‘एकदिन विदा दिएर महिला समानता आउँला ?’ (नारी दिवस विशेष – १)

रेणु त्वानाबासु

पात्र नं १
भक्तपुरको बालकोट बस्ने नारायणी रानाभाट गत आइतबार तरकारी बेच्दै थिइन् । उनलाई नजिकै गएर मैले आउँदो मंगलबार अन्तर्राष्ट्रिय नारी दिवस हो, तपाईलाई यस सम्बन्धमा के थाहा छ भनेर सोधेँ । ‘हामी त खेतीपाती गर्यो, त्यसमा नै व्यस्त हुन्छौं । नारी दिवस के हो ? किन मनाउँछ थाहा छैन् ।’– उनले एकै वाक्यमा सवै जवाफ दिईन् ।

देशकै ठूलो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको छिमेकी नारायणीलाई खेती–किसानीमा सक्रिय हुँदाहुँदै समय गएको पत्तै हुँदैन । दिन–महिना र बर्ष कतिखेर सकिन्छन् ? यसको पनि हिसाव उनीसँग छैन । नारी दिवस, महिला अधिकार लगायतका कुरा कता–कता सुनेको भएपनि यी कुराले उनलाई कहिल्यै आकर्षित गरेनन् ।

पात्र नं २
रामेछापकी निर्मला लामालाई पनि नारी दिवसबारे खासै ज्ञान छैन । उनले गाउँमा रहँदा स्कूले जीवनमा नारी दिवस सुनेको तर त्यसको अर्थ कसैले नबुझाएको अनुभव सुनाईन् । ‘अहिले गुजाराकालागि हरेक दिन विहान ५ बजे उठेर ढलान गु्रपसँग काममा जान्छु, घाम ढलेपछि फर्किछु’, उनले भनिन् –‘सायद धेरै नपढेको हुनाले होला अधिकारको कुराहरु सुनेपनि बुझ्न गाहे हुन्छ ।’

पात्र नं. ३
कक्षा १२ सकाएर भक्तपुरको एक सहकारीमा कार्यरत सुनिता लुबन्जारलाई नारी दिवसका बारेमा जानकारी नभएको होइन । तर यसको अर्थ र महत्वले उनी भित्र ठाऊँ बनाएका छैनन् । केही कार्यक्रम छ र ? उनी उल्टै प्रतिप्रश्न गर्छिन् । भनिन् –‘नारी दिवसमा महिलाहरुलाई विदा हुन्छ, कताकता तारे होटरतिर कार्यक्रमहरु पनि हुन्छन् होला । अरु त मलाई थाहा छैन ।’

पात्र नं. १ जसको संख्या ठूलो छ, समाजमा । उमेरको हिसावमा ४० कटेको, बढीमा साक्षर भएको र घर–परिवारको स्याहार–सुसारमा दिन सकिने गरेको हुन्छ, उनीहरुको ।

पात्र नं. २ जो स्कूल टेकेको छ । तर, शिक्षित हुन पाएको छैन । र, ज्यामी काममा नै चित्त बुझाउनु परेको छ, गुजाराकालागि । दिन ज्यामी काममा सकिएपनि घर फर्केर उनीहरुले नै भात–भान्साको काम सल्टाउनु पर्छ ।

पात्र नं. ३ जो शिक्षित छ, तर राज्यले दिने सेवा सुविधा आदिवाट बञ्चित छ । नारी दिवसकै नारा पनि उसकालागि ‘खोस्टो’ बराबर छ ।

यी तीन पात्र मात्र होइन, चौथो महिला पात्र पनि छ समाजमा । जो अधिकारकर्मीको नाममा सक्रिय छ । महिला अधिकारका कुरा गर्ने, विभिन्न लाभका पदमा बसेर राष्ट्रिय–अन्तर्राष्ट्रिय डिङ हाँक्ने, अवसर सदुपयोग गरेरै छोड्ने यस समूहको प्रवृत्ति हो ।

महिला अधिकारका सम्बन्धमा धेरै शक्तिशाली कानुनहरु निर्माण भइसकेका छन् । तर, यस सम्बन्धमा आम नारीहरु बेखवर छन् । मानिसको चेतनाका हिसावमा परिवर्तन भएका एजेन्डाहरु पनि सहरका खासखास महिलामा सीमित छन् । आम नारीहरु अहिलेपनि नारकीय जीवन जिउन बाध्य छन् । तर, सीमित महिलाहरु अधिकारको पखेटा लगाएर हावामा कावा खाइरहेका छन् भन्ने आरोप एउटा कोणबाट लागिरहेको छ ।

नेपाली समाजमा महिलाहरुको यही अवस्थालाई जस्ताको त्यस्तै राखेपछि त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका पूर्व डिन प्राध्यापक पृथ्युचरण बैधले यसरी विश्लेषण सुनाए –

प्रा. पृथ्युचरण बैद्य
पूर्वडिन, त्रिभूवन विश्वविद्यालया शिक्षाशास्त्र संकाय ।

नारी दिवसको आफ्नैखाले महत्व छ । तर आम नारीहरु यसको अर्थ र महत्व अनुभूत गर्नबाट बञ्चित छन् । त्यसैले यसलाई रिच्युल (अनुष्ठान) को रुपमा मात्र नेपालमा मनाउने गरेको देखिन्छ । जुन गलत हो भन्छु, म ।

नारी दिवसमा नारी को हो ? नारीलाई सम्मान गर्नुपर्छ भनेर पुरुष र छोराहरुलाई पनि सिकाउन जरुरी छ । नारी दिवस पुरुषको लागि शिक्षा दिएर मनाउँनुपर्ने हो ।

यसो हेर्दाखेरी पहिलाको तुलनामा शिक्षामा धेरै विकास भएको जस्तो देखिन्छ । तर अहिले पनि नारीहरुलाई उच्च शिक्षा दिनुपर्छ भन्ने भावना सबैमा छैन । गाउँमा वा राजधानी बाहिरको त कुरै छोडौं उपत्यकामा भएको छैन् । उच्च शिक्षा लिने उमेर भएपछि पढेर के हुन्छ र ? विवाह गरेर अर्कोको घरमा जाने छोरी हो । किन धेरै पढ्नु पर्यो भन्ने सोच छ । यो सोचलाई बदल्न सके नारी दिवस मनाए जस्तो हुन्छ । यो हुनुको एउटा कारण शिक्षा महंगो भएकोले पनि होला ।

महिला दिवस किन मनाउने र पुरुष दिवस किन नमनाएको ? भन्ने कुरा पनि आउँछ । तर यो बेकारको कुरा हो । पुरुष दिवस मनाउन आवश्कता नै छैन । हाम्रो पुरुष प्रधान समाज भएको कारणले पुरुषहरुलाई अधिकारको लागि लड्नुपर्ने आवश्यकता छैन् । तर महिलाहरुको लागि आवश्यक छ ।

महिलालाई बस्तु जस्तै व्यवहार गरिन्थ्यो । उनीहरुलाई मान्छे नै नगन्ने परिपाटीको विरोधस्वरुप नारी दिवस मनाउने गरिएको हो । अधिकारबाट वञ्चित भएकाहरुले यो दिवस मनाउनुपर्ने हो । महिला नउठेसम्म देशको विकास हुदैँन ।

अहिले पनि वर्षको एकचोटी नारी दिवस मनाउँदा पनि महिलालाई बेवास्ता गरिएको देखिन्छ, धार्मिक र समाजिक रुपबाट । वर्षको एकचोटी देखावटी रुपमा कार्यक्रम गरेर नारी दिवस मनाएको देखिन्छ । तर नारीलाई शिक्षा दिनुपर्ने कुरामा ध्यान दिएको पाईंदैन । समान अधिकारको विषयमा अहिले पनि महिलाहरु पछाडि नै छन् । अहिले पनि घरको काम धेरै महिलाले नै गरेका हुन्छन् । एकदिन विदा दिएर नारी समान हुँदैनन् । अर्थात बर्षमा एकदिन संझेर महिला समानता आउँदैन ।
(कुराकानीमा आधारित ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *