दिवस गुरागाईं
आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ ?
सुखको सधैं प्यासी बनेर…
यो गीत र जेबी टुहुरे एकअर्काका परिपुरक झैं थिए । उनी जुन मञ्चमा उभिन्थे यो गीत नगाई हुँदैनथ्यो, दर्शकलाई र सायद उनलाई पनि ।
उठ उठ नारी हो अब डर छैन,
एउटा मात्र हातले ताली बज्दैन…।
एउटा हात नारी हो, अर्को हात पुरुष
केही फरक छइन बराबरी हो ।।
यस्ता मर्मस्पर्शी गीतका गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) ले धर्ती छोडेको पनि ६ महिना (२०७८ भदौ १०) कट्यो । त्यसयता कुनैपनि नेपाली मञ्चमा यी गीत गुन्जिएका छैनन् । र, सायद त्यसरी शब्दमा प्राण भरेर यस उपरान्त पनि गुञ्जिने छैनन् ।
महिला मुक्ति मागेर पाईंदैन
बरु लडौं दिदी वहिनी…
यो भनिरहनु पर्दैन अब जेवी टुहुरेले जनबादी वा महिला मुक्तिका गीत गाउने छैनन् । किनभने उनी यस लोकमा नै छैनन् । बिडम्बना चाहिँ के हो भने भएका गायक–गायिकाहरुले पनि जनबादी गीत गाउन छोडिसके ।
जेबी टुहुरेभन्दा केही अघि उनका समकालीन गायक खुसीराम पाख्रिनको पनि निधन भएको थियो । गाउँदा गाउँदै ढलेका थिए, उनी । यी दुई वाहेकका जनवादी गायक तथा संगीतकारहरु यसै धर्तीमा छन् । अहिले पनि कम्यूनिष्ट पार्टीको साइनबोर्ड मुनी जनसांस्कृतिक नामका संगठनहरु ङिच्च हाँसेर बसेकै छन् । तर, तिनले धेरैभयो गीत लेख्न छोडेको । धेरैभयो संगीत भर्न छोडेको । र, छोडेको धेरै भयो सांगीतिक कार्यक्रम गर्न । तिनले के गर्छन् ? आम मानिस बेखवर छन् ।
के अब महिला मुक्तिका गीतको अर्थ र आवश्यकता सकिएको हो ? के यो संगीत नै ‘डेटएक्स्पायर’ भएको हो ? प्रश्न ठोक्किने पनि ठाऊँ छैन ।
गीत–संगीतबाट जो पलायन भए
जनवादी र प्रगतिशील संगीतमा एउटा यस्तो पुस्ता थियो, जसले समाजलाई ब्यूझाउँन महत्वपूर्ण भूमिका खेल्यो । समाजले पनि तिनको नाम गौरवका साथ लिने गर्दथ्यो । ती नामहरु थिए, रामेश, रायन, मञ्जुल, रामकृष्ण दुवाल, खुसीराम पाख्रिन, जेबी टुहुरे आदि । यी नाम र उनका सृजनाहरु लामो समयसम्म जनताका मनमा अमिट भएर बसे । ३० को दशकमा नै यी नाम जनतालाई प्रिय भइसकेका थिए ।
जनबादी संगीतमा दोस्रोपुस्ता पनि आयो । जीवन शर्मा, मणि थापा, विजय सुब्बाहरुले समाजलाई केहीन केही तरंगीत बनाउने कोशिस नगरेका होइनन् । तर, उनीहरुले राजनीतिसँग संगीतलाई साटे । जीवन शर्मा भने अपवाद बने । तर पनि सृजनाको कोणबाट उनी पनि ‘रिटायर्ड’ जीवन बाँचिरहेका छन् ।
तेस्रोपुस्ता पनि जन्मियो, जनबादी संगीतमा । माइला लामा, राजेश थापा, छिन्ताङ आदिको नाम लिन सकिन्छ । तर यी नामहरु जन्मिदै संगीतकर्मीकम र राजनीतिकर्मी बढी भए । आजका मितिमा आइपुग्दा उनीहरु राजनीतिमा सीमित छन् ।
एकजना जनबादी गीत गाउने गायिका थिइन् । उनी प्राज्ञ समेत भइन् । बिडम्बना नै भन्नु पर्छ उनले जनबादी गीत गाउनै छोडिन् । हो, पवित्रा घर्ती मगर हिजोआज मायाप्रितीका गीत गाउँछिन् । पवित्राहरुले जस्तै धेरैले जनवादी गीत गाउन बिर्सिसके ।

किन गाउन छोडियो महिला मुक्तिका गीत ?
कारण नं १. समस्या कम हुँदै गए ।
‘खासगरी गणतन्त्रस्थापनापछि महिलालाई समान बनाउने कुरा संबिधानमा पनि लेखियो । ऐन–कानुन बने । प्रतिनिधित्वको हिसावमा पनि देखिदै गयो । त्यसैले पहिलाजस्तो अवस्था रहेन ।’ जनबादी संगीतमा लागेकाहरुले दिने जवाफ यस्तै–यस्तै नै हुने गर्छन् ।
उठ चेली उठ चमेली ।
छरिएको मनलाई उठ सम्हाली ।।
हामीपनि लड्न सक्छौं
बन्दुक बोकेर……..
माओबादी जनयुद्धमा गाइनेगरेका यी गीत संझनामा सीमित भएका छन् । ती गीत इतिहास बनेको तत्कालीन गायक–गायिकाहरुको बुझाई रहेको छ । समस्या हल हुँदै गएको मनोविज्ञानले पनि नारी मुक्तिका गीत अहिले कम गाउने र सुन्ने अवस्थामा पुगेको उनीहरुको निश्कर्ष हुनेगर्छ ।
कारण नं २. गाउनेहरु पलायन भए, नयाँ जन्मिएनन्
जनबादी गीत–संगीतमा आज सक्रियताको हिसावले हेर्ने हो भने एकजना पनि भेटिदैनन् । केहीको निधन भइसकेको छ । केही ‘रिटायर्ड’ भएका छन् । कोही राजनीतिमा पूर्णकालीन बनेका छन् । कोही मायाप्रितीका गीतमा लागेका छन् । अर्को बिडम्बना के छ भने अपबादमा पनि नयाँ जनबादी कलाकार जन्मिएनन् ।
कारण नं ३. ब्यवसायिक बन्न सकेन जनबादी गीत
जनबादी गीत–संगीतमा स्रोताको कमी थिएन । तर, त्यो संगीत कहिल्यै मुलधार बन्न सकेन । स्टेजमा गाउने गीतका रुपमा नै सीमित भयो ।
जनबादी गीतलाई पनि क्यासेटमा राखेर बिक्रि गर्नुपर्छ भन्ने सोच बन्दै बनेन । अर्थात रहरमा सीमित गरियो जनबादी संगीतलाई । जनआन्दोलन वा जनयुद्धको पृष्टभूमीमा घन्काइए र तिनको अन्त्यसँगै यसलाई पनि रोकियो । अर्थात आन्दोलनकर्मीको भावनामा बिनझैं बजाएर सुनाउन सीमित गरियो, जनबादी संगीत ।
आफ्नै पौरख खान्छन् ।
आफ्नै सीपमा बाँच्छन् ।
दुःख कष्ट सहेर सृष्टि यिनले थाम्छन् ।
असल महान व्यक्तिहरू यिनैले जन्माउँछन् ।
ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन् ।
तर पनि अँध्यारोमा जीवन बिताउँछन् ।
आमा, दिदीबहिनी हो कति बस्छौ दासी भई सुख्को सधैँ प्यासी बनेर…
एकदेव ज्ञवालीले सुरुवात गरेर रचिएको यो गीतको मर्मले अझै मेल खान्छ । अझै घरधन्दा महिलाकै भागमा पर्दै आएको छ । कोटा छुट्याइएका बाहेकका ठाऊँमा महिलाको प्रतिसत न्यून छ । जस्तो निजामती कर्मचारीमा २३ प्रतिसत, नेपाल प्रहरीमा १० प्रतिसत र नेपाली सेनामा ६ प्रतिसतमा महिला सीमित हुनुले समानताको आन्दोलन अझै बाँकी रहेको देखाउँछ ।
तर, के गाउने हो ? कस्ले गाउने महिला मुक्तिका गीत ? र, केकालागि गाउने हो ? लगायतका तमाम प्रश्न गर्ने र जवाफ दिनेको दुरदुरसम्म आकृति देखिदैन ।