किभबाट १३७७ भारतीयको उद्दार, अझै १६ हजार विद्यार्थी युक्रेनका अन्य सहरमा अलपत्र
एजेन्सी । युद्धग्रस्त युक्रेनबाट भारतले पछिल्लो २४ घन्टामा आफ्ना १३७७ नागरिकहरुको उद्दार गरेको छ । विदेशमन्त्री एस जयशंकरले बुधबार सो जानाकारी दिएका हुन् । पोल्याण्डबाट पहिलो उडानसहित पछिल्लो २४ घण्टामा भारतका लागि ६ उडानहरू प्रस्थान गरेका छन् । युक्रेनबाट थप १ हजार ३ सय ७७ भारतीय नागरिकलाई फिर्ता ल्याइएको छ,’ जयशंकरले एउटा ट्विटमा भनेका छन् । युक्रेनमा रहेका नागरिकहरूलाई बाहिर निकाल्न सुरु गरिएको अपरेशन गंगाअन्तर्गत भारतले आगामी तीन दिनमा २६ वटाभन्दा बढी उडानहरू सञ्चालन गर्नेछ । युक्रेनको हवाई क्षेत्र बन्द भएपछि रोमानिया, हंगेरी, पोल्याण्ड र स्लोभाक गणतन्त्रका विमानस्थलहरु भारतीयहरूलाई उडान भर्न प्रयोग भइरहेका छन् ।
विदेश सचिव हर्षवर्धन श्रृङ्लाले युक्रेनको राजधानी किभमा कुनै पनि भारतीय बाँकी नरहेको बताएका छन् । रूसले धेरै शहरहरूमा सर्वसाधारणको बसोबास गर्ने क्षेत्रहरूमा आक्रमण सुरु गरेको छ । राजधानी किभका बासिन्दाहरूलाई आफ्ना घर छोड्न आग्रह गरेको छ । रुसी सेनाका बख्तरबन्दका ठूला लाम राजधानी किभतर्फ बढेसँगै राजधानी किभ छोड्ने मानिसहरुको संख्या बढेको छ । अमेरिकास्थित स्पेस टेक्नोलोजि कम्पनीले सार्वजनिक गरेका तस्विरहरुमा सयौं ट्यांक, तोप, बख्तरबन्द, र सैन्य हतियार बोकेका सेनाका गाडी राजधानीतर्फ बढिरहेका देखिन्छन् ।
१६ हजार विद्यार्थी अझै अलपत्र
करिव १६ हजार भारतीय विद्यार्थी अझै पनि युक्रेनमा बिचल्लीमा छन् । रुसी फौजले युक्रेनमाथि हमला सुरु गरेपछि अलपत्र परेका विद्यार्थीले सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमहरुबाट सहयोगको याचना गरिरहेका बताइन्छ ।सोमबार रुसी सेनााले गरेको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो । मंगलबार मात्र सरकारले सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छोड्न अनुरोध गरेको थियो ।
युक्रेनकोे टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु
किभ–दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा
किभ–युक्रेनमा रुसी हमलाको सातौं दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ । औषधी र खानेकुरालगायत खाद्यन्नको आपूर्ती सुनिश्चतका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न सो सहरका मेयरले आह्वान गरेका छन् । रुसी सेनाको हमलामा २०० जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानाकारी दिएका छन् । मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।उत्तरपश्चिमी युक्रेनी सहर जाइटोमायरमा आपतकालीन कर्मचारीहरुले रुसी सेनाको मिसाइल हमलामा आवसीय भवनमा लागेको आगो निभाइरहेका छन् । सो सहरमा चार जना मारिएको रुसी अधिकारीहरुले जनाएका छन् ।
३०२ नेपालीले युद्धग्रस्त मुलुक युक्रेन छाडे स् पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा पुगे
युद्धग्रस्त मुलुक युक्रेनको राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए । गैरआवासीय नेपाली संघ, रुस(युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् ।
यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा। बद्री केसीले रुसमा रहेका नेपालीले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीसँग सम्पर्क रहेको जानकारी दिए ।
रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । पश्चिमी मुलुकले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीमा समेत संसय थपिएको छ ।स्वास्थ्य समितिका संयोजक डा। बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ खटिएका छन् ।