काठमाडौं । पुराना कम्युनिष्ट नेता कृष्णराज बर्माको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । दुई साता अघिदेखि उनको स्वास्थ्यमा समस्या आएको पारिवारिक स्रोतले जनाएको छ । बर्माका छोरा राजेशका अनुसार छातीको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । हाल उनलाई राजधानीस्थित ह्याम्स् अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
९३ बर्षे बर्माको अक्सिजन लेभल कम भएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ ।
कृष्णराज बर्मा बाम आन्दोलनका जीवित इतिहास नै हुन् । उनी नेपाल कम्यूनिष्ट पार्टीको पहिलो पुस्ताका नेता हुन् । धेरैले जिवित कम्यूनिष्ट नेतामध्ये मोहनबिक्रम सिंहलाई सवैभन्दा पुरानो नेता भन्ने ठान्छन् । तर बर्मा मोहनबिक्रमभन्दा ‘सिनियर’ नेता हुन् । सिंह २०१४ सालमा केन्द्रीय सदस्य भएका थिए भने बर्मा त्यसको एक बर्षअघि नै कम्यूनिष्ट पार्टीको केन्द्रमा पुगिसकेका थिए ।
कृष्णराज बर्मा २०४६ सालको जनआन्दोलनका प्रमुख मध्येका नेता पनि हुन् । कम्यूनिष्ट पार्टीभित्र प्रजातन्त्रको वकालत गर्ने उनले निकै समय नेपाल कम्यूनिष्ट पार्टी बर्मा समूह समेत चलाए ।
कम्यूनिष्ट पार्टीका उनै जिवित इतिहास अस्पतालमा थलिदा समेत बामपन्थी आन्दोलनको ब्याज खाइरहेका नेताहरु भने बेखवरझैं देखिएका छन् ।