काठमाडौँ । साउदी अरबका परराष्ट्रमन्त्री १२ वर्षपछि आज नेपाल भ्रमण आउँदै छन् । साउदी अरबको राजकुमार समेत रहेका फैजल बिन फरहान बिन दुई दिने नेपाल भ्रमणमा रहने छन् ।
साउदीबाट नेपालको लागि १२ वर्षदेखि उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । सन् २०१० मा साउदीका तत्कालीन राजकुमार अलवालिद बिन तलाल नेपालमा अनौपचारिक भ्रमण आएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा भएको सो भ्रमणमा तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित गरिएको थियो ।
नेपालबाट सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य साउदीको औपचारिक भ्रमणमा गएका थिए । यससँगै सन् २००५ मा तत्कालीन युवराजधिराज पारस साउदीका राजाको निधनमा श्रद्धाञ्जली दिन साउदी पुगेका थिए । त्यसबाहेक नेपालबाट समयसमयमा मन्त्रीस्तरको भ्रमण भइरहेको थियो । तर केही समययता अन्यमूलुकसँगै साउदी अरबसँग पनि नेपालको सम्बन्ध विस्तारै चिसिँदै गएको पाइन्छ ।
राजकुमारका २४ घण्टे कार्यक्रम
२४ घण्टे भ्रमण रहने उनी श्रीलंकाको राजधानी कोलम्बो हुँदै नेपाल आउने मन्त्रालयले जनाएको छ । चार्टड विमानबाट नेपाल आउने फैजललाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको छ ।
उनी अपरान्ह ४ बजे त्रिभूवन विमानस्थलमा आइपुग्ने छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।
भ्रमणमा नेपाल र साउदी सरकारबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुने भएको छ । वैदेशिक रोजगारीमा अरब पुगेका दुई नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको थियो । ती नेपालीलाई आममाफी दिन विदेशमन्त्रीलाई अनुरोध गरिने कार्यक्रम छ।
को हुन् फैजल ?
१९७४ नोभेम्बरमा जर्मनीमा उनको जन्म भएको हो । २०१७ मा राजनीतिमा प्रवेश गरेका फैजल केही समय कुटनीतिज्ञता हैसियतमा आबद्ध रहे । उनी २०१९ अक्टोबरमा परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए । उनलाई राजा सलमानले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।