इलाम, ६ चैत
१. ओलीको प्रश्न : निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए ।
मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए । नेकपा एमाले इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, ‘पुरै मतपत्र हरियो बनाउने रे ! निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा रहेर काम गर्ने होईन निष्पक्ष भएर काम गर्ने हो । अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रूखको रङ दिने रे । रूख पनि हरियो पार्ने अरे, सूर्य पनि हरियो पार्ने । कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ।’
निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि छुट्याइएको दुई दिन समयकाे उनले विरोध जनाए ।
उनले भने, ‘मनोनयनको लागि दुई दिन समय दिने भो । दुई दिन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एकदिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ, भोलिपल्टको पनि समय दियो । अहिलेसम्म कहिले दुई दिन मनोनयनका लागि समय दिएको सुन्नुभएको छ ? देख्नु भएको छ ? जहाँपनि मनोनयन एकै दिन हुन्छ । विश्वभरी मनोनयन एकै दिन हुन्छ । नेपालमा दुई दिन मनोनयन ।’
पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगको हो भन्दै उनले प्रश्न समेत गरेका थिए ।
२. म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन् : अध्यक्ष ओली
इलाम, ६ चैत
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु जहाँ गयो त्यहींका जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताए ।
‘म जहाँ गयो त्यहींका मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्नेथिए ? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ,’ अध्यक्ष ओलीले भने ।
विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएको बताए । ‘तपाईहरू अरु पार्टी परित्याग गरेर आउनुभएको छ । तपाईहरू बुझेरे नै आउनुभएको छ । तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,’ ओलीले भने ।
अहिले एमाले जुन मजबुद हालतमा छ त्यो नेताहरूले नभएर कार्यकर्ताका कारण भएको बताए ।
३. बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौंः अध्यक्ष ओली
इलाम, ६ चैत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।
स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए ।
जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ ।