काठमाडौं, १२ चैत
चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो ।
चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो ।
चिनियाँ विदेशमन्त्रीले गरे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट
तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटर पुगी उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।
भेटवार्ताकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गरेका थिए, जसको अवलोकन प्रधानमन्त्री देउवाले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि उक्त विमानस्थल प्रधानमन्त्री देउवाको उपस्थितीमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई हस्तान्तरण गरेका थिए ।
आज नै नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो । सिंहदरबारमा भएको बैठकपछि नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।