प्रहरी र पुरातत्व विभाग आजसम्म भरियालाई चोरको संज्ञा दिँदै बसेका छन् I
विपना मुसिख्वाल
केही समय अगाडि मात्रै कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन) लाई हटाउन माग गर्दै उच्च अदालतमा रिट दायर भयो । लामालाई फौजदारी अभियोगमा दोषी ठहराई २०५१ मंसिर २५ गते अदालतले दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । हुम्ला ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोप पुष्टि भएसँगै लामालाई उच्च अदालतले फैसला सुनाएको थियो ।
तर फौजदारी मुद्धा भोगेका लामा (कार्चेन)लाई मन्त्री पदमा नियुक्त गरेरै छोडियो ।
फौजदारी कसुरमा सजाय भोगेका व्यक्तिलाई मन्त्री बनाएको भन्दै मध्यपश्चिम विश्वविद्यालयका कानुन संकायकी विद्यार्थी बिनिता बोगटीले प्रदेशको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा रिट दायर गरेकी थिइन् । हाल उनी विरुद्धको मुद्धा उच्च अदालत सुर्खेतमा दर्ता भएको छ ।
मूर्ति चोरीमा पक्राउ खाएर सजाय भोगेका छिरिङ डम्डोल लामा (कार्चेन) अपबाद भिआइपी हुन् । अर्थात समाजमा चिनिएका मानिसहरुले अक्सर मूर्ति चोरीमा पक्राउ खाएका छैनन् । जस्तो मूर्ति चोरीको पछिल्लो घटना नियालौं, समातिएका सवै भरिया मात्र छन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले गत फागुन ३ गते मूर्ति चोरेर ठमेलबाट डल्लु जाँदै गरेको अवस्थामा दुई जनालाई समात्यो । चार थान ढलौटको मूर्तिसहित सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका ५ का १८ वर्षीय रमेश बागदासलाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । उनका अनुसार राती ३ बजे गस्तीको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यसैगरी गत माघ ९ गते ललितपुरको सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भयो । मूर्ति चोरी भएको जानकारी स्थानीयले पाएसँगै प्रहरीले पनि खबर पाए । चोरी भएको मूर्ति खोज्नको लागि प्रहरीले आवश्यक कदम चाल्यो । प्रहरीसँगै स्थानीय र गुठियारले पनि मूर्ति खोजीको पहल सुरु गर्यो ।
करिब तीन सय वर्ष पुरानो सो मूर्ति दुई फिट अग्लो र २५ केजी तौलको थियो । प्रहरी, स्थानीय जनप्रतिनिधि र गुठियारको सक्रियतामा मूर्तिको खोजी भएको थियो । गुठियारले मूर्तिबारे सुराकी दिने व्यक्तिलाई ५ लाख रुपैयाँ पुरस्कारसमेत घोषणा गरेको थियो । अन्तत मूर्ति चोरी भएको २० दिनपछि गोदावरी करुणा मन्दिरको पछाडिपट्टि बोरामा फ्याँकेको अवस्थामा फेला पर्यो ।
यी घटनामा मात्र होइन अधिकांश मूर्तिचोरीका घटनामा सामान्य मनिसहरुले पक्राउ खाएका छन् । तर, सामान्य मानिसले मूर्ति चोरेर विदेश पुर्याउन नसक्ने हुनाले उनीहरु भरिया वा सहयोगी मात्र हुनसक्ने अनुसन्धानकर्मीहरुको विश्लेषण रहेको छ ।
कसरी चोरिन्छन् पुरातात्विक महत्वका बस्तु ?
नेपालमा हजारौंको संख्यामा पुरातात्विक महत्वका बस्तुहरु चोरी भइसकेका छन् । पुरातत्व विभाग र प्रहरीसँगको रेकर्ड हेर्ने हो भने खासगरी पञ्चायतकालमा सबैभन्दा बढी मूर्ति चोरी भएका छन् । राजा महेन्द्रको मृत्युपछि अर्थात ३० को दशकदेखि दोस्रो पटक प्रजातन्त्र स्थापना हुँदासम्म सयौंको संख्यामा अति महत्वपूर्ण मूर्ति चोरी भएका छन् । त्यो समय मूर्ति चोरहरुकालागि स्वर्ण युग नै थियो ।
खासगरी रातको समयमा मूर्ति चोरी भएको समाचार आउने गर्छ । र, अनुसन्धानमा सक्रियहरुका अनुसार मन्दिर वा गुम्बामा कार्यरतहरुसँगको मिलेमतो र सुराकीका आधारमा मूर्ति चोरिभइरहेका छन् । कतिपय मन्दिर र गुम्बामा चाहिँ हेलचेक्रेका कारण पनि मूर्तिहरु हराउँछन् ।
नेपालमा खासगरी विदेशी एजेन्टहरुले मूर्ति चोरीको उपाय अख्तियार गर्ने गरेको अपुष्ट तथ्य यसका विज्ञहरुसँग छ । विदेशी आउँछ र फोटो खिच्छ । फोटो भरिया वा कुल्लीलाई दिइन्छ । सोही अनुसार मूर्ति मन्दिरबाट उक्किएर अग्रिम तोकिएको ठाऊँमा पुग्छ । कतिपय मूर्तिहरु भने नजिकका वा भित्रियाहरुले नै चोरेर डिलरलाई दिने गरेको पनि खुल्न आएको छ ।
विदेशी संग्रहालयका प्रतिनिधिहरु पनि चोरी–सुराकीकालागि आउने गरेको वताउँछन् कतिपय सम्पदाविज्ञहरु ।
कस्ले चोर्छ मूर्ति ?
प्रहरीका अनुसार ‘पछिल्लो समय सामान्य व्यक्ति मात्र मूर्ति चोरीको कसुरमा समातिएका छन् ।’ तर तिनै सामान्य ब्यक्तिको विवरण पनि पुरातत्व विभागले नपाउने गरेको बताउँछन् विभागका प्रवक्ता रामबहादुर कुँवर । भन्छन् – ‘प्रहरीसँग विभागले यस सम्बन्धमा खोजी–नीति पनि गर्दैन ।’
‘कुन समयको हो ? कति वर्ष पुरानो हो ? भन्ने खालको प्रश्न हामीले गरेको हुन्छ,’ प्रवक्ता कुँवरले भने, ‘पुरातात्विक महत्वको रहेछ भने सोही अनुरुप पठाउँछौँ । मुद्धा चलाउने सबै प्रक्रिया प्रहरीबाट हुन्छ ।’
खासगरी पुरातात्विक महत्वका बस्तुहरु (मूर्ति, गजुर, छानो, तोरन) चोरी हुँदैआएका छन् । यस्ता बस्तु अधिकांश रातको समयमा चोरीएका छन् । मन्दिर वा गुम्बामा निकै समयदेखि सम्बन्ध बनाएका, गरिवीले आहात भएका, बेरोजगार वा रातारात धनी हुने सपना देखेकाहरु मूर्ति चोरीमा लागेको आम विश्लेषण रहने गर्छ । पर्दा पछाडि को हुन्छ ? यसको जवाफ प्रहरी वा पुरातत्व विभाग कसैसँग छैन ।
नेपालमा पुरातात्विक महत्वका बस्तुहरु भरिया वा सामान्य मानिसहरुले नै चोर्दै आएका हुन् त ? सम्पदाविद्ध रवीन्द्र पुरी भन्छन् – ‘त्यो त देखिने दाँत मात्रै हो । खासमा उच्च ओहोदामा रहेकाहरु नै यहाँ मूर्ति सप्लाई गर्छन् भन्ने छ ।’ एउटा सामान्य मानिसले मूर्ति चोर्ने नसक्ने पुरीको मत रहेको छ ।
संस्कृतीविद् पुरुषोत्तम लोचन श्रेष्ठ पनि मूर्ति चोरी र चोरेर सात सुमुद्रपारी पठाउने हैसियत सामान्य मानिससँग नहुने बताउँछन् ? नेपालको पुरातात्विक सम्पदाहरु विदेशी संग्रहालयमा सजिएका छन् । हाम्रा सम्पदा त्यहाँ कसरी पुगे ? संस्कृतिविद्ध श्रेष्ठ भन्छन् – ‘यस सम्बनधमा खाजी–नीति र अनुसन्धान नै भएको पाईंदैन ।’
निश्कर्ष
मन्दिरबाट मूर्ति उखेलेर लानुको मतलव त्यसलाई विदेश पुर्याउने भन्ने हो । किनभने नेपालमा त्यसको बजार छैन । तर विश्वबजारमा नेपाली पुरातात्विक महत्वका बस्तुहरुको मूल्य लाखौंमा होइन करोडौंमा हुने विज्ञहरुको अड्कल छ ।
त्यसोभए कसरी विदेश पुगिरहेका छन् नेपाली सम्पदा ? विज्ञहरुका अनुसार पुरातात्विक महत्वका बस्तु विदेश पुर्याउन कि उडेर जानुपर्छ नत्र उडाइएर पुर्याउनु पर्छ । उडेरको मतलव एयरपोर्ट ‘सेटिङ’ हो । उडाइएरको मतलव पुरातत्व विभागले हस्तकला (नयाँ मूर्ति) सामाग्री रहेको टाँचा हानिदिनु पर्छ । यस्तो अवस्थामा भन्सारहरुको चेकजाँचमा बसिरहनु पर्दैन । भित्री अनुसन्धानमा संलग्नहरुका अनुसार नेपाली सम्पदा सात समुद्रपारी यसैगरी पुगेको देखिन्छ । संस्कृतिविद्ध पुरुषोत्तम लोचन पनि यही संकेत गर्छन् ।
सम्पदा चोरी–निकासीमा पर्दापछाडि हाइप्रोफइलहरुको संलग्नता रहने गरेको गाईंगुईं धेरै अघिदेखिको हो । उच्चओहोदाका मानिसहरु संलग्न छन् भनेर सम्पदाविद्ध रवीन्द्र पुरीले यसै भनेका होइनन् । तर, प्रहरी र पुरातत्वविभाग हाइप्रोफाइलको छेऊ छाउनै पुग्न सकेको देखिदैन । तर, विगतमा भक्तपुर दरबार स्क्वायर भित्रको भुपतेन्द्र मल्लको शालिक क्रेनले उक्काएर लान खोजेको घटना चासो राख्नेहरुकावीच स्मरणिय छ ।
संरक्षणको गुड्डी हाँकेर बस्ने पुरातत्व विभाग चोरी–निकासी सम्बन्धमा ‘चुँ’सम्म बोल्दैन । चोर पकड्ने जिम्मा यसको होइन होला । तर यससँग सम्बन्धित तमाम प्रश्नहरुमाथि अनुसन्धान गरेर बस्ने दायित्व चाहिँ यसैको हो ।
कसरी चोरी हुन्छन् ? चोरहरुको प्रबृत्ति के हो ? चोरिएका मूर्ति कसरी जहाज चढेर विदेश पुग्छन् ? यी र यसै प्रकारका प्रश्नहरुमाथि अनुसन्धान गरेर जवाफ ननिकाल्ने हो भने पुरातत्व विभागलाई सरकारले पालेर राख्नुको अर्थ रहन्न ।