अधिकांश सुकिसके भक्तपुरका ढुंगेधारा


विपना मुसिख्वाल ।
भक्तपुरको दरबार स्क्वायर परिसरमा रहेको ढुंगे धारामा खडेरी परेको वर्षौ भयो । कुनै समय स्थानीयसँगै बटुवाको समेत प्यास मेट्ने यस ढुंगे धारा अहिले आफैँ प्यासी बनेको छ । लामो समयदेखि धारामा पानी खसेको छैन । पानी सुकेपछि न त धारामा पानी थाप्ने भाँडोकै लाइन बस्छ न त पर्यटकको नै । बरु धारा आफैँ प्यास मेट्ने पानी खोजिरहेको झैं लाग्छ ।

पचपन्ने झ्याले दरबारको अगाडि रहेको सो धारा १८ औँ शताब्दिमा तत्कालीन राजा भुपतीन्द्र मल्लले निर्माण गरेका थिए । लीलाभक्त मुंनकर्मीले लेखेको ‘भक्तपुरमा ढुंगेधाराको विकास व्यवस्था’ नामक पुस्तकका अनुसार सो धाराको स्थापना नेपाल सम्बत् ८११ मा भएको हो ।

पौराणिक महत्व रहेको सो धारा कुनै समय दरबार क्षेत्र वरपरका स्थानीयको प्यास मेट्ने केन्द्रविन्दु थियो । तर नगर क्षेत्रमा विकास भएको आधुनिक संरचना र भवनका कारण धाराको पानीको मूल नै सुकेको छ । स्थानीयका अनुसार करिब तीन दशक अघिसम्म धारामा पानी आउथ्यो । तर सो समययता धारामा पानीको थोपा नै झर्न सकेको छैन ।

पहिले सोही धाराको पानी पिएर हुर्केपनि अहिले बृद्धावस्थामा पानी नै नआएको देख्दा स्थानीय खिन्न हुन्छन् । आफूले देख्दादैख्दै सो धाराको मूल सुकेको स्थानीय श्यामबहादुर सुवालले बताए । उमेरले झण्डै सात दशक पार गरिसकेका उनले ३० वर्ष अघिसम्म धारामा पानी आउने गरेको बताए । ‘पहिले हामीले यही धाराको पानी खायौँ । अनि हुकियौँ । अहिले त पानी आउँदैन,’ उनले भने, ‘पानी आउँदा स्थानीयसँगै पर्यटकले पनि यही पानी पिउथे । अहिले त किनेर घरको ट्यांकीमा पानी भर्ने गरिन्छ ।’

स्थानीय रामभक्त त्वायनाका अनुसार पछिल्लो समय नगरभित्रका अधिकांश ढुंगे धारा सुक्दै गएका छन् । पहिले घरासयी कामदेखी पिउनको लागि पनि सोही धाराको पानी प्रयोग गरिन्थ्यो । अहिले त पानी नै सुक्यो । कहाँबाट आउँछ पानी ?’ उनले भने, ‘यो धाराको पानी नगरकोटबाट आउँथ्यो । अब त्यहाँ घर बने । घर बनेपछि पानी ल्याउने बाटो पनि बन्द भयो ।’

स्थानीय सरकारले ढुंगे धाराको संरक्षण गरे वा नगरेपनि धाराबाट पानी नआउने उनी बताउँछन् । नगरभित्र र बाहिर बनेको आधुनिक घरको कारणले पनि भक्तपुरको अधिकांश ढुंगे धारा सुक्न थालेको उनले सुनाए ।

पानीको मूल नजिकै भएको धारामा अझै पानी आएको तर पाईप विछ्याएर पानी ल्याएका धाराहरु सुक्दै गएका छन् । तौलाछेँका ५५ वर्षीय सीतादेवी प्रजापतिले ढुंगे धारामा पानी सुकेर गएसँगै महत्वपनि हराउँदै गएको बताइन् । ‘पहिले हामी च्याम्हासिंह, दतात्रयको ल्हो हिटि(ढुंगेधारा) मा पानी लिन जान्थ्यौँ । बिहान सबैरै पानी लिएर आउँथ्यौँ,’ उनले भने, ‘अहिले त पानी नै आउँदैन । आएपनि पानी थाप्नेको लाइन नै धेरै हुन्छ ।’

नगरपालिकाले पानीको लागि धारा जडान गरेसँगै केही सहज भएको उनी सुनाउँछिन् । ‘धारा राखेपनि त्यसले पानी पुग्दैन ।’ जस्ताको छानोको घर भएकाहरुले आकासबाट आएको पानी जम्मा गर्ने गरेको उनी बताउँछिन् ।

नगरमा मात्रै करिब ९० वटा ढुंगे धारा रहेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठका अनुसार तीमध्ये अधिकांश ढुंगेधारामा पानी सुक्दै गएको र केहीमा मात्रै पानी आउँछन् ।

‘अहिले करिब दशवटा धारामा पानी आउँछन् । केहीमा पुनर्निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘ढुंगे धारामा डुढ विधिबाट पानी आउँछ ।’ उनका अनुसार भक्तपुरका अधिकांश धारामा साबिक चाँगुनारायण नगरपालिकाको मुहानपोखरीबाट पानी आउँने गर्दथ्यो । तर अहिले चाँगुनारायणले पर्यटकीय गन्तव्य बनाउँने भन्दै पानी जम्मा गरेको छ । आधुनिक संरचना पनि बनेको छ । त्यसैले गर्दा धारा सुक्दै गएको उनले बताए ।

मध्यपुर थिमि नगरपालिकामा करिब ५५ वटा ढुंगे धाराहरु छन् । त्यसमध्ये अधिकांश ढुंगेधारामा पानी आउन छाडे । तर स्थानीय जनप्रतिनिधि निर्वाचित भएयता नगरपालिकाले ढुंगेधाराको संरक्षण र पुनर्निर्माण गर्दै आएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

‘हामीले २७ वटा ढुंगेधारालाई मौलिक शैलीमा संरक्षण गरिसकेका छौँ । ती धारामा अहिले पानी आउँछ । साथै दुई वटा ढुंगेधाराको पुनर्निर्माण कार्य भइरहेको छ,’ उनले भने, ‘अधिकांश ढुंगेधारामा मुहानबाट पानी आउँथ्यो तर मुहानसुकेसँगै धारा पनि सुक्न थाल्यो ।’

केही धारामा मुहानकै स्रोतबाट पानी आएतापनि अरु धारामा नगरपालिकाले बैकल्पिक स्रोतको प्रयोग गरी पानी झारेको उनले बताए ।

चाँगुनारायण नगरपालिकामा करिब ५० वटा ढुंगेधारा रहेका छन् । ती मध्ये केही धारामा मात्रै पानी आउने गरेको र बाँकी धारा विस्तारै सुक्दै गएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनका अनुसार चाँगुनारायण मन्दिर क्षेत्र र ४ वडामा मात्रै १५ वटा ढुंगेधारा रहेको र ती मध्ये १३ वटामा पानी आउँछ । बाँकी रहेको दुई धारामा संरक्षण कार्य भइरहेको छ ।


उता सूर्यविनायक नगरपालिकामा ९ वटा ढुंगे धारा रहेको उपप्रमुख जुना बस्नेतले बताईन् । तर ती अधिकांश ढुंगेधारा जिर्णअवस्थामा रहेको र वडागत रुपमा संरक्षणको कार्य भइरहेको उनको भनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *