राष्ट्रिय युवा परिषद ऐन २०७२ अनुसार ‘युवा भन्नाले सोह्र वर्षदेखि चालीस वर्षसम्मको उमेर भएको व्यक्ति सम्झनु पर्छ’ । यस हिसावले हेर्दा नेपालका प्रमुख राजनीतिक दलहरुको केन्द्रीय नेतृत्व तहमा युवाहरुको उपस्थिति सून्य छ । शीर्ष तहमा त झनै युवाहरु छँदैछैनन् । अर्थात ४० नकटेका नेताहरु राजनीतिक दलको उच्च तहमा छैनन् ।
दिवस गुरागाईं ।
राजनीतिक दलमा खोई युवा नेता ?
कहाँ, कति बर्षसम्म युवा ?
– विश्व श्रमिक संगठनले १५–२९ वर्ष उमेर समूहकालाई, विश्व स्वास्थ्य संगठन र युनिसेफले १५–२४ वर्ष उमेर समूहलाई युवा मानेको छ ।
– युवाको परिभाषा देशअनुसार फरक–फरक छ । जस्तै -भारतले १५–३५, चीनले १४–२८, बंगलादेश र फिलिपिन्सले १५–३०, फिनल्यान्डले १६–२९, हंगेरीमा १५–२६, जापान र जमैकामा २४, केन्यामा ३५ वर्षसम्मकालाई युवा मानिन्छ । नेपाल र पाकिस्तानले भने ४० वर्षसम्मकालाई युवा मानेको छ ।
२०७८ को जनगणना अनुसार नेपालमा ४० प्रतिसत युवा रहेका छन् । यस हिसाववाट हेर्दा १ करोड २० लाख नेपाली युवा छन् । र, भारत वाहेकका देशमा जाने युवाहरु ४५ लाखभन्दा बढी रहेको आम हिसाव छ ।
यस लेख मार्फत नियालौं, राजनीतिक दलको नेतृत्व तहमा युवाहरुको उपस्थिति । बिडम्बना के छ भने ४० प्रतिसत युवाको राजनीतिक प्रतिनिधि भने केन्द्रीय तहमा छैनन् नै । सर्वप्रथम कुरा गरौं, नेपाली कांग्रेसबाट–
गगन र विश्वप्रकास नै युवा रहेनन्
– आम मानिस भन्छन् –‘कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकास शर्मा युवा नेता हुन् । जोस, जाँगर, सक्रियता र खरा कुराका कारण उनीहरुलाई युवा मानिएको हो भने भिन्न कुरा । नत्र नेपालको कानुन अनुसार यी दुवैले युवाको उमेर पार गरेको केही बर्ष कटिसकेको छ । जस्तो गगन थापा ४५ बर्ष टेकेका छन् । उनी २०३४ सालमा जन्मिएका हुन् । अझ उनीभन्दा ७ बर्षले जेठा छन् विश्वप्रकास शर्मा । उनको जन्म मिति हो, सन् १९७० डिसेम्बर २१ ।
नेपाली कांग्रेसमा युवा भनेर स्थापित नेताहरु त ४५ र ५२ बर्षका छन् भने आम नेताहरुको उमेर के होला ? कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र युवाहरुको तरुण दलमा समेत ४० बर्ष कटेपछि मात्रै पालो आउँछ भन्ने विश्लेषकहरु पनि रहेका छन् ।
तर, कांग्रेसको विगत यस्तो थिएन । बि.सं. २००३ साल माघ १२–१३मा सम्पन्न कांग्रेस महाधिवेशनले ३३ बर्षे युवा विश्वेश्वरप्रसाद कोइरालालाई कार्यबहाक सभापतिको जिम्मेवारी सुम्पेको थियो । बि.स.२००८ सालमा पहिलो पटक गठन भएको सल्लाहकार सभाको अध्यक्ष चुनिदा कृष्णप्रसाद भट्टराई मात्रै २७ बर्षका थिए । २०१६ सालमा मुलुकको पहिलो सभामुखको रुपमा सपथ खाइरहँदा पनि भट्टराई ३५ बर्षका मात्र थिए । त्यसैगरी बि. सं. २००८ सालमा मात्रिकाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि भूमी तथा खाद्य मन्त्री हुँदा गणेशमान सिंह ३६ बर्षका थिए ।
कम्युनिष्ट पार्टीको अवस्था पनि उस्तै
कुनैवेला नेकपा एमालेका नेतालाई अपरिपक्वहरुको पार्टी भनेर हियाइन्थ्यो । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा पराजित गर्ने एमाले महासचिव मदन भण्डारी त्यसवेला मात्रै ३९ बर्षका थिए । २०५१ सालमा सरकारमा पुगेको एमालेका धेरैजसो नेता ४० कै हाराहारीका थिए ।
त्यसैगरी २०४६ सालमा नेकपा मशालको महामन्त्री बन्दा पुष्पकमल दाहाल प्रचण्ड मात्रै ३५ बर्षका थिए भने २०४८ सालमा एकता केन्द्रको महामन्त्री बन्दा उनी ३७ बर्षका थिए । जनयुद्ध सुरुगर्दा २०५२ सालमा प्रचण्ड ४१ बर्षका थिए ।
पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव हुन् । २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदा उनी २५ बर्षको लक्का जवान थिए । तर, आजका मितिमा आइपुग्दा समेत सबैजसो कम्युनिष्ट पार्टीमा उनै पुराना नेता मात्रै नेतृत्व ओगटेर बसेका छन् । यी पार्टीहरुमा युवा नेता निर्णायक ठाऊँसम्म पुग्ने संभावना टाढा टाढासम्म देखिन्न ।
सवैभन्दा पहिला हेरौं, एमालेका युवा नेताको परिचय बनाएका पार्टी सचिव योगेश भट्टराईको उमेर । योगेशको जन्म मिति हो, २०२३ भदौ २१ । अर्थात उनी अहिले ५५ बर्ष पुरा भइसकेका छन् । त्यसैगरी एमाले महासचिव शंकर पोखरेल ५८ र घनश्याम भुषाल ६० बर्ष भइसकेका छन् । अझै कम्तिमा १० बर्ष यिनै नेताको हातमा पार्टीको साँचो रहिरहने पक्का छ ।
एमालेमा मात्र होइन माओवादी केन्द्रले पनि युवाहरुकालागि ढोका बन्द गरेको निकै बर्ष भइसकेको छ । जस्तो अर्थमन्त्री जनार्दन शर्माको उमेर अहिले ५९ बर्ष हो । उनको जन्म मिति २०१९ वैशाख १२ हो । त्यसैगरी युवा भनिने अर्का नेता बर्षमान पुन पनि ५० बर्ष पुगेका छन् । उनको जन्म मिति २०२८ साल जेठ १० हो ।
नेपाल कम्युनिष्ट पार्टी समाजवादीकी नेतृ तथा मन्त्री रामकुमारी झाक्रीको परिचय पनि युवाकै रुपमा स्थापित छ । तर, उनले पनि युवाको उमेर कटाएको ५ बर्ष कटिसकेको छ ।
अन्य पार्टीको अवस्था
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेललाई युवा अध्यक्ष भनेर संबोधन गर्ने गरेको सुनिन्छ । खुदै लिङदेल पनि यो पद्वीलाई स्वीकार्छन् । तर उनको उमेर हिसाव गरेर ल्याउने हो भने उनले १६ बर्षअघि नै युवा उमेर छोडिसकेका छन् । अर्थात २०२२ साल भदौ २२ गते जन्मेका राजेन्द्र लिङदेल ५६ बर्ष पुरा भइसकेका छन् ।
मधेसबादी दलमा पनि अवस्था फरक छैन । सवैभन्दा युवा मानिने पूर्वमन्त्री अनिल कुमार झा ५८ बर्ष पुगिसकेका छन् ।
नेतृत्वमा किन छैनन् युवा ?
सबैजसो राजनीतिक दलको नेतृत्वमा ६० कटेकाहरुको बर्चस्व र ७० पुगेका र पुग्नै लागेकाहरुको हालिमुहाली छ । मानौं पार्टीको नेतृत्व पाकाहरुको पेवा हो ।
नेताहरु निबृत्त हुँदैनन् । महाधिवेशनले अध्यक्षमा पराजीत गरेपछि कमल थापा ६६ले परिणाम स्वीकारेनन् । उनले राप्रपा नेपालमा गएर अध्यक्षको कुर्सी ‘क्याप्चर’ गरे ।
६९ बर्षमा माधवकुमार नेपाल प्रमुख भएर एमाले पार्टी फुटाए । उनी अध्यक्ष मात्र भएनन् उनले नेतृत्व ओगटेर राखिरहने पनि पक्का जस्तै छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६८, एमाले अध्यक्ष केपी ओली ७० र कांग्रेस नेता शेरबहादुर देउवा ७५ले पनि अहिलेसम्म सक्रिय राजनीति छोड्ने सुरसार छैन । देउवाको कुर्सीका प्रमुख दावेदार शेखर कोइराला ७१ बर्ष पुगिसकेका छन् । उनै यसै बर्षदेखि प्रतिस्पर्धाको दौडमा आइपुगेका हुन् । देउवासँग निकै बर्ष प्रतिद्धन्दीता गरेका नेता रामचन्द्र पौडेल ७७ बर्ष पुग्दा समेत सक्रिय राजनीतिमा छन् ।
माथिल्लो कमिटीमा उमेरले डाँडा काटिसकेकाहरु भएकाले विद्यार्थी संगठन र युवाहरुको संगठनमा समेत गैह् युवाहरुले नेतृत्व सम्हालिरहेका छन् । कुनैपनि पार्टीले पढेलेखेका, फराकिलो सोच भएका र विषय विज्ञ स्वतन्त्रहरुलाई एकैपटक केन्द्रीय नेतृत्वमा पुर्याएको उदाहरण भेटिदैन । भात्री संगठनहुँदै माथिल्लो तहमा पुग्नेबेलासम्ममा उनीहरु पनि बृद्धभत्ताको दावी गर्ने अवस्थामा पुगिसक्छन् । त्यसकारण पार्टीको शीर्ष तहमा युवापुस्ताको प्रतिनिधित्वको आशा गर्ने र पानी छम्कने अवस्था छ ।