काठमाडौँ । एमालेले स्थानीय तह निर्वाचनका लागि बन्ने उम्मेद्वारको मापदण्ड तय गरेको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट बन्ने उम्मेदवारको मापदण्ड तय गरेको हो ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले आजको बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको बताए । ुआजको बैठकमा उम्मेदवार छान्दा अपनाइने मापदण्डका विषयमा छलफल भयो । त्यसमा हामीले विभिन्न आधार अघि सारेका छौं,ु उनले भने ।
पार्टीले अघि सारेको पहिलो मापदण्ड भनेको उम्मेदवारले पार्टीको नीति तथा कार्यक्रमप्रतिको प्रतिबद्धता हुनेछ । त्यस्तै जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेको हकमा भने उनीहरूको कामको मूल्यांकन नै प्रमुख मापदण्ड मानिनेछ ।
त्यस्तै उम्मेदवारको कार्यक्षमता र विकास तथा र सुशासनप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुरालाई पनि हेरिने उपमहासचिवसमेत रहेका प्रमुख गुरूङले बताए । उम्मेदवारको लोकप्रियता र विजयी हुने सुनिश्चितता पनि हेरिने उनको भनाइ छ । पार्टीद्वारा सञ्चालित आन्दोलनहरूमा उसले पुर्याएको योगदान र पार्टीप्रति उसको निष्ठा र नेपालको संविधानअनुसार सन्तुलन र समावेशीतालाई पनि मापदण्डमा राखिएको उनले बताए ।
उम्मेदवार सिफारिस प्रक्रिया र विधिका बारेमा समेत छलफल भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्ष र अन्य पदाधिकारीको हकमा वडा कमिटीको सिफारिसको आधारमा पालिका कमिटीले निर्णय गर्नेछ । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको हकमा गाउँपालिका कमिटीको सुझावमा जिल्ला कमिटीले सिफारिस गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने प्रमुख गुरूङले बताए ।
नगरपालिकाको मेयर र उपमेयरको हकमा पनि प्रदेश कमिटीले निर्णय गर्नेछ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर उपमेयरको हकमा प्रदेश कमिटीको सिफारिसको आधारमा केन्द्रीय कमिटीले निर्णय गर्ने प्रमुख गुरूङले बताए । उम्मेदवार सिफारिस गर्दा कम्तीमा एकजना महिलासहित तीनजना लक्षित समूहको सिफारिस गर्नुपर्ने मापदण्ड रहेको उनले बताए ।
एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने
एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो ।
अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए ।
सोमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए । मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ ।