मणि थापा नेकपा (एमाले) को स्थायी समिति सदस्य हुन् । गत वर्ष २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकतालाई उल्ट्याएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई नै कायम गरिदियो । नेकपामा उनी स्थायी समिति सदस्यका साथै सांस्कृतिक विभाग प्रमुख थिए ।
अदालतले पूर्ववत पार्टीलाई ब्युँताई दिएपछि थापाले नेकपा (एमाले) लाई रोजे । थापाले माओवादी ‘जनयुद्ध’ सुरु हुनु अघि र पछि समेत गरी दर्जनौ कालजयी गीत रचेका छन् । माओवादी आन्दोलनको भावभूमीमा टेकेर प्रकाश सपूतले गत शुक्रबार मात्र एउटा गीत सार्वजनिक गरे । उक्त गीतमाथि माओवादीको एउटा पक्तिले धुँवाधार विरोध गरिरहेको छ । प्रस्तुत छ, कालजयी गीतका रचनाकार थापासँग नेपालमुहारले सपूतको त्यही गीतमाथि गरेको छोटो कुराकानीको सारांश :
ऐतिहासिक विषयवस्तु, संवेदनशील भावभूमीमा गरिने सृजनाहरुमा सर्जकहरु अलि बढी नै गम्भीर बन्न सक्नु पर्छ । गम्भीर सृजनाहरु गर्दा सर्जकले गम्भीर भएर नै सोच्नु पर्छ । विषयवस्तु ऐतिहासिक र यथार्थ हुँदाहुँदै पनि त्यसले समाजमा, त्यसभित्रको सानो समूहमा असन्तुष्टि जन्मायो । त्यसले सर्जकलाई नै असर पर्ने काम गर्नसक्छ ।
प्रकाश सपूतको पछिल्लो ‘पिर’ गीतमा विशेषतः जनयुद्ध लडेका महिला लडाकूहरु देह व्यापारमा छन् भन्ने जानेर नजानेर देखाइएको छ । त्यसले समग्र आन्दोलन र त्यसमा आवद्ध महिला पक्षलाई संकटमा पार्ने कोशिश गरेको छ । त्यसमा सर्जक अलि बच्नु पर्ने थियो, त्यसमा उनी केही हदसम्म चुके भन्ने मेरो मान्यता छ ।
पिर गीतमा जे विवाद उठेको छ, सर्जकलाई जसरी लखेटिँदै छ, लाग्छ उनले त्यसरी त्यो विषय वस्तुलाई उठाउन खोजेका पक्कै होइनन् । बरु संवेदनशीलतालाई देखाउन खोजेका हुन् । सर्जक र उनको परिवार माओवादी विद्रोहलाई माया गर्ने परिवार नै हो । सर्जक प्रकाश सपूतका भाइले छापामारहरुमाथि गाएको एउटा गीत निकै मर्मस्पर्शी छ । त्यसकारण प्रकाश सपूतले पनि माओवादी विद्रोहलाई बदनाम गराउन मात्र यो गीत पक्कै गाएका होइनन् भन्ने मेरो बुझाई छ । उसले यस्तो पनि छ है भन्ने देखाउन खोजेका हुन् । तर, त्यही कुराले माओवादीको एउटा पंक्तिलाई हान्यो । त्यसैले उनीहरु सर्जकलाई लखेटनतिर लागे । सर्जकलाई लखेट्नतिर होइन, समाधानको विषयतिर जाँदा नै न्याय हुन्छ ।
नेपाली समाज जति विद्रोही छ, त्यतिकै भावनात्मक पनि छ । जनयुद्ध लडेका छापामार युवतीहरु व्यक्तिगत वाध्यतामा कोही देह व्यापारमा पनि संलग्न हुन वाध्य भएका होलान । तर, गीतमा समग्र आन्दोलनलाई नै देखाईएको छ । जसले गर्दा आन्दोलनमा लागेका समग्र महिला त्यस्तै कार्यमा लागेका छन् कि जस्तो देखाएको छ । यद्यपि त्यसले समग्र महिलाको प्रतिनिधित्व गर्दैन ।
सहजै बुझ्न सकिन्छ, सपूतको गीतले माओवादीभित्रको एउटा वर्ग, आन्दोलनलाई थोरै प्रश्न उठाई दियो । त्यसैले त्यसमा संलग्न एउटा पंक्तिलाई थोरै उत्तेजित बनाइ दियो । मैले माथि नै उल्लेख गरेँ, सपूतले सही सन्देश दिन कोसिस गरेका थिए । तर, केही प्राविधिक त्रुटीले (जस्तो : युद्धको दृश्य नदेखाईदिएको भए) संवेदना, भावनालाई छोएर विवादमा आयो ।
कवि पूर्णविरामको एउटा कविता छ, ‘हारेको युद्धको नतिजा यस्तै हुन्छ ।’ अर्को उदाहरण पनि छ, सोभियन संघ विघटन भएपछि त्यस देशका धेरै महिलाहरु देह व्यापारमा संलग्न भए । तर, पुरै रसियन महिला वेश्या थिएनन् । के बुझ्न जरुरी छ भने जनयुद्धमा सहभागी महिलाहरु यस्ता घटनामा संलग्न हुन वाध्य होलान् । तर, त्यो आन्दोलनमा सहभागी सबै महिला देह व्यापारमा संलग्न छैनन् । यस्तो संदेश दिन खोज्नु हुन्न थियो ।
सर्जक प्रकाश सपूत विशुद्ध व्यवसायिक छन् । समाजको भुईँ तहबाट आएका उनी राम्रो कलाकार हुन् । तर, यस गीतले गर्दा अर्कै ‘मिसन’ मा भए जस्तो देखिए । यो गीत जनयुद्धको सहानुभूती बटुल्न नै सृजना गरिएको हो । सानो प्राविधिक त्रुटीले विवादमा परे । सर्जक र सृजनाको दुर्भाग्य यही हो ।
तर, यो गीत र यसको प्रस्तुति भने उत्कृष्ठ छ ।