‘म भारतका केजरिवालले जस्तै काठमाडौंका जनताको मन जित्न चाहान्छु’
- पूर्व मिस नेवाः सुनिता डंगोल सांस्कृतिक अभियन्ता पनि हुन् । उनी आउँदो वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा प्रत्यासी बन्ने तयारीमा लागेकी छन् । उनी स्वतन्त्ररुपमा उम्मेदवार बन्ने सोचमा छिन् । यही मेसोमा नेपालमुहार डटकमकालागि विपना मुसिख्वालले गरेका प्रश्नहरुको यस्तो परिपक्व जवाफ दिएकि छन्, सुन्दरी सुनिता डंगोलले –
तपाईंले उम्मेदवार बन्न के कस्ता सर्वेक्षण वा सल्लाह गर्नुभएको छ ?
– राजनीतिमा लाग्नलाई सर्वेक्षण गरिहाल्नु पर्दैन, एउटा विचार र दृष्टिाकोणले राजनीतिमा लागेकी हुँ । धेरै जसो यूवाहरुले राजनीतिलाई फोहरी खेल भन्छन् किनकी राजनीतिक कारणले गर्दा उनीहरुमा वितृष्णा जागेको मैले महशुस गरेकी छु । तर राजनीति भनेको राज्यको शासन–व्यवस्थासम्बन्धी नीति, राज्य–सञ्चालन र प्रणाली हो । त्यसैले राजनीतिलाई फोहोरी खेलको रुपमा विकास गर्नुहुन्न भन्नेमा म सचेत छु । राजनीति व्यापार होइन, यो समाजसेवा र विकास निर्माणसँग जोडिनुपर्छ । समाजसेवा मेरो जीवनको मूल उद्देश्य हो । मेरो त्यो मुल उदेश्यलाई मूर्तरुप दिन मैले राजनीतिमा आउन चाहेको हो । विभिन्न क्षेत्रमा क्रियाशील भईरहेको र म सेलिबे्रटि पनि भएकोले धेरैले मलाई चिन्छन् । त्यसैले पनि सस्तो लोकप्रियताको लागि होईन मुलकु बनाउन युवाहरुको भूमिकाको प्रतिनिधित्व गर्न म चुनावको अवसर पारेर सक्रिय राजनीतिमा आएकी हुँ ।
सुन्दरी भएका आधारमा पनि मत पाउने संभावना छ ?
मिस नेवाःको ताज पहिरेको त दश बर्ष भई सक्यो । अहिले मैले मिस नेवाः भैसकेपछि निरन्तर रुपमा समाजसेवामा लागी रहेको, विशेष गरी क्यालिग्राफी मार्फत विश्व समुदायमा नेपाललाई चिनाउन लागिपरेको र काठमाडौमा पनि एक सांस्कृतिक अभियन्ताको रुपमा नेपालको संस्कृतिलाई विश्व सामु चिनाउन लागी रहेको कारणले पनि मलाई धेरै मानिसले चिन्छन् र मेरो पक्षमा असाधारण जनमत भएको मैले विश्वास गरेकी छु । जुन मेयरको उम्मेद्वारीमा जनताले गर्ने मतदानबाट पुष्टि हुनेछ ।
जातीय सपोर्ट कति हुन्छ ?
म जातभात छुवाछुतमा विश्वास गर्दिन । म काठमाडौंकै ज्यापू समुदायकी छोरी हुँ । त्यसैले पनि यहाँका नेवार समुदायको साथ सहयोग पाउने त स्वभाविकै भयो तर काठमाडौमा रहेका सम्पूर्ण अन्य समुदायका आदरणीय जनताले पनि मैले निरन्तर रुपमा गर्दै आएको समाजसेवा, सांस्कृतिक प्रवद्र्धन र संरक्षणको कामहरु र नेपाललाई विश्व सामु चिनाउन गरेको योगदानको आधारमा मलाई समर्थन गर्नु हुनेछ भन्नेमा म ढुक्क छु ।
जित्ने मुल आधार वा गुण के हुन् तपाईंका ?
– काठमाडौंका जनताले सँधै न्यायको पक्षमा मतदान गरेको इतिहास छ । म यहीँको माटोमा जम्मिएकी, हुर्केकी ज्यापु जातीको नेवार समुदायको छोरी हुँ । मैले सांस्कृतिक अभियन्ताका रुपमा योगदान गरेकी छु । मैले धेरै मुलुकको भ्रमण गरेर त्यहाँको विकासको मोडेललाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । मैले त्यहाँको विकासको अनुभवलाई यहाँको माटो सुहाँउदो विकास गर्ने योजना बनाएकी छु । सांस्कृतिक शहर काठमाडौँ कस्तो हुनुपर्छ र यहाँको विकास कसरी गर्नुपर्छ भन्ने बारेमा जानकार भएको व्यक्ति हुँ । यहाँका युवाहरुको सोँच, यहाँका युवाहरुको भावना र यहाँका युवाहरुको भिजनको प्रतिनिधित्व गर्ने युवा हुँ । त्यति मात्रै होइन आफू भन्दा अग्रजहरुको विज्ञता, अनुभवीहरुको ज्ञान, सल्लाह र सवै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्नेछु । मलाई यो आर्शिवाद अवश्य प्राप्त हुनेछ भन्ने मैले ठानेकी छु । यी मेरो प्रारम्भिक योजनाहरु हुन् । मेयरको तयारीसँगै वृहत योजनासहित अघि बढ्ने छु । मलाई विश्वास छ, मेरो योग्यता, क्षमता र जनताप्रति समर्पित हुँंदै गर्दैै आईरहेको समाज सेवाले गर्दा पनि यसपाली काठमाडौंवासीले मलाई मेयरको रुपमा विजयी बनाउने छन् भन्ने कुरामा म विश्वस्त छु ।
जनताको वीचमा अव कसरी जानु हुन्छ ? तपाईंका आकर्षक ५ वटा योजना बताईदिनुहोस् न,
– अवश्य, काठमाडौंलाई सांस्कृतिक नगर र राजधानीको रुपमा विकास गर्ने मसँग धेरै योजनाहरु छन् । म यहाँ केही संक्षिप्तमा उल्लेख गर्न चाहन्छु । पहिलो, फोहरबाट उर्जा उत्पादन गर्ने प्रविधिबाट फोहोर मैलाको उचित व्यवस्थापन गर्न सकिन्छ । मैले जापान, जर्मनी आदि देशहरुको भ्रमण गर्दा यो देखेकी छु । उक्त प्रविधि नेपालमा ल्याएर फोहरलाई रुपैयाँमा ढाल्न सकिन्छ ।
अहिले काठमाडौँवासीले फोहर घरबाट निकालेवापत प्रति घर चार सय रुपैंया मासिक बुझाउनु परेको यथार्थ हाम्रा सामू छ । हामीले उक्त प्रविधि प्रयोग गर्न सक्यौं भने महानगर आफैले बिजुली उत्पादन गरेर शहर झिलिमिली बनाउन सकिन्छ भने महानगरवासीबाट फोहर उठाउँदा उल्टै पैसा दिनसक्ने अवस्था सिर्जना हुन्छ ।
दोस्रो, काठमाडांै महानगरपालिकालाई संस्कृति र सम्पदाको शहर भनि चिनिन्छ । महानगरपालिका क्षेत्र भित्र रहेका मूर्त–अमूर्त सांस्कृतिक सम्पदा, मौलिक भाषा, लिपि, कला तथा ऐतिहासिक सांस्कृतिक सम्पदाहरुलाई नविन सोँच र रणनीतिबाट युवाहरु मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा संरक्षण, सम्बर्धन र प्रवर्धन गर्न सकिन्छ ।
तेस्रो, यस्तै ट्राफिक व्यवस्थापन गर्न एमआरटीको व्यवस्थापन गर्ने तथा ट्राफिक अनुशासन पालना गर्ने कार्यको कार्यान्वयन गराउने स्पष्ट योजना मसँग छ । त्यो विषयमा मात्रै यहाँ उल्लेख गर्दा लामो हुन्छ । त्यो भिजन मसँग छ ।
चौथो, अहिलेको युग सूचना र प्रविधिको युग हो । नयाँ–नयाँ प्रविधि र सूचना प्रविधिको विकास भैरहेको छ । त्यसको सदुपयोग गर्दै युवाहरुलाई समग्र महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय सन्तुलित विकासका लागि विभिन्न कार्यक्रमसहित दिगो विकास व्यवस्थित शहरीकरणको लागि आवश्यक योजना बनाई काम गर्ने योजना मसँग छ ।
पाँचौँ, महानगरलाई हाईटेक, डिजिटलाईज्ड स्मार्ट शहरको रुपमा विकास गर्ने । जनतालाई वडा–वडामा अनावश्यक रुपमा धाउन लगाएर दुःख दिइरहनु पर्ने युगको अन्त्य गर्न चाहन्छु । त्यसका लागि डिजिटल प्रविधिबाट अधिकांश सेवा घरमै बसेर यहाँका जनताले लिन सक्ने वातावरण बनाउने मसँग प्रष्ट योजना छ ।

अघिल्लो चुनावमा काठमाडौंमा दुईवटा साना पार्टीका दुई उम्मेदवारले निकै नै सम्मानजनक मत पाएका थिए । त्यही भएर हौसिनु भएको हो कि ?
– म अरुको कुरा गर्दिन । अघिनै मैले भनिसकें म दीर्घकालीन रुपमा राजनीतिमा आउनका लागि अहिले स्थानीय चुनावलाई अवसरको रुपमा मात्र लिएकी हुँ । राजनीति भनेको राज्यको शासन–व्यवस्थासम्बन्धी नीति, राज्य–सञ्चालन र प्रणाली हो । राजनीति भनेको राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त पनि हो । त्यसैले राजनीतिलाई फोहोरी खेलको रुपमा विकास गर्नुहुन्न भन्नेमा म सचेत छु । राजनीति व्यापार होइन यो समाजसेवा र विकास निर्माणसँग जोडिनुपर्छ । समाजसेवा मेरो जीवनको मूल उद्देश्य हो । मेरो त्यो मुल उदेश्यलाई मूर्तरुप दिन मैले राजनीतिमा आउँन चाहेको हो । आर्थिक समृद्धि, उन्नत समाजको विकास र सुशासनलाई प्राथमिकतामा राख्ने हो भने राजनीति पनि उन्नत बन्छ । म उन्नत किसिमको राजनीतिमा विश्वास गर्छु ।
तपाईले काठमाडौं मेयरमा चुनाव जित्दा के हुन्छ ? हार्दा के हुन्छ ? (समाज र राजनीतिमा पर्ने प्रभाव कस्तो हुन्छ ?)
– म चुनाब जिते पनि हारे पनि जनताले गर्ने प्रत्येक फैसलालाई सजिलै स्वीकार्नेछु र त्यसलाई आत्मसात गर्नेछु । जनता भनेका भगवान हुन् । भगवानको निर्देशन पालना गर्नु मेरो कर्तव्य हो । म आफू व्यक्तिमा केन्द्रित गरेर आफू मात्र राम्रो अरु सवै नराम्रो भन्ने व्यक्ति होइन । जनताले जे फैैसला गर्छ सोही बमोजिमको अवस्था विकसित हुँदैै जानेछ । यसलाई नकरात्मक रुपमा लिनु हुन्न ।
चुनावमा कति खर्च गर्नुहुन्छ ? त्यसको आम्दानीको स्रोत के हो ?
– मैले चुनावका लागि कुनै अस्वाभाविक खर्च गरिरहुन पर्दैन । म मिडियामा आएर आफ्नो विचार जनता समक्ष राख्ने हो, बस् मेरो चुनाबी प्रचार यति नै रहन्छ । यसका लागि कुनै खर्च हुन्छ जस्तो लाग्दैन ।
काठमाडौंबासीलाई भन्ने कुरा दुई शब्द भन्नुपर्दा के भन्नुहुन्छ ?
– अब आउँदो स्थानीय सरकारका लागि हुनगई रहेको निर्वाचनमा मिठो भाषणमा होइन साँच्चै नै काठमाडौं महानगर बनाउनेलाई भोट दिनुस् । हजुरहरुको अमूल्यमत राष्ट्र निर्माणका लागि एकदमै महत्वपूर्ण हुन्छ । उक्त निर्वाचनमा म पनि एक उम्मद्वारको रुपमा उभिएकी छु । मलाई नजिकबाट चिन्नेहरुलाई मेरोे योग्यता क्षमता राम्ररी थाहा छ । उहाँहरुकै साथ समर्थन र हौसलामा म उम्मेद्वारी दिदै छु । मलाई विस्तारै अरु सवैले पनि चिनिहाल्नु हुनेछ । मेरो काम गर्ने क्षमताको बारेमा सवैलाई चाँडैनै अवगत भई हाल्नेछ । भारतमा नेता केजरीवाल र उनका पार्टीले जसरी अहिले जनताको मन जितेको छ त्यसरी नै म काठमाडौंका सवै जनताको मन जित्ने गरी कामगर्न चाहन्छु । अवश्व पनि एक पटक मौका दिनुहुने छ भन्ने मैले आशा एवं विश्वास गरेकी छु ।