काठमाडौं । पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालमा ६३ हजार २ सय ६८ वटा सडक दुर्घटना रेकर्ड भएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार ती दुर्घटनामा सात हजार ५ सय ५३ जनाको मृत्यु भएको छ । यस अवधिमा दुर्घटनामा परी गम्भीर घाइते हुनेको संख्या २२ हजार ५ सय ६७ रहेको छ ।
बितेका साढे १० वर्ष (आर्थिक वर्ष २०६८/६९ देखि २०७८/७९ माघ मसान्तसम्म) मा सडक दुर्घटनामा परी नेपालमा २३ हजार ११२ जनाको मृत्यु भएको छ । पछिल्लो साढे १० वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक महिना औसतमा १८१.९८ जनाको मृत्युको कारण सडक दुर्घटना बनेको छ । अर्थात् औसतमा प्रत्येक दिन नेपालमा ६ जनाको मृत्यु सडक दुर्घटनामा परी हुने गरेको छ ।
यो तथ्यांकले देखाउँछ नेपालमा सडक दुर्घटनाको भयावह स्थिति
‘दुर्घटनाको प्रमुख कारण सवारी साधनको गति हो । तीव्र गतिकै कारण नेपालमा धेरै दुर्घटना हुने गरेका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले न्युज कारखानासँग भने, ‘जुन देशमा जहाज, गाडी कुनै निर्धारित समयमा उड्दैनन् र गुड्दैनन, त्यही देशमा सबैलाई हतार हुने गरेको छ ।’
नेपालमा बढ्दो दुर्घटना र जनधनको क्षतिले स्पष्ट देखाउँछ दुर्घटना र क्षति न्यूनीकरणमा सरकारले प्रयाप्त ध्यान दिएको छैन । संयुक्त राष्ट्रसंघले ‘युएन डिकेड अफ एक्सन फर रोड सेफ्टी ९२०११–२०२००’ कार्यक्रम ल्याएको थियो । कार्यक्रमको लक्ष्य सन् २०२० सम्म सडक दुर्घटनाबाट हुने क्षति ५० प्रतिशत घटाउने रहेको थियो ।
नेपालले राष्ट्रसंघको उक्त कार्यक्रम कार्यान्वयन गर्न सन् २०१३ मा अनुमोदन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले कार्यान्वयनमा जिम्मेवारी लिएको थियो । मन्त्रालयले त्यसपछि ‘नेपाल सडक(सुरक्षा कार्ययोजना २०६९÷२०७७’ ल्याएको थियो ।
यसका अलावा नेपालले राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोगको एसिया प्यासिफिक कार्यालयले सन् २००६ मा घोषणा गरेको सडक सुरक्षासम्बन्धी घोषणपत्रमा सन् २०१२ मा हस्ताक्षर गरेको थियो । ती कार्यक्रमअन्तर्गत नेपालले सडक दुर्घटनाको हताहतीलाई सन् २०१५ सम्ममा ३५ प्रतिशत र २०२० सम्ममा ५० प्रतिशतले कमी ल्याउने लक्ष्य राखिएको थियो ।
सडक जोखिम न्यूनीकरणलाई समेत समेटी गृह मन्त्रालयले २०७५ सालमा ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना सन् २०१८/२०३०’ सार्वजनिक गरेको थियो । कार्ययोजनामा सडक दुर्घटनामा हुने मृत्युको संख्यालाई सन् २०२० सम्म एक हजार सात सय, सन् २०२५ सम्म एक हजार दुई सय र सन् २०३० सम्म सात सयमा झार्ने उल्लेख छ ।
गृहको कार्ययोजनाअनुसार सडक दुर्घटनामा घाइते हुनेको संख्या सन् २०२० सम्म ११ हजार, सन् २०२५ सम्मा आठ हजार र सन् २०३० सम्म पाँच हजारमा झार्नुपर्ने हुन्छ । सडक जोखिम न्यूनीकरण गर्न नेपालले बनाएका कार्यक्रम र कार्ययोजनाअनुसार काम भने हुन सकेको छैन । लक्ष्यलाई पूरा गर्नेभन्दा पनि लक्ष्यलाई झन् टाढा बनाउने कार्य भइरहेको तथ्यांकले देखाउँछ ।
‘ट्राफिकसम्बन्धी जनचेतना, तालिम, वैज्ञानिक तरिकाले सडकको निर्माण हुन नसक्दा दुर्घटना बढ्दै गएका छन्, जसले मानवीय क्षति पनि बढाएको छ,’ पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुले न्युज कारखानासँग भने ।
पछिल्ला तथ्यांकले नेपालमा दुर्घटनाको संख्या घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा १३ हजार ३ सय ६६, २०७६÷७७ मा १५ हजार ५ सय ५९, २०७७/७८ मा २० हजार ६सय ४० र २०७८/७९ को माघसम्मा १३ हजार ७ सय ३ वटा सडक दुर्घटना रेकर्ड भएका छन् । विगत तीन वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५/७६ को तलुनामा २०७६/७७ मा १४.१ प्रतिशत र २०७६/७७ को तुलनामा २०७७/७८ मा २४.६२ प्रतिशतले सडक दुर्घटना बढेको छ ।
नेपालमा दुर्घटनाबाट हुने मृत्यु संख्या पनि घटेको छैन । आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ७ सय ८९, २०७६/७७ मा दुई हजार २५१, २०७७/७८ मा दुई हाजर ५ सय १३ र २०७८/७९ को माघसम्ममा एक हजार ६ सय ३८ जनाको मृत्यु सडक दुर्घटनामा भएको छ । नेपालले आफूले बनाएको कार्यक्रम र कार्ययोजनाअनुसार न दुर्घटना संख्या घटाउन सकेको छ, न मृत्यु कम गर्न । दुर्घटनामा हुने घाइतेको संख्या पनि घटेको छैन । कार्यक्रम र कार्ययोजनाविपरीत दुर्घटना र मृत्युको संख्या बढ्दो छ ।
कहाँ हुन्छ बढी दुर्घटना ?
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७ सय ३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात महिनामा काठमाडौं उपत्यकामा ६ हजार २१, प्रदेश १ मा दुई हजार १७८, मधेश प्रदेशमा तीन हजार ४९, बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक) ९ सय ८०, गण्डकी प्रदेशमा २ सय ४०, लुम्बिनी प्रदेशमा ६ सय ७०, कर्णाली प्रदेशमा २ सय ३८ र सुदूरपश्चिम प्रदेशमा ३ सय २७ वटा दुर्घटना भएका छन् ।
कहाँ जान्छ सबैभन्दा बढीको ज्यान ?
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सबैभन्दा बढी सवारीसाधन दुर्घटना बागमती प्रदेशमा भए पनि दुर्घटनामा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा रहेको छ । सो अवधिमा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा ९३, प्रदेश १ मा ३ सय १, मधेस प्रदेशमा ३ सय ३९, बागमती प्रदेशमा (काठमाडौं उपत्यकाबाहेक) २ सय २३, गण्डकी प्रदेशमा १ सय ४४, लुम्बिनी प्रदेशमा ३ सय ४, कर्णाली प्रदेशमा १ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ सय १२ जनाले ज्यान गुमाएका छन् ।
कुन सवारी साधन पर्छ सबैभन्दा बढी दुर्घटनामा ?
चालू आर्थिक वर्षको सुरुवाती सात महिनामा सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्यांकले देखाउँछ । यो अवधिमा दुर्घटनामा पर्ने सवारीसाधनमा ११ हजार २ सय ६७ वटा मोटरसाइकल, एक हजार ३ सय ७५ ट्रक तथा ट्यांकर, ४ सय १९ वटा टिपर, ४० वटा डोजर, लोडर र एक्स्काभेटर, एक हजार ४ सय ३६ वटा बस, २ सय १८ वटा माइक्रो, पाँच हजार ९४ जिप तथा कार, ५ सय ४६ वटा ट्रयाक्टर, ६ सय ८० टेम्पो र बाँकी अन्य सवारीसाधन छन् ।
कुन समयमा हुन्छ बढी दुर्घटना ?
प्रहरीको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ देखि साँझ ६ बजेसम्मको अवधिमा हुने गरेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा देशभर मध्यान्ह १२ देखि साँझ ६ बजेसम्मको अवधिमा पाँच हजार ४३६ वटा सवारी दुर्घटना भएका छन् । प्रहरीका अनुसार सो अवधिमा बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म ३ हजार १ सय ८०, साँझ ६ देखि राति १२ बजेसम्मको समयमा चार हजार ४ सय ६३ र राति १२ देखि बिहान ६ बजेसम्मको समयमा ६ सय २० वटा दुर्घटना भएका छन् ।
यी हुन् दुर्घटनाका प्रमुख कारण
नेपाल प्रहरीका अनुसार बितेको सात महिनामा सवारी चालकका कारण ११ हजार ९ सय ३६ वटा सवारी दुर्घटना भएका छन् । सोही अवधिमा सवारीसाधनको कारण ३ सय ६४, यात्रुको कारण ५ सय १९, सडकको अवस्थाका कारण ७ सय ५४, मौसमको कारण ४८ र चौपायाको कारण ८२ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस वर्ष तीव्र गतिका कारण ६ हजार २ सय ५८ वटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीको तथ्यांकले देखाउँछ । ओभरटेक गर्दा ४ सय ८६, मादक पदार्थ सेवन गरेका कारण ७ सय २९, यात्रुले बाटो काट्दा ४ सय ३३ र ट्राफिक नियम उल्लंघन गर्दा ५ सय ७७ वटा दुर्घटना भएको पाइएको छ ।
किन घटेन दुर्घटना ?
पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार नेपालमा दुर्घटना नघट्नुको पहिलो कारण हो ट्राफिकसम्बन्धी जनचेतनाको अभाव । नेपालका धेरैजसो चालकले सवारी अनुमतिपत्र लिन मात्र ट्राफिकसम्बन्धी ज्ञान लिने गरेको बुझाई उनको छ ।
‘हाम्रो देशमा धेरैको बुझाई हेलमेट लगाउने भनेको ट्राफिकले समाउँछ भनेर भन्ने छ । जबसम्म यस्तो बुझाई फेरिँदैन दुर्घटना कम हुँदैन,’ उनले भने । विद्यालयदेखि बालबालिकालाई ट्राफिक नियमको बारेमा जानकारी दिनुपर्ने उनको सुझाव छ ।
जरिवाना कम हुँदा पनि दुर्घटनाको संख्या बढेको उनको बुझाई छ । उनले थप स्पष्ट पारे, ‘जापानमा दुर्घटना गरे नौ लाखसम्म जरिवाना गरिन्छ । चीनमा ६ महिनासम्म जेल पठाइन्छ तर हाम्रोमा एक हजार जरिवाना तिरे उम्किन्छ । के मान्छेको मूल्य एक हजार मात्र हो ?’
सडक दुर्घटना कम गर्न भाडाका सवारीसाधन, निजी सवारीसाधन, टिपरलगायतका सवारीसाधनलाई छुट्टाछुट्टै नियम बनाउनुपर्ने उनी बताउँछन् । यसका अलावा सवारी चालकहरूलाई तालिमको पनि व्यवस्था गर्नुपर्ने हाछेथुको भनाइ छ ।
‘नेपालमा सडक दुर्घटना गराउने अर्को कारण सडक हुन् । मान्छे हिँड्ने बाटोमा डोजर लगाएर मोटरबाटो बनाइन्छ । मोटरबाटो निर्माण गर्दा वैज्ञानिक आधारमा बनाउनुपर्छ । सकेसम्म कम घुम्ती भएको हुनुपर्छ,’ हाछेथुले भने ।
सवारीसाधन कन्डिसनमा नहुँदा पनि दुर्घटना हुने गरेको उनी बताउँछन् । सयम समयमा सवारीसाधनको मर्मत सम्भार गरी कन्डिसनमा राखे दुर्घटना कम हुने उनको ठम्याइँ छ । चालक र साहुमा धेरै पैसा कमाउने मोहले पनि सडक दुर्घटना निम्त्याउने गरेको छ । छिटो चलाए एक टिप बढी चलाउन पाइन्छ र पैसा पनि आउँछ भन्ने सोच धेरै चालक र साहुमा रहेको उनी बताउँछन् । यसले गर्दा तीव्र गतिमा सवारी साधन चलाइन्छ र दुर्घटना हुनेगर्छ ।
हाछेथुको बुझाईमा नेपालमा सडक दुर्घटना बढी हुनुको अर्को कारण हो( युवा चालक । उनका अनुसार नेपालमा धेरै सवारी चालकहरू ३० वर्षभन्दामुनिका छन् । यो उमेर समूहमा जोश बढी हुने हुँदा सवारीसाधनको गति तिव्र हुनेगर्छ, जसले दुर्घटनाको जोखिम बढाउने गर्छ । न्युज कारखाना