खोटाङ । स्थानीय तहको पहिलो पाँच वर्षे कार्यअवधि सकिन लाग्दा पुनस् निर्वाचनको माहोल बढेको छ । राजनीतिक दलहरू चुनावी मैदानमा व्यस्त छन् भने निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । आसन्न स्थानीय तहको निर्वाचनकै पूर्वतयारीमा खोटाङमा मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका छन् । आगामी ३० बैसाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार सूचना जारी गर्दै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको जानकारी दिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मूख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ । ऐंसेलुखर्क गाउँपालिकाका लागि जिल्ला अदालत खोटाङका श्रेष्तेदार रामाकान्त यादव, केपिलासगढी गाउँपालिकाका लागि इलाका प्रशासन कार्यालय साँखु काठमाडौंका उपसचिव राजकुमार राई, खोटेहाङ गाउँपालिकाका लागि सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मी, जन्तेढुंगा गाउँपालिकाका लागि महालेखा नियन्त्रक कार्यालय काठमाडौंका उपसचिव मानबहादुर मगर, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि सर्वोच्च अदालतका इजलास अधिकृत गम्भीर घिमिरे निर्वाचन अधिकृत तोकिएका छन् ।
यस्तै, बराहपोखरी गाउँपालिकाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश १ बिराटनगरका उपसचिव कोपिला राई, रावाबेँसी गाउँपालिकाका लागि सर्वोच्च अदालतका इजलास अधिकृत लालबहादुर कार्की, साकेला गाउँपालिकाका लागि नेपाल कानुन आयोगका उपसचिव राजन नेपाल र हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायाधिवक्ता संगीता न्यौपाने ढुंगेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको आयोगको सूचनामा उल्लेख छ । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई २९ चैतदेखि लागु हुने गरी मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ ।