युक्रेनमा रुसी हमलाः ४९८ रुसी सेना मारिए
किभ–युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांक अनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् । यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको सो सहरका मेयरले बताएका छन् ।
रुसी सेनाले भन्यो–किभ छोडेर भासिल्किभमा जानु
किभ– रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने । किभ खाली गर्न रुसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर, रुसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए ।
रुसी सेनाले राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ । तर, युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन् । रुसी सेना दोस्रो पटक किभलाई हमला गरेको छ । रुसी सेनाका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रुसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए ।
युक्रेनमा रुसी हमलाः १० लाख युक्रेनीले देश छोडे
किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ ।
ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्, ‘बन्दुकहरु बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस ।’ युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रुपमा विस्थापित हुने र उनीहरुलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।
युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार
रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन । क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् । राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन् । उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए ।