झापाको बिर्तामोडस्थित बी. एन्ड सी. अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र धाइजनमा प्रस्तावित बी.एन्ड सी. मेडिकल कलेजका कार्यकारी निर्देशक हुन्, दुर्गा प्रसाईं । ६ बर्षअघि नै पूर्वाधार निमार्ण सम्पन्न गरेर पनि सञ्चालन अनुमती (सम्बन्धन) नपाएको बी. एण्ड सी. मेडिकल कलेज खण्डहरमा परिणत हुन थालेको छ । सरकारले तोकेका सम्पूर्ण मापदण्ड पुरा गर्दा गर्दैपनि यस कलेजले सञ्चालन अनुमती पाएको छैन । ‘मेडिकल’ शिक्षाको ‘वेसिक साइन्स’ अध्ययनका लागि आवश्यक पर्ने करोडौं मूल्यका उपकरण खरिद गरिएका छन् । तर, सम्बन्धन नपाएकै कारण उपकरणहरु ढुसी ग्रस्त छन् ।
मेडिकल क्षेत्रकै केही अगुवाहरुले प्रसाईँलाई ‘माफिया’ भनेर कठोर आरोप पनि लगाउने गरेका छन् । धरातलीय यथार्थ (ग्राउण्ड रियालिटी) के हो त ? नेपालमुहारले तथ्य जाँच गरेको छ । स्थलगत अध्ययनका क्रममा प्रसाईँलाई सोलोडोलो आरोप लगाउने अगुवाहरुले प्रस्तावित बी. एन्ड सी. मेडिकल कलेज वा बी. एन्ड सी. अस्पतालको अवलोकन नै नगरेको वा गर्न नचाहेको पाइएको छ ।
झापामा प्रसाईँका शुभ चिन्तकहरु ठूलो पक्तिमा भेटिन्छन् । उनीहरु प्रसाईंले मोफसलमा बसेर स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याएको बताउँछन् । खरो र प्रष्ट स्वभावका प्रसाईं आफ्ना विरोधीहरुलाई सधैं ‘फायर’ खोलिरहेका हुन्छन् । त्यो ‘फायर’ले धेरै जसो उनैलाई ‘व्याक फायर’ गरिरहेको छ । तर, उनी आफ्नो अडान र सोंचबाट टसटस छैनन् ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा उद्योग विभाग उपप्रमुख समेत रहेका प्रसाईंसँग बिर्तामोडमा पुगेर नेपालमुहार डटकमकालागि माधव बस्नेत र दिवस गुरागाईँले लामो र कडै कुराकानी गरेका छन्, खासगरी उनलाई लगाइएका आरोप, उनको स्वभाव र बी.एन्ड सी. कलेजले सम्बन्धन नपाउनुको कारणका सम्बन्धमा । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश –

स्वास्थ्य क्षेत्रमा निकै उचो काम गर्दा गर्दै पनि तपाईंलाई मार्सी, माफिया जस्ता नामले गाली गरेको सुनिन्छ । यस्तो किन भइरहेको छ ?
– म जे काम गरेपनि राम्रो गरौं भन्ने ब्यक्ति हुँ । जे काम गरेपनि मातृभूमिकालागि गरौं, यही देशमा रोजगारी सृजना गरौं भन्ने मेरो दृढता छ । हाम्रो देशको पैसा आफ्नै देश भित्र राखौं (पुँजी पलायन हुनुहुन्न) भन्ने मान्यताको व्यक्ति हुँ म । रोजगारीको सृजना गरौं, आफ्नो देशको पैसा आफ्नै देशमा राखौं भन्ने मलाई ‘मार्सी–माफिया’ भन्नेहरु कस्ता हुन्, तिनीहरुलाई अव सवैले चिनिसके । चिन्दैछन्, चिन्न जरुरी छ ।
मलाई ‘मार्सी–माफिया’ आरोप लगाउनेहरुले मेरो भन्दा राम्रो र धेरै काम गरेका भए एउटा कुरा हुन्थ्यो होला । आफू सिन्को पनि नभाच्ने अनि परिणममुखी काम गरेर राम्रो नतिजा दिइरहेको व्यक्तिलाई मार्सी–माफिया भनेर गाली गर्ने ? तिनीहरुको आरोपलाई कसले पत्याएको छ र ?
तपाईंलाई ‘मार्सी–माफिया’ भनेर आरोप लागाउनेहरुको पहिचान गर्नु भएको होला, को हुन् तिनीहरु ?
– तिनीहरु खासगरी आफू केहीपनि गर्न नसक्ने, सकरात्मक सोच नभएकाहरु हुन् । कागजको टोपी लगाएर माइतीघर मण्डलामा नारा जुलुस गरेर हिड्नेहरु हुन् । विहानदेखि बेलुकासम्म ‘नेगेटिभ’ मात्र लेख्ने, नेगेटिभ मात्र सोच्नेहरु हुन्, जो पोजेटिभ सोच्दै–सोच्दैनन् । जसको दिमागमा सकरात्मक सोंच भन्ने नै छैन् । गुलाफको फूल भेटेपनि कागजको फूल भन्ने समूह हो, त्यो । तर, म कागजको फूल भेट्दा पनि सुन्दर वासनासहितको गुलाफको फूल देख्ने मान्छे हुँ । उनीहरु र म बीच फरक यत्ति छ ।
मलाई खेदो खन्न उद्दत पात्रहरु कागजको फूल र गुलाफको फूलको फरक छुट्याउन नसक्नेहरु हुन् । ठेट नेपाली भाषामा भन्ने हो भने मलाई आरोप लगाउनेहरु ‘गु र गोबर’ छुट्याउन नजान्नेहरु हुन् ।
उनीहरु तपाईंको भड्किलो प्रस्तुतिका कारण पनि आक्रामक भएका हुन् कि ?
– म तपाईहरुमार्फत उनीहरुलाई एउटा कुरा सोध्न चाहन्छु, भड्किलोपन केलाई भन्ने ? मेरो पनि त अभिव्यक्ति स्वतन्त्रता छ नि ! कसैले मलाई माफिया भन्छ, गाली गलौज गर्छ भने म चाहि सधैं सहेर मात्र बसिरहनु पर्ने ?
मुलुकको विकास र समृद्धि नचाहने मान्छेहरुको झुन्डका कारण देश एकदिन टाट पल्टिन्छ । यो देशमा अब उद्योग, कलकारखानाहरु बन्द हुँदै जान्छन् । यो देशमा शिक्षा–स्वास्थ्य रोजगारी सबै बन्द हुँदै जान्छन् । बैंकहरुमा पैसा हुँदैन भनेर मैले ६/७ वर्ष अगाडिदेखि भनेका अन्तर्वार्ताहरु छन्, ती खोजेर हेरे हुन्छ । आज पुग्दै छ कि छैन ?
हाम्रा मेडिकल कलेजहरुमा पढाई हुन छोड्यो । सबै कलेजमा राजनीति मात्र छ । जबसम्म यो मुलुक मेरो, यो धर्ती मेरो, यो माटो, भूमि मेरो भनेर भावनात्मक ज्ञान, चेत आउँदैन, तवसम्म देश अगाडि बढ्नै सक्दैन । खासगरी तपाईहरु जस्तो पत्रकार, नेता, वकिल, प्रोफेसरलाई मेरो आग्रह छ, जबसम्म आफू जन्मेको देशमै केही गरौं भन्ने चेतना जगाउन सकिँदैन, तबसम्म यो देशको अवस्था भयावह हुँदै जान्छ । म देशभित्रै राम्रो काम गर्नु पर्छ भन्ने मान्यतामा छु, त्यसैले विदेशीको एजेन्ट बनेर नेपालको विकास हुन, आत्मनिर्भर हुन नदिने तत्वहरुले मलाई दुःख दिने काम गरिरहेका छन् ।

फेरि मेडिकल कलेजका कुरा, वीएण्डसी मेडिकल कलेजले किन सम्बन्धन पाइरहेको छैन ?
– यो प्रश्न मलाई सोध्नुभन्दा पनि यो देशको प्रधानमन्त्रीलाई सोध्नुस् । चिकित्सा शिक्षा आयोगको श्रीकृष्ण गिरीलाई, काठमाडौं युनिभर्सिटीको भिसीलाई, शिक्षा मन्त्रीलाई र सम्बन्धित निकायका मानिसहरुलाई सोध्नुस् । यो प्रश्न मलाई सोध्ने नै होइन ।
२०६८ साल माघ २४ गते विर्तामोडमा मेडिकल कलेज खोल है भनेर मलाई सरकारले स्वीकृति दिएपछि भौतिक पुर्वाधार तयार गरेँ । तोकिएका मापदण्डका सबै संरचना बनाएँ । वेसिक साइन्स पढनका लागि सरकारको तोके बमोजिम आवश्यक पर्ने २५ करोडभन्दा माथिका उपकरण ल्याएँ । त्यति गरिसकेपछि पनि अध्ययन अनुमती दिदैनन् भने यो प्रश्न मलाई सोधेर हुन्छ र ?
पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले तपाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन पहल गर्दा पनि सफल भएनन् । प्रधानमन्त्रीको निर्देशनलाई समेत कसले अल्झाई रहेको छ, यसको कारण खोज्नु भएको होलानी…?
– तपाईहरु नेपाल मेडिकल काउन्सिलको डा.भगवान कोइरालालाई भगवान मान्नु हुन्छ होइन ? दिब्या सिंहलाई महान डाक्टर भन्नुुहुन्छ होइन् ? डा. श्रीकृष्ण गिरी, गोविन्द केसीहरुलाई खुब मान्नुहुन्छ नि, यिनै गिरोह हुन् अनुमती प्रक्रिया रोक्ने । देशमा शिक्षा–स्वास्थ्यको गुणस्तरीय पठन–पाठन, स्तरोन्नती, पूर्वाधार विकास रोक्ने अनि यहाँका विद्यार्थीहरु सबै विदेश पठाउने ।
देशभित्रको अध्ययन, अध्यापन सबै रोक्ने अनि बाहिर गएर चिप्ला कुरा गर्ने, यिनै तत्व हुन् । आफू पनि गर्न नसक्ने अर्कालाई पनि गर्न नदिने । भरत रावतलाई काठमाडौंबाट खेदियो । एउटा राम्रो कार्डियोलोजिस्टलाई यिनीहरुले नै खेदेका हुन् ।
यो गिरोहको काम खाली ऐन बनाउने, नियम बनाउने, आफूलाई सजिलो बनाउने र अरु सबैलाई अफ्ठ्यारोमा पार्ने हो । त्यही भएर मैले यिनीहरुको पछि लाग्न छोडिदिएँ । यिनीहरुको क्षमता, दक्षता, सोंच लगायत सबैकुरा बुझेपछि मैले उनीहरुलाई छोडेको हुँ । यिनीहरुकै कारणले १ सय ३७ वटा नर्सिङ कलेजहरु बन्द भए । अव १० वर्षपछि भारत, फिलिपिन्स वा अन्य देशबाट नर्स ल्याउनुपर्छ । त्यसबेला एउटा नर्सलाई मासिक ५ लाख रुपैयाँ तिर्नुपर्दा अस्पतालहरु उपचार कति महंगो बन्छ ? त्यस्तो भयावह स्थितिको जिम्मेवारी यिनै ठेकेदारहरुले लिनुपर्छ ।
चिकित्सा शिक्षा ऐनको ‘ड्राफ्ट’ बनाउने केदारभक्त माथेमा, डा. भगवान कोइराला लगायतका विज्ञ भनिनेहरु हुन् । तिनै विज्ञ भनिनेहरुले नर्सिङ कलेजहरु बन्द गराए । दुबईका डान्सबारहरुमा नेपाली चेलीहरु नाँच्दा यिनीहरु खुसी हुन्छन् । मेरो मत के हो भने दुबईका डान्सबारमा नेपाली चेलीहरु नाच्ने/नचाउने होइन, दुबईका अस्पतालहरुमा हाम्रा चेलीबेटीहरुले सेतो एप्रोन लगाएर नर्सिङ काम गर्नुपर्छ । उनीहरुको तर्क छ, डाक्टर धेरै भए रे । म भन्छु दुबई मात्र होइन, संसारभरका अस्पतालहरुमा नेपालका डाक्टर जानु पर्छ । हामी त्यस्ता डाक्टर उत्पादन गर्न सक्छौ । यस्तो सोच बोकेर काम गरिरहेको मलाई यिनीहरु माफिया भन्छन् । खासमा तिनीहरु दलाल हुन्, डाक्टर होइनन् । यिनीहरु अपराधी हुन् । यी सबै कुरा लेख्नुहोला ।
तपाईले अघि नाम लिएका डाक्टरहरुको भनाई लाई आम मानिसले अनुमोदन गरेको देखिन्छ । उहाँहरु त ‘क्वालिटी’को कुरा गरिरहनु भएको छ नी…?

– म पनि ‘क्वालिटी’को नै कुरा गरिरहेको छु । र, उनीहरुले तोकेको मापदण्डभन्दा माथिको संरचना तयार गरेको छु । ‘एलओआई’ मा उल्लेख गरेका ३५ वटै सर्त वा मपदण्ड पुरा गरेको छु । मलाई कति अन्याय गरेका छन् थाहा छ ? सम्बन्धन शुल्क भनेर काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगले १०–१० लाख रुपैयाँ पनि लिईसकेका छन् । तर, सम्बन्धन रोकिरहेका छन् ।
डा.भगवान कोइराला, दिब्या सिंह, गोविन्द के.सी र श्री कृष्ण गिरीहरुको टिम एउटै हो । बाहिर देखिँदा जे देखिएपनि यिनीहरु नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा फड्को मार्न नदिने तत्वहरु हुन् । नेपालमा सम्बन्धन नदिने, गुणस्तर चेकजाँच नगर्ने, यहाँका संस्था बन्द गराउने अनि उपचार र अध्ययनकालागि नेपाली विद्यार्थीलाई विदेश पठाउने । त्यही कारण मैले यिनीहरुलाई दलाल भनेको हुँ । केपी ओली पनि यिनीहरुको भ्रममा थिए, अहिले आएर कुरा बुझे ।
तपाईले नाम उल्लेख गरेका पात्रहरु स्वास्थ्य–शिक्षामा ब्यापार गर्नुहुन्न भन्नु हुन्छ । त्यो नराम्रो हो र ?
– स्वास्थ्य–शिक्षामा व्यापार गर्नुहुँदैन भन्नेकुरा धेरै राम्रो हो । त्यसोभए उनीहरुले व्यापार नगर्ने गरी खोल्नु नि त । भगवान कोइरालाले बैंकबाट ऋण लिएर गुणस्तरीय अस्पताल खोलुन न । भगवान कोइराला एउटा अस्पताल बनाउँछु भनेर सैयौंसँग हात थापरे किन हिडिरहेका छन्, मैले जस्तै रिस्क मोलेर बैंकबाट ऋण निकालेर अस्पताल बनाएर व्यापार विहिन उपचार दिए भयो नि ।
मैले अस्पताल बनाएँ । मैले स्कुल बनाएँ, बनाउँदैछु । पेटको गाँस काटेर म यी काम गर्दैछु । जस्तै मैले हिजो ७ चैतमा १५ सय जनालाई ६० लाख तिरेर स्वास्थ्य बीमा गराएँ, आफ्नै पैसाले । यस्तो काम गर्छन् यी दलालहरुले ?
समाजमा उनीहरुको छाप राम्रो छ, किन पटक–पटक दलाल भन्नु भएको हो ?
यिनीहरु कोइलीको आवरणका छट्टु काग हुन् । उनीहरु दलाल नै हुन् । दलाललाई दलाल नभनी के भन्नु ? यिनीहरु अपराधी हुन् । देशको शिक्षा–स्वास्थ्य क्षेत्रलाई सके, यिनीहरुले ।
बि एण्ड सी मेडिकल कलेजको पूर्वाधार हेर्न शिर्ष नेताहरु कतिले भ्रमण गरेका छन् ?
– प्रधानमन्त्री शेरबहादुर देउवा, के पी ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका ९० प्रतिशत नेताले भ्रमण गरेका छन् । उनीहरुले हेरिसकेपछि यस्तो राम्रो पूर्वाधार बनाएको कलेजले सम्बन्धन पाउनुपर्छ, दिनुपर्छ भन्छन् । अनि स्वीकृति दिन खोजेपछि तपाईहरु जस्तो सञ्चारकर्मीले सत्य/तथ्य नहेरी नानाभाँती लेखिदिनुहुन्छ । कान्तिपुर, नागरिक लगायतका पत्रिकामा ठूल्ठूला अक्षरमा समाचार आउँछन् । त्यसैले सत्यलाई झुट्टा समाचारले छोपिएको छ ।
तपाईंले डाक्टर गोविन्द केसीलाई बि.एन्ड सी. मेडिकल कलेजको पूर्वाधार निरीक्षण गर्न निम्त्याउनु भएको छ ?
– गोविन्द केसीलाई किन हेराउनु र ? को हो, गोविन्द के.सी ? बेला-कुबेला अनसन बसिरहने एउटा सामान्य डाक्टर होइन गोविन्द केसी ? त्यो पनि स्लाइन मार्फत टन्न खाएर अनसन बस्ने । नखाइकन १५ दिन १ महिना बाँच्छ मान्छे ? गोविन्द केसी ढोगी अनसनकारी हो । त्यसैले सर्वसाधारणले नै उसको नाम अनसन केसी राखिदिएका छन् । साँच्चैको अनसनकारी भए जंगलमा गएर ५ दिन मात्र केही नखाई बसोस् न, अनि त्यसभित्रको यथार्थ थाहा पाइहाल्छ नि !
तपाईं सबैप्रति आक्रोशित हुनुहुन्छ, किन यसरी प्रस्तुत हुनुहुन्छ ?
– पहिलो, मैले कसैलाई गाली गरेको होइन/छैन । नेपाली जनताले चाहेका/सोचेका नेता भएनन् यहाँ । गलत प्रवृतिलाई गलत भनेको हुँ । तिनीहरुको जस्ताको तस्तै भनिदिएको हुँ । भारतमा हेर्नुहोस् न, नरेन्द्र मोदीको काम । युक्रेनबाट १५ हजार विद्यार्थीलाई फर्काउँदैगर्दा उनले – तत्काल ४ सय वटा मेडिकल कलेज खोल्ने, अब भारतीय विद्यार्थी मेडिकल पढ्न विदेश जाँदैन भनेर घोषणा नै गरिदिए । त्यस्तो नेताको आवश्यकता छ, नेपालमा ।
दोस्रो, म कहिले काहिँ किन आक्रोशित हुन्छु भने मैले गौडा–गौडाको वेथिती भोगेर आएको छु । भोली म नेतृत्वदायी ठाउँमा पुगे भने यस्तो स्थिति रहन दिन्न । मैले नेतृत्व गरेको २४ घन्टामा परिवर्तन देखिन थाल्छ ।
तेस्रो, न्यायालयमा वकालत गर्ने वकिलहरुबीच कुटाकुट, हानाहान, झगडा देख्नु नै भएको छ । न्यायालयको हालत हेर्नुहोस् त । मेरो मुद्धा हरेकपल्ट पेशीमा चढ्दा गोविन्द केसी आएर सुत्छ । अनि फैसला गर्नुहुँदैन भन्छन् न्यायाधीशहरु । ‘सुप्रिम कोर्ट’ का न्यायधिशहरु के गर्न बसिरहेका छन्, त्यहाँ ? एउटा मान्छे सुत्छ भनेपछि फैसला नै रोकिदिने ? यस्तो न्यायालय छ, हाम्रो देशमा ।
चौथो, यो देशमा सबैभन्दा माफिया डाक्टर हुन् । एउटा एम्बुलेन्सदेखि सिटी स्क्यान र विरामीसम्म बेच्छन् यिनीहरु । काठमाडौंका हरेक ठाउँमा विरामी बेचिएका छन् । टिचिङ्गमा काम गर्ने डाक्टर किन बाहिर आएर दिनभरी काम गर्छन् ? त्यो किन कसैले कन्ट्रोल गर्न सक्दैन ? रगत, दिशा, पिसाव, खकारको कमिसन खान्छन् डाक्टरहरु । यो मेरो आखाँले देखे/भोगेका कुरा हुन् ।

तपाईँको आक्रोशको अभिव्यक्ति एक्लै परेपछिको निरासा वा छटपटी पो हो कि ?
–सत्य सधैं एक्लै हुन्छ, भिडभाडमा हुँदैन । गीतामा के भनिएको छ भने जोसँग सत्य र धर्म छ, हारेर पनि जितिन्छ । यो ठाउँमा मैले हारेर पनि जितेको छु । किनभने आज मेरो अस्पतालमा खुट्टा टेक्ने ठाउँ छैन । मसँग गरिबका छोराछोरी, वृद्धवृद्धा आउँछन् अंगालो मार्छन रुन्छन्, मलाई बचाईदेउ भन्छन् । म सहयोग गर्छु, बचाउँछु । मैले एउटा मेडिकल कलेजको सम्बन्धन नपाएर के भयो त ? मैले दिनदुःखीहरुको सेवा गर्न पाएको छु । उनीहरुले मैले सञ्चालन अनुमति मागेको मेडिकल कलेजको सम्बन्धन रोके , तर, दिनदुःखी गरिबहरुको सेवा गर्न त रोक्न सकेनन् । म यसैमा खुसी छु । सत्य भिडमा हुँदैन । सत्य एक्लै हुन्छ । एक दिन सत्यको विजय हुन्छ भन्नेमा निश्चिन्त छु ।
अरबौं रुपैयाँ लगानी गरेर तयार गरेको मेडिकल कलेजले सम्बन्धन नपाउँदा पीडा त अवश्य नै हुन्छ होला नी …?
– पीडा हुन्छ, भएर के गर्ने ? त्यो मेडिकल कलेज संचालन हुन सकेको भए १० प्रतिशत विद्यार्थीले निःशुल्क पढ्न पाउँथे । ६ वर्षको हिसाव गर्दा अहिलेसम्म ६० जना गरिवका छोरा–छोरीले निःशुल्क पढ्न पाउँथे । संचालन नभएर को बञ्चित भयो ? गरिब नै बञ्चित भए । यो कस्ले गराएको ? गरिबकालागि भन्ने अनि नर्सिङ र मेडिकल कलेज बन्द गर्ने ? यो सब कसका लागि हुँदैछ ? बुझ्नुहोस् न ।
बी.एन्ड सी. मेडिकल कलेजले सञ्चालनको स्वीकृति नपाउँदा तपाईंको कति ‘प्रोपर्टी डम्प’ भइरहेको छ ?
– अहिले करिब तीन अरब ‘डम्प’ भएको छ । तीन अरबभन्दा बढीको प्रोपर्टी काम नलागी बसेको छ । मेडिकल कलेजमा करिब २५ करोडको इक्विपमेन्ट कुहिएर गइसकेको छ ।
अव के पहल गर्नुहुन्छ, मेडिकल कलेज सञ्चालनकालागि ?
– म अब केही गर्दिन । सबै कुहुन् । सकिउन । नेपाली विद्यार्थी विदेश नै पढ्न गईरहुन् । विरामीहरु पनि विदेश धाउन-धाइरहुन् । सबैले यही खोजेको हो भने टुलुटुलु हेर्न बाहेक म के गर्न सक्छु ?
पूर्वाञ्चल क्यान्सर अस्पतालको प्रचार गर्नेक्रममा दक्षिणपूर्वी एसियाकै उत्कृष्ठ भनिएको छ । होडिङ बोर्डहरुमा पनि लेखिएको छ । यो दाबी कति सत्य हो ?
– पूर्वाञ्चल क्यान्सर अस्पतालमा जुन इक्विपमेन्ट छ, त्यो नेपालमा अन्यत्र काहिँ छैन । भारतको एम्स, एपोलो, राजीव गान्धी क्यान्सर अस्पतालको कुरा गर्नुहुन्छ भने त्यहाँ १५–१६ वर्ष पुराना मेसिनहरु छन् । हामीसँग आधुनिक उच्च प्रविधिका २९ सेकेण्डमै रेडियसन दिने मेसिनहरु छन् । जुन भारतमा पनि छैन । एसियामा क्यान्सरको उपचार गर्न भारत राम्रो मानिन्छ । तर, त्यहाँ पनि हामीले ल्याएको उपकरण भर्खर ल्याउन सुरु गरिँदैछ । हामीसँग सन् २०१९/०२० मा उत्पादन भएका आधुनिक उपकरण छन् । जब कि भारतमा निकै पुराना छन् ।

दुर्गा प्रसाईंले झापामा बसेर स्थापना गरेको साम्राज्य कत्रो हो ?
– मैले स्थापना गरेको साम्राज्य बी .एन्ड सी. हस्पिटल र यसको पूर्वाधार हो । पूर्वाञ्चल क्यान्सर हस्पिटल र यसको पूर्वाधार हो । यहाँ फाइभस्टार होटेल बन्दै छ । दश अर्बको परियोजनाबाट माथि चेप्टीमा चारधाम बन्दै छ । अर्थात रुरु क्षेत्र, बराह क्षेत्र, पशुपति क्षेत्र, मुक्ति क्षेत्र बन्दै छ । सबै मान्छे मुक्ति क्षेत्र पग्न सक्तैनन् । सबै मान्छे बद्रीनाथ, केदाननाथ पुग्दैनन् । त्यसलाई यहीँ एक्कै ठाऊँ बनाउने योेजना छ ।
तर, म अरबको मालिक होइन । दिलको चाहिँ मालिक नै हुँ म । सम्पत्ति कति छ ? त्यसको लेखाजोखा गर्दिन । यसलाई मैलेभन्दा पनि बाहिरबाट मूल्यांकन गर्ने हो । दुर्गा प्रसाई के हो भनेर मैले मलाई मूल्यांकन गर्ने होइन । मलाई खान पुगेको छ । लगाउन पुगेको छ । काठको घर भएपनि बस्न पुगेको छ । गाडी चढ्न पुगेको छ । त्योभन्दा ठूलो कुरो दीनदुखीहरुलाई बाँड्न पुगेको छ । जस्तै मैले कोभिडमा दुई ट्रकभन्दा बढी सामान बाडेँ होला । तर कसैलाई भनेर प्रचार गरिन । दुर्गा प्रसाई के हो भनेर यहाँका ट्याम्पो ड्राइभरहरुलाई सोध्नुहोला ।
एउटा प्रश्न दोहोर्याउँ, तपाईलाईँ स्तरहीन अभिव्यक्तिका कारण धेरैले कुरा काट्छन् भनिन्छ । । यसमा सत्यता छ भन्यो भने कसरी खण्डन गर्नुहुन्छ ?
– दार्जिलिङतिर जानु भयो भने ‘यहाँ शुद्ध सुँगुरको मासु र भात पाइन्छ’ भनेर लेखेको हुन्छ । ‘यहाँ शुद्ध गोरुको मासु र भात पाइन्छ’ भनेर लेखेको हुन्छ । यो भाषा बुझिने छ नि । त्यसैगरी म पनि आम नेपालीले बुझ्ने भाषा बोल्न रुचाउँछु । मलाई ‘डिप्लोम्याटिक’ भाषा बोलेर मान्छे सक्नु छैन । म जे छु, दुर्गा प्रसाई हुँ । र आज यही दुर्गा प्रसाई भएर सर्वसाधारणले मन पराएका हुन् । मैले गलतलाई मात्र गलत भन्ने गरेको छु, ठाडठाडै शब्दमा । हो, तिनीहरुले मलाई स्तरहीन अभिव्यक्ति दिन्छ भन्ने आरोप लगाउँछन् भने मेरो भन्नु केही छैन ।
माथि उल्लेख गरेको बाहेक दुर्गा प्रसाईँको थप सामाजिक सक्रियता के छ ?
– म ५१ वर्षको भएँ । शरीरमा क्यान्सर बोकेर हिडेको मान्छे हुँ । बचेखुचेको जिन्दगी गरिबको सेवामा लगाएको छु । दीनदुःखीको सेवामा लगाएको छु ।
म गाउँ जाँदा भन्ने गर्छु, पैसाको अभावले तपाईको छोरी/छोराको विवाह रोकिएको छ । मैले १०/२० हजार सहयोग गर्दा तपाईको सन्तानको विवाह हुन्छ भने आउनुहोस् । म दिन्छु । गरिव हुन पाइन्छ । तर हेपिन पाइदैँन । गरिव हुन पाइन्छ तर भोकै बस्न पाइदैँन भन्ने मेरो मान्यता छ ।
काठमाडौँमा बसेर ‘डिप्लोम्याटिक’ भएर चिप्लो कुरा गरेर दिन कटाउन जरुरी छैन मलाई । मैले ठेड भाषा बोल्दा खलासीको जस्तो स्तर भन्छन भने पनि भनुन् । मलाई कसैसँग खेलबाड गर्नु छैन । म जेछु, यसैमा रमाउँछु ।
तपाईं कार्यकारी निर्देशक रहेको अस्पताल, मेडिकल कलेज हेरेपछि यसको डिजाइनर को होला ? कस्को कन्सेप्ट होला भन्ने जिज्ञासा पलायो । यी संरचना अस्पताल जस्ता छैनन्, होटल जस्ता लाग्छन् । को हो डिजाइनर ?
– यो मेरै दिमागको उपज हो । यो जति पनि डिजाइन र डेकुरेसन भएको छ, त्यो सबै मेरो दिमागले भएको हो । यहाँ कुनै छुट्टै ‘इन्टेरियर डिजाइनर’ छैनन् । यहाँको एउटा फूल पनि मैले नै किनेर ल्याएको हो । आर्किटेक्ट इन्जिनियरको काम बाहेक कहाँ सिसा हाल्ने, कहाँ काठ हाल्ने, कस्तो मार्वल छान्ने, सबै मेरै छनौट हो । यो मार्बल छान्नलाई म किसनगड (पाकिस्तानको छेउ) गएको छु । सवै काम आफैं गर्न रुचाउँछु ।
मेरो आँखाले राम्रो मात्रै देख्छ । मेरो दिमागले राम्रो मात्रै सोच्छ । कहिल्यै नराम्रो सोच्दैन । नराम्रो देख्दैन । म निरन्तरता दिने मान्छे हो । पानी निरन्तर बगिरह्यो भने त्यसले ढुंगोलाई पनि छेड्छ । म पानीजस्तै दृढ विस्वासी हुँ ।