४९ वर्ष अघिको सुखानीको त्यो हत्या काण्ड, संयोगले जोगिएका थिए, केपी ओली

राधाकृष्ण मैनाली
कम्युनिस्ट अगुवा एवं पूर्वमन्त्री

२०२९ साल फागुन २१ गते झापा कारागारबाट इलाम जेल सरूवा गर्ने बहानामा विद्रोहमा सहभागी पाँचजना क्रान्तिकारी हस्तीहरूलाई झापा र इलामको सीमानामा पर्ने सुखानीको जंगलमा गोली हानी हत्या गरियो, जुन सुखानी हत्याकाण्डका नामले नेपाली राजनीतिक इतिहासमा चर्चित छ । रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई फरक फरक स्थानबाट गिरफ्तार गरी सुखानीको तयारी वधशालामा पुर्‍याएर हत्या गरिएको थियो ।

मैले जानकारी पाएअनुसार उनीहरूलाई चन्द्रगढीस्थित जेलबाट खुट्टामा नेल र हातमा हत्कडी ठोकेरै बाहिर निकाल्यो र गरामुनी, अनारमुनी हुँदै शनिश्चरे प्रहरी चौकीमा पुर्याएर केही बेर रोक्यो । अनि उनीहरूका ओढ्ने, ओछ्याउने लगायत सबै लुगाफाटा चौकीमै राख्न लगायो । यसपछि चौकीबाट हिंडाएरै लगिएका पाँचजनालाई साँझतिर सुखानी जंगलमा पाशविक ढंगले हत्या गरियो । विस्मृतिको पानाबाट अमर सहिदहरूको सम्झना मेरो दिमागमा यसरी बाँचिरहेछ ।

रामनाथ दाहाल– उदार सोचको सिकार
रामनाथ दाहाल राजनीतिक हिसाबले झापाली क्रान्तिकारीहरूमध्ये सबैभन्दा वरिष्ठ थिए । पञ्चायती सरकारले आततायी किसिमले हत्या गर्दा उनी त्यस्तै ३२/३३ वर्षका थिए । तेह्रथुम जिल्लाको पोखरी इवामा जन्मेका रामनाथले बालकै छँदा पिताको मायाबाट विमुख भएर पारिवारिक वज्र सहनुपरेको थियो । नाबालक उनलाई आमाले पहाडमै दुःख–सुख हुर्काउनुभयो । रामनाथका पिता प्रायः मधेसतिरै बस्थे । उनलाई सबैले सुवेदारसाब भन्थे । मेरो अड्कलमा रामनाथका पिताले जीवनको उर्वर उमेरमा सेनाको जागिर खाएर सुबेदार भएका हुनुपर्छ । बाल्यकालको मेरो छिपछिपे सम्झनामा सुबेदार साहेब मधेसतिर कै कुनै झगडामा मारिएको गाइँगुइँ सुनेको थिएँ । पहाडमा सुबेदारको पारिवारिक बन्दोबस्त ठीकैको रहेछ । उनले तराईमा भने थुप्रै जमिन जोडेका रहेछन् ।

रामनाथ ठूलो हुँदै गएपछि सबै जग्गा, जमिन र सम्पत्ति अरुले खाएका छन् भन्ने आमाले बुझिछन् । यसपछि आमाको पहलमा झापाको केही जमिन रामनाथको हात परेछ । झापाको चार पानेमा पिताको नाममा २८ बिघा जमिन भेटेपछि उनीहरू त्यहीं बस्न थाले । धेरैले अरुतिर समेत सुबेदार साबले जमिन जोडेको बताए पनि प्रमाण कतै भेटिएन । समय बित्दै जाँदा रामनाथको जवानी चार पानेमै हुर्कियो । पहाडमा छँदै उनको विवाह एक ओली कन्यासँग भइसकेको थियो । झापा झरेपछि उनले २०२५/०२६ सालतिर गरामुनी खोपबाडीका उद्दिम उप्रेतीकी बहिनी विश्वेश्वरासँग दोस्रो विवाह गरे । उनको पहिलो मागी विवाह थियो भने दोस्रो प्रेम विवाह ।

रामनाथ वाम आन्दोलनको उर्वरभूमि झापा झर्नुअघि आठराईमा नै वामपन्थी चिन्तनको नजिक भइसकेका रहेछन् । इवामै पुराना कम्युनिस्ट नेता डा. बल्लभमणि दाहालको संगतबाट उनमा वामपन्थी झुकावको कलकलाउँदो पालुवा पलाएछ । डा. बल्लभमणि २०१८ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनपछिको केन्द्रीय कमिटी सदस्य र २०१४ सालमै संखुवासभास्थित चैनपुर माविका शिक्षक थिए । झापाका उदार विचारका जमिनदार देवीप्रसाद उप्रेतीले तेह्रथुमको पोखरी र सिम्लेमा दुईवटा माध्यमिक विद्यालय आफ्नै खर्चमा स्थापना गरी सञ्चालन गरेका थिए । देवीप्रसादले पोखरीमा शिक्षक पनि राजनीतिक सन्तुलन मिलाएर राखेका थिए, एकजना कांग्रेस समर्थक, अर्का कम्युनिस्ट । वामपन्थी डा. बल्लभमणि र प्रजातन्त्रवादी मदनबहादुर थापा थिए ।

पछिल्लो समयमा मदनबहादुरले झापाको घैलाडुवा आदर्श विद्यामन्दिर र हडियाको बुधबारे माविमा पढाएपछि अवकाश पाए । दुवै विचार समूह त्यति बेला प्रतिबन्धित थिए । साताको एकपटक दुवैले पोखरी माध्यमिक विद्यालयमा आ–आफ्ना राजनीतिक सिद्धान्तको व्याख्या, विश्लेषण विद्यार्थीलाई सुनाउँथे । सिर्जनशील सिकाइ सुरू गरेका थिए, देवीप्रसादले । म अहिले पनि उनको शिक्षण शैलीदेखि प्रभावित छु । यस्तो सिर्जनशील, उन्नत र उदार सोचका देवीप्रसादले स्थापना गरेको पोखरी माध्यमिक विद्यालयमा अध्यापनरत बल्लभमणिको प्रेरणाले रामनाथ वामपन्थी झुकावमा लामबद्ध भएका थिए ।

बल्लभमणि जीवनको उत्तराद्र्धमा काठमाडौं आए र नेपाली भाषा पढाउन थाले । २०१९ सालपछि दरबारको नजिक पुगे र कम्युनिस्ट विचारबाट निष्क्रिय भए । दरबारको आँगनमा पुगे पनि उनले कुन जिम्मेवारी पाएका थिएनन् । जसबाट प्रभावित बनेर रामनाथ वामपन्थी बनेका थिए, उनी ओझेलमा पर्दै गएको समयमा रामनाथ भने सक्रिय राजनीतिमा उदाइ रहेका थिए । परम्परागत मर्यादाको विरोधमा जानेबित्तिकै कम्युनिस्ट भइने अल्प बुझाइको भँडुवा शैलीको बिगबिगी थियो त्यति बेला आठराईमा । त्यसैले कम्युनिस्टहरूको कार्यशैली चलनचल्ती विपरीत हुने गर्थ्यो । अरुले टुप्पी पालेका छन् भने आफूले काट्ने । रक्सी खानु हुँदैन भन्यो भने खानुपर्ने । एक किसिमले भन्ने हो भने अहिले एकीकृत माओवादीले भन्ने गरेजस्तै सामाजिक क्रमभंगता गर्नेबित्तिकै कम्युनिस्ट होइने चिन्तन थियो । तत्कालीन परिवेशअनुसार रामनाथ पनि धेर थोर त्यही शैलीबाट प्रभावित थिए ।

रामनाथसँग मेरो चिनजान २०२५/०२६ सालदेखि भएको हो । उनी चिन्तनमा जति अगुवा थिए विचार र सिद्धान्तप्रति उत्ति नै अडिग । तीक्ष्ण, चलाख व्यक्ति छ भने कनिष्ठ नै सही, आफ्नो वरिपरि राख्न खुब मन पराउँथे । यस्तै केही तीक्ष्ण केटाहरूलाई उनले घर मै राखेर पढाएका थिए । जसमध्ये केपी ओली एक हुन् । केपीले ६ कक्षादेखि रामनाथकै घरमा बसेर पढेका हुन् । आर्थिक संकटमा परेका केपीलाई रामनाथले आफ्नै घरमा आश्रय दिएर पढाएका थिए । रामनाथको सिद्धान्त मात्रै प्रगतिशील थिएन, व्यवहारपनि खरो थियो । रुढीवादबाट जकडिएको तत्कालीन सामाजिक मूल्य मान्यताप्रति उनले व्यवहार मै विरोध गरेका थिए । एकजना विश्वकर्मालाई रामनाथले आफ्नो घरमा भान्से राखेका थिए । त्यो जमानामा दलितलाई बाहुनको घरमा भान्से राख्नु सानो क्रान्तिकारिता थिएन । अहिलेसमेत छुवाछूत निर्मूल भइनसकेको समाज त्यति बेला कस्तो थियो होला सम्झना नै काफी छ ।

रामनाथको आँटलाई सलाम गर्नैपर्छ । उनको यस्तो कदम उनकी आमा र गाउँलेले भने सहेका थिएनन् । यही कारण उनकी आमा एक्लै छुट्टै घरमा बस्न/खान थालिन् । परिवारका अन्य सदस्यहरू सगोलमै खान्थे । घरमा जति बढी पाहुना आयो उति राम्रो मान्थे, रामनाथ । उनी पाहुना नआएको दिन आफूलाई निद्रै नलाग्ने कुरा रमाइलो पाराले सुनाउँथे । वार्षिक ५०/६० मन धानको चामल उनका घरमा पाहुनाका लागि लाग्थ्यो रे । त्यो स्वाभाविकै थियो किनभने बारीमा फलेका फर्सीजस्तै भल्टाङभुल्टुङ पाहुना सधैंभरि उनको घर भरिहुन्थे । उन्नत सोचका धनी रामनाथ चारपाने गाविसको प्रधानपञ्चमा उठेर थोरै मत अन्तरले पराजित भएका थिए, २०२४ सालमा । त्यही भएर होला, उनी क्रान्तिकारी हुँदाहुँदै पनि खुला राजनीतिमा बढी विश्वास गर्थे । हामी भूमिगत भइसकेका थियौं । तर रामनाथ खुलै थिए । २०२९ साल मंसिर २९ गते मैले रामनाथलाई चिठी पठाएँ, “तुरून्त भूमिगत हुनुहोस् ।” त्यसपछि बल्ल रामनाथ र केपीले सँगसँगै घर छोडे ।

घर छाडेको केही दिनपछि परिवार को हालचाल बुझ्न एक दिन अपरान्हतिर रामनाथ र केपी दुवैजना घर नजिक निक्लिएछन् । परैबाट उनीहरूले रामनाथको घरमा छ्याप्छ्याप्ती प्रहरी देखेछन् । “घर मा प्रहरी किन आएका रहेछन् । म बुझेर आउँछु । तिमी यहाँबाट उता जाँदै गर,” केपीलाई जोगाएर आफू भने घर तिर लागेछन् । रामनाथ हिउँद याममा घुँडामुनिसम्म आउने लामो छालाको ज्याकेट लगाउँथे । त्यतिबेला उनको जस्तो ज्याकेट त्यहाँ कसैले लगाउँदैनथे । एक प्रकारले रामनाथ र लामो ज्याकेट पर्यायवाची जस्तै थिए । कोट हल्लाउँदै घरतिर आइरहेको देख्नासाथै प्रहरीले उनलाई नचिन्ने कुरै भएन । तत्काल पक्राउ गर्यो । रामनाथलाई पक्राउ गरेको देखेपछि केपी उभिएको स्थानबाट अन्यत्रै लागे । जिल्लाभर ख्याति कमाएको व्यक्ति भएकाले आफूलाई तत्काल पक्रिहाल्छ भन्नेमा रामनाथलाई रत्तिभर विश्वास रहेनछ । बढी आत्मविश्वासी भएर उनी शत्रुको मुखतिर लम्किएछन् । सरकार निर्दयी भइसकेको उनले पत्तो पाउन सकेनन् र आफ्नै उदार सोचको सिकार बने ।

उनलाई हिरासतमा पुर्याएर प्रहरीले चर्को यातना दिएछ । उनी गिफ्तार भएपछि घटेको धर्मप्रसाद ढकाल काण्डमा समेत रामनाथलाई बयान लिइयो । दुई महिनाको कठोर यातनापछि जबरजस्ती कागजहरूमा सही गराएर झापा कारगार चलान गर्यो । सधैं जुत्ता लगाएर हिंड्ने नौनीजस्ता उनका पैतालामा पिन घोचेर यातना दिंदै बयान गराइएछ । पैतालामा पिनले खोपेका घाउ पाकेपछि प्रहरीले नेल हत्कडी लगाएकै अवस्थामा तीन–चार पटक ड्रेसिङ गर्न चन्द्रगढी जेलबाट भद्रपुर अस्पताल लगेको थियो । त्यति कठोर यातना दिँदापनि रामनाथले पार्टीका गोप्य कुरा खोलेर क्रान्तिलाई नोक्सान पुर्याएनन् । आफू आन्दोलनको अगुवा भएको, आन्दोलन जरूरी रहेको जस्ता सैद्धान्तिक कुराबाहेक उनले शत्रुलाई पार्टीका संवेदनशील कुराहरू चुहाएनन् । उनले आफू आन्दोलनको अगुवा भएको बताएपछि तत्कालीन शासकको बुझाइ यसलाई सिध्याए झापा विद्रोह टुहुरो बन्छ भन्ने भएछ । प्रहरी देख्नासाथ छड्किएको भए रामनाथको इहलीला समाप्त हुने थिएन । आफ्नै हठका कारण उनले त मृत्युवरण गरेनै, लामो कालसम्म झापा विद्रोहमा उनको अभाव भने खड्किरह्यो ।

रामनाथ मीठो शैलीका गीत, कविता रचेर सबैको हृदयमा बस्न सफल थिए । उनी “आउँदैन है जनवाद, झमझम नाचेर ” भन्ने गीत गाउँदै छमछम नाच्थे । गिरफ्तारीको केही वर्षअघिसम्म उनको राइस मिल र ट्रक व्यवसाय थियो । क्रान्तिप्रति कति समर्पित थिए भने दुवै बेचेर आन्दोलनको ज्वारभाटामा होमिएका थिए । गाडी हाँक्ने गज्जबको सीप थियो, उनमा । कहिलेकाहीं ठट्यौली पारामा उनी भन्थे, “आन्दोलन सफल भएर सरकार बनाइयो भने मचाहिं मन्त्री बन्दिनँ । तिमीहरूको ड्राइभर बनुँला । किनभने ड्राइभर सही नभए गन्तव्यमा पुगिन्न ।” उनको व्यंग्य दुःख गरेर सत्तामा पुगे पनि त्यसलाई सही ढंगले हाँक्न नसके आम मानिसको सपना दुर्घटित हुने कुरामा केन्द्रित थियो । यतिबेला सत्तारुपी गाडी हाँक्ने सिपालु चालक नभएकैले जनताका अधिक सपनाहरू दुर्घटनामा परिसके भने कतिपय सपना घिट्घिटो अवस्थामा छन् ।

ठालु नबन्ने नेत्र घिमिरे
नेत्रसँग मेरो दोस्ती २०२३ सालदेखि गाँसिएको थियो । झापा धुलाबारीस्थित नरेन्द्र खनालको घरमा म, नेत्र, महेन्द्र खनाल र विष्णु खनाल एउटै कोठामा डेरा गरेर बस्थ्यौं । यीमध्ये नेत्रसँग मेरो घनिष्ठता थियो । म ७ र नेत्र ८ कक्षामा पढ्थ्यौं । हामी दुईको मित्रता यति नजिकको थियो कि कक्षा अलग– अलग भए पनि विद्यालयमा अधिकांश समय सँगै नारिन्थ्यौं । कक्षा चल्दा मात्रै बेग्लाबेग्लै हुन्थ्यौं । रविरत्न खनाल त्यसताका धुलाबारी क्षेत्रकै कहलिएका जमिनदार थिए । उनको ठूलो रविराइस मिल्स थियो । घरको शान र त्यस बेलाको यातायातको वाहनको रुपमा कहलिएको हात्तीसमेत थियो । उनी हात्तीमा चढेर खेती निरीक्षण गर्थे । धुलाबारीमा उनको दुई–तीन सय बिघा जमिन थियो । रविरत्नका छोरा नरेन्द्र खनाल पछि राष्ट्रिय पञ्चायतका सदस्यसमेत भए । खनाल परिवारका राँगा र गोरू मात्रै १८ हल थिए । रविरत्नको भान्सामा दैनिक न्यूनतम ८० जनाभन्दा बढीलाई खाना पाक्थ्यो । कोही भात मात्रै पकाइरहने, कोही बाँडिरहने । कोहीचाहिं अर्को कुनामा बसेर तरकारी काटिरहने गर्थे । एक हूल बाहिर पट्टि भाँडा माझ्न निरन्तर खटिरहन्थे । मलाई मेसको यस्तो दृश्य अनौठो र हेरिरहूँजस्तो लाग्थ्यो ।

हामीले छुट्टै खाना पकाउनु पर्दैनथ्यो । त्यही मेसमा मिसिन्थ्यौं । थाल टिप्यो, खाना खाएर बाहिरियो । एक वर्ष धुलाबारीमा पढेपछि नेत्र र म दुवै घैलाडुवा आदर्श माविमा पुग्यौं । यहाँ पनि दुवैले सँगै डेरा लियौं । हामीबीच एकअर्काको घरमा पनि आउजाउ हुन्थ्यो । विद्यालय कालदेखिको त्यो मित्रता कलेज अध्ययनसम्ममा अझ मौलाउँदै राजनीतिक तहको एकतामा विकसित भएको थियो । मैलेभन्दा अघिल्लो साल नै नेत्रले एसएलसी पास गरेका भए पनि घरको आर्थिक दुरवस्थाले उनी कलेज भर्ना हुन सकेनन् । पछिल्लो वर्ष मैले तेस्रो डिभिजनमा एसएलसी पास गरें । त्यसपछि म र नेत्र सँगै आईए (प्रवीणता प्रमाणपत्र) पढ्न मेची कलेजमा भर्ना भयौं । आईए पढ्दापढ्दै म राजनीतितिर बढी सक्रिय हुन थालिसकेको थिएँ । नेत्र राजनीतिमा कम र पढाइमा बढी ध्यान दिन्थे । बीएसम्म खुरूखुरू पढेपछि नेत्रले पढाउन थाले । म भने राजनीतिक विचरणमै डुबुल्की मार्न थालें । नेत्रले गरामुनी निम्न माध्यमिक विद्यालयमा पढाउन थालेका थिए । मेरै कारण पछि उनी फेरि राजनीतितिरै आकर्षित मात्र भएनन्, मभन्दा पहिले भूमिगत भए ।

नेत्रले मलाई पटक–पटक सोध्थे, “आरके राजनीति गरेर पार लगाउन सकिएला कि नसकिएला ? साँच्चै भन् त ।” “पार नलाग्ने भए म किन लाग्थें ?” म ठाडो जवाफ फर्काउँथे । यसपछि एकछिन गम खाएर भन्थे, “तँ साँच्चिकै लागेको होस भने त केही होला ।” उनी राजनीतिक गतिविधिमा सक्रिय हुन थालेपछि संघर्षप्रति मेरो आत्माविस्वास अझ बढेर आयो । हामीले क्रान्ति गर्ने दृढ अठोट गरेसँगै झापा विद्रोहको फौजी कमाण्डर बनेर नेत्रले कारबाहीको नेतृत्व गरे । भूमिगत हुँदा नेत्र कति सहयोगी र व्यवहारिक थिए भने जुन गाउँमा पुग्थे, त्यहीँ आफ्नो सीपको उपयोग गरेर किसानलाई सघाउन अघि सर्थे । दाम्लो बाटिदिने, गाईवस्तुको गोबर फालिदिनेजस्ता घरेलु काम सघाइदिन्थे । किसानका छोराछोरीलाई घरघरमै पठाउँथे । अहिले पनि झापामा नेत्रका समकालीन किसानहरु उनका यस्ता गुन सम्झिएर थाक्दैनन् ।
जिल्लामा झापाली क्रान्तिकारीका गतिविधि बढ्न थालेपछि पुराना कम्युनिष्ट नेता तथा तत्कालीन गरामुनी गाउँ पञ्चायतका प्रधानपञ्च शिव न्यौपानेलाई कम्युनिष्ट गतिविधिलाई सघाएको आरोपमा शान्तिसुरक्षा ऐनअन्तर्गत जेल हालेको थियो । जेल परेपछि अत्तालिएका शिव आन्दोलनकारीलाई पक्राउन सहयोग गर्ने सर्तमा मुक्त भएका रहेछन् । गरामुनी बजारको पूर्व उत्तर झोडामा ठूलो बस्ती थियो । त्यहाँ एक डेड सय किसान परिवारहरु बस्थे । जंगल छेउ सुरक्षित स्थान भएकाले प्राय : हामी त्यहीँ मिटिङ, भेला गथ्यौँ । त्यहाँ बस्नुका खास दुई वटा कारण थिए । पहिलो, हामी त्यहाँ भएको प्रहरीलाई पत्तो हुँदैनथ्यो । दोस्रो, थाहा पाई हालेमा प्रहरी त्यहाँ पुग्न निकै समय लाग्दथ्यो । मोटर बाटो थिएन । पैदल दुई–तीनवटा दलदले होली पार गर्नु पर्दथ्यो । उस्तै परे त्यहाँको सुकुम्बासी वस्ती उठेर प्रहरीलाई लखेट्थ्यो । त्यसैले प्रहरी हम्मेसी त्यो क्षेत्रमा पस्ने साहस गर्न सक्तैनथ्यो । धुर्त शिवले झोडाकै बासिन्दा राधाप्रसाद घिमिरेलाई आफ्नो सुराकी सञ्जालमा राखेछन् । नेत्र आएको खबर दिए ठूलै सुविधा पाउने आश्वासन दिएछन् ।
२०२९ साल पुस १२/१३ गतेको कुरा हो । शनिश्चरेमा धर्मप्रसाद ढकालमाथि आक्रमण भएपछि प्रहरी गतिविधि बाक्लिएको थियो । त्यसदिन शिवको सुराकी सञ्जालबाट म पनि संयोगले मात्र बचेँ । नेत्रहरुको टोलीसँग छलफल गर्न हामीले सुरक्षित ठानिएको झोडाको गाउँमा मिलनविन्दु तोकेका थियौं । राजेन्द्र राजवंशी र म उनीहरुलाई भेट्न त्यही झोडीको राधाप्रसादको घरमा जाँदै थियौं । मनमा केही असहज भाव आइरहेको थियो । तर, पनि नेत्रहरुलाई दिएको सम्पर्क स्थलमा पुग्यौं । उनीहरु आइसकेका रहेनछन् । एकै छिन थकाई मारेर हामी हिड्न लागेका थियौं । ‘तपाईहरु आउने अबर पाएपछि दाजु बजारतिर मासु किन्न जानु भएको छ । आज यतै बस्नुपर्छ’, त्यसअघि जहिल्यै पानी मात्र पिलाएर पठाउने राधा घिमिरेका भाइ टंकले हामीलाई लोभ्याउन खोजे ।
मान्छेलाई फकाउने सजिलो चिज सायद खाना नै हो भन्ने उनीहरुले ठाने । फेरि भूमिगत रुपमा क्रियाशिल हामीले सबै ठाउँमा मिठो–मसिनो खान पाउने कुरै थिएन । त्यसैले मासु भनेपछि हामी लोभिने लख टंकले काटेका रहेछन् । उनले यसो भनिसकेपछ मेरो मनमा झन् चिसो पस्यो । ‘त्यति लोभी परिवारले किन आज मासु खाने कुरा गरे होला ?’ उनले अझ् थपे ‘सबै साथीभाइ जम्मा भएको बेला नजिकैको लिम्बू गाउँबाट ठर्रा ल्याएर मस्ती गरौं ।’
परिवारका सदस्य अस्वभाविक रुपमा बाहिर भित्र गरिरहेका थिए । हातै समाएर फर्काउँला झैं गरी हामीलाई पछ्याउँदै टंक देउनिया खोलाको डिलसम्म आए । अरु बेला राती १२ बजे पनि उठेर बिदाइ गर्न अप्ठ्यारो नमान्ने त्यो परिवार अकस्मात हामीलाई रोक्न खोजिरहेको थियो । हत्ते गरेको देखेर मेरो मनमा अघि नै पसेको चिसो झनै छिप्पिन थाल्यो । नेत्रहरु त्यहाँ आउने कन्फर्म पनि थिएन । भोलिपल्ट धाइजनमा मिटिङ थियो । त्यही खबर छोड्न हामी त्यहाँ पुगेका थियौं । हामीलाई उनीहरु कताबाट त्यहाँ आउँदैछन् भन्ने थाहा थिएन । नेत्रलाई दिनु भनेर एउटा सानो चिठी छोडेर हामी बाटो लाग्यौं । चिठीमा तुरुन्त पूवएतिर आउनुहोला भनेर संकेत मात्र दिएका थियौं ।
मनमा चिसो बढेपछि घिमिरे बन्धुहरुको खानाको प्रलोभनमा नपरी हामी पूर्वतिर लाग्यौं । हामी हिडेको दुई घण्टापछि नेत्र र अमर कार्कीहरु त्यहाँ आइपुगेछन् । हामीले छोडेको चिठी पाएको भए नेत्रहरु गिरफ्तारीबाट जोगिन्थे । सबैलाई एकै चिहान बनाउन खोजेकाहरुले चिठी किन दिन्थे । उल्टै विभिन्न प्रपञ्च रच्दै त्यहीँ भुलाएर प्रहरीलाई खबर गरिदिएछन् । त्यसपछि बिहान ४ बजे प्रहरी पुगेर पक्राउ गरेछ ।
मेरो नजरमा नेत्र जोदाहा स्वभावका लडाकू युवा थिए । मनमा लागेको कुरा गरौं वा नगरौं भनेर गम खाएर बस्न सक्दैनथे । गरिहाल्नु पर्ने, भनिहाल्नु पर्ने बानी थियो । काइते कुरा गर्न आउँदैनथ्यो उनलाई । एकदमै निस्वार्थी स्वभावका थिए । आफूले काम गरेर अरुको जीवनमा सकरात्मक प्रभाव पार्नु पर्छ भन्ने दार्शनिक सोच राख्थे । उनी भन्थे, ‘मैले कसैको घरमा गएर बनाइदिएको दाम्लोले उसको गोरुलाई दुई वर्ष बाँध्न पुग्यो भने एउटा सानै भए पनि सहयोग पुग्छ । मैले गरेको काम देखेर उसले पनि अरुलाई सहयोग गर्छ । उसको जीविकामा असर पार्छ ।’ ठूलो नहुने स्वभावका नेत्र सहयोगी र कोमल ह्दयका थिए । सबैलाई प्रभाव पार्न सक्ने स्वभावकै कारण उनी झापा आन्दोलनकारीमध्ये तत्कालीन राज्य सत्ताको प्रमुख तारो बनेका थिए । उनलाई गिरफ्तारपछि चर्को यातना दिएर सुखानी सहिदको सूचीमा चढाइदियो, निरंकुश राज्यसत्ताले ।
वीरेन राजवंशी : पञ्चायती कर्मचारीबाट सहिद
वीरेन राजवंशीसँग मेरो चिनजान २०२२ सालमा भएको हो । त्यसबेला उनी झापा चन्द्रगढीको पुहातुवाडीमा बाबुसँगै बसोवास गर्थे । उनीसँग त्यसबेला दलिय राजनीतिक सोच थिएन । तर, एकदमै बिद्रोही स्वभाव थियो । उनी पञ्चायत प्रशिक्षण केन्द्रका पञ्चायत ट्रेनिङ एसिस्टेन्ट (पीटीए) थिए । पीटीएको काम जिल्लादेखि वडास्तरसम्मका पञ्चहरुलाई निर्दलीय पञ्चायती व्यवस्थाको पक्षमा बैचारिक प्रशिक्षण दिनु हुन्थ्यो । यही प्रयोजनका लागि सरकारले उनलाई एक पटक मलेसियाको अध्ययन भ्रमणमा पठाएको रहेछ ।
पीटीए हुँदा उनीसँग मेरो बोलबखत ठाककुठ पर्थ्यो । उनी द्रवीभूत भएर पञ्चायतको प्रशंसा गर्थे । त्यसबेला म अखिलको सक्रिय कार्यकर्ता भईसकेको थिए । ‘गाउँमा जमिन्दार भाछ, सहर पुगेर कम्युनिष्ट बनेको छ, यस्ता सामन्तीलाई नठोके कसलाई ठोक्ने ?’ उनी मलाई हप्कीदप्की गर्थे ।
२०२६ सालको हिउँदको समय थियो । दिउँसो म चन्द्रगढीस्थित जिल्ला पञ्चायतअगाडि हिडिरहेको थिएँ । अकस्मात वीरेनले औंला कुप्रो पारेर इसारा गर्दै मलाई बोलाए । ‘अब फेरि यिनले चर्को कुरा गरेर निहुँ खोज्ने भए ।’ मनमनै यस्तै सोचेर उनीछेउ गएँ । ‘झगडै गर्न त बोलाएको होला नि ?’ पुग्नसाथ कुरा खोलें । ‘होइन मैले धेरै कुरा बुझेर आएको छु, तपाईँसँग आज लामै कुरा गर्नु छ’, उनले मलाई अँगालो मारेर चौरतिर लगे । उनी त १ सय ८० डिग्री परिवर्तन भएर पो कुरा गर्न थाले । म छक्क परेँ । चौरमा लामो समय गफिँदागफिँदै उनले भने, ‘तिमीहरुले के कुरो बुझेका छौं, मैले मलेसियाको कम्युनिष्ट आन्दोलनबारे जम्मै बुझेको छु । नेपालमा कम्युनिष्ट को–को छन् देखा, अब कम्युनिष्ट बनेर सँगै काम गर्नु पर्छ ।’
पञ्चायती कर्मचारीको यस्तो कुरा सुनेर मनमा चिसो पस्यो, कतै यसले सुराकी लिन त खोज्दै छैन ? त्यसैले तत्काल मनका कुरा केही खोलिनँ । उनले आफ्नै प्रयासले गोपालकृष्ण प्रसाईँलगायतका जिल्लाका कम्युनिष्ट नेताहरुलाई चिनेछन् । पछि उनी मेरो घरमै आएर विश्व कम्युनिस्ट आन्दोलन, मलेसियाको कम्युनिस्ट आन्दोलनसम्बन्धी किस्साहरु र नेपालमा कसरी आन्दोलन अघि बढाउन सकिन्छ भनेर घण्टौं कुरा गर्न थाले । त्यसबेला भारतमा नक्सलवादी आन्दोलन चर्किरहेको थियो । भारतीय नक्सलवादी आन्दोलनका नेता मुन्निलाल सिंहसँग भेट भएपछि वीरेनको राजनीतिक सक्रियता एकाएक बिजुली रफ्तारमा हुईँकियो । अलि परका मलेसियाली कम्युनिस्टहरुसँग मात्र होइन, छिमेकी नक्सलवादीहरुसँग पनि मेरो राम्रो सम्बन्ध छ भन्ने शैलीमा वीरेन प्रस्तुत हुन थालेका थिए ।
७ कक्षासम्म पढेका वीरेनले पीटीएको जागिर खाँदै अंग्रेजी भाषा सुधारेका थिए । उनी अंग्रेजीमै भाषण गर्थे । यही मेसोमा उनले जागिर छोडे । निर्दलीय व्यवस्थालाई चुस्त बनाउन मलेसियामा तालिम लिन गएका उनी खरो कम्युनिष्ट बनेर फिरेछन् । त्यति बेला मलेसियामा कम्युनिष्ट आन्दोलनको जगजगी थियो । उनी मलेसियाका ‘हाकवालाहुक’ का किस्सा हामीलाई खुबै सुनाउँथे । ‘हाकवालाहुक’ भनेको मलेसियन भाषामा जंगली डाँकु रे । मलेसिया भ्रमणका क्रममा त्यहाँका बिद्रोही कम्युनिस्टहरुका लिजेन्ड्री र युद्धकलाका रोमाञ्चक कथाहरु सुनेर वीरेन कम्युनिस्ट बन्ने निश्चयमा पुगेका रहेछन् ।
चन्द्रगढी पुहातुवाडीमा जन्मिएर त्यही हुर्के वीरेन । वीरेनको घरदेखि मेरो घर करिब साढे दुई सय मिटर पूर्व पर्दथ्यो भौगोलिक सामीप्यले पनि हामीबीच अनौठो मित्रता कँसिएको थियो । विवाहपछि वीरेन ज्यामिरगढी बजारछेउमा बस्थे । दाइजोबाट प्राप्त जमिनमा घर बनाएर पुहातुवाडी छाडेका थिए । विवाहअघि उनको परिवार विपन्न थियो । बाबु सतानुसिंह राजवंशीले अरुकै एक डेढ बिघा जमिनमा खेतीपाती गर्थे ।
त्यसबाहेक उनीहरुको अरु आयस्रोत थिएन । वीरेन बालखै छँदा आमाको मृत्यु भएपछि उनले सौतिनी आमासँग बाल्यकाल बिताउनु परेको थियो । त्यसैले उनी विवाहपछि दाइजो जमिनमा बस्न थालेका थिए । त्यसबेला राजवंशी समाजमा ७ कक्षासम्म बढेको व्यक्तिको रौनक अर्कै हुन्थ्यो । त्यसमाथि पीटीएको सरकारी जागिर भएपछि वीरेनको राजवंशी समाजमा उच्च हैसियत थियो । ज्यामिरगढीकै जमिनदार राजवंशीले २५ बिघा जमिन दिएर वीरेनसँग आफ्नी छोरीको विवाह गराइदिएका थिए ।
ठूलाबडाहरुको निर्देशनमा एक पटक टोले गुण्डाहरुले ज्यामिरगढी बजारमा किसानहरुलाई मारपिट गरेछन् । ती गुण्डाहरुलाई झापा बिद्रोही वीरेनको टिमले धुलाई दिएछ । कुटपिट आरोपमा प्रशासनले वीरेनलाई गिरफ्तार गरेर तारेखमा छाडेको थियो । त्यसपछि वीरेन नेतृत्वको स्क्वायडले कर्णबहादुर गौतमलाई कारबाही गरे यता उनी भूमिगत भएका थिए । भूमिगत अवस्थामै पहिलेको कुटपिट मुद्दामा वीरेनलाई अदालतबाट ७ दिन जेल हाल्ने फैसला भयो । त्यसपछि वीरेन झन् लोकप्रिय हुँदै गए । राजवंशी समाजमा त उनी देउता समान थिए । भूमिगत भएपछि वीरेनसँग भेट हुँदा जमिनदार राजवंशीहरु उनको पाउ छोएर भन्थे, ‘ए वीरेन तँलाई के पुगेन ? कति जमिन चाहियो ?’ दुई–तीन दिनसम्म एउटै गाउँमा भोज खाएर सर्वसाधारणकैबीचमा बस्थे, वीरेन । धुईँपताल खोजिरहेको प्रहरीले पत्तै पाउँदैनथ्यो । राजवंशीहरु धुरिएर उनलाई बचाउँथे ।
कर्णबहादुर गौतमको सफाया काण्डमा प्रशासनले वीरेनलाई धुइँपताल खोजिरहेको थियो । त्यही बेला उनी पार्टी सम्पर्क तोडेर भारत पुगे । आफन्तमार्फत प्रशासनसँग कुरा मिलाएर झापा फर्किए । ‘गौतम मुद्दा’ मा उनी धरौटीमा छुटी खुला जीवनमा फर्किएका थिए । त्यसपछि उनी पार्टी सम्पर्कमा थिएनन् । यही मौकामा २०२९ साल मंसिर १२ गते ज्यामिरगढीबाट चन्द्रगढीतिर जाँदै गर्दा वीरेनलाई प्रहरीले बीच बाटोबाटै पुन : पक्राउ गरेछ ।
उनलाई पक्राउ गर्नु अघि प्रहरी अफिसरले ठूल्ठूलो लवजमा तेरो नाम के हो ? भनेर सोधेका रहेछन् । ‘मेरो नाम सुनेको छैनस्, वीरेन राजवंशी हो’, स्वाभिमानी उनले उत्तिकै रवाफिलो स्वरमा भनेछन् । उनले नाम अर्कै बताइदिएको भए सायद पक्राउ पर्ने थिएनन् । हिरासतमा प्रहरीले चर्को यातना दिएपछि उनले तत्कालीन सत्तालाई तर्साउने बयान दिएछन् । झापा बिद्रोह र संगठनबारे बढाइचढाइ गरेछन् । झापालीको राष्ट्रव्यापी संगठन भएको, किसान, विद्यार्थी मात्र होइन, भोगीदेखि जोगीसम्म आफूले नै संगठन बनाएको बताएछन् । काठमाडौंमा समेत आफ्नो संगठनका नेता छन् तर उनीहरुको नाम याद छैन भन्ने तर्क गरेछन् । बढाइचढाइ कुरा गर्दा शासकहरु डराएर आफूलाई छोडिदिन्छन् भन्ने उनलाई लागेको हुन सक्छ ।
वामपन्थी आन्दोलन र संगठनबारे वीरेनले भयावह चित्रण गरिदिएपछि शासकहरु उनलाई सिध्याएमा आन्दोलन समाप्त हुने निचोडमा पुगेछन् । वीरेनको राष्ट्रिय पञ्चायत सदस्य गोपालचन्द्र राजवंशी, हंसनारायण चौधरी, कालीचरण राजवंशी, पुहातु चौधरीलगायतसँग राम्रो सम्बन्ध थियो । त्यसैले उनलाई जेल हाले पनि भनसुन गरेर चाँडै छुट्न सक्ने आँकलन गरेका थिए, स्थानीय शासकहरुले । स्थानीय प्रशासनले वीरेनलाई ज्यूँदो नछोड्नुमै आफ्नो कल्याण देख्यो । पार्टी सम्पर्कबातट बाहिरिएर निश्क्रिय भइसकेको हुनाले हामीले वीरेनको चिन्तनगत राजनीति सेलाएको अनुमान गरेका थियौं । उनको गिरफ्तारीपछिको बयानले हामी गलत सावित भयौं । उनी आन्दोलनप्रति वफादार मात्र रहेनन्, शासकहरुलाई मनोवैज्ञानिक रुपमा आतंकित पार्ने अभिव्यक्ति दिएर आफूलाई क्रान्तिको कित्तामा उभ्याएर अमर रहे । राजवंशी समाजमा श्रीमतीको सम्पती रेखदेख गरेर जीवन चलाउने परम्परालाई डंगुवाप्रथा भनिन्छ । उनी डंगुवाको पगरी गुथ्न तयार भए । तर , सम्पत्ति जोड्ने लालचा देखाएनन् । त्यस बेला प्रशस्तै जग्गा, सम्पत्ति जोड्न सक्थे । तर , वीरेनका मनमा रत्तिभर लोभलालच थिएन । उनको त्यही स्वाभिमानी छातीसँग तत्कालीन शासक अत्तालिए र सुखानीमा गोली ठोकी हत्या गरे । उनी आन्दोलनको स्रोत बनेर चम्किरहे, हामीमाझ ।

कृष्ण कुईँकेल र नारायण श्रेष्ठ
कृष्ण र नारायण १७/१८ वर्षका भरभराउँदो उमेरका इमानदार युवा थिए । उनीहरुले भर्खरै एसएलसी पास गरेका थिए । दुवै जना नेत्र घिमिरेका असल विद्यार्थी थिए । नेत्रकै प्रभाव र संगतले उनीहरु कम्युनिस्ट आन्दोलन र झापा बिद्रोहप्रति झुकाव राख्न थालेका हुन् । नेत्र भूमिगत भएसँगै उनका यी दुई चेला पनि झापा बिद्रोहमा पुर्णकालीन बनेर विभिन्न कारबाहीमा सहभागी भएका थिए । प्रहरीले झापाको पश्चिम भागबाट उनीहरुलाई लखेटी–लखेटी पक्रिएको थियो । यसपछि अन्य योद्धाले जस्तै कृष्ण र नारायणले सुखानी जंगलमा संगीनलाई स्वागत गर्दै विशाल छाती थापिदिए । कायर प्रशासन उनीहरुको हत्यामा रमायो ।
०७३ माघमा प्रकाशित मैनालीको नलेखिएको इतिहास पुस्तकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *