नेपाली मूर्ति कसरी जहाज चढेर विदेश जान्छन् ?

पुरषोत्तमलोचन श्रेष्ठ
नेपालबाट चोरी हुने खास गरी दुर्लभ मूर्तिहरु हुन् । दुर्लभ भन्नाले लक्ष्मी नारायण कै भनौं न । जसमा आधा शरीर लक्ष्मीको र आधा शरीर नारायणको हुन्छ । त्यो मूर्ति सामान्यतया १२ औँ देखि १६ औं शताब्दीसम्मको हुन्छ । त्यस्ता मूर्ति यहाँ कमै मात्र बाँकी छन् ।

भक्तपुरको नासमना टोलमा थियो, लक्ष्मी नारायणको मूर्ति । त्यो चोरी भयो भन्ने सुन्छु । त्यस्तै मूर्ति केही समय अगाडि चाँगुनारायण मन्दिरको खोपामा थियो । त्यो पनि चोरी भयो भनेर सुनेको छु । त्यसैगरी टौमढीमा रहेको भैरवनाथको मन्दिर अगाडिको धातुको मूर्ति धेरै पटक अर्थात् ३/४ पटक चोरी प्रयास भयो ।

टौमढीमा भएको मूर्ति चोरिएपछि अर्को मूर्ति निर्माण गरी प्राणप्रतिष्ठा गरियो । त्यो पनि चोरियो । अहिले हामीले दैनिक रुपमा पूजा गर्दै आएको मूर्ति केही वर्ष अगाडि मात्रै प्राणप्रतिष्ठा गरिएको हो । त्यसलाई चाहिँ अहिले बाहिर लगेको छैन ।

लैनसिंह बाङ्देलको ‘द स्टोलन इमेजेज अफ नेपाल’को प्रसंगलाई म यहाँ अलिकति चर्चा गर्न चाहान्छु । यस सम्बन्धमा उहाँको एउटा रोचक अनुभव थियो । पशुपति परिषरमा प्राचीन नारी मूर्ति उहाँले देख्नुभयो । त्यो मूर्ति फोहोरमा मिल्किएको अवस्थामा थियो । त्यसबेलासम्म उक्त मूर्तिकलाको बारेमा कसैको पनि ध्यान गएको थिएन । उहाँलाई त्यो मूर्ति निकै सुन्दर र दुर्लभ लागेपछि अरु साथीलाई पनि देखाउन लैजानु भयो । दुईतीन पटक ल्याएर देखाएपनि वरपरका मान्छेहरुको आँखा पनि ठुल्ठुलो भएछ । कान ठा–ठाडो भएछ । दुर्भाग्य त के रह्यो भने एक महिनापछि त्यो मूर्ति त्यहाँबाट हराएछ ।

यसले के देखाउँछ भने, कुनै पनि प्राचीन तथा दुर्लभ मूर्तिहरु अध्ययन अनुसन्धान गरेपछि त्यसले सुरक्षा खोज्दो रहेछ । हिजो कसैलाई पनि त्यसको बारेमा जानकारी थिएन । तर त्यसको जानकारी दिएपछि र महत्व प्रकाश गरिदिएपछि सबैको त्यहाँ ध्यान जाँदो रहेछ । त्यसमध्येमा मूर्ति चोरहरुको पनि ध्यान पर्दो रहेछ । मूर्ति चोरी हुने धेरै कारणहरु मध्ये एउटा कारण यो पनि हो भन्ने लाग्छ ।

मलाई के आभास हुन्छ भने मूर्ति चोरी गर्ने व्यक्ति पैसावाला अर्थात् पैसा र पहुँच भएकाहरु नै हुन् । मूर्ति चोरेर नै ती व्यक्तिहरु लाखपति, अरबपति र खरबपति भए होलान् । अर्को कुरा मूर्ति चोरहरु स्थानीय नै हुनुपर्छ । मूर्ति चोरेरै आएको पैसाबाट उनीहरु मालामाल नै भएका हुनसक्छन् । तर, राज्यले यस्तो कुरा हेर्ने गरेको छैन । को कसरी रातारात धनी भयो ? यो राज्यले हेर्नुपर्ने विषय हो ।

हामी मूर्तिको मात्रै कुरा गर्छौ । मूर्तिका साथसाथै निकै महत्वपूर्ण प्राचीन ग्रन्थहरु, हस्तलिखित ग्रन्थहरु र पौभा चित्रहरु युरोप–अमेरिकालगायत भारतका संग्रहालयमा सजिएका छन् । हाम्रो पहिचान दिने सम्पदाहरु तथा हाम्रो सांस्कृतिक भण्डार सुक्दै गएका छन् । ती–ती संग्रहालयमा कसरी पुगे होला हाम्रा सम्पदा ? हामीले यो कोणबाट पनि खोजी गरेका छैनौं ।

विदेशमा पुगे हाम्रा सम्पदा । तर, मूर्ति चोरीगर्न त हाम्रै मान्छेहरु गए होलान् नी । डिप्लोम्याटिक सपोर्ट बिनानै त्यहाँ पुगेको होला र ? अनि पुरातत्व विभाग । यो प्रश्न उहाँहरुलाई पनि सोध्दा हुन्छ, कसरी विदेश पुगिरहेका छन् हाम्रा पुरातात्विक महत्वका बस्तुहरु ? पुरातत्व विभागबाट पास भएपछि नै विदेश लान पाइन्छ । त्यहाँबाट कसरी पास भएर गइरहेका छन् ? के जहाज चढेर आफैं गइरहेका छन् हाम्रा सम्पदा ?

मलाई लाग्छ र तथ्यले पनि त्यही भन्छ, सन् १९६० देखि ९० को दशकसम्म हाम्रा सम्पदाहरु धेरैभन्दा धेरै चोरिए ।

युरोप, अमेरिका, भारत, चीन या अरु जहाँ–जहाँका संग्रहालयमा हाम्रा सम्पदाहरु सजाएर राखिएको भएतापनि ती देशहरुको इज्जत उच्चो हुँदैन । ती देश चोर देश नै हुन् । किनभने अरुको देशको सम्पदा सजाउँदा उसको नाक ठूलो हुँदैन । उसको नाक काटिएको हुन्छ ।

अमेरिकाको धेरै संग्रहालयमा नेपालको मूर्तिहरु सजाएका छन् । सजाउँदा उसको इज्जत बढ्ने होइन । बरु नेपालबाट चोरेर ल्याएको हो भनी प्रचार–प्रसार गर्नुपर्छ । यस्तो मूर्ति पनि सजाएर राख्नु हुन्छ ? संग्रहालय चोर, देश चोर । यसैको आधारमा हामी उनीहरुलाई चोर भन्न सक्छौँ ।

ती हाम्रा सम्पदाहरु ल्याउनेबारे पनि अन्तर्राष्ट्रिय नियम कानुनहरु छन् । त्यसबारे स्पष्ट प्रमाणहरु जुटाउन सक्यो भने चोरेर लगेका मूर्तिहरु फिर्ता पाउन सकिन्छ । सुन्दर उदाहरण पनि छ, हामीसँग । लैनसिंह बाङदेलले लेखेको ‘द स्टोलन इमेजेज् अफ नेपाल’ नामक पुस्तक प्रकाशित भएपछि युरोप–अमेरिकालगायतका निजी तथा अन्य संग्रहालयले मूर्ति फिर्ता गर्ने परम्परा सुरु गरे । झन्डै पाँच दर्जन पुरातात्विक महत्वका बस्तु फर्किएको सुन्नमा आयो । तर मूर्ति यहाँ फिर्ता ल्याएपछि लथालिङ्ग राख्ने गरेको देख्दा भने दुख लाग्छ ।

जुन मूर्ति जहाँबाट चोरी भएको हो त्यही स्थानमा सुरक्षित रुपमा पुनस्थापना गर्नुपर्छ । तर यहाँ संरक्षणको नाममा संग्रहालयमा राख्ने गरिएको छ । कतिपय त पुलिस स्टेशनमा पनि छन् । कताकता फ्याँकेको अवस्थामा पनि थिए । फिर्ता आएका मूर्तिको सुरक्षामा पनि प्रश्न आउने गरेका छन् । यो पनि दुखलाग्दो पक्ष हो ।

संस्कृतिविद्ध पुरषोत्तमलोचन श्रेष्ठ

(नेपालमुहार डटकमकालागि संस्कृतिविद्ध पुरषोत्तमलोचन श्रेष्ठसँग विपना मुसिख्वालले गरेको कुराकानीमा आधारित ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *