यो रिपोर्ट मुलुकभरीका टप १० मेयर र उनीहरुले गरेका कामको फेहरिस्त हो । यी १० नगरपालिकाका मेयर तुलनात्मक रुपमा मात्रै टप हुन् भनेर बुझियो भने सही हुन्छ । यी मध्ये कतिपय नगरपालिका वा मेयरका काम भने उत्कृष्ठ पनि छन् ।
यी ५ आधारमा उभिएर टप १० मेयर छनौट गरिएको हो । यस्ता छन् छनौट विधि –
पहिलो कारण
विकाश निर्माणमा परिणाम दिन सफल ।
दोस्रो कारण
कुनै महत्वपूर्ण विषयमा उदाहरण बन्न सफल ।
तेस्रो कारण
विभिन्न आधिकारिक निकायले दिएको पुरस्कार र सम्मान प्राप्त गर्ने मध्येकाबाट ।
चौथो कारण
राष्ट्रिय तथा अन्तर्राष्ट्रबाट प्राप्त पद तथा पुरस्कार र
पाँचौं कारण
सकारात्मकरुपमा राष्ट्रको ध्यान खिच्न सफल वा राष्ट्रिय रुपमा चर्चित ।
यिनै ५ गुणका आधारमा टप १० मेयरको छनौट गरिएको हो । कतिपय मेयरका काममा सकारात्मक सूचक हुँदा हुँदै पनि कतिपय विषयमा विवादीत भएका कारण टप १० मा अटाउन नसकेको जानकारी गराउँछौं ।
यी हुन् टप १० मेयरमा पर्न सफल नगरप्रमुखहरु –
टप १० (६ मेयर)
वातावरण, शुसासन र वित्तिय क्षेत्रमा उत्कृष्ठ हुनेलाई नेपाल नगरपालिका संघ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा यसवीचमा पुरस्कृत भएका मध्येपनि फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्मा रहेकाछन् । बेरुजु फस्र्यौटमा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट छन् । आर्थिक तथा राजस्व क्षेत्रमा कन्काई नगरका मेयर राजेन्द्र पोखरेल रहेका छन् । त्यसैगरी समग्र विकाशमा सैनामैनाका मेयर चित्रबहादुर कार्की, शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्ने घोराहीका मेयर नरुलाल चौधरी र समग्र विकाशको गतिमा तुलसीपुरका मेयर घनश्याम पाण्डे टप टेन मेयरको दशौं नम्बरमा पर्न सफल भएका छन् ।
टप ९ (समन्वयका सारथी )

युवा मेयर शिव प्रसाद ढकाल सुन्दर हरैचाका नगरबासीको माया र विश्वास जित्न सफल भएका छन् । नगरबासीको सोच अनुसारको विकाश निर्माणका तमाम कामलाई सम्पन्न गर्न सफल भएकै कारण उनले विश्वास जितेका हुन् ।
शिव प्रसाद ढकाल मेयर त भए तर विपक्षीहरुसँग दुई तिहाई बहुमत थियो । राजनीतिले गाँजेको मोरङ जिल्लामा सबैलाई सहमतीमा ल्याउँदै नगरलाई पूर्ण बहुमतको भान दिनसक्नु चानचुने कुरा थिएन । त्यसताका सवैले भन्थे नगर चलाउनु शिवकालागि फलामको चिउरा चपाउनु जत्तिकै कठिन छ । तर, उनले फलामको चिउरालाई ताइचिनमा रुपान्तरण गरिदिए । अन्ततः उनी उदाहरणिय मेयर बन्न सफल भए ।
नगरसभामा अल्पमतमा परेका धेरै मेयरहरु विवादीत बने । उनीहरुको कार्यकाल झगडा गर्दा गर्दै सकिदैछ । विकाशको योजना हुँदा हुँदै पनि विपक्षीलाई सहमतीमा ल्याउन नसकेकै कारण नकाम सिद्ध भएका मेयरको संख्या पनि धेरै छ । तर शिव प्रसाद ढकालले प्रदर्शन गरेको परिपक्वताले विपक्षीहरुले उनको योजनामा विमत्ति राख्न सकेनन् । सँगसँगै नगरवासीको स्याब्बासी पाउन र पाइरहन उनी सफल छन् ।
मेयर ढकालको यही खुवी देशभरीका मेयरकालागि अनुकरणिय छ । आगामी कार्यकालकामा देशभरीका नगरप्रमुखले उनले प्रदर्शन गरेको समन्वयको अनुभव आत्मसाथ गर्न सक्छन् ।
टप ८ (राष्ट्रिय ब्यक्तित्व)

डा. धवलशम्शेर राणा राष्ट्रिय ब्यक्तित्व हुन् । राप्रपाका केन्द्रीय महामन्त्री समेत रहेका राणाको कार्यकालमा नेपालगञ्ज उपमहा नगरपालिका विकाश निर्माणको सवालमा उल्लेख्यरुपमा अघि बढेको आम बुझाई रहेको छ । शिक्षा, स्वास्थ्य, वाटोघाटो र पुल निर्माणमा नेपालगञ्ज निश्चयनै अघि बढेको देखिन्छ ।
खासगरी छात्रा कलेज, छात्रा विद्यालय र छात्राबास निर्माण नेपालगञ्जको उदाहरणिय कार्य हुन् । परम्परागत सोच बोकेको पार्टीको प्रतिनिधित्व भएरपनि आम जनताको मन जित्न सक्नु राणाको मुल उल्लेख्य पक्ष हो ।
टप ७ (चर्चित महिला मेयर)

भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकहरूलाई ओ.पि.डि.टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेर मेयर रेणु दाहालले काम सुरु गरेकी थिइन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, सडक सञ्जाल विस्तार गर्ने रिङ रोड र लिङ्क रोड, सार्वजनिक–निजी साझेदारीमा निर्माण हुने मेट्रो प्लाजाको शुरुवातसम्म आइपुग्दा पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य,सुशासन, आन्तरिकआय लगायत हरेक क्षेत्रमा प्रगति हासिल भएको देखिन्छ ।
साढे ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिनु पनि मेयर दाहालका उल्लेख्य काम हुन् । त्यसैगरी संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ कि.मी. को महानगरीय रिङरोड निर्माणाधीन अवस्थामा रहेको छ । यी र यस्ता ५१ काम सार्वजनिक गरेकी छन् मेयर रेणु दाहालले ।
टप ६ (अन्तर्राष्ट्रिय छवी बनाउँदै)

नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक व्यञ्जुले अन्तर्राष्ट्रिय छवी बनाएका छन् । उनले एसियाली मेयरहरुको छाता संगठन युनाइटेड सिटिज लोकल गभरमेन्ट्स् एसिया प्यासेफिकको अध्यक्ष भएर आफू र नेपालको नाम अन्तर्राष्ट्रमा समेत दर्ता गराएका हुन् । उनलाई एसियन अध्यक्षको पद सर्बसम्मत रुपमा प्राप्त भएको हो ।
एशियाली मुलुकका ७ हजार भन्दा बढी नगरपालिका तथा संघहरु उनको मातहत कमिटीमा रहेकाछन् । धुलिखेल नगरको काममा समेत अशोकको कामलाई उल्लेख्य मानिन्छ ।
टप ५ (हाताहाती विकाश दिन सफल)

बागमती नगरपालिकाका मेयर भरतकुमार थापा विकास निर्माणको सवालमा उच्चकोटीको परिणाम नै सार्वजनिक गर्न सफल भएका छन् ।
निर्वाचित भए लगतै तलव भत्ता नलिने शपथ खाएका र आफ्नो लागि गाडि किन्न छुट्याईएको बजेटबाट जनताकोलागि पानी ढुवानी गर्न ट्यांकर किनेर चर्चामा आएका मेयर थापाले यस नगरलाई प्रदेशकै सुन्दर र रमणिय पर्यटकिय स्थलको रुपमा विकास गरेका छन् ।
सडकको स्तर उन्नती, बर्थिङ सेन्टर, शिक्षा तथा स्वास्थ्यमा पनि उल्लेख्य काम गरेका मेयर थापाले नगरको दीर्घकालीन आयस्रोतकालागि १ सय २१ विगाह क्षेत्रफलको मानव निर्मित पोखरी बनाएका छन् । त्यसैगरी २८ करोडको सुविधा सम्पन्न फनपार्क पनि तयार भएको छ । अर्कोतिर १ सय ८० विगाहको नगर बगैँचा पनि बनाउन उनी सफल भएका छन् । बजेटको सवालमा नगरपालिलाई आत्मनिर्भर बनाउनु आफ्नो पहिलो काम भएको मेयर भरतकुमार थापा बताउँछन् । छोटो समयमा ठूला योजना सम्पन्न गर्न सफल मेयर भनेर भरत कुमार थापालाई चिनियो भने त्यो सही हुन्छ ।
टप ४ (उत्कृष्ट मेयर घोषित)

शहरी योजना, वातावरण, विपत जोखिम व्यवस्था र उत्थानशिलता क्षेत्रमा नेपालकै सर्वोकृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भयो, स्याङजाको वालिङ नगरपालिका । नगरलाई यस स्थानमा पुर्याउन सफल नगरप्रमुख दिलीप प्रताप खाँडले छोटो समयमा नगरलाई विकाशको जगमा राख्न सफल भए । खासगरी बस्ती विकाशको सवालमा खाँडले उदाहरणिय काम गरेका छन् ।
वालिङ नगरपालिका देशभरीकै लेखाजोखामा उत्कृष्ठ हुनु समग्र जिल्लाकै गौरव र पहिचानको विषय भएको भन्दै नगरप्रमुख खाँडलाई केही थान दोसल्ला समेत ओडाइयो । उनको कामलाई पक्षले मात्रै होइन विपक्षीले पनि तारिफ गर्ने गरेका छन् । नगरप्रमुख खाँण यस्तो सफलताले जनमैत्रि काम गर्न अझ प्रेरित गरेको बताउँछन् ।
टप ३ (सम्पदाका रक्षक)

युवा जोश जाँगरका साथ मेयर बनेका मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ सम्पदा निर्माण र पुननिर्माणको काममा आइडल नै बनेका छन् । उनको नेतृत्वले ३७ वटा पाटी, २३ वटा मठ मन्दिर, पन्ध्र वटा पोखरी, ५ वटा बिहार, ३ वटा दरबार, २५ वटा ढुंगेधारा, २० वटा ईनारको पुन निर्माण र नवनिर्माणको रेकर्ड नै बनायो । गति अझै रोकिएको छैन ।
त्यसैगरी मध्यपुर थिमीका सबै गल्लीमा ढुंगा छाप्ने तथा शंखधर पार्क, कुमारी पार्क, ईन्द्रायणी पार्क लगायत तेह् वटा पार्क निर्माण सम्पन्न भएको छ । यही कामको मूल्यांकनमा मदन सुन्दर परे र जिते, एसियन टाउन स्केप अन्तर्राष्ट्रिय अवार्ड ।
स्वास्थ्यका क्षेत्रमा पनि नमुनाकै रुपमा काम गरे, मदनसुन्दरले । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तर उन्नती यसरी गरे कि अन्य अस्पतालबाट समेत बिरामी रिफर हुन थाले । नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा नेपाल कोरिया हालसम्मको एकमात्र पीसीआर परीक्षण गर्ने अस्पताल बन्यो । अक्सिजन प्लाण्ट स्थापना गर्न पनि अस्पताल सफल रह्यो ।
नगरप्रमुख श्रेष्ठका अनुसार खानेपानीको क्षेत्रमा पनि मध्यपुरले उपत्यकामै सबैभन्दा ब्यबस्थित बितरण प्रणाली बिकास गरेको छ । अर्को उल्लेख्य पक्ष फोहरमैला ब्यबस्थापनमा पनि हो । जापानी रिकिसी प्रबिधि भित्र्याएर घरघरबाट फेहोर उठाइ कम्पोष्ट मल बनाउने काम पनि नगरले सुरु गर्यो । यस कुरामा मध्यपुर अगुवा नै बन्यो ।
जग्गा एकीकरण तथा बस्ती बिकासमा समेत नगपालिकाले काम अघि बढाएको छ । जस अन्तरगत ५ वटा एकीकरण आयोजना संचालनमा रहेको र ७ वटा तयारीमा रहेको मेयर श्रेष्ठ बताउँछन् ।
नगरपरिषदमा आफू अल्पमतमा रहँदा रहँदै पनि आफ्नो कार्यकालमा नगरको मुहार फेर्न सकेको मदनसुन्दर दावी गर्छन् ।
टप २ (शालिन मेयर)

आधुनिक विकाश निर्माणको सवालमा तिलोत्तमा नगरपालिका र मेयर वासुदेव घिमिरेले मुलुकमा नै उदाहरण मेयरको रुपमा काम गरेका छन् । उनले १५ बर्षे शहरी विकाशको गुरु योजना समेत तयार गरेर लागु गर्न सुरु गरेका छन् ।
स्थानीय कानुन निर्माण, सामुदायिक विद्यालयमा दिवा खाजा, छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड, बिरामीलाई चाहिने रगतको सेवा शुल्क भुक्तानी, पशु बीमा अनुदान, हरियाली सिटी फ्लावर, घरमा कलर कोड निर्धारण, जन्मदिनमा वृक्षारोपण, प्लाष्टिक झोलामुक्त नगर घोषणा, आँखा अस्पताल लगायतका कार्यक्रम यस नगरले अघि बढाएको छ । त्यसैगरी सरकारी विद्यालयमा यातायात सुविधा, रोजगारी सिर्जनाका लागि युवा रोजगार कार्यक्रममा एक हजार नागरिकलाई व्यावसायिक तालिम आदि प्रभावकारी मानिन्छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रूपैयाँका दरले अनुदान समेत दिन्छ ।
‘ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा’ पनि यस नगरको अर्को आकर्षक नारा हो । त्यसैगरी नगरपालिकाले बनाएको स्थानीय पाठ्यक्रममा ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’ भन्ने अभियान पनि तारिफ योग्य छ । तिलोत्तमाले अगाडि सारेको ग्रिनरी सडक र बुद्धमूर्ति राख्ने कामलाई छिमेकी पालिकाहरूले पनि अनुशरण गरेकाछन् ।
पहिलो पटक स्थानीय तहले २०७६ असोज ९ मा लगानी सम्मेलन गरेर पनि तिलोत्तमा उदाहरणिय र अनुकरणिय बनेको छ ।
तिलोत्तमा नगरपालिका सहरी सेवा प्रवाह तथा सुशासन क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै २०७७ सालमा उत्कृष्ट नगरपालिकाका रूपमा पुरस्कृत भइसकेको छ ।
मेयर घिमिरेले आफ्नो तलव–सुविधा सरकारी स्कूलका गरिव तथा जेहन्दार विद्यार्थिमा समर्पित गरेका छन् । उनी शालिन मेयरको रुपमा परिचय बनाउन पनि सफल छन् ।
टप १ (मेयरका रोलमोडेल)

नेपाल मजदुर किसान पार्टी अर्थात नेमकिपाले बनाउन चाहेको देशको नमुना कस्तो हो ? भक्तपुर नगरपालिकाको काम र मेयर सुनिल प्रजापतिको सक्रियताबाट त्यो देख्न र महसुस गर्न सकिन्छ ।
यस नगरमा नेमकिपाले ‘क्लिन स्वीप’ गरेपछि राजनैतिक संतुलन मिलाउने दवाव भने उसलाई पक्कै छैन । अरुले दिन्छ र बिकास गर्छौ भन्ने परिपाटी त्याग्नुपर्छ भन्ने कुरामा मेयर सुनिल प्रजापति दृढ संकल्पित छन् । त्यही भएर भक्तपुर नगरले बिदेशी अनुदान अस्वीकार गर्ने गरेको छ । नगरले आफैं मिडिया समेत सञ्चालन गर्छ ।
पुरानो सहर भक्तपुर नगरपालिका अहिले सांस्कृतिक सम्पदा निर्माण र पुननिर्माणको सवालमा अनुकरणीय बनेको छ । यस नगरले जनश्रमदान जुटाएर नगरभित्रकै प्राविधिकबाट काम सम्पन्न गर्दै आएको छ । १७ सय डकर्मी, २ हजार सिकर्मी, १८ सय इन्जिनियरको रेकर्ड राखेर बसेको यस नगरले ठेकेदार प्रथाको अन्त्य समेत गरेको छ ।
मेयर सुनिल प्रजापतिका अनुसार पछिल्लो ५ बर्षमा एक सय पन्ध्रवटा सम्पदा पुर्ण रुपमा निर्माण सम्पन्न भएका छन् । दर्जनौ सम्पदा पुननिर्माणको अवस्थामा छन् । कैयौ सम्पदा सम्पन्न हुने क्रममा छन् । मौलिक शैलीका घर निर्माण गर्नेलाई मोहडामा लाग्ने ईंटा, काठ र झिंगटीको निम्ति ३५ प्रशित अनुदान दिने गरिएको छ । ईंटा छपाइले धुलो उड्यो भन्ने गुनासो आएपछि ढुंगा छाप्ने काम गरिएको मेयर प्रजापति बताउँछन् ।
नगरपालिकाले बिगतदेखि नै एक घर एक ईन्जिनियर र एक घर एक स्नातक जस्ता शैक्षिक अभियान सफलतापूर्वक संचालन गर्दै आएको छ ।
देशमै छुट्टै शैली र स्वरुपमा संचालन हुँदै आएको भक्तपुर नगरपालिकाका स्थानीय सरकार प्रमुख सुनिल प्रजापति नगरप्रमुखहरुकै रोल मोडेल समेत बनेका छन् । उनीसँग अनुभव लिन देशभरीका मेयरहरु भक्तपुर नगरपालिका आउने गर्छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यो नगर धेरै अगाडि छ । शिक्षामा शिशु स्याहारदेखि कलेजसम्म संचालन गरिरहेको छ, नगरले । जस अन्तर्गत ७ वटा शैक्षिक संस्थामा देशभरीका ६ हजारभन्दा बढी बिद्यार्थी अध्ययन गर्दै आएका छन् ।
स्वास्थ्य तर्फ घरदैलो नर्सिङ्ग सेवा प्रभावकारी रुपमा प्रदान गरिएको छ । नसर्ने दीर्घरोग लागेका प्रत्येकलाई मासिक रु दश /दश हजार दिन सुरु गरिएको छ । आम जनता निरोगी होऊन भन्ने हेतुले चोकचोकमा जीम खाना निशुल्क रुपमा सञ्चालन गरिएको छ । नगरले देकोमिवा ईंटापाखे आवास योजना ब्यबस्थित रुपमा अगि बढाएको छ ।
जनताको चेतनाको स्तर उठाउन स्थानीय पाठ्यक्रम मार्फत कला–संस्कृति, खेलकुद, खानपानका बिषयमा परिचय दिने काम गरिएको छ । विद्यार्थीको मानसिक बिकास र नैतिकतामा जोड दिईने प्रकारको पाठ्यक्रम विकाश गरिएको नगरप्रमुखको दावी छ । समग्रमा नगरपालिकाले नगरबासीकालागि स्वास्थ्य, शिक्षा, आवास, पहिचान आदि सवै आवश्यक विषयको प्याकेजमा गौरवपूर्ण ढंगले काम गरिरहेको छ ।