प्रकाशकीय
आजदेखि औपचारिक रुपमा हामी नेपालमुहार डटकम (nepalmuhar.com ) लिएर आएका छौं । तथ्य सञ्चार प्रा.लि. ले अनुसन्धानात्मक पत्रकारिता गर्ने संकल्पसहित नेपालमुहार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको अवगत गराउँछौं ।
दुर्भाग्यवस्, यसबेला झुट्टा समाचारको बाढी बगिरहेको छ । सूचना र समाचारको सम्प्रेषण तथ्यको कसीमा सत्य उजागर गर्ने नियतले भएन भने त्यसले कुनै एउटा अमूक क्षेत्रलाई मात्र होइन, सिङ्गो मुलुकलाई नै कुरुप बनाउँछ । जसको प्रत्यक्ष प्रमाण वर्तमान नेपाल भइरहेको छ ।
नेपालमुहार डटकम स्थापनाको उद्देश्य पाठक तथा दर्शकमा तथ्यपूर्ण सूचना र समाचार सम्प्रेषण गर्नु हो, मुलुकको मुहार जस्ताको तस्तै देखाउनु हो, न कि भिडमा भिड जोड्न र उस्तै एवं एउटै जिम्मेवारी निर्वाह गर्न थप अनलाइन पोर्टल जरुरी छैन भन्नेमा हामी स्पष्ट छौं ।
झुट्टा समाचारको भ्रममा परेका पाठकलाई तथ्यपूर्ण सूचना दिने प्रतिवद्धतामा हामी रौं बराबर तलमाथि हुने छैनौं ।
भ्रष्टाचार, वेथिति, अनुशासनहिनता, नीतिहिनता, पद्दति तथा प्रणालीप्रतिको धज्जी, स्वेच्छाचारिता, झुट एवं ठगी र बिचौलिया धन्दाको सुवर्ण भूमि बनिरहेको छ, नेपाल । यिनै बिकृत पक्षलाई तथ्य–प्रमाणसहित सार्वजनिक गर्ने हाम्रो उद्देश्य हो । ‘थितिलाई प्रोत्साहन, वेथितिलाई प्रहार’ हाम्रो मुल नीति हुनेछ ।
नाम अनुसार नै हामी न कसैको पक्षमा हुनेछौं, न कसैको विपक्षमा, मात्र निश्पक्ष सूचना प्रवाह गरेर सत्यलाई जस्ताको त्यस्तै उजागर गर्ने दृढ संकल्प गर्दछौं । दुषित मनसायबाट गरिएका गलत कर्महरु विलिन हुनु अघि नै तथ्यको कसीमा परीक्षित भएर त्यसको आवाज सूचना र समाचारमार्फत मुखरित भइसक्नु पर्छ भन्ने हाम्रो मान्यता छ । यही मान्यतामा रहेर अक्षर एवंं आवाजमार्फत पाठक तथा दर्शकलाई सत्य सूचित गराउने हाम्रो उद्देश्य हो ।
यस मुलुकका निर्माता र मुलुकलाई यहाँसम्म ल्याउन गौरवपूर्ण योगदान गर्ने पूर्वज तथा वर्तमानका सुकिला अनुहारहरुप्रति हामी सधैं नतमस्तक रहनेछौं । परिवर्तनका सकारात्मक एजेन्डाहरु हाम्रापनि बटमलाइन हुन् । लोकतन्त्र पत्रकारिताको ढुकढुकी रहेको तथ्य हाम्रालागि अन्तिम सत्य हो ।
यि र यिनै बाचा गर्दै हामी आएका छौं । हाम्रो पवित्र उद्धेश्यको होस्टेमा तपाईं पाठकको हैसे सधैं प्रेरणाका स्रोत बन्नेछन् ।
