नेपालका कुनै पनि क्यान्सर अस्पतालमा आधुनिक पेट स्क्यान, पेट सिटी उपकरण छैनन् । काठमाडौंको चण्डोलमा कुण्डलिनी, लाजिम्पाटमा सूरिया डाइग्नोष्टिक प्रा.लि. छन् । तर, ती उपकरण निकै पुराना हुन् । पूर्वाञ्चल क्यान्सर अस्पतालमा बाहेक देशभरका अरु कुनै पनि क्यान्सर अस्पतालमा पेट स्क्यान, पेट सिटी, गामा क्यामरा र एमआरआईका आधुनिक उपकरण छैनन् । पूर्वाञ्चल क्यान्सर अस्पतालमा जति आधुनिक उपकरण छन्, ति उपकरण भारतका प्रतिष्ठित क्यान्सर अस्पतालमा समेत छैनन् । पूर्वाञ्चल क्यान्सर अस्पतालमा सिटी स्क्यान, पेट सिटी, गामा क्यामेरा र एमआरआइ सुविधा छ । क्यान्सर रोग पत्ता लगाउन र उपचार गर्न नेपालमा मात्र होइन, दक्षिण पूर्वी एसियाकै यो पहिलो आधुनिक अस्पताल हो । क्यान्सर पत्ता लगाउन र उपचार गर्न केही वर्ष अघिसम्म पेट सिटी स्क्यानलाई भन्दा एमआरआईलाई ठूलो कुरा मानिन्थ्यो । तर, पछिल्ला वर्षहरुमा पेट सिटी स्क्यानलाई महत्वपूर्ण मानिन्छ ।
क्यान्सरका लागि पेट सिटी स्क्यान कतिसम्म महत्वपूर्ण हो भने शरीरमा कति फैलिएको छ । कुन ‘स्टेज’ मा छ ? कुन ठाउँमा बढी सक्रिय छ ? अनि उपचारपछि ‘किल्यिर’ भयो कि भएन ? ‘फलोअप’ मा पनि कुनै ठाउँमा (शरीरमा) आयो कि आएन ? यी सब पेट सिटी स्क्यानबाट हेर्न सकिन्छ । तसर्थ यो एकदमै महत्वपूर्ण उपकरण हो । क्यान्सर रोग विशेषज्ञले पेट सिटी स्क्यानलाई आखाँको रुपमा लिन्छन् ।
पेट सिटीको फाइदा के हुन्छ भने चाहेको बेला ठ्याक्कै पेट सिटीको ‘कन्सोल‘ मा गएर ‘बा.एफ.सी’ निकाल्न सकिन्छ । अहिले विदेशतिर गयो भने ‘पेट बेस रेडिएसन प्लानिङ्ग’ हुन्छ । पेट बेस भनेको जहाँ क्यान्सरको सेल छ, त्यसलाई पेट सिटीले स्पष्ट देखाउँछ । त्यसैलाई ‘इन्टिग्रेट गरेर रेडिएसन’ दिने हो जसले गर्दा ‘साइड इफेक्ट’ एकदम न्यून हुन्छ । हाइडो डेलिभर गर्न सकिन्छ । त्यसलाई पेट बेस रेडिएसन थेरापी भनिन्छ । मैले अघि पनि भनिसके, यस्तो सुविधा नेपालमा अन्यत्र कहिँ पनि छैन । हामीले पेट सिटी स्क्यानको आधुनिक सफ्टवेयर, हार्डवेयर राखेका छौं । तर, स्वास्थ्य मन्त्रालयले अनुमती पत्र (लाइसेन्स) नदिएकाले चलाउन सकेका छैनौं ।
पेट सिटी स्क्यानका लागि पूर्वाञ्चल क्यान्सर अस्पतालले आधुनिक उपकरण भित्र्याइसकेपछि सञ्चालन अनुमति नपाएकाले सैयौं नेपाली सिंगापुर, दिल्ली, मुम्बईलगायतका स्थानमा पुगेर पेट बेस रेडिएसन अर्थात पेट सिटी स्क्यान गराइरहेका छन् । जब कि त्यो सुविधा यही पूर्वाञ्चल क्यान्सर अस्पतालमा छ । स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागले अनुमति नदिएकाले मात्र प्रयोगमा ल्याउन नसकिएको हो ।
अनुमति नपाउनुको कारण
मलाई लाग्छ, यति आधुनिक पेट स्क्यान उपकरणले सञ्चालन अनुमति नपाउनुमा सरकारी ढिला सुस्ती र पूर्वाग्रह प्रमुख कारण हो । नीति निमार्ताहरु स्वास्थ्य र शिक्षाप्रति गम्भीर छैनन् । झण्डै दुई वर्ष अगाडि नै हामीलाई स्वास्थ्य मन्त्रलायले आधुनिक पेट स्क्यान मेसिन ल्याउन अनुमति दियो । भन्सार विभागले पनि मेसिन ल्याउनु भनेर ‘ट्याक्स्’ लियो । पेट स्क्यान मेसिन राख्न जुन मापदण्ड अनुसारको संरचना बनाउनु पर्ने हो, त्यसमा हामीले अलिकति पनि ‘कम्परमाइज’ नगरी ‘गाइड लाइन’ अनुसार नै अझ् स्तरीय संरचना बनाएका छौं । रेडियसन सेफ्टीका हिसाबले मापदण्ड पुरै पालना गरिएको छ । मापदण्ड पुरा गरेको, उपकरण ल्याईसकेको भनेर हामीले मन्त्रालयमा ‘फाइल’ पनि पेस गरिसकेका छौं ।
सुरुमा उपकरण ल्याउन अनुमति दिइयो, उपकरण ल्याइयो । यसपछि भने सञ्चालनको नियमावली छैन । नियमावली पास नभएसम्म तपाईहरुले चलाउन पाउनु हुन्न भनेर अड्चन झिकियो । हामीलाई नियमावली छैन भनिदैछ । तर, काठमाडौंका रहेका पेट सिटीका पुराना उपकरण भने सञ्चालन भइरहेका छन् ।
सबैलाई थाहा भएकै कुरा हो, स्वास्थ्य अति आवश्यक (संवेदनशील) क्षेत्रमा पर्दछ । जति बेला कोरोना भाइरसका कारण देश लकडाउनमा थियो । क्यान्सरका हजारौं बिरामीहरु देशभित्र पेट सिटी गराउन नपाएर मृत्यु स्वीकार गर्न बाध्य भए । कतिपय ज्यान जोखिमा राखेर पेट सिटी गराउनकै लागि भारत गए । हामीले भारतकोभन्दा सस्तोमा पेट सिटी स्क्यानको सुविधा दिन निरन्तर कोशिस गरिराखेका छौं । तर, अनुमति दिइएको छैन । यहाँ पेट स्क्यान मेसिन लगभग १८ महिना बढी भइसक्यो, एसीमा बसी राखेको छ । हामीले बिरामीलाई सुविधा दिन सकिरहेका छैनौं ।
हामी दिल्ली–काठमाडौंभन्दा सस्तोमा पेटी स्क्यान, पेट सिटीको सहज सेवा दिन सक्छौं । किनभने बिर्तामोडमा पेट स्क्यानका लागि चाहिने ‘रेडियो आइसोटप’ भारतको बाग्डोग्रा विमानस्थल हुँदै ल्याउन सक्छौं । काठमाडौंमा अन्तराष्ट्रिय उडानबाट मात्र आइसोटप पुर्याउन सकिन्छ । तर, ‘लोकेसन’ को हिसाबले बिर्तामोडमा काठमाडौंभन्दा सहज छ । स्वास्थ्य मन्त्रालयको ‘सो कल्ड’ नियमावलीको चक्करमा हामीले सेवा दिन सकिरहेका छैनौ । सूरिया र कुण्डलिनीलाई नलाग्ने नियमावली पूर्वाञ्चल क्यान्सर अस्पताललाई मात्र लगाइएको छ । यस्तो पनि कही हुन्छ ? उनीहरुलाई कसरी एफिलेसन (अनुमति) दिइयो ? हामीलाई किन दिइएको छैन ? बुझ्न सकिएको छैन ।
हामीले हाम्रो उपकरण, मापदण्ड परीक्षण, निरीक्षण गर्नुस् । क्यान्सर जस्तो घातक रोगको लागि अत्यावश्यक उपकरणलाई अनुमति रोकेर रोगीको जीवनमाथि खेलवाड नगरिदिनुहोस् भनेर बारम्बार आग्रह गरिरहेका छौं । हामीले बिना मापदण्ड बलजफ्ती गरेर सञ्चालन अनुमति दिनुस् भनेका होइनौ । पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्देशकका हैसियतमा मैले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुलाई अनुनय÷विनय गरेको छु, यस्तो आधुनिक उपकरणलाई त्यतिकै थन्किन नदिनुहोस् भनेर । नियमावली छिट्टै ल्यादिनुहोस् भनेर । तर, हाम्रो आग्रहलाई बारम्बार उपेक्षा गरिएको छ ।
हामीले मापदण्ड पुरा गरेका छौं । हामीलाई अनुमति दिन कुनै समस्या छैन । यति आधुनिक उपकरण ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पताललाई अनुमति नदिने अनि यो भन्दा धेरै पुरानालाई चाहिँ अनुमति दिने ? यस्तो पनि हुन्छ ? हामीले आधुनिक उपकरण भित्र्याएर अपराध गर्यौं ? क्यान्सका बिरामीलाई बचाउन प्रयत्न गर्नु गलत भयो ? ‘ट्याक्स’ लिने, उपकरण चलाउन अनुमति नदिने भइरहेको छ । यो उपकरण नचलाई राख्दा खिया लाग्छ । ३६ करोडको मेसिन हो यो । यति महंगो मेसिन सरकारको हेलचेक्राईले त्यतिकै थन्किएको छ । काठमाडौंको वीर अस्पतालमा ४२ करोडको मेसिन कुहिएर खिईसक्यो । केमो थेरापी मेसिन कुहिसक्यो खिया लागेर । सरकारी स्वामित्वको मेसिनको त मतलब नगर्नेहरुले निजी क्षेत्रको लगानीको के मतलब गर्थे र !
लापरबाही एवं बिडम्वना कतिसम्म छ भने सरकार अर्थात स्वास्थ्य मन्त्रालयले नै पेट सिटी गर्न भारत जान एक जना बिरामी र एक जना सहयोगी गरी दुई जनालाई टिकटको पैसा ४० हजार रुपैयाँ र अनुमतिपत्र दिन्छ । पूर्वाञ्चल क्यान्सर अस्पताललाई अनुमति दिए त्यो पैसा नेपालमा नै रहन्थ्यो । बिरामीलाई सहज पनि हुन्थ्यो । भारतमा कोभिड संक्रमण तीब्र भएका बेला पेट सिटी गराउन जाँदा थुप्र्रै नेपाली कोरोना लागेर मरेका छन् । यहाँ हामीसँग पेट सिटीको लागि पाँच सय जना भन्दा बढीले सम्पर्क गरेको कल रेकर्ड छ । उनीहरुलाई आज÷भोलि भन्दै टारिरहेका छौं । यहाँ पेट स्क्यान गर्न नपाएर उनीहरु भारत, सिंगापुर वा थाइल्याण्ड गइरहेका छन् ।
मैले जानकारी पाए अनुसार काठमाडौंमा कुण्डलिनी, सूरियाले ७० हजार शुल्क लिएर पेट सिटी गरिरहेका छन् । हामी त्यो भन्दा सस्तोमा गर्छौ । हामीलाई अनुमति देउ भन्दा दिएका छैनन् । संघीय राजधानी बाहिर यस्तो ‘रिमोट एरिया’ मा ‘कम्प्रिहेन्सिभ’ (विविधायुक्त) सेन्टर खोल्नु भनेको ठूलो कुरा हो । क्यान्सर रोगीहरुका लागि निकै खुशीको कुरा हो । तर, आधुनिक उपकरण भित्र्याएर पनि सञ्चालन अनुमति नपाउनु दुर्भाग्य हो ।
सञ्चालन अनुमतिका लागि हामीले पेस गरेको फाइल सिमेन्ट फ्याक्ट्रीसँगै राखिदिएको छ । सिमेन्ट फ्याक्ट्री र स्वास्थ्य पक्कै फरक कुरा हो भनेर नीति–निर्माता भन्न रुचाउनेहरुले बुझिदिएनन् । दुभाग्र्यको कुरा यही हो । नेपालका कतिपय डाक्टरहरुले पेट स्क्यान– पेट सिटी कहिले सुरु हुन्छ ? भनेर दैनिक कल गर्नुहुन्छ । यसबाट के बुझिन्छ भने यसले हामी एउटा अस्पताल मात्र होइन कि नेपाली जनता नै मारमा छन् । यो पूर्वाञ्चल क्यान्सर अस्पतालको सुरुदेखि अर्थात यसको ब्लुप्रिन्ट देखि नै म संलग्न छु । यसको नक्सा बनाउनेदेखि भूमिपुजन दुर्गा दाई (दुर्गा प्रसाईँ) सँगै गरेको छु मैले पनि ।
म सिराहाको लाहानमा जन्मे/हुर्केको हुँ । मैले पिजीआइ भारतको चण्डीघरबाट गरेको हुँ । एमडी त्यहीँबाट गरे । त्यसपछाडि दिल्लीको मेदान्त अस्पतालमा काम गरे । त्यही काम गर्दागर्दै दुर्गाजीसँग भेट भयो । त्यसबेला उहाँलाई भर्खरै क्यान्सर लागेको थियो । म बाग्डोग्रा विमानस्थलबाट दिल्ली जान्छे । त्यही क्रममा उहाँ (दुर्गा प्रसाईँ) सँग भेट भएको हो । आफ्नो क्यान्सरको उपचार ठिक नहुँदै, जिब्रोले बोल्न नमिल्दै अरु जनतालाई पनि क्यान्सरबाट बचाउनु पर्छ भनेर उहाँले बिर्तामोडमा यो अस्पतालको भूमिपुजन सुरु गरेर आधुनिक उपकरण झिकाउनु भएको हो । तर, अहिले ति उपकरणले सञ्चालन अनुमति नपाएर त्यतिकै थन्किएका छन् । यसो गर्नु भनेको राज्यलाई नै घाटा हो । किनभने यी उपकरण सञ्चालनमा आए राज्यलाई नै बढी कर तिरिन्थ्यो ।

डा. वीरेन्द्रकुमार यादव
(पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. वीरेन्द्र कुमार यादवसँगको कुराकानीमा आधारित)