नेपालको पूर्व–पश्चिम सीमाना कहाँ हो ? आम जवाफः पूर्वमा मेची र पश्चिममा महाकाली । तर, यो जवाफ पूर्णतया सही होइन ।
महाकालीपारि जसरी दोधारा चाँदनी नामका सुन्दर गाऊँहरु छन् । त्यसैगरी मेचीपारि पनि नेपाल र नेपाली छन् । मेचीपारिको त्यस गाऊँको नाम हो, महेसपुर ।
२०७८ को जनगणना अनुसार यहाँ १ सय ६५ घरधुरी रहेका छन् । पहिला यो महेसपुर गाऊँ विकास थियो । भद्रपुर नगरपालिकामा गाभिएपछि भने यो कागजी सहर भएको छ । यस ठाऊँको खासनाम भद्रपुर वडानम्मर ३, महेसपुर हो ।
यहाँका मानिसको पेशा कृषि मात्रै हो । तर फलेका अनाज नेपाल पुर्याउन भन्दा भारतबाट घरैसम्मै आउने ब्यापारीले दिने दाम बढी मनासिव लाग्छ, उनीहरुलाई । यहाँको भारतीय बजार गलगलिया जान पनि सहजैलाग्छ, गाऊँलेलाई ।
खासगरी पुल बनेपछि र विजुली बलेपछि महेसपुरका मानिसले न्यूनतम सुविधा पाएको महसुस गरे । तर, रातोदिन सीमाना सर्दै सर्दै बारीसम्म आइपुगेको कुराले भने उनीहरुलाई झस्काउँछ ।
पूर्वमा हाम्रो पुरानो सीमाना मेची नदी नै हो । तर यस नदीले बाटो बदलेपछि नेपाल र नेपालीलाई नै दुई किनारामा उभ्यायो । खासमा यो नदी अहिले बगिरहेकोभन्दा निकै किलोमिटर पूर्वबाट बग्थ्यो । र, त्यो सम्पूर्ण भूभाग नेपाल नै थियो । तर अहिलेभने मेचीबाट डेढ किलोमिटर उता नपुग्दै सीमा भेटिन्छ । घडेरी छुट्याउन गाडेको सिमेन्टको अस्थायी किला जस्ता पिलरले छुट्याईएको छ देश । कतिपय ठाऊँमा त मेचीनदी वारीनै ल्याईपुर्याईएको छ, भारतीय सीमाना ।
यी साना पिलरहरु सर्दै सर्दै गाऊँसम्म आइपुगेका छन् । जंगेपिलर हराएको त एकादेशको कथा भइसकेको छ । के यहाँको सीमानामा जंगे पिलर थिएन ? गाऊँलेहरु भन्छन्, ‘थियो, तर अहिले छैन ।’
नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिओपी रहेपछि महेसपुरका मानिसले सुरक्षित भएको महसुस गरेका छन् । तर गुनासाहरु कम भएका छैनन् ।
भाङबारी, डोलोबस्ती र सतारबस्ती मध्ये भाङबारीमा नाम मात्रको स्वास्थ्य चौकी, ७ कक्षासम्म मात्र पढ्ने ब्यवस्था भएको स्कूल र बर्षामा हिड्नै नसकिने बाटो–घाटो यस गाऊँको स्थायी दुख हुन् । त्योभन्दा पनि भारतीय सुरक्षाकर्मीको गस्ती र उनीहरुको अनावश्यक दादागिरीले पनि महेसपुरका जनतालाई दुखाउँछ । झनै दुखाउँछ, हरेक बर्ष आफूतिर सर्दै आएको सीमानाका पिलरहरुले ।