ओलीले भने – गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारदिlएको थियो त्यो सरकारले ? वर्गीय पूर्वाग्रह, दुराग्रह र विकास विरोधीको एउटा षड्यन्त्रको हिस्सेदार भएर सरकार ढाल्ने काम भएको थियो ।’
संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए । संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, संविधान बाहिर गएर जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ । संसदले सरकार बनाउने र भत्काउने गर्छ । संसद र जनप्रतिनिधिको काम हो । अदालतको होइन । तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो, । अहिले गोरु ब्यायो मात्र होइन, पाँचवटा बाच्छा पायो ।’
सामाजिक सञ्जाल प्रयोग गर्दा समय बर्बाद नबनाओस्, सूचना देओस्
एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएका हुन् । बरु सूचना दिने खालको हुनुपर्ने उनको भनाइ छ । हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उनले भने, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’
रामका बा ठोरीका हुन्, दशवटा रथ बनाएर दशरथ भए
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्याएका छन् । पोखरामा प्रेस चौतारीको महाधिवेसनलाई सम्बोधन गर्दै उनले भने, रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनको नाम नेगीबाट दशरथ बन्यो ।
उनले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने बताए । सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने, उनले भने, राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन
सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे । रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्षमणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए, ओली भन्छन्, कपडा बनिसकेको थिएन । अरु सबै होहल्ला हुन् । तर, आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।
अहिले हामी अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौं
एमाले अध्यक्ष केपी ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रालाई पूर्ण रूपमा स्वीकारेको बताएका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रता मात्र होइन, मानव अधिकारलाई पनि व्यवस्थित गरेको बताए ।
‘प्रेस स्वतन्त्रता होइन, अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ,’ उनले भने, पीत पत्रकारिता अहिलेको आवश्यकता होइन ।’ अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिएका ओलीले देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताए ।