नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले काठमाडौमा आयोजित एक कार्यक्रममा पत्रकार खेम भण्डारी लिखित ‘हावामहलका कुशल कारिगर’ पुस्तिकाको विमोचन गरेका छन् ।
अध्यक्ष नेपालले पुस्तिकाले केपी ओलीको वास्तविक चरित्र खुलाएको बताएका छन् । नेपालले दुई तिहाईको सरकार चलाउन नसकेका ओलीले हावामा महल बनाएर भित्रभित्रै तानाशाह हुन खोजेको तथ्यलाई पुस्तिकाले सप्रमाण प्रस्तुत गरेको बताए ।
लेखक भण्डारीको पुस्तिका १३ खण्डमा बिभाजित छ । २०७४ कार्तिकदेखि २०७८ भदौ ९ सम्मको घटनाक्रममा आधारित पुस्तिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता हुनुमा ओली नियतको विश्लेषण गरिएको छ । आफू शक्तिशाली बन्न ओलीले कस्ता तानाबाना बुनेका थिए भन्ने पुस्तिकामा प्रकाश पारिएको लेखक भण्डारीको भनाइ छ ।
लेखक भण्डारीका अनुसार माधव नेपाल समूहले बिद्रोह नगरेको भए मुलुक अधिनायकको हातमा पर्ने तथ्यलाई पुस्तिकामा प्रमाणसहित व्याख्या गरिएको छ । उनले पुस्तिका पढेर तथ्यको खण्डन गर्न असहमतहरुलाई चुनौती पनि दिएका छन् ।