यी हुन्, सर्वाधिक विवादित मेयरहरु (भिडियो सहित)

दिवस गुरागाईं

मुलुकमा ७ सय ५३ स्थानीय तह छन् । तीमध्ये ४ सय ६० गाऊँपालिका, दुई सय ७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ वटा महानगरपालिका रहेका छन् । यी स्थानीय तहका प्रमुखहरुले आफ्नो कार्यकालमा कस्तो काम गरे ? भन्ने प्रश्नको उत्तर आगामी निर्वाचनमा देखिने नै छ ।

नेपालमुहार डटकम यस रिपोर्टमा निकै विवादित मेयरहरुको क्रियाकलाप प्रस्तुत गर्दैछ । यी मेयरहरु कसरी फसे विवादमा ? यसको संक्षेप पनि पस्केका छौं ।

विवादित मेयरको सूची तयार गर्न नेपालमुहारले जिल्ला प्रशासन कार्यालयहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सञ्चार माध्यम र सम्बन्धित नगरपालिकामा गरेको व्यवहारको फेहरिस्त केलाएको थियो ।

विवादित मेयरको प्रसंग सुरु गरौं, धनुषा हंशपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको कथाबाट –

९. दादागिरी देखाउँदा ज्यानै लिए


रामज्ञान मण्डल, हंशपुर नगरपालिका धनुषा

नगरपालिका कार्यालय सार्ने विषयमा विवाद हुँदा ५५ बर्षका तपेश्वर मण्डलको ज्यान नै गयो । आधा दर्जन बढी घाइते भए । उपमेयर रेणु झाको नेतृत्वले कार्यालय सार्न नदिने र मेयर रामज्ञान मण्डल जसरी भएपनि सारेरै छोड्ने योजनामा दृढ भएर लागे । परिणाम, मेयरविरुद्ध मृतक तपेश्वरको परिवारले किटानी जाहेरी दर्ता गर्यो । त्यसपछि मेयर निकै समय फरार भए ।

८. ठूला–ठूला काण्डहरुमा जोडिए

सुरेन्द्र बिष्ट, भिमदत्त नगरपालिका, कञ्चनपुर

बहुचर्चित निर्मला पन्त हत्याकाण्डमा जोडिए, भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट । शंंकास्पद ब्यवहारका कारण उनले सर्वसाधारणको आक्रोशको समेत सामना गर्नु परयो । परिरहेको छ । त्यसैगरी विष्टले सडक निर्माणकालागि एसियाली विकास बैंक (एडिबी) ले दिएको दुई अर्ब रुपैयाँको काम गर्न सकेनन् । उक्त रकम फ्रिज नै भयो । र, निकै ठूलो रकम उनले फस्यौट गर्न सकेका छैनन् । यी विविध कारणले उनी हिजोआज आम जनतासँग तर्केर हिड्नेक्रममा कालो सिसा भएको गाडी प्रयोग गर्छन् ।

७. खोप र भ्यू टावरमा फसे

भीम पराजुली, विराटनगर महानगरपालिका

दिनभरी तातोघाममा बसेर पनि ठूलो संख्याका विराटनगरबासीले कोभिड व्रिद्धको खोप लगाउन पाएका थिएनन् । त्यही साँझ मेयर भीम पराजुलीले अमुक ठाऊँमा आफ्ना कार्यकर्ता र आसेपासेलाई खोपको ब्यवस्था गरेर लगाई दिएको सर्वसाधारणले फेला पारे । त्यसपछि सर्वसाधारण आक्रोशित बनेर मेयरमाथि जाइलागे ।
त्यसैगरी कोराना संक्रमितको उपचारका लागि अक्सिजनको उच्च माग भएका बेला आफ्ना नातागोतालाई लुकाइलुकाई अक्सिजन पुर्याएको आरोप पनि मेयर पराजुलीले खेप्नु पर्यो । तर मेयर पराजुलीले भने आफूमाथि षड्यन्त्र भएको बताएर सफाई दिने कोशिस गरिरहे । त्यसैगरी १ सय १० फिट अग्लो ४ अर्बको भ्यूटावर निर्माण कार्यमा पनि उनी उत्तिकै विवादित बने । समीक्षकहरुका अनुसार मेयर भीम पराजुली विपक्षीको सुनियोजित षड्यन्त्रमा परेका थिए । परिरहेका छन् ।

६. गैह् जिम्मेवार व्यवहारको शिकार

विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिका

मेट्रो रेल, मोनो रेललगायत १०१ योजनाको बाचा गरेर चुनाव जितेका देशकै ठूलो काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य खासगरी सम्पदा पुननिर्माणको सवालमा विवादित बने । रानीपोखरीलाई नयाँ हिसावमा निर्माण गर्नेभन्दा उनको विरुद्धमा आफ्नै उपमेयर हरिप्रभा खड्गी तगारो भइन् । पुरुातात्विक महत्वकै हिसावले पुननिर्माण गर्नुपर्छ भन्ने उपमेयरको पक्षमा आम बुद्धिजीवी, नागरिक समाज र विज्ञहरु उभिए । त्यती हुँदा पनि मेयर शाक्य आफ्नै अडानमा रहेपछि उपमेयरले खड्गीले उनलाई घाँस उपहार दिएकी थिइन ।

निर्वाचनमा आफूले गरेका बाचा पुरा नगरेर त शाक्य विवादमा आए नै, कमलपोखरी पुनर्निमाण र बागदरबार भत्काएर महानगरको कार्यालय बनाउन लागिपरेका विद्यासुन्दर सम्पदा संरक्षणको सवालमा खलनायक नै ठहरिए ।

५. घुस सहित पक्राऊ

धर्मेन्द्र पटेल, देवाही–गोनाही नगरपालिका, रौतहट

साढे दुईलाख नगद र साढे दुईलाखको चेक सहित देवाही–गोनाही नगरपालिका, रौतहटका मेयर धर्मेन्द्र पटेल यही १५ फागनुमा रंगे हात पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आफ्नै कार्यकक्षबाट पक्राउ गरेको हो । वार्ड नं. एकको कार्यालय निर्माण कार्य सम्पन्न भइसक्दा पनि भुक्तानी नगरी घुस मागेपछि उनले घुस त पाए । तर अख्तियारबाट डामिए ।

४. घुस लिएपछि निलम्वन

सूर्यनाथ मण्डल, कल्याणपुर नगरपालिका, सिराहा

सेवाग्राहीसँग पाँच लाख घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल निलम्बनमा परेका छन् । अख्तियारले उनी बिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेपछि निलम्बनमा परेका हुन् । उनले ५ लाख रुपैयाँको चेक घुसबापत लिएको अख्तियारको अभियोग छ ।

हरेक कार्यमा घुस लिन छोरोलाई खटाउने गरेका मेयर मण्डलले भ्रष्टाचारको नांगो नाच नचाएको आरोप खेपिरहे ।

३. जन्म कैद मुक्त हुँदा सार्वजनिक विदा

सियाराम कुशवाह, कटहरिया नगरपालिका, रौतहट

हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको कर्तब्य ज्यान मुद्धामा कटहरिया नपाका मेयर सियाराम कुशवाहलाई जन्मकैदको सजाय सुनाइएको थियो । उनी जेल चलान पनि भए । तर, सर्वोच्च अदालतले फैसला उल्ट्याई दियो । कुशवाह जेलमुक्त भए ।
जेलबाट छुटेर उनी हेलिकोप्टरबाट नगरपालिकाको कार्यालयमा त पुगे नै, त्यसको खुसीयाली मनाउन नगरपालिकाभरी सार्वजनिक विदा दिए । सेवाग्राहीलाई सास्ती दिने र विरोधीमाथि दादागिरी गर्ने गरेको आरोप कुशवाहलाई लागिरहेको छ ।

२. उदण्ड बोली र व्यवहार

द्धारिकालाल चौधरी, इटहरी उपमहानगरपालिका, सुनसरी

इमान्दार मेयरको परिचय बनाउँदै गर्दा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरी जथाभाबी बोल्न थालेपछि विवादित हुन थाले । को पत्रकार, को राजनीतिज्ञ, को समाजसेवी जो कोही माथि आक्रमणमा उत्रिए चौधरी । मन नपरेकाहरुलाई उदण्ड र अश्लिल गाली गलौज गर्नुलाई दैनिकी बनाए उनले । पत्रकारलाई नाकको डाँडी भाँचिनेगरी कुट्छु भन्नेदेखि आफ्नै राजनीतिक सहकर्मीलाई गोली हानेर मार्छुसम्म भन्न भ्याए । महिलालाई सुन्नै नसक्नेगरी अश्लिल गाली बर्साए ।

बोलीमा लगाम नलगाएपछि उनी विरुद्ध स्थानीय कांग्रेसले आन्दोलन नै गर्नु पर्यो । नागरिक समाज समेत उनी विरुद्ध सडकमा आयो । जथाभावी नबोल्न उनलाई उनैको पार्टीले समेत चेतावनी दियो ।

. एकपछि अर्को विवाद

लाल किशोर शाह, जनकपुर उपमहानगरपालिका, धनुषा

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह यतिधेरै विवादमा फसे कि, मानौं उनी विवादमेसिन नै हुन् । उनको चर्चित विवादित विषय हो, उपमेयर रिताकुमारी मिश्रसँग सार्वजनिक ठाऊँमा कुटाकुट गर्नु । नगरपालिकाको बैठक पुस्तिका खोसाखोस गरेर च्यातेर पनि उनले जग हँसाए ।

त्यसैगरी आफ्ना विरुद्धमा लेख्ने तीन दर्जन पत्रकारलाई आफ्नै कार्यकक्षमा बोलाएर कुट्न लगाए । त्यसअघि पत्रकार खुसी पार्न शाहले ४० लाख खर्च गरेको समाचार पनि सप्रमाण सार्वजनिक भयो । ठेक्का पट्टामा परिवारवाद हावी गराए भने सेवाग्राहीलाई सास्ती दिने कार्यमा पनि उनले उत्तिकै बदनामीको फुली लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *