यी ११ अनुहार मेयरमा उठे भने कस्तो आउला लहर ? (भिडियो सहित)

आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएको छ र निर्वाचन आयोग पूर्णरुपमा तयारीमा लागेको छ । तर, आम जनता भने पार्टीका थोत्रा नेतालाई भोट दिनुपर्ला भन्ने डरमा रहेको सामाजिक सञ्जालमा ब्यक्त विचारहरुले बताउँछ ।

पछिल्लो ५ बर्ष स्थानीय तह हाक्ने मध्ये अधिकांशले सफलता हात पारेनन् । स्थानीय तहमा भ्रष्टाचार र बेथिती मौलायो । यिनै कारण जनता निरास हुनु स्वभाविक हो । त्यसैकारण पनि जनतालाई आकर्षित गर्न समाज वा देशमा स्थापित ब्यक्तित्वहरुले मेयर वा अन्य महत्वपूर्ण पदमा प्रत्यासी बनेर सकारात्मक सन्देश प्रवाह गर्न जरुरी छ ।

यहाँ यस्ता ११ ब्यक्तिको चर्चा गरिएको छ, जो प्रतिनिधि पात्र मात्र हुन् । तर, यी पात्रहरु आ–आफ्नो काममा दक्ष भने छन् । अधिकांशलाई कुनै न कुनैवेला जनताले माया प्रदर्शन गरिसकेका छन् । सक्षम, कुसल र अब्बल यी नामहरु आ–आफ्नो नगरमा गई उम्मेदवार बनेभने आगामी चुनाव कति चर्चित बन्थ्यो होला ? यही कल्पनामा आधारित भई यो रिपोर्ट तयार गरिएको हो । अव सुरु गरौं यी ११ अनुहार मेयरमा चुनाव लडे भने कस्तो आउँला लहर ? एघारौं नम्बरमा छन् डा. बाबुराम भट्टराई ।

११. डा. बाबुराम भट्टराई, योजनाकार


नेपालको ३५ औं प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मेयरमा उठ्न तयार छु भनेपछि यो पदको क्रेज अझ उजागर भएको छ । उनी गोरखा पालुङटारका स्थायी बासिन्दा हुन् ।

भनिन्छ, शीर्ष नेताहरुमा डा. बाबुराम भट्टराई यस्ता नेता हुन् जोसँग मुलुकको विकाश गर्ने मोडेल छ । काठमाडौंको बाटो ठूलो बनाउने जस उनैमाथि छ । खासगरी अर्थमन्त्री भएकाबेला उनको कामलाई जनताले हार्दिकताकासाथ स्वीकारेको इतिहास छ ।

१०. डा. सन्दुक रुइत, दृश्यका देवता


डा. सन्दुक रुइत सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर हुन् । उनी तिलगंगा आँखा केन्द्रका निर्देशक समेत हुन् । सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सा पद्धति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता पनि उनी हुन् । उनी एक्लैले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई आज देश–दुनियाँमा ‘दृश्यका देवता’ भनेर चिनिन्छ ।

९. पुष्पा बस्नेत, सिएनएन सुपर हिरो


पुष्पा बस्नेत प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक गैह्रनाफामुलक गैह्रसरकारी संस्थाकी संस्थापक÷अध्यक्ष हुन् । विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काममा उनको संस्था क्रियाशील छ । जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेतले २०१२का लागि सिएनएन हिरोको उपाधी जितिन् ।

अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरोको छनौटगर्दा पुष्पा नै छानिईन् । उनको जन्म डिल्लीबजार काठमाडौंमा भएको हो ।

८. पारस खड्का, खेलकुद क्षेत्रकै अग्लो ब्यक्ति


१२ बर्षसम्म राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका पारस खड्का टी २० क्रिकेटको विश्व बरियतामा ४१ नम्बरसम्म परे । उनी सवैभन्दा सफल नेपाली खेलाडीको रुपमा समेत स्थापित छन् । उनकै नेतृत्वमा पहिलो पटक सन् २०१४ मा नेपालले टी २० विश्वकप खेल्ने मौका पाएको थियो ।

क्रिकेटवाट राजनीतिमा प्रवेश गरेर सफलता चुम्ने विश्वमा धेरै खेलाडी छन् । पारस पनि नेपालमा उदाहरण बन्न सक्छन् । किनभने उनको नेतृत्व क्षमता खेलको माध्यमबाट पटक पटक उजागर भएका छन् । राजनीतिक रुपमा समेत सचेत पारसले आउँदा दिनमा खेलकुदको विकाशमा लाग्ने घोषणा गरिसकेका छन् । ३४ बर्षे पारस काठमाडौंमा जन्मिएका हुन् ।

७. डा. गोविन्द केसी, नागरिक अभियन्ता


खासगरी स्वास्थ्य क्षेत्रको बिकृतिविरुद्ध सक्रिय हुने डा. गोविन्द केसी अनसन बसेर जनता र सरकारको ध्यान खिच्दै आएका छन् । उनले आफ्नो अभियानको बलमा धेरैपटक सरकारलाई झुकाईसकेका छन् । अर्थोपेडिक सर्जन तथा प्राध्यापक डा. केसी दुर्गम गाऊँमा पुगेर विरामीको उपचारमा समेत संलग्न हुने गर्छन् । अभियानको बलमा सरकारलाई लतारेर कसरी माग पुरा गर्न सकिन्छ भन्नेकुराकालागि उनी उदाहरण नै बनेका छन् । उनको जन्मस्थान रामेछाप हो ।

६. डा. युवराज संग्रौला, कानुनका ज्ञाता


काठमाडौं स्कूल अफ लका संस्थापक डा. युवराज संग्रौला पूर्वब्रिटिस गोर्खा सैनिक आन्दोलनका अभियन्ता हुन् । ‘म मारिन सक्छु तर बोल्न छोड्दिन’ भन्दै खरो राष्ट्रबादी कुरा गर्ने डा. संग्रौला अन्तर्राष्ट्रिय कानुनका ज्ञाता पनि हुन् । खासगरी काठमाडौं स्कूल अफ ल को स्थापना गरेर उच्चकोटीको शैक्षिक स्तर प्रदर्शन गरेका उनी समाज विकाशको ब्याख्या गर्न पनि माहिर छन् । डा. संग्रौला कुशल बक्ता समेत हुन् । विश्वका धेरै विश्वविद्यालयबाट सम्मानित डा. संग्रौला पाँचथरको सुभाङमा जन्मिएका हुन् ।

५. डा. सूर्यराज आचार्य, विकाश विज्ञ


डा. सूर्यराज आचार्य पूर्वाधारनीति, योजना तथा व्यवस्थापन क्षेत्रको विज्ञ हुन् । हाल उनी ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा अतिथि प्राध्यापककारूपमा कार्यरत छन् । उनीसँग टोकियो युनिभर्सिटीमा अध्यापन गरेको पनि अनुभव छ । उनले जापानको टोकियो विश्वविद्यालयबाट नै विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् ।

उनीसँग जापानमा रहँदा त्यहाँको थिङकट्याङ्क समूहमा बसेर काम गरेको अनुभव छ । उनी खासगरी विकाश विज्ञ छन् । रवीन्द्र मिश्रको साझा पार्टीमा बसेर काम गर्न नखोजेका होइनन्, डा. सूर्यराजले । तर, त्यस पार्टीले उनलाई राखिराख्न सकेन र उनी पुन स्वतन्त्र भएका छन् ।

४. डा. महावीर पुन, आबिश्कार केन्द्रका आविश्कारक


– डा. महावीर पुन बैज्ञानिक हुन् । नयाँ खोज, अनुसन्धान गर्ने मात्र होइन परिणाम नै देखाउन सफल छन् पुन् । सन् २००१ मा नै दुर्गम गाऊँहरुमा ताररहीत इन्टरनेटको प्रविधि पुर्याएपछि उनी राष्ट्रियबाट अन्तर्राष्ट्रिय ब्यक्तित्व बने । विश्वमा नै चर्चित रोमन म्यागसेसे पुरस्कार प्राप्त गर्ने उनी सन् २०१२ मा राष्ट्रिय आविश्कार केन्द्र स्थापना गरेर क्रियाशील छन् । उनको जन्म म्याग्दीको नाङ्गी गाऊँमा ६ दशकअघि भएको हो ।

३. शृङखला खतिवडा, चर्चित मिस नेपाल


– हुनत श्रृंखला खतिवडाभन्दा अघि नै २२ जनाले मिस नेपालको ताज पहिरिई सकेका थिए । तर उनले अघि वा पछिका मिस नेपालहरुलाई वाककला, सुन्दरता र तर्कको बलमा ओझेलमा पारिन्भन्दा अतिउक्ति नहोला । समाजसेवामा पनि श्रृंखलाले मन लगाएकी छन् । चेपाङबस्ती उनले काम गरेको उदाहरण हो । हेटौडा स्थायी ठेगाना भएकी उनी आजभन्दा २५ बर्षअघि जन्मिएकि हुन् । उनी सुन्दरी मात्रै होइनन्, आर्किटेक इन्जिनियर पनि हुन् ।

२. राजेश हमाल, अग्लो कदका धनी


– अक्सर कलाकारहरु विवादमा परिरहन्छन् । तर राजेश हमाल ठूला विवाद वा स्क्यान्डलभन्दा टाढा बसिरहन सफल छन् । बौद्धिक कलाकारको छवी स्थापित गरेका हमालले केही समयअघि ठट्टाकै शैलीमा भएपनि काठमाडौंको मेयर बन्न सक्ने भाषण गरेका थिए । डेढसय चलचित्रमा अभिनय गरेका हमाल अध्ययनशील कलाकार हुन् । उनको नजिक रहेकाहरु भन्छन् –‘राजेशसँग देश बनाउने फर्मुला छ ।’ राजेशले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।

१. कुलमान घिसिङ, ब्यवस्थापनमा अब्बल


– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लोडसेडिङको अन्त्य गरेपछि नेपाली जनता माझ प्रिय बने । रामेछाप जिल्लाको बेथान गाऊँमा तामाङ परिवारमा जन्मिएका कुलमान राम्रो ब्यवस्थापक रहेको कुरामा कसैको दुईमत छैन । सन् १९७० नोभेम्बर २५ अर्थात आजभन्दा ५२ बर्षअघि जन्मिएका उनी पेशाले इन्जिनियर हुन् । उनले पोखरा विश्वविद्यालयबाट एमई गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *