगत भनाइलाई जोड दिएर नेपालको पूर्व राजसंस्था र सेनाको इतिहासलाई समेत २४० वर्ष भन्न थालिएको छ । जसमा कुनै ऐतिहासिक तुक रहेको छैन । विशाल नेपाल टुक्रिएर वाईसे–चौविसे, सेन र मल्ल राज्य खडा भयो । यसर्थ कान्तिपुर राज्य पनि टुक्रिनुभन्दा पहिलाको विशाल नेपाल कै एक टुक्रा थियो । कान्तिपुर राज्य आफैं नेपाल थिएन । नेपाल भनेको नेवार राज्य थियो पनि भनिएको छ । तर राजा जयस्थिति मल्ल क्षेत्री बंशीय मल्ल राजा हुन । उपत्यका भित्रका मल्ल राज्यहरुमा क्षेत्री बंशीय मल्ल राजाहरुले नै राज्य गरेका थिए । अव कसरी नेवारी राजा भए ? यसमा प्राज्ञिक मन्थन हुनै पर्दछ । जातिय मात लागेर अहिले नेपालको इतिहासलाई आपूmखुशी व्याख्या गर्न थाल्नु दुर्भाग्य हुनेछ ।

(च) गोर्खा राज्यको स्थापना र इतिहासलाई पन्छाएर नेपाल र नेपाली सेनाको इतिहास लेख्न सकिदैन । तसर्थ, लिगलिगकोटबाट सुरू भई गोर्खा राज्य स्थापना भएको थियो र त्यही कुरालाई राष्ट्रिय इतिहासले मानेको छ भने वि.सं.१६१६ मा नेपाली सेनाको स्थापना भएको हो । यद्यपि, हामीले वि.सं. १८०१ भन्दा पहिलाको करिब ५३ वटा स–साना राज्यमा विभक्त सबै नेपालको सैनिक महत्वका इतिहास पनि लेख्नु जरूरी छ । हालसम्म प्राप्त इतिहासमा प्रायः सबै इतिहासले केवल गोर्खा राज्यको मात्र बेलिबिस्तार लगाएको भेटिन्छ । यो सैनिक इतिहासबाट न्यायोचित भएको छैन ।

फेरि पनि भन्नु पर्दा बाइसे–चौविसे राज्य, काठमाडौं उपत्यकाका तीनवटा मल्ल राज्य र तराई क्षेत्रमा रहेका तीनवटा सेन राज्यमध्ये सबैभन्दा कान्छो र गरीव राज्य गोर्खाको इतिहास वि.सं. १६१६ बाट सुरू हुन्छ । वर्तमान नेपाल र राजवंशको क्रमिकता त्यहीँ वर्ष र स्थानबाट सुरू भएको तथ्य घाम जतिकै टड्कारो छ । यसर्थ त्यहीँ मिति र स्थानमा खडा भएको नेपाली सेनाको उमेर २०६९ सालमा ४५३ वर्ष पुरा भएको छ भने प्रधानसेनापति छत्रमानसिंह गुरुङले लेखाएको इतिहास अनुसार वि.सं.१८१९ मात्र स्थापना भएको मानेर १९३ वर्ष आयु घटाउँदा हामी ऐतिहासिक धरातलबाट बाहिरिएको ठहरिनेछ । वि.सं. १६१६ बाट वि.सं.१८०० सम्मको राष्ट्रिय इतिहासमै ऐतिहासिक क्रमिकता खोतलिएको छैन भने धेरै कुरा अस्पष्ट छन् । यो इतिहास आफैँको दोष होइन तर इतिहास खोतल्ने पक्षको कमजोरी हो । यसर्थ वर्तमान नेपाल र नेपाली सेनाको सुरूवात वि.सं. १६१६ नै हो । विश्वको जेठो इतिहासहरूमध्ये नेपाली सेनाको इतिहास पनि विश्वमै धेरै जेठो छ भने यो हामी नेपालीको गौरवको विषय हो ।
गोर्खा राज्यको इतिहास केलाउँदा र त्यसबखतको देशहरुको राज्य विस्तार गर्ने नीतिलाई विश्लेषण गर्दा गोर्खाले पनि वि.सं. १६१६ देखिनै सैनिक प्रयोग गरी राज्य विस्तार गर्दै आएको देखिन्छ । किनभने द्रव्य शाहको छोरा राजा पूर्ण शाहले गोर्खा राज्यको विस्तार गरेका थिए भने उनको पनि छोरा राजा राम शाहले उत्तरतर्फ तिब्बतको कुकुरघाटसम्म सैनिक युद्ध गरेरै आफ्नो अधिकार जमाएका थिए । तत्कालीन कान्तिपुरका राजाको विरूद्ध पाटनका राजा सिद्धिनरसिंह मल्लले सैन्य सहयोग माग्दा राम शाहको छोरा राजा डम्बर शाह स्वयम् ठूलो फौजको नेतृत्व गरी काठमाडौं उपत्यका पुगेको तथ्य इतिहासले देखाएको छ । त्यसैगरी डम्बर शाहको नाती राजा रूद्र शाहको राज्यकाल वि.सं. १७२८ मा गोर्खाली, पाटन र भक्तपुरको संयुक्त सेना भई मकवानपुर विरूद्ध लड्न गएको तथ्य पनि भेटिन्छ भने पृथ्वीनारायण शाहको पिता राजा नरभुपाल शाहले नुवाकोटमाथि असफल हमला गरेका थिए । उनको मृत्युपछि मात्र उनको छोरा पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट जित्न सफल भएका हुन् । यसर्थ वि.सं. १६१६ बाट नै वर्तमान नेपाली सेना राज्य विस्तार तथा नेपाल एकीकरण अभियानमा अविछिन्न लागिपरेको थियो र पूर्वमा टिष्टा र पश्चिममा काँगडा पुगेर बृहत नेपाल निर्माण गरेको हो । 

यसर्थ वि.सं.१६१६ बाट वि.सं.१९१४ साल सम्म २९८ वर्ष लगाएर नेपालको एकीकरण भएकोछ । यो अवधिमा सो कार्यको लागि हजारौं–हजार नेपाली सपुतहरुले नेपालको लागि जीवन अर्पेका छन । यो वास्तविक कहानी नेपालको सैनिक इतिहास हो भने यो नै नेपालीको राष्ट्रिय इतिहास पनि हो ।

लेखक – प्रेमसिंह बस्न्यात (विद्यावारिधि)
नेपाली सेना सहायक रथी (अ.प्रा.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *