जनार्दन vs वर्षमान– शक्तिको खेलमा को बन्लान्, बलशाली ? (भिडियो सहित)


नेकपा (माओवादी केन्द्र) लाई आफ्नो पकडमा राख्न तिव्र आन्तरिक घर्षण गरिरहेका दुई नेताहरुको राजनीतिक ऊहापोह ।
माधव बस्नेत
एउटा अलि अग्लो, पातलो । अर्को ठिक्कको मोटो, अलि होचो ।
एउटाको अनुहारमा सधैं ‘फ्रेन्चकट’ दारी । अर्को चीनियाँ अनुहारसँग मिल्दो ।
एउटाको आवाज तिख्खर, खरो । अर्कोको कुटनैतिक लवजको सानो, मधुर ।
एउटा हेर्दा नै अलि चञ्चल, बाठो जस्तो । अर्को शान्त, भलाद्मी, अलि कुटिल जस्तो ।

पाठकहरुले पक्कै अनुमान गरिसक्नु भयो होला, यी हुलिया भएका पात्रहरु हुन्, नेकपा (माओवादी केन्द्र) का नेताद्धय जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’ । उनीहरुको हुलियाको फेहरिस्त अझ् तन्काउन सकिन्छ । तर, परिचयकालागि सायद यति कै काफी छ ।
पार्टी पंक्ति बाहिर उनीहरु जनार्दन र वर्षमानका नाममा जति स्थापित हुँदैछन् । पार्टी पंक्तिभित्र प्रभाकर र अनन्तका रुपमा पकड जमाउन उत्तिकै प्रयासरत छन् ।

गएको २० फागुनमा बसेको सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको एउटा मुख्य ‘एजेण्डा’ थियो, पदाधिकारी चयन गर्ने । पदाधिकारी चयन सकस भएपछि सहमति जुटाउन भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ र २२ फागुनको बैठक नै स्थगित गरे । तर, नेताहरुबीच अनेक चरणमा छलफल हुँदा पनि सहमति जुट्न सकेन । त्यसैले मुल विषयमा प्रवेश नै नगरी आउँदो २० जेठसम्मका लागि माओवादीले बैठक स्थगित गर्नु परेको छ ।

पदाधिकारी चयन हुन नसक्नुको चुरो कारण हो, महासचिवमा रुकुम भर्सेस रोल्पाका दुई शक्तिशाली पात्रहरु जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’ को आन्तरिक घर्षण ठूल्ठूला भूकम्पहरु ल्याउने ‘टेक्टोनिक प्लेट’ जस्तै हुनु । भन्नका लागि महासचिवका दाबेदार कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसालसमेत भएकाले शक्ति संघर्ष पेचिलो बनेको भनिएको छ । तर, जानकारका भनाइमा गाँठी कडी शर्मा र पुन मात्र हुन् । माओवादी केन्द्रले ११–१८ पुस ०७८ मा राजधानीको प्रज्ञा भवनमा आठौं महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले २४७ सदस्यीय केन्द्रीय समिति छनौट गर्यो ।

अनि १९ पुसमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको केन्द्रीय सदस्यहरुको उपस्थितीले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गर्यो । माओवादीले विधानमा एक वरिष्ठ उपाध्यक्ष, ७ जना वरिष्ठ उपाध्यक्ष, एक महासचिव, तीन जना सचिव, एक जना कोषाध्यक्षसहित पदाधिकारीको व्यवस्था गरेको छ । तर, महाधिवेशन हलले ति कुनै पनि पदाधिकारी छनौट गर्न सकेन ।
हेरिटेज गार्डेनबाट प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेपछि त्यसको ६ दिन पछि २५ पुसमा केन्द्रीय समिति बैठक बसेर पदाधिकारी छनौट गर्ने भन्दै स्थगित गरिएको थियो । माओवादीभित्र पुनको शक्ति कतिसम्म छ भन्ने बुझ्न एउटा घटना नै काफी छ । महाधिवेशन भइरहदा पुन उपचारका लागि चीनमा थिए । चीनमा रहेर पनि उनले आफू उपस्थित नभई महासचिव छनौट हुनै दिएनन् ।

शर्मा कति शक्तिका साथ उदाउँदै छन्, त्यो पनि यहीँ खुल्छ । किनभने उनले पुन उपस्थित भइसकेपछि महासचिव छनौटलाई अड्काईरहेका छन् । त्यही भएरै महाधिवेशन भएको पाँच महिनासम्म माओवादी केन्द्रमा पदाधिकारी छनौट न हाँसको चाल न कुखुराको चालमा हुँदैछ ।
महासचिवको प्रतिस्पर्धामा ‘टेक्टोनिक प्लेट’ झैं घर्षण गरिरहेका शर्मा र पुन को, कस्ता हुन् ? माओवादी आन्दोलनमा उनीहरुको योगदान र पृष्ठभूमी के छ ? उनीहरुको राजनीतिक ‘लिगेसी’ के हो ? एकछिन त्यसलाई नियालौ ।

जनार्दन शर्मा २०१९ साल बैशाख १२ गते रुकुमको तत्कालीन वडा नं. ६ मुसिकोटस्थित सेरीगाउँमा जन्मिएका हुन् । शर्माकै अनुसार उनी ०३४ सालबाट राजनीतिमा आवद्ध भएका हुन् ।०५० सालबाट भने शर्मा पूर्णकालीन भए । पूर्णकालीन हुनु अघि उनी कृषि प्राविधिक (जेटिए) थिए । उनले जेटिए भएर ५ वर्ष निजामती सेवा र कमाण्डरका रुपमा १० वर्ष जनमुक्ति सेनाको ‘फर्मेशन’ मा बिताएका छन् ।

वर्षमान पुन शर्माभन्दा नौ वर्षपछि २०२८ साल जेठ १० गते रोल्पाको तत्कालीन जंकोटस्थित माढीचौरमा जन्मिएका हुन् ।वर्ष एक, अङ्क एक, भाद्र ०६३ को‘प्रोफाइल’ मासिकमा पुनले गरेको कुरा अनुसार उनी ०४१ सालतिर अखिलमा संगठित भए । त्यसपछि लगातार कम्युनिष्ट आन्दोलनमा छन् । पुन ०४४ सालमा एसएलसी पास गरेर महेन्द्र क्याम्पस दाङमा भर्ना भएका थिए । ०४६ साल लगत्तै उनी पूर्णकालीन भए । ०४९ मा रोल्पा जिल्ला कमिटी सदस्य बने । ०५० मा रोल्पामा जनमोर्चाको सम्पर्क कार्यालयमा सचिव जस्तो भएर बसे । यही बेला प्रशासनले उनीमाथि एक दर्जनजति मुद्दा लगायो । यसपछि त्यही साल अर्थात ०५० मा पुन भूमिगत भए ।
पुनका अनुसार उनी रोल्पा सदरमुकाम लिवाङस्थित माध्यमिक तहमा पढ्दा कृष्णबहादुर महरा गणित र विज्ञान पढाउँथे । महरा एकदमै राम्रा शिक्षक र अत्यन्तै साधारण पनि थिए । तिनै महराको प्रभावले पुन वाम राजनीति, त्यसमा पनि तत्कालीन जनमोर्चा नेपालमा आवद्ध हुन पुगेका थिए । तर, राजनीतिको गोलचक्कर यस्तो कि उनै महरासँग यसबेला पुनको सम्बन्ध हार्दिक छैन ।

दुवैको पृष्ठभूमि ‘सैन्य’
१ फागुन ०५२ बाट औपचारिक रुपमा ‘जनयुद्ध’ सुरु गर्नु अघि नै माओवादीले एउटा नारा अघि सारेको थियो, ‘संगठनको रुप सेना र संघर्षको रुप युद्ध ।’ त्यसै अनुसार स्वयंसेवक दल, सुरक्षा दल र लडाकू दलको संरचना खडा गरी सैन्य दस्ता उत्पादन सुरु गरेको थियो । त्यही संरचना अनुसार शर्मा र पुन लडाकू दल हुँदै अहिलेको अवस्थामा आइपुगेका हुन् । जनयुद्ध थालनी गर्दा पश्चिममा रुकुम र रोल्पा अनि पूर्वमा सिन्धुली–काभ्रेलगायत जिल्ला त्यसको रापतापको केन्द्रमा थिए ।

रोल्पाको होलेरी, रुकुृमको राडीज्यूला र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकीमाथि निसाना केन्द्रीत गरेर माओवादीहरुले फौजी हमला ‘शुभारम्भ’ गरेका थिए । रोल्पाको होलेरी चौकी आक्रमण गर्दाका कमाण्डर पुन, सहकमाण्डर हाल उपराष्ट्रपतिको कुर्सीमा आसिन नन्दबहादुर पुन र कमिसार कृष्णबहादुर महरा थिए भने राडीज्यूलाको कमाण्डर गणेशमान पुन र कमिसार हेमन्तप्रकाश ओली थिए । राडीज्यूला प्रहरी चौकी आक्रमणमा कमाण्डर गणेशमान पुनले केही वर्ष अघि यस प्रतिनिधिलाई बताएनुसार त्यस फौजी कारबाहीमा कमला रोका, लालकुमारी रोका र नारायणी शर्मा तीन जना महिला सहभागी थिए । जसमध्ये नारायणी शर्मा जनार्दनकै कान्छी बहिनी हुन् । कमलासँग पछि गणेशमानले नै घरजम जोडे ।

राडीज्यूलाको पहिलो आक्रमणमाजनार्दन शर्मा स्वयं भने सहभागी थिएनन् । जानकारका अनुसार त्यसबेला उनी रुकुम–रोल्पासँगै जोडिएको सल्यान–प्यूठान जिल्लाका कमाण्डर थिए । ५ माघ ०५५ मा छापामारहरुले दाङको लोहारपानीस्थित झोल्नेटामा प्रहरी गस्तीमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणबाट छापामारहरुले ४ थान थ्री नट थ्री राइफल र १ सय २० थान गोली कब्जा गरेका थिए । त्यो आक्रमणको प्रशंसा गर्दै तत्कालीन सल्यान–प्यूठान जिल्ला इन्चार्ज शर्माले सार्वजनिक गरेको वक्तव्य वर्ष ८, अङ्क ११, माघ १२, मङ्गलबार ०५५ को जनादेशमा प्रकाशित छ । जहाँ उनको नाम प्रभाकर उल्लेख छ ।

२४ चैत्र ०५७ मा छापामारहरुले रुकुमको तकसेरा प्रहरी चौकीमाथि हमला गरे । उक्त आक्रमणमा परी इन्सपेक्टर तर्कबहादुर वलीसहित आठ प्रहरीको मृत्यु भएको थियो भने माओवादीहरुले ३७ थान थ्री नट थ्री राइफलसहित ४२ थान हतियार आफ्नो कब्जामा लिएका थिए । उक्त आक्रमणको कमिसार प्रभाकर र कमाण्डर पासाङ थिए । जुन वर्ष ९, अङ्क २२, बैशाख ६, ०५७ को जनादेशमा उल्लेख छ । २३ साउन ०६२ मा जनमुक्ति सेनाको पश्चिम डिभिजनले कालीकोटको पिलीमा सडक निमार्णमा संलग्न तत्कालीन शाही नेपाली सेनाको अस्थायी क्याम्पमाथि धावा बोल्यो । जसको कमाण्डर प्रभाकर अर्थात जनार्दश शर्मा नै थिए ।

अनन्त अर्थात वर्षमान पुन ८ मंसिर ०५८ मा माओवादीले दाङ सदरमुकाम घोराही, त्यहाँस्थित नेपाली सेनाको भगवती प्रसाद गुल्म र गोरखबहादुर गण कब्जा गर्दा पश्चिमाञ्चल सैन्य हेडक्वाटरप्रमुख थिए । १९ फागुन ०६० मा माओवादीको पूर्वी डिभिजनले भोजपुर सदरमुकाममाथि हमला गर्दाका कमाण्डर पनि उनै पुन थिए । १ माघ ०६२ मा ‘जनमुक्ति सेना’ को तेस्रो डिभिजनको विशेष फोर्सले काठमाडौंको थानकोट र भक्तपुरको दधिकोट प्रहरी चौकी आक्रमण गर्यो । त्यसबेला विशेष केन्द्रीय कमाण्डको इन्चार्ज समेत अनन्त नै थिए । ०७० मा लडाकूहरुलाई नेपाली सेनामा समायोजन गर्नु अघिसम्म ‘पी.एल.ए.’ का सुप्रिम कमाण्डर प्रचण्ड एवंप्रमुख पासाङ थिए । अनि डेपुटी कमाण्डर वर्षमान पुन, जनार्दश शर्मा र चन्द्रप्रकाश खनाल ‘वलदेव’ थिए । भलै, त्यसबेलासम्म पुन र शर्मा दुवैले राजकीय पद अर्थात मन्त्रीको जिम्मेवारी सम्हालीसकेका थिए ।

परिवारवाद मोह उस्तै
शर्मा र पुन दुवैमा परिवार मोह अगाध छ । राजनीतिज्ञका लागि कहिले काहिँ यसलाई सफलताको कडी मान्न सकिएला । तर, धेरै दृष्टान्तहरुले पुष्टि गरेका छन्, परिवार मोह नै उनीहरुलाई सफल बन्न नदिने खास गलगाँड हो । प्रसंग सुरु गरौं,यसबेला अर्थमन्त्री रहेका शर्माबाटै ।शर्माका पाँच जना दाजुभाइ दिदीबहिनी छन् । यी सबैलाई शर्माले राजनीतिक नेतृत्व र कमाउ ठाउँमात पुर्याएका छन् नै,अन्य नातेदारहरुलाई पनि उत्तिकै राजनीतिक/आर्थिक छहारी दिएका छन् ।

शर्माले माइलो भाइ ओपेन्द्र शर्मालाई गोरखा पत्र संस्थानको उपल्लै जिम्मेवारीमा पुर्याए । कान्छा भाइ अनिल शर्मालाई अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्ष बनाउन ठूलै प्रयास गरेका थिए । भलै, वर्षमान पुनकै कारण त्यसमा उनी सफल हुन सकेनन् । पुनको समर्थनमा अध्यक्षको प्रत्यासी बनेका झापाका रञ्जित तामाङले शर्माको योजनालाई असफल बनाईदिए । यसपछि शर्माले ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. एकबाट भाइ अनिललाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग प्रतिस्पर्धामा उतारे ।स्मरणीय छ, ०७० को निर्वाचनमा त्यस क्षेत्रको प्रतिस्पर्धी प्रचण्डकी माइली छोरी रेणु थिइन । शर्माले अनिललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बनाउने प्रयास समेत गरेका थिए ।

३ जेठ ०७५ मा नेकपा बन्नु अघि शर्माले परिवार/नातेदारबाट श्रीमती लक्ष्मी शर्मा, माइलो भाइ ओपेन्द्र शर्मा, कान्छो भाइ अनिल शर्मा, कान्छी बहिनी नारायणी शर्मा, जेठो बहिनी ज्वाईँ ओमनाथ ढुङ्गाना, कान्छी बहिनी ज्वाईँ लुमाकान्त न्यौपाने, काकाका छोरा भीमप्रकाश शर्मा, उनकी श्रीमती विमला केसी, मामाका छोरा राजकुमार शर्मा, उनकी श्रीमती प्रतिमा केसी, अर्का मामाका छोरा गोपाल शर्मा, विशाल शर्मा, नातेदार उमाकान्त शर्मा, तिलकराम शर्मालगायतलाई केन्द्रीय सदस्य बनाएका थिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता एवं विश्लेषक गुणराज लोहनीका शब्दमा शर्मा परिवारबाट सबैभन्दा बढी केन्द्रीय सदस्यमा बनाउने नेताको अग्रपक्तिमा शर्मा पर्छन । परिवार मात्रै होइन, आफू निकटका महेन्द्रबहादुर शाहीलाई कर्णाली प्रदेशको मुख्य मन्त्री बनाउन समेत शर्माको ठूलो हात छ । कर्णाली सरकारमा मन्त्रीहरुका विमला केसी, गोपाल शर्मालगायत पुर्याउन पनि शर्माले उत्तिकै भूमिका खेलेका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका प्रमुख गोरखबहादुर केसी पनि शर्माकै ‘पकेट’ हुन् । यस्तो सूची लामै छ ।

पारिवारिक आफन्तहरुलाई च्याप्ने मामिलामा पुन पनि शर्मा भन्दा रत्तिभर कम छैनन् । अर्थात अवसर लुट्न यी नेता कोही भन्दा कोही कम छैनन् । पुनले एउटी बहिनीलाई रोल्पा नगरपालिकाको उपप्रमुख बनाएका छन् भने अर्की बहिनी लालकुमारी पुनलाई ललितपुरबाट प्रदेश सभा सदस्य बनाएका छन् । आफूले मन्त्री नपाएका बेला आलोपालो श्रीमती ओनसरी घर्तीलाई युवा तथा खेलकुल मन्त्री, संविधान सभा उपसभामुख, प्रतिनिधि सभाको सभामुख बनाएका छन् ।
पछिल्लो समयमा पुनकी श्रीमती घर्ती पार्टीको लुम्बिनी प्रदेशको अध्यक्ष थिइन । यस विषयमा प्रश्न उठेमा श्रीमान–श्रीमती नै पूर्णकालीन भएकाले अर्थात युद्धमा श्रीमानको जत्तिकै योगदान श्रीमतीको पनि भएकाले ती महत्वपूर्ण पदहरु प्राप्त हुन सकेका भन्ने गरिएको छ । तर, श्रीमानसँगै भूमिगत भएर उत्तिकै योगदान गरेकाहरु अमृता थापामगर, यशोदा सुवेदी गुरुङ, वन्दना सुवेदी श्रेष्ठजस्ता सैयौं त्यस्ता महिलाहरु छन्, जो ओनसरीभन्दा अब्बल क्षमतावान हुँदाहुँदै पनि श्रीमान पहुँचमा नभएकाले नैअवसरबाट बञ्चित छन् । पुनले एउटा भाइलाई ठेक्का पट्टामा जम्न पनि उत्तिकै धाप दिएका छन् ।

एकअर्काबीच प्रतिस्पर्धा
जानकारका अनुसार शर्मा र पुनदुवैले प्रचण्डलाई फकाएर भन्दा धम्क्याएरजिम्मेवारी लिन्छन् । उनीहरुको स्वभाव र चरित्र थाहा पाउँदा पाउँदै पनि प्रचण्ड किन गल्न वाध्य भएका छन् भने दुवैले कार्यकर्ताहरुको एउटा हिस्सा आफ्ना पछि लगाएका छन् । मन्त्री हुन र एकले अर्कालाई असफल बनाउन पनि उनीहरुबीचमा उत्तिकै प्रतिस्पर्धा छ ।

उदाहरणका लागि गणतन्त्र स्थापनापछि प्रचण्डको नेतृत्वमा ६ भदौ ०६५ मा बनेको सरकारमा शर्मा शान्ति तथा पुनःनिर्माण मन्त्री भए । त्यसबेला उनले त्यस मन्त्रालय मातहत राम्रै काम गरे । प्रधान सेनापति काण्डमा प्रचण्डले २० बैशाख ०६६ राजीनामा दिनु पर्यो । यसपछि माधव नेपाल प्रधानमन्त्री बने । यस सरकारमा माओवादी सहभागी भएन ।

नेपालपछि एमालेकैअध्यक्ष झलनाथ खनाल २० माघ ०६७मा प्रधानमन्त्री भए । खनाल सरकारमा पुन मन्त्री बने । रोचक के भने उनले त्यसअघि शर्माले नेतृत्व गरेको शान्ति तथा पुनःनिर्माण मन्त्रालयमै आँखा गाडे । २० माघ देखि २८ चैत०६७सम्म पुन शान्ति तथा पुनःनिर्माण र युवा तथा खेलकुद मन्त्री बने । पार्टीभित्रको बढ्दो कलहले पुनले यी मन्त्रालयबाट राजीनामा दिनु पर्यो ।
आफू सरकारबाट हटे लगत्तै उनले २१ वैशाख ०६८ देखि १२ भदौ ०६८ मा खनाल सरकारमा श्रीमती ओनसरीलाई युवा तथा खेलकुद मन्त्री बनाए । खनालपछि बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारमा २९ भदौ ०६८ देखि १ चैत ०६९ सम्म पुनले अर्थमन्त्रीमा छलाङ मारे । त्यसबेला शर्मा बाहिरै बस्न बाध्य भए । भट्टराई पछि खिलराज रेग्मी सरकार बन्यो । यसमा कुनै पनि पार्टीका नेताहरु सहभागी हुन पाएनन् ।

मंसिर ०७० को निर्वाचनपछि ७ वैशाख ०७१ देखि २७ साउन ०७३ सम्म शर्मा संसदको महत्वपूर्ण सार्वजनिक लेखा समिति समितिको सभापति बने । यो निर्वाचनमा मोरङबाट उम्मेदवार बनेका पुन भने पराजित भएका थिए । तर, पनि उनले श्रीमतीका लागि कुनै न कुनै भाग लिएरै छाडे । पुस ०७० देखि ३ असोज ०७२ सम्म ओनसरीले उपसभामुखको कुर्सीमा आसन जमाइन । संविधान जारी भएपछिको समिकरणमा २९ असोज ०७२ देखि ०७४ को संसदले नयाँ सभामुख नियुक्त नगरुन्जेल घर्तीले सभामुख नै पड्काइन ।

संविधान जारी भएपछि २४ असोज ०७२ मा केपी ओलीको नेतृत्वमा सरकार बन्यो । यस सरकारमा शर्मा र पुन दुवै सहभागी हुन सकेनन् । माओवादीका अरु नै नेताले वाजी मारे । ओली सरकार ढालेर नेपाली कांग्रेसको सहयोगमा २० साउन ०७३ मा प्रचण्ड आफैं प्रधानमन्त्री बने । त्यसको १० दिनपछि ३० साउनमा शर्मालेउर्जा मन्त्रालयको कुर्सीमा आसन जमाए । लोडसेडिङ अन्त्य गर्न नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई ल्याएर शर्माले वाहवाह समेत कमाए ।

२३ जेठ ०७४ मा प्रचण्डले प्रधानमन्त्रीको कुर्सी शेरबहादुर देउवालाई हस्तान्तरण गरे । उर्जा मन्त्री हुँदा कमाएको प्रशंसाका कारण शर्मा देउवा सरकारमा गृह मन्त्री भए । गृहमन्त्रीका रुपमा पनि शर्माको कार्यकाल खासै विवादित भएन ।

३ फागुन ०७४ मा केपी ओलीको नेतृत्वमा सरकारमा गठन भए लगत्तै पुनले त्यसअघि शर्माले सम्हालेको गृह मन्त्रालयको लगाम समाउन भगिरथ प्रयत्न गरेका थिए । तर, त्यसमा पुन सफल भएनन् । गृह मन्त्रीको कुर्सीमा रामबहादुर थापाले वाजी मारे । पुनलाई गृह मन्त्री बन्न नदिन शर्माले थापाका पक्षमा भएभरको बल लगाएर पापड पेलेका थिए । त्यसपछि पुन शर्माले वाहवाह कमाएको उर्जा मन्त्रालयकै रथ हाक्न अघि सरे । तर, उनले शर्माले जस्तो ‘लोकप्रियता’ कमाउन सकेनन् ।

अदालतको आदेशपछि गठन भएको देउवा सरकारमा शर्माले विगतमा पुनले सम्हालेकै अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका छन् । तथापि उनी उर्जा मन्त्री हुँदा जसरी ‘हिरो’ भएका थिए । अर्थमन्त्रीका रुपमा भने उनले त्यो साख उचो बनाउन सकिरहेका छैनन् ।

सहकर्मीहरुको नजरमा शर्मा र पुन
नेकपा (माओवादी) निकट शिक्षक संगठनका पूर्व अध्यक्ष गुणराज लोहनी, जो शर्मा सेती–महाकाली व्युरो प्रमुख हुँदा बैशाख ०६० देखि जेठ ०६१ सम्म उनीसँगै रहे, का भनाइमा शर्मा जनयुद्धकालमा आफैं फिल्डमा खट्ने, हाफ पाइन्ट लगाएर एम १६ राइफल बोकेर तत्कालीन दुश्मनको फौजसँग लड्न जाने पात्र हुन् । जस्तो कि ०६० मंसिर १५ गते कैलालीको खिमडीमा शाही नेपाली सेनासँग भिडन्त भएको थियो । त्यो भिडन्तमा शर्मा एम १६ बोकेर आफैं लड्न गएका थिए । ‘जनार्दश शर्मा अहिले प्रचण्डलाई के गर्छन, मलाई थाहा हुने कुरा भएन । मैले संगत गरुन्जेल उनी आफूलाई बाहेक कसैलाई मान्छे गन्दैनथे । शर्मा सेती–महाकाली व्युरो इन्चार्ज हुँदा पश्चिम कमाण्डको इन्चार्ज पोष्टबहादुर बोगटी थिए । उनी बोगटी– देव गुरुङलगायतलाई अलिकति पनि मान्दैनथे’, लोहनी भन्छन्, ‘शर्मा भयंकर महत्वकांक्षी मान्छे हुन् । जनयुद्धकालमै रुकुम–रोल्पाका नेताहरुबीच ठूलो द्धन्द्ध थियो । रुकुममा हेमन्तप्रकाश ओली, लोकेन्द्र विष्ट शर्माभन्दा पुराना नेता थिए । तर, उनीहरु लामो समय जेल परे । त्यसैले शर्मा छिट्टै माथि आउन पाए । सेती–महाकालीमा गएर संगठन/सेना पनि राम्रो बनाए । जनयुद्धमा पहिलो पटक एम १६ पनि उनैले खोसे ।’

शर्मामा ठा–ठाडै खुलमखुला कुरा गर्ने विशेषता रहेको लोहनी बताउँछन् । ‘हुन्छ हुन्छ, हुन्न हुन्न, सामुन्नेमै भनिदिन्छन् । व्यवहारिक छन् । हुने र सक्ने काम गरिदिन्छन पनि । क्षमता चाहिँ शर्माको धेरै छ’, लोहनी विश्लेषण गर्छन्, ‘वर्षमान पुन भयंकर कुटनीतिक मान्छे हुन् । कम बोल्ने, आफ्ना सीमित मान्छेका लागि जतिसुकै, जेसुकै काम पनि गर्छन । राजनीतिभन्दा कुटनीतिमा बढी सिपालु छन् । पुन कुटनीतिक भएकाले संगठन परिचालन उनको क्षमता राम्रो छ । बसेर कुरा गर्दा राम्रै प्रभाव पार्न सक्छन ।’ लोहनी थप बताउँछन्, ‘रोल्पाका मगर समुदायमा पुनको ठिकै सम्बन्ध छ । एक छत्र राज छैन । त्यहाँ महरा, पासाङ पनि छन् । पुनको कार्यक्षेत्र पूर्वमा समेत परेकाले बरु त्यतातिर उनको राम्रै प्रभाव छ । यता रुकुममा चाहिँ शर्माको एकलौटी पकड छ ।’

तत्कालीन नेकपा (माओवादी) का स्थायी समिति सदस्य एवं हाल नेकपा (एमाले) का स्थायी समिति सदस्य मणि थापा, जो वर्षमान पुन पूर्वी डिभिजन कमाण्डर हुँदा बटालियन कमिसार थिए्, का शब्दमा वर्षमान कुनै राजनीतिक पृष्ठभूमिबाट उठेका पात्र होइनन् । मुखिया, जिम्वाली परिवेशबाट उनी नेताका रुपमा उदाए । ‘पुन अहिले जुन स्थानमा भएपनि उनको चिन्तन, कार्यशैलीले राष्ट्रिय नेताको हैसियत बनाउने परिवेश दिँदैन । किनकी उनी एकदमै स्वार्थी, जातिवादी र क्षेत्रियतावादी छन्’, खरो विश्लेषणका धनी थापा भन्छन्, ‘शर्माले राजनीतिलाई खेलका रुपमा बुझ्छन् । राजनीतिमा नम्स, भ्यालु हुन्छन् भन्ने भन्दा पनि मात्र नेतृत्वका रुपमा लिन्छन् ।‘
थापाको थप कथन छ, ‘पुन र शर्मा दुवैको महत्वकांक्षा समान छ । यी दुवै अति महत्वकांक्षी हुन् । दुवै माओवादी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने योजनामा छन् । उनीहरु एकअर्काका परिपुरक हुनु पर्नेमा चरम महत्वकांक्षाकै कारण एकले अर्कालाई शत्रुता साँधिरहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *