तैपनि ‘कमरेड रेखा’ मुस्कुराईरहेकी छन्…


नेकपा (माओवादी केन्द्र) को नेतृत्वले पहुँच हुने र नहुनेहरुलाई काखापाखा गरिरहेको प्रतिनिधि उदाहरण

माधव बस्नेत

‘कमरेड रेखा’ स्वभाविक रुपमै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यको दाबेदार थिइन । भलै, उनले केन्द्रीय सदस्य माग गर्दै नेताहरुको दैलो ढक्ढक्याएकी थिइनन् । तथापि न्याय र समानताको जाल विछ्याएर ‘जनयुद्ध’ लडेको माओवादीमा त्यान्द्रो बराबर नै सही, मुल्यांकनको निश्पक्षता निथ्रिसकेको छैन भन्ने उनलाई अवश्य नै लागेको होला ।किनभने संकटकालीन परिस्थितीमा काठमाडौंभित्र माओवादी संगठनको सञ्जाल विछ्याउन आफूले मोलेको कठोर चुनौतीको ख्याल कुनै न कुनै नेताले राखेकै होलान भन्ने उनको मनमा हुँदो हो ।

त्यो यसकारण पनि कि ‘भ्याली स्पेशल टास्क फोर्स’ (एसटिएफ) को कमाण्डर निश्चल नकर्मी ‘संघर्ष’ हुँदा रेखा सेक्सन कमाण्डर थिइन । जब कि विना मगर त्यसबेलाकी सेक्सन सदस्य मात्र हुन् । कान्छी बुहारी बनेर प्रचण्ड निवासमा भित्रिएपछि भौतिकवादमा विस्वास राख्ने विनाको ‘भाग्य’पुनरोदय भयो । उनलाई ससुरा प्रचण्डले खानेपानी मन्त्री बनाइसकेका छन् भने निकै वर्षदेखि नै केन्द्रीय सदस्यको सूचीमा अटाएका छन् । स्वभाविक रुपमै विना पोलिटब्युरो सदस्यको दाबेदार बनिसकेकी छन् । यस प्रतिनिधिले दुवै जनासँग गरेको संगत अनुसार रेखाको क्षमता विनाको भन्दा रौं बराबर पनि कम थिएन, छैन ।

विडम्बना यो मात्र हो कि– छोटो समय नै सही–विनाको कमाण्डर रहेकी रेखालाई ‘क्रेन’ ले तान्ने कोही भएन । उनी ‘पावर एक्सरसाइज’ मा ‘इन्जोय’लिन माहिर पात्र पनि परिनन् । त्यसैले संकटकालको जर्जर अवधीमा ‘मुटुमा फ्युज’ जोडेर काठमाडौंका फौजी कारबाही र संगठन विस्तारमा खटेकी रेखालाई सम्झनु कुनै नेताले पनि आफ्नो दायित्व ठानेनन् ।
बरु जनयुद्ध सुरु भएको एक वर्ष नबित्दै प्रचण्डले माघ ०५३ मा भारत दिल्लीस्थित सीता होटलबाट पश्चिम बंगाल राज्य अन्तर्गत सिलिगुरिका नारायण प्रधानसँग विवाह गरेर पठाएकी कान्छी छोरी गंगा दाहाललाई हिजो २३ फागुनमा केन्द्रीय सदस्यको सूचीमा छिराए । माओवादी शान्ति प्रकृयामा आएर प्रचण्ड परिवार नयाँ बजारमा बस्न थालेपछि गंगाले नारायण प्रधानसँगको घरजम तोड्दै त्यसबेला ठमेलमा व्यवसाय गरिरहेका विराटनगरका जीवन आचार्यसँग ‘नयाँ जीवन’ बिताइरहेकी छन् । गंगाको यसबेलाको मुख्य काम बाबुको सचिवालयमा बसेर टिकटक बनाउनु, कपाल र अनुहार सुन्दर देखाउनु, प्रधानतिरबाट जन्मेकी छोरीलाई गायक/मोडल बनाउनु र आचार्यतिरकी छोरीलाई आधुनिक सुखसयलमा हुर्काउनु हो ।कठोर सत्य के भने गंगाले जनयुद्धकालमा न कुनै एउटा फौजी मोर्चामा भाग लिएकी छन् न त संगठन निमार्ण नै गरेकी छन् । माओवादी आन्दोलनमा उनको सबैभन्दा ठूलो योगदान प्रचण्डकी कान्छी छोरी हुनु हो ।

फौजी कारबाहीमा भाग लिनेदेखि दर्जनौ संगठन निमार्णमा सहभागी रेखाको दुर्वल पक्ष भने उनी कुनै उच्च नेताको छोरी हुन सकिनन् । बझाङमा जन्मे/हुर्केका रेखाका पति भीम गिरि संंकटकालीन अवधीमा ‘भ्याली एसटिएफ’को ‘भिसी’ थिए । जसको छापामार नाम थियो, कमरेड अजय । १७ मंसिर ०६० को बिहान नौ बजेतिरै तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गणबाट खटिएको टोलीले भीमलाई पकनाजोलबाट पक्राउ गरेको थियो । अनि त्यही दिन दिउँसो भ्याली एटिएफ कमाण्डर निश्चल नकर्मी पनि डिल्लीबजारबाट पक्राउ परेका थिए । निश्चललाई पक्राउ गर्न भैरवनाथ गणबाट तत्कालीन कमाण्डर राजु बस्नेत आफैं आएका जानकार बताउँछन् । केही घण्टाको अन्तरमा एकै दिन पक्राउ परेका भीम र निश्चल दुवै वेपत्ता छन् ।

इन्सेटमा रेखाका बेपत्ता श्रीमान् भीम ।

पछिल्ला वर्षहरुमा रेखा ललितपुरको धापाखेल नजिकै तरकारी खेती गर्छिन । तरकारीसँगै कुखुरा पालन व्यवसाय पनि छ, उनको। ०६९ मा हेटौडामा भएको तत्कालीन एकीकृत नेकपा (माओवादी) को एकता महाधिवेशनले श्रम र सहकारीसँग जोडिने निर्णय गरेपछि पार्टी अनुशासन र निर्देशन मान्दै उनी र जनयुद्धमा जीवन साथी मात्र होइन, एउटा खुट्टा समेत गुमाएकी सिन्धुपाल्चोकी भगवती प्रधान मिलेर कृषि उत्पादनमा सहभागी भइरहेका छन् । भगवतीका श्रीमान बटालियन कमाण्डर दिनेश शर्मा सिरहाको बन्दीपुर मोर्चामा मारिएका थिए । रेखा र भगवतीको सहकार्य जारी छ । भगवतीलाई ०६३ को अन्तरिम संसदमा भने माओवादीले समानुपातिक सासंद बनाएको थियो । त्यस यता उनलाई पनि पार्टीले खासै वास्ता गरेको छैन ।

०५९ मा भूमिगत रुपमा पार्टीले रेखा र भीमको लगनगाँठो कसिदिएको थियो । जीवन साथी वेपत्ता भए यता रेखाले एकल जीवन बिताइरहेकी छन् । तर, परिवारबाट एक्लिएकी वा विरक्तिएकी छैनन्, बरु सबैको भरोसाको केन्द्र बनेकी छन् । युद्धकालमा पतिको जन्मथलोमा पुग्न नपाएकी उनी शान्ति प्रकृयापछि भीमको गाउँ खोज्दै बझाङ पुगिन । भीमका आफन्त, नातागोतासँग चिनजान गरिन । पछिल्ला वर्षहरुमा उनले कृषि फर्ममा भीमका दाजुका सन्तान ल्याएर पढाइरहेकी छन् । उनीहरुलाई रेखाले आफैबाट जन्मिएका सन्तानको माया दिएर हुकाईरहेकी छन् ।

रेखा सोलुखुम्बूको साविक नेचा बेतघारीमा निम्न मध्यम वर्गिय परिवारमा जन्मे\हुर्केकी हुन् ।उनको खास नाम टीका बाँस्तोला हो । तर, अधिकाशंले रेखाकै नामबाट चिन्छन् । उनका बाबु विष्णु कुनै बेला तत्कालीन शाही नेपाली सेनामा कार्यरत थिए । भलै, विष्णुको कुटकुटमाराजनीतिक चेत थियो । त्यसैले ०५३/०५४ तिरै राजीनामा दिएर बाहिरिए । अनि वामदेव गौतम नेतृत्वको तत्कालीन नेकपा मालेमा संगठित हुँदै काठमाडौंमा होटल व्यवसाय सुरु गरे ।

यसपछि विष्णुले छोरी टीकालाई व्यवसायमा सहयोेग एवं अध्ययनका लागि काठमाडौं ल्याए । बाबुलाई सहयोग गर्दै टीका समयक्रममा महेन्द्ररत्न क्याम्पस ताहाचलमा भर्ना भइन । यसबेलासम्म आमुल परिवर्तनको आभा घुलाईएको जनयुद्ध डडेलो गतिमा विस्तार भइरहेको थियो । ग्रामिण वस्तीहरु त्यसको केन्द्र भएपनि काठमाडौं उपत्यकालगायत सहरहरु जनयुद्धको रापतापबाट अछुतो थिएनन् । काठमाडौंभित्र रहेका कलेजहरु इँटाको भट्टाबाट निस्केको धुँवाको मुस्लो जस्तै भित्रभित्रै जनयुद्धको ज्वारभाटा बन्दै थिए ।टीका पनि यसबाट अछुतो रहन सकिनन् । ताहाचल क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीको राम्रै पकड थियो । त्यही संगतले उनी भूमिगत हुने निश्चयमा पुगिन अनि टीकाबाट रेखा बनिन ।

सबैभन्दा ठूलो आवाजमा सबैभन्दा धेरै परिवर्तनको ‘कसम’ खाएको, कसैलाई विभेद नगर्ने बाचा गरेको माओवादीमा अन्यायको शिकार बनेकी रेखा एक्लो पात्र हुँदै होइनन् । माओवादी आन्दोलन र प्रवृतिलाई नजिकबाट नियालीरहेकाहरुलाई नेताहरुको निर्णय शैली, कार्य शैली, जीवन शैलीप्रति छि..छि..भन्न बाध्य पार्ने एक प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता उदाहरणको फेहरिस्त सैयौको संख्यामा निकाल्न सकिन्छ । त्यसैको परिणाम– माओवादी पार्टी एकपछि अर्को गरी खिया लागिरहेको छ । चरम महत्वकांक्षा, असन्तुष्टि एवं मोर्चाहरुको संगठन बनिरहेको छ ।

रेखालाई अन्याय गरिएको यस पटक मात्र होइन । ०७० को निर्वाचनमा उनी ललितपुरको कुनै एक निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको दाबेदार थिएन । नेताहरुले उनलाई आश्वासन पनि दिएका थिए । तर, अन्त्यमा टिकट अरुकै हातमा थमाइयो । रेखा हेरेको हेर्यै भइन । ०७४ को निर्वाचनमा पनि उनी प्रदेश सभा सदस्यका लागि योग्य नै थिइन । जानकारका अनुसार वर्षमान पुनले प्रदेश सभासद्को टिकट आफ्नी बहिनी लालकुमारी पुनका हातमा थमाए । झण्डै एक वर्ष अघि उनकै कृषि ‘फर्म’ मा यस प्रतिनिधिसँग रेखाले भनेकी थिइन, ‘जनयुद्धमा संलग्न भइरहदा नेताहरुले यति विभेद गर्लान भनेर कल्पना पनि गरिएको थिएन । जे कल्पना गरिएको थिएन, अहिले त्यही भइरहेछ । तर, म दुःखी छैन । कृषिमै रमाइरहेको छु । मेरो लागि पार्टी र जनता यही फर्म बनेको छ ।’ नेपालमुहार डटकमले आज गरेको फोन भने रेखाले उठाइन । सायद उनी तरकारीलाई ‘किरा’ हरुबाट जोगाउन औषधी छिट्न व्यस्त थिइन कि ! जसरी नेताहरुको वैगुनी प्रवृतिलाई तास झैं फिट्न जरुरी भइसकेको छ ।

संयोग, काखा र पाखा गर्ने माओवादी नेताहरुको प्रवृतिबाट वाक्क भएरै होला, ११२ औं अन्तराष्ट्रिय नारी दिवसका दिन आजै मध्यान्ह ११.२२ मा कुनै बेला ज्यान जोखिमका राखेर उपत्यकामा कार्यरत पत्रकार एवं प्रचण्डका शुभचिन्तक निर्मल ज्ञवाली, जसले रेखाका प्रिय मान्छे भीम गिरिसँगै बेपत्ता बनाईएका तत्कालीन भ्याली एटिएफ कमाण्डर निश्चल नकर्मीको तत्कालीन जीवन संगिनीसँग घरजम जोडेका छन्, ले स्टाटस् लेखेका छन्,
‘माओवादी सुप्रिमो ! आज तपाईलाई ठिक लागेको निर्णय गर्न न पूर्ण स्वतन्त्र हुनुहुन्छ न वरिष्ठ नेतादेखि कार्यकर्ताको आलोचनाबाट मुक्त !? आखिर किन यस्तो भईरहेको छ? पद र कुर्सीमोह माओवादीमा यतिधेरै चुलिनुमा दोष कस्को हो!? एउटा ईमान्दार कार्यकर्ता बर्षौदेखि अपहेलना सहेर पार्टीकै काममा छ । तर कोही–कोही ३ महिनामा तीन वटा लाभका पद पनि लिएकै छन् । मन्त्री उसैलाई, नियुक्ति उसैलाई, संगठनको जिम्मा उसैलाई, केन्द्रमा उही। आखिर यस्ता असमान निर्णयहरु किन भईरहेछका छन् ? जब पार्टीको शक्ति वा विजयले आम जनता र कार्यकर्तालाई लाभांवित नहुने र व्यक्ति बिशेष वा नेता बिशेषको फाईदामा मात्र प्रयोग हुन्छ भने एउटा ईमान्दार कार्यकर्ताले पार्टी जिताउन वा आन्दोलन जिताउन किन रगत बगाउँछ ?किन भोट हाल्छ? गम्भीर समीक्षा गर्न ढिला भईसक्यो ।………’

फेसबुक स्टाटस

Leave a Reply

Your email address will not be published. Required fields are marked *