सरकार ‘प्रो अमेरिकन’ – पूर्व प्रधानमन्त्री झलनाथ खनाल


पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रसियाले युक्रेनमा गरिरहेको आक्रमणमा नेपाल सरकार प्रो अमेरिकन बनेको बताएका छन् । राजधानीको अल्फाविटा भवनमा आज अपरान्ह सम्पन्न रसिया–युक्रेन द्धन्द्ध, चुनौती र संभावना – संभावित विश्व मामिला विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री खनालले उक्त कुरा बताएका हुन् । हतार गरेर सरकार युक्रेनको पक्षमा उभिएको उनको टिप्पणी थियो । चीन, जापान जस्ता देशहरुका लागि नेपाली राजदूत नियुक्त नगरेर सरकारले संशय उत्पन्न गराएको खनालको भनाइ छ ।

देशभक्त वुद्धिजीवीको राष्ट्र निमार्ण अभियानले आजको कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको पहिलो सत्रमा प्रा.डा. युवराज संग्रौलाले रसिया–युक्रेन द्धन्द्धपछिको विश्व र नेपाल, नेपालको स्वतन्त्रता, सुरक्षा र असंलग्न तथा तटस्थ कुटनीतिका लागि अभियानको आवश्यकता किन ? प्रा.डा. सूर्यराज आचार्यले वर्तमान विश्व व्यवस्था र अर्थ राजनीतिको गन्तव्य कस्तो हुनु पर्छ ः नेपालको सन्दर्भ र चुनौती, डा. खगेन्द्र प्रसाईँले पुँजीवादी पश्चिम अन्य बीचको अन्र्तद्धन्द्धको निकास के हो ? शिर्षकमा आफ्ना मत राखेका थिए ।

दोस्रो सत्रमा रसिया–युक्रेन द्धन्द्धपछिको राजनीति र एमसीसी सम्झौता पारित पछि नेपालले सामना गर्नु पर्ने चुनौती र संभावनामाथि पूर्व प्रधानमन्त्री खनाल र नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पौडेलको आफ्नो धारणा राखेका थिए । कार्यक्रमको तेस्रो सत्रमा डा. शरद वन्तले आणविक त्रासदीको खतरा, उपप्रधाध्यापक अमृत खरेलले अन्तराष्ट्रिय कानूनको प्रभावकारिता, डा. महेश मास्केले नेपालको भूराजनीतिको गन्तव्य डा. अतिन्द्र दाहालले नेपाल र चीनको सम्वन्धमा टिप्पणी गरेका थिए ।

यसपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसका पूर्व प्रमुख डा. दुर्गा संग्रौला, कानूनका अध्येता प्रा. प्रेमचन्द्र राई, उपप्राध्यापक लीला न्याईँच्याईँ, सन्तोष प्रधान, इन्द्रराज भट्टराई, मनहरि तिमिल्सिना, उपप्राध्यापक प्रेम चलाउने डा. पदम नेपाली, हिरेन्द्र शाही, नारायण कोजु, सुदीप राईले टिप्पणी गरेका थिए । अन्त्यमा लोकान्तर डटकमका सम्पादक विमल गौतमले कार्यक्रमको सार संक्षेप अनुभूती राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *