रहेनन् पुराना कम्युनिष्ट नेता कृष्णराज वर्मा

पुराना कम्युनिष्ट नेता कृष्णराज वर्माको ९३ वर्षको उमेरमा भर्खरै काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको छ । आज अपरान्ह् सवा पाँच बजेतिर अस्पतालको आइसियुमा वर्माको निधन भएको उनका कान्छा छोरा राजेशराज वर्माले नेपालमुहारसँग पुष्टि गरे । उनले भने, बुबा भर्खरै स्वर्गारोहण होइस्यो । छिट्टै नै दाहसंस्कार गर्ने कार्यक्रम छ ।

वि.सं. १९८७ साल पुस २५ गते सप्तरीको हनुमाननगरमा वर्माको जन्म भएको थियो । त्रिचन्द्र क्याम्पस पढ्दै गर्दा २००७ सालको क्रान्तिमा उनी सहभागी भएका थिए । २००८ सालमा नेपाल प्रजा परिषद्को सप्तरी जिल्ला सभापति भएका उनी त्यहीँ साल नेपाल कम्युनिष्ट पार्टी सप्तरी जिल्ला सचिव भए । २०१० सालमा ललितपुर र काठमाडौंमा भएको भएको नेपाल कम्युनष्टि पार्टीको पहिलो महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १० सालमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुने जीवित सदस्य वर्मा मात्र थिए । २०१८ सालमा उनी कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य भएका थिए ।

वर्माले पटक पटक गरेर सात वर्ष जेल जीवन बिताएका थिए । २०४२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको सत्याग्रहमा नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट पाँच घटकहरुको मोर्चा गठन गरी आन्दोलनमा सहभागी भएका थिए । ०४६ को जनआन्दोलनमा वाममोर्चाको एक घटकका रुपमा सहभागी भएका थिए । उनले कुनै समय नेकपा वर्मा समूह नै गठन गरेका थिए । पछिल्लो समयमा भने उनी कुनै पनि पार्टीको सदस्य थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *