सञ्चारमन्त्रीलाई आक्रोश पत्र (भिडियो सहित)

ज्ञानेन्द्रबहादुर कार्की ज्यू
मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,
तथा प्रवक्ता, नेपाल सरकार सिंहदरबार काठमाडौं ।

जिल्लाबासीको नाताले होइन, अभिब्यक्ति स्वतन्त्रताको एउटा बाटो थुन्ने प्रयासको खवरदारी गर्न पत्र बोल्दैछु ।

सञ्चार मन्त्री ज्यू, मैले भनिरहनु नपर्ला कि, यो २१ औं शताब्दी हो । तपाईं प्रविधि मन्त्री समेत हुनुभएकोले बुझ्नु पनि भएको होला, यो प्रविधिको युग हो । यस युगलाई समयले आविश्कार गरेको चेतनाको चस्माले हेर्न जानिएन भने अन्धकार पनि देखिन सक्छ ।

राजनीतिक भाषामा नै उदाहरण खोज्नु हुन्छ भने हेर्नुहोला एउटा समूह अहिले पनि जनताका प्रतिनिधिलेभन्दा राजाले चलाउने ब्यवस्था नै सही भनेर १८ औं शताब्दीको चेतना बोलिरहेको छ । के गणतन्त्रले अराजकता स्थापित गरेकै हो ? संसार किन गणतन्त्रको पक्षमा छ भने राजनीतिक विकासको सुल्टो बाटो यही नै हो ।

नियन्त्रणको नाममा युट्युब च्यानलाई ५ लाखको भारी बोकाउने निर्णय आधुनिक सञ्चार माध्यमलाई निस्तेज गर्ने तानाशाही सोचको उपज सिबाय केही होइन । यसले अभिब्यक्ति स्वतन्त्रताको कुठाराघात नै गर्छ । मन्त्री ज्यू, उल्टो बाटो भनेको तपाईंले चाल्न खोजेको कदम नै हो ।

हो, युट्युब च्यानलले केही हदसम्म अराजक ब्यवहार प्रदर्शन गरेकै छन् । तिनलाई नियन्त्रणको आवश्यकता छ । तर के तपाईंले तोकेको ५ लाखले ती अराजकता मच्चाउनेहरु चुप हुने ज्ञारेन्टी हुन्छ ? लेखेर राख्नुहोला, ५ लाख रुपैयाँ लिएर तिनै अराजकताका प्रतिनिधिहरु सवैभन्दा पहिला तपाईं कहाँ आइपुग्ने छन् । र, मल्टिमिडिया मार्फत अनुशासितरुपमा सूचनाको खेती गर्नेहरु भने पक्कै बन्द हुनेछन् । के तपाईंले चाहेको परिणाम यस्तै हो ?

मन्त्री ज्यू, यहाँलाई हेक्का रहोस्, ‘कन्टेन्ट’ नियन्त्रणको आफ्नै नियम छ, युट्युबको । अराजकता मच्चायो, भ्रम फैल्यायो, अनुसन्धानलाई प्रभावित पार्यो, आफैं न्यायाधिश बन्यो जस्ता आरोप लगाएर रुनु जरुरी छैन । नियमन निकायले चाहायो भने युट्युब मार्फत त्यस्ता च्यानललाई तत्काल कारबाही गराउन सक्छ । र, बन्द पनि गराउन सक्छ । अर्को पनि हेक्का रहोस्, युट्युब नेपाल सरकारको लगानीमा बनेको संस्था होइन ।

सामाजिक सञ्जालमा ‘लिंक बुष्ट’ गरेर करोडौं रुपैयाँलाई डलरमा अनुबाद गर्दै विदेश पठाई रहेकाहरुको कदम रोक्न सक्नु हुन्छ मन्त्री ज्यू ? कदापी सकिरहनु भएको छैन । बरु तपाईंलाई तिनै ‘लिंक बुष्ट’ वालाहरुले युट्युब मार्फत देश भित्रिरहेको करोडौं रुपैयाँ रोक्न उक्साई रहेका छन् । फेरि हेक्का रहोस् युट्युब मार्फत करोडौं रुपैयाँ देश भित्रिरहेको छ । तपाईं भने त्यस्ता राष्ट्रघातीको सल्लाह मानेर युट्युबलाई कोर्रा हान्न उक्सिनु भएको छ ।

मन्त्री ज्यू, अवको पत्रकारिता भनेको मल्टिमिडिया मार्फत नै हुने हो । आफूलाई मुलधारको सञ्चार माध्यम भनेर गौरब गर्नेहरुलाई यो यथार्थ पचेको छैन । यस्तै थोत्रा सोच बोकेका कथित मुलधारेहरुले दिएको सल्लाह मानेर यहाँले राष्ट्रिय प्रसारण नियमावली संसोधन गर्नुभएको हो भने तत्काल फिर्ता लिइहाल्नुस् । होइनभने तपाईंको यस कदमलाई इतिहासले धिक्कार्ने छ ।

पुरानो उखान दोहोर्याउँछु मन्त्री ज्यू, ‘सूर्य हत्केलाले छेकिन्न’ । त्यसैगरी विकास पनि अबरोध हुन सक्ला तर रोकिन्न । ‘मल्टिमिडिया’ सञ्चार जगतको सबैभन्दा प्रभावकारी माध्यम हो । यो स्थापित भएरै छोड्छ । र, भएरै छोड्छ, मुलधारको पत्रकारिताको माध्यम । तर, तपाईं शासकहरुको ‘कर्के’ नजरलाई भने हरेक युट्युबरले पटक–पटक संझने छन् ।

अन्त्यमा– मन्त्री महोदय, नानीले आची गर्यो भने, धुने हो । सफा गर्ने हो । चाक काट्ने होइन । यस्तो गल्ती कुनैबेलाका शासकले नाक काटेकोभन्दा भारी पर्न सक्छ । चेतना भया ।

दिवस गुरागाईं
तपाईंले नचिनेको सञ्चारकर्मी
जिल्ला–सुनसरी
२०७८।११।२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *