रेणु त्वानाबासु ।
भक्तपुरका रामगोपाल बमनुको विहानको ‘रुटिङ’ हो, व्यायम गर्ने । यसैकालागि उनी सबेरै उठेर नगरपालिकाले सञ्चालनमा ल्याएको वडा नं १ सिद्धपोखरीमा सञ्चालित व्यायामस्थल पुग्छन् । त्यहाँ उनी करिब एक घण्टा बिताउँछन् ।
नगरपालिकाद्धारा सञ्चालित व्यायाम सेन्टरमा सेवा लिन पाएका उनी शरिर तन्दुरुस्त हुँदैजाँदा सन्तुष्ट पनि छन् । उनी भन्छन्, विगत ३ वर्षदेखि लगातार व्यायाम सेन्टरको सेवा लिइरहेका छु, त्यो पनि सित्तैमा ।’
भक्तपुर नगरपालिकाले स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखेर यो व्यायाम सेन्टर २०७५ सालबाट सञ्चालनमा ल्याएको थियो । वडागत रुपमा नगरपालिकाले यस्तो सेवा दिँदै आएको छ । रोग लागेर उपचारकालागि भौँतारिनुभन्दा आफ्ना नागरिकलाई रोगै लाग्न नदिने नगरपालिकाको पवित्र उद्धेश्य रहेको बुझ्न गाहे छैन ।
बमनुले व्यायाम सेन्टर नहुदाँ सिद्धपोखरीको चक्कर लगाउने र खुल्ला ठाउँमा व्यायम गर्ने गरेको सुनाए । कहिले सल्लाघारीको १ सय ८ रोपनीमा त कहिले घरको कौशीमा । निश्चित ठाउँ थिएन उतीवेला । ‘तर अहिले व्यायाम सेन्टर भएपछि सिद्धपोखरीमा रहेको व्यायाम सेन्टरमा जाने गरेको छु’, उनले भने, ‘मलाई त्यस्तो कुनै पुरानो रोग त छैन, तर फिट र स्वस्थ हुनको लागि व्यायाम गर्ने गर्दछु ।
दैनिक व्यायाम गर्न थालेसँगै स्वास्थ्य अवस्थामा सुधार भएको सेवाग्राही पुण्यश्वरी बासी सुनाउँछिन् । ‘दिनदिनै जान त फुर्सद छैन कहिलेकाही चाहि जान्छु’, उनले भनिन् । खुट्टा दुख्ने समस्या भएदेखि औषधि खाने गरेकी थिइन्, उनले । तर खाँदा मात्रै निको हुने तर पछि दुख्ने नै भयो । उनले थपिन्, ‘तर अहिले व्यायाम सेन्टर भएपछि फुर्सदको समयमा गर्दा पनि दुखाई कम भएको छ । डाक्टरको सल्लाह अनुसार यो निको त हुँदैन तर पनि अलि कम हुने भएकाले आउने गरेकी छु ।’
त्यस्तै भक्तपुरका रामकृष्ण प्रजापतिकाले व्यायाम सेन्टरको नियमित लाभ उठाइरहेको बताए । नियमित व्यायाम गरेमा शरीर स्वस्थ हुने भएकाले यो सवैकालागि लाभदायक छ ।
नेपालीहरुको जीवनशैली फरक भएसंगै आवश्यकताहरु पनि फरक भएकोले नगरपालिकाले व्यायाम सेन्टर निर्माण गरेको जनाएको छ । भक्तपुर नगरपालिकाद्धारा गठित खेलकुद संघका संयोजक तथा भक्तपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार पहिले नगरभित्र एउटा पनि व्यायाम सेन्टर थिएन । ‘किनभने पहिला मानिसहरु दिनहु खेत जाने र खेतको काम गरेर घर फर्किन्थे । यही कारण चाहेर नचाहेर शरिरलाई चाहिने व्यायाम भइरहेको हुन्थ्यो ।’ उनी थप्छन् –‘तर अहिले जीवनशैलीमा आएको अश्वभाविक परिवर्तनले गर्दा व्यायाम सेन्टर निर्माण गर्नुपरेको हो ।’
अहिले वडा नम्बर १ मा रहेको सिद्धपोखरीको व्यायाम सेन्टरमा मात्र एकदिनमा करिव ९५ देखि एक सय जनाले सेवा लिइरहेको वडा अध्यक्षको दावी रहेको छ । ‘भक्तपुर नगरपालिकाभरीको कुरा गर्दा ९ सयभन्दा बढीले नगरपालिकाले स्थापना गरिएको सेन्टरमा आएर नियमित व्यायाम गर्ने गरेका छन्– वार्ड अध्यक्ष सुनाउँछन् ।’
भक्तपुर नगरक्षेत्रमा २३ वटा व्यायाम सेन्टरहरु स्थापना गरेको छ, नगरपालिकाले । जो कोहीले व्यायाम गर्न पाउने सजिलो नियम बनाएको छ, नगरले । कसैले फर्म भर्ने वा लिखित विवरण राख्न आवश्यक छैन ।
किन स्थापना गरियो व्यायाम सेन्टर
भक्तपुर नगरपालिकाको धोषणा पत्रको आधारमा नगरबासीलाई स्वच्छ र तन्दरुस्त बनाउने हेतुले स्थापना गरिएको वडा अध्यक्ष श्याम खत्रीले बताए । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा तथा खेल क्षेत्रमा पनि नगरबासीहरुलाई अघि बढाउन कार्यक्रमहरु ल्याएको उनले जानकारी गराए ।

के–के को समस्या समाधान हुन्छ ?
भक्तपुर नगरपालिकाले खासगरी पाको उमेरकालाई आवश्यक फिजिकल कसरत गर्न उपयुक्त व्यायामका सामानहरु राखेको छ । जसमा हातखुट्टा, नशा, कम्मर, छाती, जोर्नी खुकुलो र लचकदार बनाउने विधि आदि पर्दछन् । त्यसैगरी मसाज, जगिङ्, साइक्लिङ्, धुमाउने, झुण्ड्यार कसरत गर्ने विधिहरु पनि रहेका छन् ।
कुन समयमा खुल्छ ?
भक्तपुरको व्यायाम सेन्टर विहान र बेलुकी खोलिन्छ । खुल्ला ठाउँमा बार नलाएका ठाउँमा भने २४ सै घन्टा खुला रहने गरेका छन् । विहान खोल्ने र बेलुकी कर्मचारीले खोल्ने र बन्द गर्ने गरेका छन् ।
भक्तपुर नगरपालिकाका खेल संघका सदस्य कृष्णगोविन्द सुवालका अनुसार भक्तपुर नगरपालिकाद्धारा संचालनमा आएका व्यायाम सेन्टरहरु २४ सै घन्टा खुला हुन्छन् । केही स्थानमा मात्र ताल्चा लगाउने गरेको सुवाल बताउँछन् ।
व्यायाम गर्नेहरुको चाप बढेपछि व्यायाम सेन्टर थप्दै लगिएको छ । यी व्यायाम सेन्टरमा प्रशिक्षक राखिएको छैन र आवश्यक पनि नपर्ने नगरपालिकाले जनाएको छ ।

कहाँ कहाँ छन् २३ वटा व्यायाम सेन्टर
सिद्धपोखरी, दमकल, सल्लाघारी, कालिघाट, शहिद उद्यान, मेधा विद्यालय पछाडि, थाथूचा, तपादोम्फो, तला दोम्फो, ५ वडा कार्यलय पछाडि, सिद्धि स्मृति अस्पताल (भेलुखेल), अचाँ पोखरी, छुमा गणेश उकालो, महेश्वरी खेलमैदान, झटिला, इनाचो, लिवाली, महेश्वरी पीठ, गरुद्ध कुन्द, मालपोत कार्यलय, कमलपोखरी परिसर, नाग पोखरीमा व्यायाम सेन्टरहरु रहेका छन् ।
भक्तपुर नगरपालिकाद्धारा गठित खेलकुद संघका संयोजक तथा भक्तपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्याम खत्रीले हरेक वडामा २ वटा व्यायाम सेन्टर स्थापना भइसकेको जानकारी गराए । नगरपालिकामा १० वटा वडाहरु छन् । साथै उनले वडा नम्बर १ मा भने ३ वटा रहेको जनाए ।
२०७५ सालमा नगरपालिकाले पहिलो पटक नगरका १० स्थानहरुमा व्यायाम सेन्टर सञ्चालनमा ल्याएको थियो । स्थानीयको माग अनुसार त्यसलाई बढाएर अहिले कुल २३ स्थानमा यस्ता व्यायाम सेन्टर सञ्चालित छन् ।
विभिन्न जिल्ला संघ, खेलकुद समिति, व्यायामविज्ञ लगायतसँगको छलफल र सल्लाहपछि व्यायामका सामग्री ल्याइएकोे हो । ‘सुरुमा हामीले व्यायाम सेन्टर सञ्चालनमा ल्याउँदा एक सेटमा नौ प्रकारका सामान समावेश गरेका थियौँ,’ वडा अध्यक्ष खत्रीले भने, ‘पछि अन्य स्थानमा पनि व्यायाम सेन्टर स्थापना गर्दा १० वटा सामाग्रीको सेट बनायौँ ।’

खुट्टाको व्यायाम गर्ने र साइकल चलाउनेहरु वढी आउने गरेको स्थानीयहरु बताउँंछन् । विहानबेलुकी वढी खेल्न आउने गरेको देखिन्छ । ठूलो एरिया भएका वडामा व्यायामस्थल अझ थप्ने कार्य भइरहेको नगरपालिका बताउँंछ । अब विद्यालय र कलेजमा पनि राख्दै जाने योजना छ, नगरपालिकाको ।
नगरबासीको चाँडै उठ्ने बानी भएको, रकम खर्च गरेर जीम जान आवश्यक नभएको, सामान्य रोग यही ठीक गर्न सकिने भएकाले व्यायामकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ । त्यसैगरी नागरिकलाई स्वस्थ बनाउने कुरामा पनि व्यायाम सेन्टरहरुले भूमिका खेल्न थालेको देख्न सकिन्छ ।
भक्तपुर नगरपालिकाको यो फरक र जनमैत्री काम वास्तवमानै तारिफ योग्य छ ।