काठमाडौं, १८ चैत
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता (सागर आचार्यले जानकारी दिए ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो दिल्ली प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं, १८ चैत
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन् ।
प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विधाई गरेका थिए ।
प्रधानमन्त्री देउवासँग आज ४ः४५ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ ।
शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् ।